यतै अड्किए..

के भनेर सुरु गरुँ ! 

एक महिना भन्दा बढी भइसक्यो कोठामा बसेको पनि अब त। घर जानको लागि भनेर काम छोडेकाे थिएँ। तर खै! कस्तो समय पर्‍यो! मेरो क्यान्सिलेसन पेपर र पासपाेर्ट  म सम्म नआइपुग्दै सबै तिर यस्तो महामारी फैलियो। म अलपत्र परेँ। नेपालको एयरपोर्ट पनि बन्द भयो । यताको पनि बन्द भयो ।

दिन भरि कोठामा बस्यो, खायो, सुत्यो यतिमै बितिराको छ दिनहरु। घरमा कुरिरहेका छनर आफ्नाहरुले। बहुला हुन्छु झैँ लाग्छ बेलाबेलामा । सानी छोरी छ मेरो। उसँग कुरा गर्छु सधैँ अहिले त। उसलाई हेरेर भए नि खुसी लाग्छ । 

राम्रैसँग ढिलो चाँडो घर पुग्छु जस्तो लाग्छ। साेच्दा मनमा खुसी पलाएर आउँछ। तर मेरो आफ्नो मान्छेहरूले म यहाँ अड्केको भएर होला ‘घर जान मन गरेको छैनस्’ भन्छन्। अनि धेरै मन दुख्छ ।

२-४ वर्ष दु:ख गरम्ला एउटा सानो घर बनाउने ठूलो चाहना थियो। तर परिवारिक माहोल नमिलेर म सबथाेक छोडेर घर जाने निर्णयमा पुगेकी थिए । थाहा छैन मलाई के सोच्छौ तिमीले तर यो बुझ्नु कि यस्तो डरलाग्दो समयमा मैले तिम्रो साथ र हौसला चाहेको छु मनु। ६ महिना सम्म म यहाँ बस्नु पर्‍यो भने पनि तिम्रो कमाइ माग्दिन ‘मलाई यहाँ खानलाउन छैन’ भनेर । तिमी जहाँ छौ राम्रो सँग बस्नु, खानु, आफ्नो ख्याल राख्नु!

जसले जे सुकै भनुन् ,म सधैँ ईश्वरसँग यही कामना गर्छु कि सबै जना सही सलामत रहोस् । यस्तो दुखको घडीमा ‘राम्रोसँग बस्नु।पिर नगर्नु। गाह्रो सारो पर्‍यो भने म छु नि चिन्ता नगर’ भन्नु को साटाे मलाई नै पो नराम्रो भन्छौ। बरु साथी भाइले सम्झाउछन पिर नगरि बस ,सबै ठीक हुन्छ अनि आरामले आउनु भनेर।उनीहरूले यसरी ‘नआत्तिकन बस्नु’ भन्दा मन ढक्क हुन्छ । यस्ताे लाग्छ- पैसा थोरै कमाए होला जिन्दगीमा तर मान्छेहरु कमाको रहेछु ।

आशा त मरेको छैन अझै सबै थोक सहज र अनुकुल होस् ।हामी जस्ता अस्तव्यस्त  भएकाहरु सकुशल आफ्नो घर परिवारसँग भेट्न पाउ ।जो जहाँ हुनुहुन्छ राम्रोसँग बस्नु होला ।

Profile Image

रेखा चौधरी

यू.ए.इ 

Leave a Comment

Your email address will not be published. Required fields are marked *