प्रिय देश

प्रिय देश,

अथाह प्रेम सागर तिमीलाई !

ठिक यतिखेर म अरवको दुबईमा छु । यो लेख्दै गर्दा मध्यरातको बार्‍ह बजेको छ। खुला आकाशबाट बथानका बथान ताराहरु कोरोनाले भयभित पारेको यो संसारलाई दयालु दृष्टिले हेरिरहेका छन् र चकमन्न र विरक्तलाग्दो रातमा खजुरको फेद मुनि बसेर एक चित्तले तिमीलाई सम्झिरहेको छु।

प्रिय देश,

परदेशमा यो अरब अति कारुणिक छ। साईप्रस हाहाकार छ, सगोल युरोप शोक सन्तापमा छ, विश्वका शक्तिशाली र सम्पन्न देश ईटाली, स्पेन, फ्रान्स, जर्मन, ग्रेट ब्रिटेन र अमेरिका जस्ता देशहरुमा कोरोनाले आफ्नो युद्ध जितेर इतिहास लेखिसकेको छ। 

मेरो प्रिय देश, म आफ्नो देश नहारोस् भन्ने आलाप गाइरहेको छु। जसरी साँझ साँझ समुन्द्रका किनारछेउ झुरुम्म भएर इरानी चराहरु देशको सम्झनामा वियोगका गीत गाउँछन।

परदेश यतिखेर परदेश जस्तो ठ्याक्कै छैन, यहाँ गमागम भरिने विश्वका अग्लो बुर्ज खलिफा र विश्वका ठूला दुबई मलहरु रित्तै रित्तै र बन्द बन्द छन्!

आजकल मेरा सपनाहरु पनि कोरोना लागेर सिकिस्त छन्। काला सागरले अङ्गालो हालेको पृथ्विमा मेरो उज्यालो जून खसेर चुर्लुम्मै डुबिजान्छ र एक कुपित समुन्द्र उचालेर सुनामीले मलाई बेस्सरी लखेटिरहन्छ । देश छिर्न छिर्न लाग्दा मलाई आफ्नै सरकारले निषेधित बोर्ड देखाएर रोकिदिए पछि म झल्यास्स ब्युँझन्छु ।

हे आमा ! म पुकार्छु ।

प्रिय देश !

किनकी, तिमी मेरो साखै आमा हौ।

कोठा बाहिरको बार्दलीमा जब एउटा पुस्तक लिएर बस्छु। त्यो बेला म सुन्छु, छेउकै निमका रुखमा बसेर सँधै झैँ एक युगल ढुकुरहरु मिलनका सुमधुर गीतहरु गाइदिन्छन।म भावविह्वल हुन्छु, कस्तो विन्दास जीवन! भगवान यो जोडीलाई कहिल्यै कोरोना नलागिदियोस !

यतिखेर म उभेको अरब पटक्कै सुरक्षित छैन। हरेक दिन तीन सय भन्दा धेरै मानिसहरु कोरोना संक्रमणले पिडित भएर अस्पताल पसेका खबरहरु म पढिरहेको हुन्छु। यस्को मतलब म आफू पनि सुरक्षित छुइन, किनकी –

म रातभर काम गरिरहनु पर्छ, यही भाईरस संक्रमित मुलुकहरुबाट ल्याइएका सामानहरु चेक गर्छु । भने जस्तो सुरक्षाका कवचहरु दिईएको छैन। म मात्र पञ्जा र मास्कको भरमा यी सब काम गरिरहेछु।

प्रिय देश, 

आफ्नो जीवनको कहिलेकाँही यति धेरै माया लागेर आउँछ नि ! तिम्रो माया पनि अथाह रैछ मनमा । त्यसैले त तिम्रै काखमा आफूलाई अवसान गर्ने साैभाग्यको लोभले म हुरुक्कै हुने गर्छु। त्यो मेरो अधिकार यो कोरोनाले त के संसारका कुनै परम शक्तिले हनन गर्न सक्तैन।

तर फेरि यस्तो पनि लाग्छ, संक्रमणको आफ्नै गन्धा लास बोकेर तिमीलाई किन जुठो बनाउँ। बरु यतै बसेर म तिम्रो सेवा गरिरहन पाउँ, बेला बेला आफ्नो पसिनालाई रेमिट्यान्स गरिरहुँ । तर त्यतिबेला दुख लाग्छ, जतिबेला बुढा गिद्धहरु तिम्रा हाँगाभरी अवैधानिक गुँड लाएर बसेकाे देख्छु। तिमीलाई ‘तिमी’ हुन नदिन ती बुढा गिद्धहरु यस्ता महाविपत्तिमा पनि तिमीलाई ठुँगिरहन्छन् ।

प्रिय देश,

मेरा घरमा अशक्त वृद्ध बाबा छन । सानो सुन्दर परिवार छ ।उषासँगै भित्ताका रुस्टरहरु बाँस्दै गर्दा हरेक प्रभात हेल्लो बाबा भन्ने एक प्यारी छोरीले मलाई घर आँगनका याद गराइरहन्छे। घर वरिपरि मेरी आमा र बाबाले प्रेम-प्रीतिले रोप्नु भएका आँप, लिचि, कटहर, सुपारी, नरिवल र आरुका रुखहरु छन्। आमाले छोडी जानु भएका यी सब मेरा जीवनका खास चिजहरु हुन, जसलाई हेरेर म पल पल अल्हादित र हर्षले पुलकित हुने गर्छु।

लेख्दा लेख्दै यी अभागी रातहरु बिरानु बटुवा जस्तै हिँडेर निक्कैनै पर पुगिसकेछ ।म रात र प्रभातको बिच सिमानामा ठिक यतिखेर उभिएको छु, खासमा आजभोलि त मलाई विहान भन्दा रातहरु नै प्रिय लाग्न थालेको छ। किनकी संसार स्तब्ध बनाउने शोक र सन्त्रासका खबर लिएर कहालिलाग्दो विहान, मेरो कम्प्युटरको स्कृनमा आफ्नो राज मच्चाइरहन्छ।

प्रिय देश,

मेरो खातिर नगर्नु, तिमी सुरक्षित हुनु । यो यति बलिष्ठ संसारलाई आत्मसमर्पण गराउने कोरोनाभाइरसले तिमीलाई झुकाउन कहिल्यै नसकाेस्। तिमीलाई अजेय बनाउन हामी यतै सकिन पर्छ भने पनि ढुक्क हौं, त्यस्लाई हामी आफ्नो कर्तव्य या उत्तरदायित्व बोध गर्नेछौँ। यो बेला कोरोनाले मरनासन्न भएका भुगोल भित्र तिमीलाई सम्झेर नबाँच्ने नेपालीहरु कोही कतै छैनन्। 

अन्तमा,

तिमी दीर्घायु हुनु।तिमी अजेय र अजम्बरी हुनु। यो विपत्तिमा तिम्रो साथ दिन नसके पनि मेरा विशुद्ध प्रार्थनाहरु तिम्रा लागि अहोरात्र पुकारिरहन्छु । तिमी स्वस्थ र सुन्दर छाैं । यस्तै रहनु भन्ने कामना गर्दै म खजुरको बोट मुनिनै यो डायरी बन्द गरिदिन्छु,

उहीँ तिम्रो सदावहार शुभेच्छुक,

Profile Image

देविन बाबू राई

दुबई

One Comment

  1. Chandra Shrestha

    धेरै मार्मिक चिट्ठी जस भित्र मेरो देश परिवार र कोरोनाले आतंक मच्चाई रहेको यो ब्रह्माण्ड प्रति समर्पित रहेछ हाम्रो यथार्थतालाइ समेटिएको भएर होला अन्तर्मन छोएर यसको मुख्य पात्रमा म आफै भएको भान भयो धेरै धेरै धन्यबाद गीतकार एबम लेखक देविन बाबू राई ज्यु प्रति हार्दिक नमन …

Leave a Comment

Your email address will not be published. Required fields are marked *