यस्तै छ मेरो लकडाउन

डर, त्रास , आक्रोश र विरक्ति मिश्रित छ  मेरो दैनिकी आजकाल । घन्टै पिच्छे समाचारमा कोरोनाबाट संक्रमितको संख्या बढ्दो अनि मृत्युदर उकालिएको सुन्दा यो मनमा नजानिदाें भयले डेरा जमाएको छ । साँच्चै भनुँ भने शब्दहरु नै छैनन् मेरो मनको उकुस मुकुसलाई व्यक्त गर्ने ।अब केही नयाँ थालनी गर्नुपर्यो भनेर केही सोच्न थाल्छु, शुन्यताले गाँज्न थाल्छ । लौ भएन बरु एउटा राम्रो फिल्म हेराै भन्दा पहिलेकाे जस्तो मज्जा कहाँ हुँदो रहेछ र…….

लकडाउनको नवौ दिनसम्म आइपुग्दा पनि कही, केही कुरामा पनि खुसी र शान्ति फेला पार्न सकेको छैन । फेरि कोभिड १९ को उपचारको क्रममा आवश्यक पर्ने सामान किन्दा कमिशनको खेल भयाे रे , भ्रष्टचार भएको आशंका रे …….,प्राइभेट अस्पतालले बिरामी लिन नमानेर बिरामीको ज्यान गयो रे……..। यस्तो दुखद घडीमा पनि हाम्रो देशका अगुवाहरुको यस्ता चाल देख्दा, यहाँ मरेको लाससँग पनि कमिशन माग्न नछाड्नेहरु मात्र छन् कि क्या हो जस्तो लाग्ने ? भ्रष्टचारका कुरा सुन्दा मनमा ज्वारभाटा फुट्छ । निभाउनै नसकिने आक्रोशको आगो बल्छ । 

कहिले त यस्तो देशको नागरिक भएकोमा धिक्कार पनि लाग्छ, के गर्नु ! मन साह्रै विरक्तिएको छ । कही टाढा गएर उतै केही गरि यो जिन्दगी आरामले बिताउजस्तो । तर जाने कहाँ फेरि । यो देशको माया र यही केही गर्नुपर्छ भन्ने चाहनाले बिरक्तिएको मन र आक्रोश , केही सकरात्मक काम गर्ने उर्जामा बदलिदिन्छ । मनमा आशाको किरण जाग्छ । तर धेरै डर, त्रास, आक्रोश, भय, तिक्तता अनि थारै मात्र सपना र सकरात्मक सोच । यस्तै छ मेरो लकडाउन। 

मेरो डायरी लेख्ने बानी छैन । तर हेर्ने कथामा अरूको डायरी पढेर लेख्ने उर्जा आयो। लेख्न त बसे फेरि हाम्रो देशको परिस्थितीले मेरो लेखलाई अर्कै मोड दियो । जति प्रयास गरेपनि मैले यी मेरा मनका उथुल पुथललाई लय दिन सकिन । मेरो गह्रौ र विरक्तिएको मनले यति भन्दा धेरै सोच्न सकेन ।

मेरो यो सानो प्रयास यत्ति नै ।

Profile Image

रुमी राई

Leave a Comment

Your email address will not be published. Required fields are marked *