एउटा सत्य कथा

उसै गरि दिन बित्छ। घाम क्षितिजमा अस्ताउँछ अनि फेरि विहानको मिर्मिरेमा घामसंगै केही आशाहरु पनि उदाउँछन्। अनि फेरि पनि शुन्यतामा दिन बित्छ । म कहाँ २७ जना कामदार थिए। सबैजना खानेपानी र भवन निर्माणका लागि खटिएका। रोजगारीका लागि टाढाबाट आएका मध्ये १६ जना घर गए। बाँकी ११ जनाको अनुहार हेर्छु, मलिन छ। के गर्नु! काम गरेर छोरा छोरी पाल्नु छ। म त्यो कुरा बुझ्छु। काम नगरे कसरी छाक टर्छ?

अनि फेरि कसैले सोध्छ -‘दाइ लक डाउन सकिएन?’ म नाजवाफ हुन्छु। ‘दाइ मर्नु पाए नि बरू परिवारसंगै सबै मर्न हुन्थ्यो।’ म स्तब्ध हुन्छु । हुन पनि रुकुम पश्चिम अनि सिन्धुपाल्चोकदेखि घर परिवार पाल्नको खातिर त यति टाढा खोटाङ जिल्लासम्म आइपुगेका छन् उनीहरू। अनि भन्छन् -‘दाइ ब्यालेन्स लगाइ दिनु न घरमा फोन गर्नुछ।’ म तत्काल जवाफ दिन्छु – ‘ल ल को कस्को नम्बरमा ब्यालेन्स पठाउने। कापीमा नम्वर दिनु। सबैलाई पठाइ दिन्छु।’ मलिन अनुहारमा हल्का खुसी देख्छु। सोच्छु, कति मज्जा छ है सानो सानो कुरामा खुसी हुन जान्दछन् उनीहरू!  

मैले भने सरि कापीमा पालैपालो नम्बर टिपाउँछन् । ब्यालेन्स भएसी सवैले घरमा कुरा गर्छन्। घरमा बाबा आमाले सुनाए हुन्- ‘पल्लो घरको काइला र तलको जेठालाई त ठेकदारले घर सम्म आउने टिकट मिलाइ दिएछ काठमाण्डौबाट तिमीहरुलाई पठाउदैन ?’ उनीहरू मेराे छेउ आइपुग्छन् र भन्छन्- ‘दाइ , दाइ जिल्ला प्रमुखबाट पास लिएर घर जान पाइन्छ रे! हामीलाई नि ब्यवस्था गरि दिनु न। घरमा बच्चा बच्ची बिराम भयो भने पनि अस्पताल लाने मान्छेसम्म छैनन्। बाबा आमा बुढा बुढी हुनुहुन्छ।’ उनीहरूको दुखमा म पनि दुखी हुन्छु।

बा, मिलि पो हाल्छ कि! म प्रयास गर्छु। सुरूमा त नगरपालिकाको उपमेयरसंग बुझे – ‘हेलो नमस्कार उप ज्यु। मेरोमा काम गर्ने भाइहरुलाई सिन्धुपाल्चोक र रुकुम पठाउनु पर्ने।त्यति सहयोग जसरी पनि गर्दिनु पर्याे।’ उताबाट जवाफ आउँछ । ‘हुन्छ, म प्रयास गर्छु। एक छिन पर्खनुहास्’ फोन कट्छ।

हामी प्रतिक्षा गर्छाैं ।

‘ल भोलि अफिस टाइममा आउनु ।’ फोनले खुसीको खबर ल्याउँछ।

यो खवरले खुसी भएका सबैले घर घरै फोन गर्छन् र फर्कने लागेकाे खबर सुनाउँछन्। 

तर म भोलिपल्ट जिल्ला पुग्नु अगावै पास रोक्न माथिबाट निर्देशन गरिएको अर्को खबर आएछ। म बाटैबाट उनीहरुलाई फोन गर्छु – ‘भाइ अब जान नमिल्ने भो रे पास नदिने भो, अब जान नपाउने भयौ।’ 

उतबाट के कसो केही प्रश्न आउँदैन- ‘ए हस् हुन्छ दाइ’ फोन कट्छ । 

यसरी नै कि काम गर्न प कि घर जान पाउने अन्याेलमा समय बित्दैछ हाम्राे , हरेक विहान खुसीको खवर आउने आशामा!

Profile Image

प्रकाश नाछिरिङ राई

खोटाङ

Leave a Comment

Your email address will not be published. Required fields are marked *