प्रकृति र प्रेम

सधैँ जसो आज बिहान सबेरै उठी हस्पिटल जान निस्किए तर आज मलाई मेरो वरिपरिको वातावरण निक्कै नौलो अनि  रोमाञ्चक लागिरहेको थियो ।

एकातिर विश्व कोरोना अर्थात COVID -19 को माहामारीमा जुझिरहेको थियो भने अर्को तर्फ बढ्दो जनसंख्या, वैज्ञानिक आविष्कार र  ठूला-ठूला कलकारखाना बाट निस्केको प्रदूषित हावाले गर्दा कुरूप बनेको वातावरणले कोल्टो फेर्दैथियो । आफ्नो शैशवकाल देखिनै प्रकृतिको एकान्त काखमा रम्दै आएकी मैले पढाइका क्रममा काठमडाैँ भित्रिए पछि यहाँको भागदौड र प्रदुषणका कारण प्रकृतिको अस्तित्व नै बिर्सन पुगेकी थिए‍‍ँ।

बर्षाै पछि आज पुनः प्रकृतिसँगको प्रेम जागरूक भएको छ। महामारीको त्रासका कारण देशमा गरिएको लकडाउनको बेला हस्पिटल जाने क्रममा सदियौ देखि बिग्रदै आएको प्रकृतिको त्यो सुन्दरता सुदृढ भइ पुनः दुलहीसरि बन्दै गएको देख्दा हृदय नै प्रफुल्लित भयो। सधैँ अलार्मको आवाजले उठ्ने म आज भोलि चराचुरुङ्गीको चिरबिरसँगै उठ्ने गरेकी छु। धुवा-धुलोको कारण धुमिल भएको परिवेश र प्रदुषणकै कारण उजाड बनेको बिरुवा अनि फूलहरु पनि पुनः हराभरा बन्न पुगेका छन्। जसका कारण वातावरण श्रृङ्गारिन पुगेको छ।

अहिलेको यो मनमोहक दृश्य साँच्चै नै अतुलनीय छ । जसरी हराभरा वनमा गाईवस्तु चराउन जँदा गोठालाले आफ्नो सम्पूर्ण पिर व्यथा बिर्सेर थकाइ मार्छन त्यसरी नै प्रकृतिको यो अनुपम दृश्य देख्दा सांसारिक व्यथा बिर्सि मेरो मन मस्तिष्क शान्त बन्न पुगेको छ ।

आफ्नो मनका सम्पूर्ण कुरा अक्षरको ढाँचामा उतार्न नसके नि प्रकृतिको यो शान्त, हराभरा दृश्य आफ्नो मनमा राखेकी छु। के तपाईंले पनि यस्को सुन्दरतालाई आफ्नो हृदयमा समावेश गर्नु भयो त?

महिमा खनाल

बुटवल

आमाकाे उडान

सबैभन्दा ठूलो कुरा त राेगलाई जित्नु र राेगबाट बच्नु रहेछ । बाँच्ने रहर त सबैलाई हुन्छ नि हैन र?

यसपटक मलाई सबैभन्दा धेरै फुर्सद भयाे,मलाई लागिरहेको छ यो नै मेरो जीवनको सबैभन्दा लामाे घर बसाइ हो। ३९ दिनमा धेरै कुरा नजिकै बसेर नियनलिरहेको छु। लकडाउनको सुरुको हप्तामा फुलेको गमलाकाे फूल अब त ओइलाउन थालेसकेछ।घर अगाडिको राेडमा घाँस उम्रेर हरियो र सुन्दर भएको छ। मेरो दाह्री कपाल बढेर ऐना हेर्दा आफैंलाई डर लाग्ने भएछ। कतै सवारीसाधनकाे साइरन सुन्दा झसङ्ग हुनेभएछु।

युरिक एसिडले सताएकी घरबेटी आमा बिहानी यात्रामा निस्कन पाउनु भएको छैन। कसैलाई सामान्य ज्वरो आयाे भने टाेल नै तर्सिने भएको छ। यस्ता थुप्रै अचम्म लाग्ने घटनाक्रम सिर्जना भैरहेका छन्।अनि काेराेनाकाे नयाँ संक्रमण भेटियो भन्दा चाहिँ सामान्य लाग्न थालेको छ। यही खबर सुन्दा सुन्दा कानलाई बानी पर्यो सायद।

तत्कालका लागि ज्यान जोखिमको कुरा त छँदैछ। म व्यवस्थापन तथा अर्थशास्त्रकाे विद्यार्थी भएकोले विश्व अर्थतन्त्रकाे अध्ययन गर्दा अहिले विश्वमा आर्थिक मन्दी पनि सुरु भइसकेको छ।पछि व्यावसायमा उच्च गिरावट हुने छ भने,दैनिक श्रम गर्नेहरु दुईछाक टार्न झन समस्यामा पर्ने छ। कयौं श्रम तथा राेजगारी समस्या त छन्।

अबको दुई हप्ता पछि अमेरिकाबाट नेपालका लागि आमाकाे उडान हुने कुरा थियो। करिब ५ महिना पछाडि आमासँग भेट हुने खुसी छुट्टै थियो। तर काेराेना माहामारीले अन्तर्राष्ट्रिय हवाइ उडान अनिश्चित भएसँगै अब आमा आउने भाका पनि अनिश्चित भएको छ। छिट्टै यो काेराेना विश्वबाट विदा मागाेस् र आमासँग नेपालमा भेट हाेस्।

हराएको खुसी फेरि मिल्ने अपेक्षा सहित।

निराजन खतिवडा 

ओखलढुङ्गा
हाल काठमाडौं