रित्ताे रित्ताे मन

म फेब्रुवरी महिनाको २८ तारिख बेलुकी १० बजे हिमालय एयरलाइन्स मार्फत कतारको हमाद इन्टरनेसनल एयरपोर्टमा अवतरण गरेको आज ठ्याक्कै एक महिना भयो । 

बैदेशिक रोजगारीका विषयमा तपाईको हेर्ने कथाका कुनै अंक कथा बनेनन् । हुन त म पनि नेपालमै थिए उसबेला । जतिबेला मेरा प्यारा प्यारा नेपाली दिदी वहिनी तथा दाजुभाइ यही मरुभूमीमा कयौँ फुस्रो हाँसो हाँस्दै रात दिन बिताइरहनुभएको थियो । म पनि उहाँहरुलाई साथ दिन र आफ्नो परिवार चलाउन अहिले यहाँ सामेल भएको छु । 

जसको पनि आफ्नै कथा हुन्छ ब्यथा हुन्छ । तर परदेशमा त धेरैको छुट्टा छुट्टै कथा छ । अझ हजुरहरुलाई सुनाउँ भने त दिदि बहिनीको कथा झन भयानक छ । लेख्न त सबैलाई नआउन सक्छ । लेख्न आउनेले पनि लेख्न मनै गर्दैनन् आफ्नै जिन्दगीको कथा ।

म चैं हिम्मत गरेर लेख्ने प्रयास गर्दैछु । थाहा छैन, मेरो कथाले कसैलाई हौसला दिन्छ कि दुरुत्साहन गर्छ । नेपालमा हुँदा बखतै सुनिएको  कोरोनाले उता हुन्जेल मनस्थितिमा खासै फरक परेन । तर बिदेश आएको दिनदेखि मेरो दिमागमा जति बेला पनि कोरोनाकै कुरा मात्रै खेल्ने गर्छ ।  ड्युटी जाँदा आउँदा मात्रै सिमित रहेन । ड्युटी समयमा समेत स्क्रिनमा देखिएका समाचारले असाध्यै बिचलित बनाउँछ ।

अब त झन फुर्सद भयो । मन कति उड्छ, कुरै नगरम् । ३/३ घन्टाको फरकमा योग गर्ने गरेको छु र पनि सामाजिक सञ्जालमा देखिने अनेकौं समाचार र स्टाटसले मन झनै भक्कानिएर आउँछ । यो बेलामा म कसैलाई सहयोग गर्न पनि सक्दिन । अरुले पनि मलाई सहयोग गर्न सक्दैनन् । विश्वमै यही अवस्था छ । कसले कसलाई सहयोग गर्ने ! हामी नेपाल फर्केर आउन सक्ने सहज अवस्था पनि छैन । परिवारबाट टाढा, धेरै टाढा, यतिबेला दिमाग नै रित्ताे रित्ताे पारेर बसेको छु । बाहिर निस्कन पाइ‍ँदैन । खाना र बस्न कम्पनीले दिए पनि रात दिन यस्सै बिताउन गाह्राे हुँदो रहेछ ।

आखिर आफ्नो देश भनेको आफ्नै  हो ।नेपालको बिग्रिएको राजनैतिक यात्राले गर्दा हामीहरूले यो अरबको यात्रा गर्नु पर्याे।अब हामीजस्ताे कति पुस्ताले यो खाडीमा जिन्दगी बिताउन पर्ने हो, सँम्झिदा पनि उदेक लागेर आउँछ ! 

वास्तवमै हाम्रो देशमा रोजगारी सिर्जना गर्ने द्विगो उपाय खोज्नु अत्यन्त जरुरी छ।  कथाहरु धेरै भए । कसैको जिन्दगीमा परिवर्तन पनि भए होलान् । तर हाम्रो चैं जति कथा लेखे पनि जति नै गुनासो गरे पनि केही परिवर्तन भएन ।  रात को १२.३४ बजेको छ । निन्द्रा त छैन । तर पनि सुत्ने चेष्टा गर्दैछु ।

शुभ रात्री, 

Profile Image

ज्ञानप्रसाद बराल

कतार

Leave a Comment

Your email address will not be published. Required fields are marked *