आइसोलेसन वार्ड र मेरो साथी

“आजभोलि त अस्पताल जान पनि डर लाग्छ। तर अहिलेको अवस्था धेरै नाजुक छ। आफ्नो त फेरि पेशै यही, के गर्नु जानै पर्यो। अस्पतालको काम सकिएपछि बेलुकी घर जान झन् डर लाग्छ।”- उनले सुनाइन।

मेरो स्कुले जीवनदेखिकै साथी हुन् उनी। आजभोली गाउँघरकै स्वास्थ्य-चौकीमा कार्यरत छिन् ।

“आइसोलेसन वार्डमा १२ घण्टाको ड्युटीमा खटिएकी छु आजभोलि। वार्डमा बसेकाहरूले पनि जानाजान अटेर गर्छन। हामी एउटा कुरा सम्झाउछौँ, उनीहरू दशथरी कुरा सुनाउँछन्। गाउँघरका मानिसहरूलाई सम्झाउन बरू सजिलो छ, बाहिरबाट आएकालाई झन् गाह्रो हुने रैछ। फेरि यस्ताे बेलामा सम्झाउने पनि खै कसरी?”

केहीबेर कुराकानी गर्दा मलाई लाग्यो उनीसँग फुकाउने थुप्रै पिडाका पोकाहरू जम्मा भएका छन् हिजो-आज। तर मसँग भने सञ्चो-विसञ्चो सोध्ने र ‘आफ्नो ख्याल गर्नु है’ भन्नु बाहेक अरू केही हुँदैन। 

मेरो विवेकले आजसम्म कुनै पनि पेशालाई दर्जाको उपमा दिएको छैन। सबैको आ-आफ्नो महत्व हुन्छ, कुनै-कुनै बेला बस् परिस्थिति अनुसार पेशाको  सहभागिता अझ अब्बल हुनुपर्दछ। यतिबेला स्वास्थ्यकर्मीहरूको सक्रियताले हामी कयौँलाई राहत मिलेको छ।सारा दुनियाँले यो महामारीलाई विश्वयुद्धकै संज्ञा दिइरहँदा मैले पनि उनलाई सुनाए-

“यो युद्धमा हामीले जित्नै पर्छ र विस्वास गरौँ जित्ने पनि छौँ र अन्तत: यो जितको पहिले श्रेय तिमीहरूलाई नै जानेछ।” 

मैले थपेँ- ” कुनै दिन यस्तै विपदको घडीमा म अग्रपङ्तिमा उभिनु पर्यो भने आजको दिनलाई सम्झेर तिमी मेरो प्रेरणा हुनेछौ।”

आजभोलि स्वास्थ्य क्षेत्रमा लागेका मेरा थुप्रै साथीहरूसँग कुराकानी हुन्छ। उनीहरू अहोरात्र खटिइरहेकाे देखेकाे छु। मुस्किल समय त छ तर हौसलाको कमी भने पक्कै छैन। उनीहरूले आफूले पनि मुस्कुराउन बिर्सेका छैनन् र आफू नजिकै पल्टिरहेका बिरामीहरूको मुस्कान पनि ओइलाउन दिएका छैनन्।

विदेशमा भन्दा पनि हाम्रो हालको अवस्था हेरेर यहाँका अस्पतालमा काम गरिरहेका मेरा स्वास्थ्यकर्मीहरूलाई अझ बढी सन्ताप छ। यो युद्ध त चलिरहेको छ, उनीहरूलाई धेर-थोर हतियार हातमा थमाइएका पनि छन् तर दुश्मनले आक्रमण गर्दा चाहिँ छेक्ने के ले त?

वीर-गाथा लेख्दैछन् मेरा सबै स्वास्थ्यकर्मी साथीहरू। मेराे स्यालुट छ उनीहरुजस्तै सबै स्वास्थ्यकर्मीहरुलाई । 🙏

“आज बत्तिको आभामा पहिलो अनुहार तिम्रो छ।

  सङ्कटले मनै छोपेनि उज्यालो मुहार तिम्रो छ।।”

(मेरो साथी जस्तै सम्पूर्ण स्वास्थ्यकर्मीहरू प्रति समर्पित)

basnetmegh25@gmail.com

Profile Image

मेघ बस्नेत

गुल्मी

(हाल नयाँ दिल्ली, भारतबाट)

Leave a Comment

Your email address will not be published. Required fields are marked *