आमाको पढाइ

 लक डाउनको समयमा अरुबेला समय नै भएन भन्नेहरुको लागि फिल्म,सिरिज हेर्न ‍र पुस्तक पढ्न उत्तम साइत जुरेको छ। मैले भर्खर ‘मनी हाइस्ट’ हेरि सकेर जर्ज अर्वेलको १९८४ पढ्दै छु । पढ्दा र हेर्दा बाेर लागेपछि  खुल्ला ठाउँमा गएर बस्न मन लाग्छ। यो समय बजारमा खुल्ला ठाउँ भनेको छत मात्रै हो।हाम्रो घरको ठिक पछाडि केही बारी छ। त्यहाँ मकै उम्रदै छन् । 

नजिकै एउटा सानो जंगल छ। जंगल जसले म लगायत मेरा साथीहरुको बालापन सुन्दर बनाउन सघायाे।जंगलमा अहिले किम्मु र काफल फलेका छन् । विरुवामा नयाँ पालुवाहरु पलाउँदै छन् । जंगल हरियो देखिएको छ। यो जंगलमा यत्तिका वर्षसम्म कोइलीको मिठो आवाज सुनेको थिइन मैले ।अहिले यो लेखिरहँदा पनि सुन्दैछु, कुहु कुहु…….। चराहरु चिरबिर चिरबिर गर्दै उठेका छन्। अहिले यो सुनसान बजारमा आवज सुनिन्छ त केवल चराहरुको । रुखहरु पनि स्वच्छ वायु खाइ रहेछन र हामीलाई पनि स्वच्छ वायु दिइरहेका छन् ।

छतमा केही समय बिताएर आफ्नो कोठामा आउँछु र कोरोना संक्रमितकोहरुको संख्या हेर्छु। निराशा मात्रै बढेर आउँछ। अचम्म लाग्छ केही महिना अघिको संसार र अहिलेको संसारमा कति भिन्नता !!

हाम्रो घरमा अहिले बुबा,आमा, दाइ म र बहिनी छौ । आमाको घरायसी काम सकाएपछिको काम युट्युवमा  अफलाइन भिडियो हेर्ने हुन्छ ।आमा हेर्ने कथा खुब हेर्नुहुन्छ ।आमाको मनपर्ने श्रङखला चैं उज्यालो र दुर्गा बज्यै हो । आमालाइ यो आफ्नै कथा झै लाग्छ रे! किनकि मेरी आमाले कहिल्यै स्कुल देख्नु भएन। २० वर्ष क्यान्टिन चलाएकी मेरी आमाले विवाह पछि रहर हुँदा हुँदै पनि पढ्न पाउनु भएन। कुनै बिलमा हस्ताक्षर गर्न नजान्दा हिनताबोधले मेरी आमाले हस्ताक्षर गर्न सिकेको अस्ति जस्तो लाग्छ । आमाको पढ्ने इच्छालाई ध्यानमा राखेर आजकाल हामी दुई दाजुभाइले पालैपालो आमालाई पढाउँछौ।पहिले आमाले हाम्रो पढाइमा ध्यान दिनुभयाे । अब आमाको पढाइमा ध्यान दिने पालो हाम्राे। यो लकडाउनमा आमालाई खुशी बनाउन पाएकोमा खुशी लागेकाे छ। आमालाई यो उमेरमा पनि पढ्न हौसला दिने हेर्ने कथाका उज्यालो र दुर्गा बज्यैका पात्रहरुलाई विशेष धन्यवाद भन्न चाहान्छु ।

सिमितता भित्र असिमित खुशी हुन सक्ने मान्छे हरेक परिस्थितीमा रमाउन सक्छ। त्यसैले यो समय घर बाहिर ननिस्की यही भित्रै खुशी खोज्दैछु । मेरो दिन त  यसरी नै बितिरहेको छ, तपाइको नि!

Profile Image

अनन्त रेग्मी

Leave a Comment

Your email address will not be published. Required fields are marked *