इन्टर्न डाक्टरको डायरी

मेरो इन्टर्नसीप दैनिकी भने सबै कुराहरु बन्द रहँदा पनि सदा झै खुल्लै छन्।

म चाहिँ नेपालगन्ज मेडिकल कलेजमा कार्यरत इन्टर्न डा.रोजी थपलिया।

डब्लु एच ओले विश्व स्वास्थ्य संकटकाल घोषणा गरे लगत्तै काठमाडाैं विश्व विद्यालय अन्तर्गतका सबै पठन पाठन बन्द भयाे। छात्र छात्रावास पनि खाली खाली छ। छात्रावास अहिले भूत बंगला भन्दा कम लाग्दैन मलाई। सबैको दैनिकि घरमै बितिरहेका बेला फेसबुकका भित्ता टिकटक, मिष्ठान्न परिकार अनि कोरोना अपडेटले भरिरहँदा म भने अस्पताल मै सबै थोक खोजिरहेकी छु।

एउटा पुरानो सर्जिकल मास्क धोइपखाली पुन: त्यहीँ मास्क लगाएर खै कसरी जोगिने होला भन्दै स्त्री तथा प्रसुती विभागको दिनँहु डिस्चार्ज, राउन्ड देखि लेवर ड्युटीमा लागिरहेकी छु।

कैलाली कंचनपुरका केसहरु आइरहँदा लाग्छ २ कोश परै बसौं। तर मेरो इथिक्सले त्यस्तो गर्न दिंदैन। दिन दिनै नयाँ नयाँ जीवनका ढोकाहरु खोल्छौं आफ्नै आँखा अगाडि।  तर कुन दिन आफ्नै जीवनको ढोका बन्द हुने हो त्याे कसलाई के थाहा!  

कलेजले दिएको कपडाको मास्कले त भाइरसलाई आँछु पनि हुँदैन होला। यहाँ हामी इन्टर्नलाई कसैले गन्दैनन्। ठूला भनिएका डाक्टरको त कुरा छाेडौं, सिस्टर, हेल्परले पनि राम्राे व्यवहार गर्दैनन्। राम्राे खाले मास्क भए उनैले पाउँछन्। हाम्रो कथा त उही टुकी मुनि अँध्यारोको अँध्यारै छ।

यसो इमर्जेन्सीमा हेर्छु, दाइ दिदीलाई, नत गतिलाे कवच, न त गतिलाे हतियार नै छ उहाँहरुसँग। जसो तसो ओटी गाउन र मास्कले आफूलाई ढाकेकाे देख्छु। यस्ताे देख्दा लाग्छ, उनीहरू साँच्चै ज्यान कै परीक्षा दिइ रहेका छन् यतिबेला ।

बाहिर ज्वरो क्लिनिकको कथा व्यथा त्यस्तै छ। झनै बिजाेक।

जति  छ त्यति नै सुरक्षा कवचमा दिनकै खटिएका हुन्छन् सबै। सबैलाई भाग पनि पुग्दैन।

युद्धभूमीमा भाइरससँग लड्दा लड्दै साँच्चिकै लास बनी लड्ने त होइन भन्ने त्रासलाई एक ठाउँमा पोको पारेर, अर्कातिर आशाको बन्द पोको खोलेर काम गरिरहेकाे देख्छु सबै । वास्तविक जीवनका नायक, जिउँदा देवता त यिनै हुन् भन्दा फरक  नपर्ला।

उनीहरूले गरेकाे काम देख्दा आफू पनि यही भिडको एउटा फक्रीदै गरेको कोपिला भएकोमा गर्व लाग्छ।तर यो गौरवलाई बेला बेला समाचारमा सुनिने डाक्टर माथिको कुटपिट, लाठिचार्ज, कोठा छोडिदिनु पर्ने घरबेटीको धम्की, सरकारको लाइसेन्स खारेज, हिरासतमा राख्ने, जागिरबाट निलम्बन गरिने अनि अलि अस्तितिर त प्रहरीकै लाठी पनि खानुपरेकाे खबरले छिया छिया पारिदिन्छ।

घर,आफन्तजन ,इष्टमित्रकाे फोन आइरहँदा आफूलाई निकै भाग्यमानी महसुस गर्छु। फेरि दिनकै डाक्टर नर्सको मृत्युको खबरले मिडिया रुवाएको बेला मेराे बाबाले ‘छोरी, सुरक्षा कवच बिना अस्पताल नजानु’ भनेको म कहाँ सुन्छु र ! म बाबाकी प्यारी छोरी उहाँको वचन राख्न भन्दा यतिबेला कर्तव्यको ठेली खोलेर अस्पताल तर्फ कदम बढाउँछु। मलाई थाहा छ यसले दिन रात मेरा बाबा आमाका मस्तिष्कमा त्रास भरिदिएकाे छ । तपाईंकी प्यारी छोरी अटेरी बनेकी छ आजकाल ।

अझै केसहरु बढिरहेका छ्न्, बढ्दोक्रममा छन् ।

मैले भनेको कसैले सुन्ने भए यत्ति भन्न चाहन्छु – हामी जस्ता जुनियर डाक्टरको सुरक्षा तर्फ पनि ध्यान जाओस् अबका दिनमा।

कोरोना नबढाउन, धेरै कुराकाम अघि बढाइएकाे छ। म पनि अघि बढिरहेकी छु। मेरो पनि सुरक्षा होस्।

म पनि त देश कै छोरी हुँ।

जय चिकित्सा धर्म! जय चिकित्सक!

Profile Image

डा. रोजी थपलिया

नेपालगञ्ज

Leave a Comment

Your email address will not be published. Required fields are marked *