हजुरबुवाकाे सम्झनामा

लक डाउन भएकाे ६० दिन बित्याे। सङ्क्रमित र मृत्यु हुनेकाे सङ्ख्या बढेकाले लक डाउन दुखदायी त छँदै थियो, त्यसमाथि झन डर र त्रास थपिदैछ।। डर र त्रासलाई हटाउन आफ्नाे course book पढेँ । युवामञ्च, मधुपर्क, बालपत्रिका , काेपिला लगायतका थुप्रै साहित्यिक लेख तथा रचनाहरु पढेँ। त्यसैगरी केही समय नेपाली, हिन्दी, अङ्ग्रेजी र प्रेरणादायी चलचित्र हेरेर दिन बिताएँ।

कहिलेकाहीँ काेठामा त्यत्तिकै बसिरहँदा बाल्यकालकाे याद आउँथ्याे । सानै हुँदा टाेल छिमेकका साथी र दिदीबहिनी मिलेर बनभाेज गएकाे, चैत बैशाखकाे समयमा ऐँसेलु र काफल खान गएकाे, साथी साथी मिलेर लुकामारी, चुङ्गी, गट्टी खेलेकाे यी सबै कुरा अहिलेकाे समयसँग तुलना गर्दा म कुनै सपनामा नै पुगेको अनुभूत गर्छु।   

हजुरबुवाले पहिले सानै हुँदा सुनाउनुभएकाे इतिहासका कुरा त्यतिकै भनेकाे हाे जस्तो लाग्थ्याे। तर अाज विगतका कुरा साँच्चै हाे जस्ताे लाग्छ। हजुरबुवाले भन्नुहुन्थ्यो विगतमा पनि विभिन्न समयमा ठ्याैला, दादुरा, बिफर, हैजा जस्ता राेगले थुप्रै मानिसको मृत्यु भएको थियोे रे! ‌मैले सानै हुँदा सुनेकाे भएकाले हास्यव्यङ्ग्यमा उडाइदिएकाे थिएँ। अहिले आफैले काेभिड १९ जस्तो महामारी भाेग्नुपरेकाे छ। विश्व नै त्रसित तथा राेगव्याधिग्रस्त बनाउने याे महामारी काेभिड १९ विरुद्द लड्ने राेग प्रतिराेधात्मक क्षमताको वृद्धि गर्न तम्तयार हुनु परेकाे छ। समयले सबै मानिसलाई समय दिदाें रहेछ।

कहिले विनाशकारी भूकम्प जस्ताे प्रकाेपकाे सामना गर्नुपर्याे त कहिले काेभिड १९ जस्ताे महामारी खेपेर मलाई मलाई अहिलेसम्मकाे मेराे जिन्दगीकाे साढे एक दशक समय बिताउन त हम्मे हम्मे परेकाे छ । म साेचिरहन्छु , स्वर्गीय हुनुभएको मेराे हजुरबुवाले ९ दशक समय कसरी बिताउनुभयाे हाेला? यस्ताे प्रकाेपकाे सामना नगर्न नै हजुरबुबा नवाैं दशक पूरा हुनासाथ भगवानकाे प्याराे हुनुभएकाे हाेला।

मैले course book का साथसाथै प्रेरणा दिने खालका अन्तर्राष्ट्रिय लेखकका किताबहरु पनि पढ्दैछु। Anthony Robbins द्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘Awaken the giant within’ , Rhonda Byrne द्वारा लिखित ‘The secret’ र Florence Scovel Shinn द्वारा लिखित ‘The game of life and how to play it’ जस्ता प्रेरणादायी पुस्तक पनि लक डाउनकै बेलामा पढेर पनि सकेँ। Anthony Robbins द्वारा लेखिएको ‘Awaken the giant within’ मा अमेरिकाकाे क्यालिफोर्निया, काेरिया, चीन, फिजि लगायतका विभिन्न स्थानका विशेषता पढ्दा म पनि उक्त ठाउँ गएर हावामा बेलुन उडे जस्तै उडेकाे अनुभव भयाे। याे किताबमा हाम्रो जीवनमा गर्नुपर्ने परिवर्तनका कुराहरु पनि लेखिएको रहेछ। किताब पढिसकेपछि आफू यस ठाउँमा नै नरहेर अन्त कुनै सुखी र एकान्त स्थानमा पुगेकाे अनुभूति  हुँदा लकडाउन नै नभए जस्ताे लागेकाे छ ।       

बन्दाबन्दीकाे समयमा घरायसी कामहरु पनि थुप्रै सिकेँ। त्याे नियाल्दा बन्दाबन्दीकाे समय वरदान जस्तै लाग्दछ। तर सानो काेठामा आफू कैद हुँदा कहिले कहिले याे समय अभिशाप जस्तै पनि लाग्दछ । अहिले आएर बल्ल थाहा भयाे मलाई ‘मान्छे समय र परिस्थितिसँग जिउन सक्नुपर्छ’ भनेकाे के रैछ भनेर। याे बन्दाबन्दीकाे समयमा मैले न त इतिहास सुन्न पान। न त पाैराणिक कथा न त प्रेरणादायी कुराहरू नै सुन्न पाएँ। ती सबै कुराहरु सुनाउने हजुरबुबा नै स्वर्गीय हुनु भइसक्याे। कहिलेकाहीँ त लाग्छ समय पनि कस्ताे निष्ठुरी। जब म हजुरबुबाले भन्नुभएको कुरा बुझ्दिनथे तब मलाई उहाँसँग बिताउने र कुरा गर्ने समय जत्ति पनि थियाे।अब म उहाँले भन्नुभएको कुरा बुझ्छु तर उहाँले याे संसार त्याग्नु भइसक्याे। कस्ताे अनाैठाे छ जिन्दगीकाे यात्रा। अस्थिर रुपमा चलिरहने।    

बन्दाबन्दीकाे समयमा नयाँ नयाँ काममा निपुण हुँदै राज्यको नियम कानुनहरु पूर्ण रुपमा पालना गरेकी छु। मरेपछि स्वर्ग देख्नु भन्दा पहिले हामी आफैले आफ्नाे मातृभूमिलाई स्वर्ग तुल्याउनकाे लागि राज्यको नियम उल्लंघन नगराै। आफू पनि बाँचाैँ र अरुलाई पनि बचाऊ।

आज हामी लक डाउनमा छाैँ, लक डाउन खुलेपछि हामी नवीन जाेश, जाँगर र तत्परताका साथ देश विकास र रचनामा लाग्ने छाैँ । अँध्यारो पछिकाे उज्यालो अवश्य नै आउँछ। त्यसैले उज्यालोलाई पर्खन अँध्यारोमा भएका बाधा व्यवधान सहनुपर्छ।अहिले बसन्त ऋतु नै बसाइ सरेकाे छ र शिशिर ऋतुकाे आगमन भएकाे छ। शिशिर पछिकाे बसन्तलाई पर्खन शिशिरमा आइपर्ने समस्यासँग जुध्नुपर्दछ। हामीले राज्यकाे नियमकाे पूर्णरुपमा पालना गरेर अर्थात केही समयकाे प्रतिक्षा पछि अवश्य नै हामी लकडाउनबाट स्वतन्त्र हुनेछाैँ। प्रतिक्षाकाे फल स्वादिष्ट हुन्छ। स्वादिष्ट फल प्राप्त गर्नका लागि हामी सबै मिलेर राज्यकाे नियम कानुनकाे पालना गराैँ ।     

सुवर्ण श्रेष्ठ  

दाेलखा

                                                                    

पूर्णविराम।

पेशाको हिसाबले म केटाकेटी पढाउँदै हिडेँको एक शिक्षक हुँ। विगत चार वर्षदेखि म काठमाण्डौँको मुटु न्युरोडमा अवस्थित एक सरकारी विद्यालयमा पढाउँदैछु। दुर्गम गाउँमा जन्मिएर मुस्किलले शिक्षा आर्जन गर्दै करिब आधा दशक पिछडिएका गाउँ बस्तीहरुका विभिन्न विद्यालयमा पढाएपछि देशको राजधानी काठमाण्डौको शिक्षक हुने साैभाग्य मिलेको थियो। आर्थिक, सामाजिक र शैक्षिक धरातलको असाध्यै पिंधबाट आएको मान्छे म। उच्च शिक्षा अध्ययनको क्रममा पनि काठमाण्डौँले  मलाई बारम्बार लखेटेको तितो सम्झना ताजै छ। २०७२ साल पछि भने काठमाण्डौँ मै टिक्ने र औपचारिक अध्ययनको लागि केही बलियो आधार बन्याे।

अरु बर्षहरु भन्दा यस वर्ष मेरो निम्ति उपलब्धी र चुनौतीहरु ज्यादा भएको वर्ष थियो। विद्यालयको नियमित कक्षाहरुका साथै पेशागत दायित्वहरु अनि कलेजको औपचारिक अध्ययनको अन्तहिन शृङखलाहरु। काठमाण्डौँको केन्द्रमा बसेर आगामी जीवन यात्रामा देखेका अनन्त र सिमाहिन फाँटहरु। यसरी अध्ययन र अध्यापनको सघन चापबाट निस्केका केही फुर्सदिला समय सामाजिक संजालमा टहलिँदा डिसेम्वरको अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको एक किसिमको भाइरसबारे थाहा भयाे। केही महिनामै विश्वभर यो भाइरस सुकेको खरमा लागेको फिलिङ्गो सावित भयो।

बढी चहलपहल रहने काठमाण्डौँको केन्द्र न्युरोड र यहाँको जनजीवनलाई प्रभावित नबनाउने कुरै थिएन। न्युरोडमा भेटिने सबै मानिसहरुमा एक किसिमको संशय, छटपटी र त्रासदी देखिन्थ्यो। उनीहरुको एउटै प्रश्न थियो अब के हुन्छ ? कसरी अगाडि बढ्छ? जतिखेर चीनको वुहान शहर पुरै लकडाउनमा थियो। निकट भविष्यमा हामीले पनि कठोर लकडाउनको सामना गर्नु पर्ने कुरा  न्युरोडमा बसेर अनुमान गर्थ्यौ।
चैत दश गते देश पुरै लकडाउन हुनु पूर्व नै न्युरोडका व्यस्त सडक र गल्लीहरु करिब करिब सुनसान भइसकेको थियो। मेरो विद्यालय अघि सधैँ अटेसमटेस रहने पार्किङ स्थल खाली खाली भइसकेको थियो। मानिसहरु दैनिक उपभोग्य सामग्रीहरु ग्यास,दाल,चामल र नुनको जोहो गर्न हतारिरहेको देखिन्थ्यो। पेट्रोल पम्प अगाडि घण्टौ लाग्ने लामो लाईन लागेको थियो। न्युरोडका सधैँ व्यस्त दुकानहरुमा काम गर्ने कामदारहरुले काम छोडेका थिए।न्युरोडको स्थिति एक किसिमले भन्ने हो भने भयानक हुरी आउनु अघिको सन्नाटा जस्तै थियो।हामीले पनि विद्यालयको पढाइ र परीक्षालाई निर्धारित सम़य अगावै सकायौँ। संभावित जोखिमलाई ध्यान दिएर विद्यालय बन्द भयो।

त्यसपछि काठमाण्डौँ बसाइँ रोगको प्रकोपको जोखिम, दैनिक उपभोग्य सामग्रीहरुको अभावसँगै अझै कष्टकर हुने लागेर  चैत नौ गते मात्र आठ महिनाको छोरी बाेकेर, पोको पन्तुराे कसि हामी तीन जना बाइकमा एक किसिमले जोखिमपूर्ण यात्रा गरेर भएपनि गाउँ फर्कने निष्कर्षमा पुग्यौं।

राति अबेर हामी कतै ठाउँ नसरि बसेको गन्तव्य आइपुग्यौं। त्यसपछिका केही दिन काठमाण्डौँबाट धेरै मानिसहरु गाउँ आए।गाउँमा झरेका मानिसहरुले सर्वप्रथम सिस्नुका झाङहरु रित्याए। जंगलमा भेटिने निउरो, कर्कलो र खान मिल्ने जति जे भटिन्छ सकाए। त्यसपछि खोलाको माछा, बनका कालिज, कुखुरा, खसी, बोका, बाख्रा, राँगा भैंसी ,बंगुर केही बाँकी हुने कुरा भएन।

कोही समह समुह बनाएर गाउँ गाउँ डुल्दै हिडें त कोही बाँझो खेतबारी फुटाउन र झाडी फाड्न तिर लागे। कोही बाल्ने दाउराको जोहो गर्न तिर लागे। सुनसान बनिरहेको सहर लकडाउनले बाहिर निस्कनसम्म पनि नमिल्ने, तर गाउँमा भने एक किसिमले उत्सव जस्तै भएको थियो। लकडाउनको करिब महिना दिनपछि काठमाण्डौबाट गाडीका गाडी तरकारी, टमटार,दाल,चामल,चिनी,तेल र नुन गाउँ गाउँ बिक्रीका लागि आइपुग्यो। बुझ्दै जाँदा काठमाण्डौँमा बिक्री नभएपछि व्यापारीहरु गाउँ पसेका रहेछन्।मैले बुझेको थिए, लकडाउनले काठमाण्डौमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हनेछ जीवन अति कष्टकर हुन्छ तर भयो उल्टो। अहिले त झन दिनहुँ जसो दैनिक उपभोग्य सामाग्रीहरु काठमाण्डौँबाट निर्वाध रुपमा यता आइरहेका छन। 

यतिखेर म आफ्नै गाउँमा बसि यो डायरी लेखिरहेको छु। सायद लकडाउन नभइदिएको भए यतिखेर म विद्यालयको नियमित कक्षा पेशागत जिम्मेवारी,विद्यालयको आगामी कार्यक्रमको लागि कुदिरहेको हुन्थे। साथै न्याय सेवा आयोगको पढाइ, परीक्षा, बार काउन्सिलको परीक्षा,चैत वैशाख जेष्ठ महिनामा हुने भनिएकाे एम ए राजनीतिशास्त्रको परीक्षाकाे तयारीमा लागिरहेको हुने थिए। तर विडम्वना नै भन्नु पर्छ कोरोना र लकडाउनले जिन्दगीका सबै निर्धारित तालिकाहरु बिथोलिदिएको छ। नियमित कामहरु भन्दा बिल्कुलै भिन्न कामहरु गाउँमा गोरु किन्ने देखि सुरु गरेर, बाँझो खेतबारी जोत्ने, मकै रोप्ने, घाँस दाउरा लगायत घरायसी कामहरुमा दैनिकी बितिरहेको छ। जुन कामहरुमा मेरो पुरै बाल्यकाल बितेको थियो। याे बिचमा बाँझो फुटाउने देखि मकै रोपेर एक सरो गोड्ने बेला भइसक्यो।

तर कोरोनाको जोखिम कम हुने र लकडाउन खुलेर नियमित काममा फर्कने कुनै छाटँकाट देखिएको छैन। हुन सक्छ रोपेको मकै फलेर खाइ सकेर अर्को मकै रोप्ने बेला सम्म पनि यही जाममा अल्झिनु पर्छ। लकडाउनले गर्दा आठ महिनाको सानी छोरीसँग मज्जाले खेल्ने र रमाउने अवसर पनि पाएकाे छु। छाेरी अब दश महिना पुरा गर्दैछिन्। के थाहा मेरो सानी छोरीकाे बोलि सक्ने समयसम्म पनि यो कोरोनाको त्रासदी सकिने हो, होइन? प्रश्नहरु आफै भित्र गुजुल्टिएर आउँछन। तर उतर निक्कै कठिन छ।

भन्ने हो भने एक किसिमको कोरोनाले मडारिरहेको कुहिरोमण्डल भित्र छ जीवन। कोरोनाले आफ्नो उन्माद देखाउन कम गरेको छैन।  पुरै विश्वलाई नै लपेटिरहेको छ। अझै के हुन्छ र कसरी अगाडी बढ्छ भन्ने सनसनीपूर्ण प्रश्नको भुमरीभित्र रुमल्लिएको छ हाम्रो यात्रा।

हो मलाई राम्रैसंग थाहा छ कि, हरेक विनासको गर्भभित्र विकासको बिउ हुन्छ। मानव, इतिहासको लामो कालखण्डदेखि डरलाग्दो प्रकृतिसँग जुध्दै आयो। जंगली जनावर, नदि, पहाड, हिउँ, बाढीपहिरो, चट्याड़, ज्वालामुखी, भुकम्प, प्लेग भनिने महामारी, हैजा, एड्स, स्वाइनफ्लुदेखि घातक इबोलासम्म। ओडारदेखि अन्तरिक्षसम्म, आदिम मानव देखि आधुनिक अभिनवसम्मको विकासमा प्रकृतिकै योगदान  छ । 

बिस्तारै विश्व आफ्नो स्वभाविक गति र लयमा फर्कन्छ अनि एउटा अनिश्चयको यात्राको सफल पूर्णविराम हुनेछ।

प्रतिक लामा

चौरी देउराली, काभ्रेपलान्चोक

बुवाको पैदलयात्रा


कोरनाको कहरमा लकडाउन भएको आज ३९ दिन भएछ। भक्तपुरको सानो कोठामा म र मेरो भाइ बसिरहेका छौं। केही दिन यता लगातार पानी परिरहेको छ। आज दिउँसो केही समय घाम लागेता पनि अहिले रिमझिम पनि परिरहेको छ। झरि र लकडाउनको अनिश्चितता उस्तै उस्तै छ कहिले सम्म हो थाहा छैन। उकुसमुकुस भै कोठा भित्र थुन्निरहँदा घरको निकै याद आएको छ। मेरो घर कर्णाली प्रदेशको सल्यान जिल्लामा हो। लकडाउन कति समयसम्म हुन्छ थाहै भएन नत्र झोला बोकेर नाइट बस चढ्न हुन्थ्याे। जसोतसो दिनहरु कटेका छन् यहाँ। देशभित्रै घरबाट धेरै टाढा नभए पनि मलाई यति धैरै घरको याद आइरहेको छ भने झन प्रदेशमा रहेका नेपाली दाजु भाइलाई कस्तो भएको होला!

सधैँ कोलाहल हुने उपत्यका अहिले सुनसान छ। शान्त सहरमा एकाबिहानै घरबाट फोन आउँछ अनि मात्र हामी बिउँझिन्छौं । हरेक दिन बुवा सोध्नु हुन्छ-‘कोठामा चामल, दाल, तेल तरकारी के के छ?’ म जवाफमा जे जे छ त्यही भन्छु। ‘खर्च पानी कति छ, पठाइदिन हुन्थ्यो सबै बन्द छ’- बुवा चिन्ता मान्नुहुन्छ। हरेक दिन बाबा हाम्रो अबस्था बुझ्नुहुन्छ। मेरो बाबा सामान्य किसान हो।तर हाम्रो सानो किराना पसल पनि छ। लकडाउन पछि उहाँको दैनिकी परिवर्तन भएको छ।

मेरो बाबा हरेक दिन झिसमिसेमै उठ्नु हुन्छ। सानो मोबाइलको रेडियो बजाउँदै गोठ तिर निस्किनु हुन्छ। हाम्रो गोठ घरबाट ४० मिनेटको दुरीमा छ। गोठमा पुगे पछि मात्र हामीलाई फोन गर्नुहुन्छ। ५५ वर्ष काटिसक्नु भयाे मेरो बुवा। अहिले पनि हामी भन्दा तगडा हुनुहुन्छ। मध्यपान, धुमपान केही पनि गर्नु हुन्न। त्यसैले होला सधैं फुर्तिलो । सन्तान जति नै ठूलो भएता पनि आमा बाबालाई निक्कै चिन्ता लाग्दोरहेछ । सेतै फुलेको कपालमा ढाकाटापी ढल्काउँदै, साइड ब्याग भिरेर, आधाजति नेपाल हिँडेरै पुग्नु भएको छ मेरो बाबा।

कोरोनाको कहरपछि सरकारले पुरै लकडाउन घोषणा गर्यो र मान्छेहरु हिँडेरै कैलाली ,वर्दिया लगायतका ठाउँ पुगे। उनीहरु हिँडिरहेको समाचारहरु टन्नै आए। दुख पनि लागिरहेको थियो। तर म मेरो बाबालाई सम्झिरहेको थिएँ। मेरो बाबा गाडी चढ्न सक्नु हुन्न उहाँलाई गाडीसँग खोइ के छ कुन्नि! त्यो उहाँलाई नि थाहा छैन हामीलाई नि थाहा छैन। अहिले पनि जहाँ जानु हुन्छ पैदल हिँड्नु हुन्छ। हामीले यो कुरा भन्दा अरुहरु अचम्म मान्छन्। तर यो सत्य हो। वर्षमा एक दुई पटक नेपालगञ्ज आउने काम परिरहन्छ। बुवालाई घरबाट नेपालगन्ज पुग्न ५ दिन लाग्छ भन्नु हुन्छ। हामी सानो हुँदा छाता, रेडियो र झोला बोकेर हिड्नु हुन्थ्यो। कहाँ पुग्नु भयो, कता जानु भयो केही थाहा हुन्नथ्यो। हामी घर बसेर सबै अनुमान लगाउथ्याैं।

बुवाले प्रयोग गर्ने पैदलबाटाहरु छन। आजभोलि पनि बाटो उही,छाता उस्तै, झोला उस्तै छ। रेडियोको सट्टा चाहिँ सानो मोबाइल छ। जहाँ पुगे पनि यो ठाउँमा पुगे भनेर फोन गर्नुहुन्छ। घर आएपछि प्राय बाटोमा के के भयाे सुनाउनुहुन्छ। बाटोमा कहिले कसो प्रहरी,आर्मीहरुले ‘बाइकको व्यवस्था गर्दिन्छम्’ भन्छन रे। तर के गर्नु बाइकमा पनि चक्कर लाग्छ भन्नुहुन्छ बुवा। हामीले धेरै नै प्रयास गर्दा पनि सक्नुभएन गाडी चढ्न।अब त झन हामी पढाइको लागि घर बाहिर हुन्छौं। बुवा प्रदेश राजधानी सुर्खेत, दाङ्ग, सल्यान सदरमुकाम सबै ठाँउ हिँडेरै पुग्नु हुन्छ।

अहिले मान्छेहरु लहरै बाटोभरि हिँडिरहेकाे देखेर बुवाकाे खुब याद आउँछ। परिवारको मायाले उनीहरुलाई हिडन उर्जा मिलिरहे झैँ लाग्छ। मलाई पनि मेरो घरबाट फोन गर्दा छुट्टै उर्जा मिल्छ। म लकडाउनलाई पूर्णतया सदुपयोग गर्ने पक्षमा छु। मैलै केही दिन अघि नीलम कार्की निहारिकाले लेखेको ‘योगमाया’ किताब पढेर सक्काएँ। अनि यो समयमा मैलै निकै राम्रा राम्रा सिनेमाहरु हेरिरहेको छु। सबैजना घरमा हुने, कोठामा हुने, काठमाण्डौँमा पढ्न दुर दराजबाट आउनुभएका सबैलाई घरको निकै याद आएको होला। घरमा चिन्ता पनि होला। तर यी सबै कुराबाट हामी छिट्टै मुक्त हुनेछौं। अनि त मन लाग्याे भने घर जान पाइहालिन्छ।

दिप चन्द

सल्यान