कोरोना भाईरस कोभिड १९ चीनको वुहानबाट फैलिएको खबर सुनेपछि त्यस्तो केही हैन होला, सामान्य रोग होला भन्दा भन्दै अन्य देशमा पनि फैलियो। नेपालीहरु रहेको चीनबाट सरकारले उद्धार गरेपछि बल्ल कोलाहल मञ्चियो। यस्तो होला, नेपालमा आउला भन्ने अनुमान कसैको थिएन। अन्य देशहरु हायल कायल हुँदा पनि नेपाल ग्रिन जोनमा थियो। पशुपतिले बचाएको भनेर धेरैले भ्रम पनि छरे। कालान्तारमा नेपाल पनि ग्रिन जोनमा रहन सकेन। तर यहाँ खासै प्रभावकारी ढंगले सावधानी अपनाइएन। त्यसैको प्रभाव दिन प्रतिदिन नेपालमा कोरोना सङ्क्रमितको सङख्या बढिरहेको छ। मृत्युको खबरले कान पाकिसक्यो। घर बाहिर निस्कन पनि डराउनु पर्ने दिन आयो।
दिनहरु उराठ लाग्दो हुँदै गयो। लकडाउन भएको पनि यत्तिका दिन भयाे। काठमाडाैँबाट घर आए। कलेज पनि बन्द छ। दिक्क लाग्न लागेको छ। अफिस कलेज हुँदा त मनका अनगिन्ति पिरहरु भुलिन्थ्यो। साथी भाइ भेटिन्थ्यो। उनीहरु मेरा अभिभावक झैँ थिए। अहिले त डरै डर मात्र छ। धन्न काठमाण्डौबाट घरमा आउन पाए। केही दिन त घर तिरको काममा व्यस्त भएँ। भाइबैनीको गुनासाे सबै सुनि दिनुपर्छ। उनीहरु त दिदी साथै भएर निक्कै खुसी छन्। तर म भने अभिभावक विहिन छु।
कहाली लाग्दो परस्थितिबाट गुज्रिएर यहाँसम्म आइ पुगेको छु। बाबा आमा विना भोगेको जिन्दगी सम्झिदा मृत्यु पनि केही होइन जस्तो लाग्छ। अब त घरभित्र पनि कति बस्नु। कोरोना भन्दा पनि अन्य जिम्मेवारीको डर छ। अभिभावको भूमिका निभाउन पक्कै सजिलो छैन। आफू भन्दा साना भाइ बहिनीको गुनासाे सुन्दा सुन्दै यत्तिका दिन वितिसकेछ।मेराे मनकाे कुरा चाहिँ कसलाई सुनाउनु हाेला! मलाई मेरो चिन्ता भन्दा पनि भाइ बैनीहरुको चिन्ताले निकै सताउँछ। कही बाहिर निस्किन दिएको छुइन। आफू पनि निस्केको छुइन। अब सधैँ यसरी कहिले सम्म चल्ने होला!
घर चलाउन निकै गाह्रो छ जिम्मेवारीको बोझले थिचेको छ। दिन प्रतिदिन कोरोना सङक्रमितको सङ्ख्या बढिरहेको छ। सास हुन्जेल आश पक्कै हुन्छ। मृत्युको खबर दैनिक सुन्नु पर्दा मन भावुक हुन्छ। म जस्तो अभागी अरु नबनुन्। कसैको मृत्यु नहोस्। अभिभावकको अभावमा बाँचेको जिन्दगी बहुत दुखदायी हुँदोरहेछ। मैले ती दिनहरुको सामना गरे, अहिले सम्झिदा पनि सास रोकिन्छ आँशु बर्सिन्छ। छोरीहरुको महत्व नदिने समाजमा परिवारको सम्पूर्ण जिम्मेवारी लिएर आफू रित्तो भएर पनि अभिभावकत्व निभाउन लागि परेको छु।
अब कहिले सम्म यसरी त्रासमा जिउने होला ? कहिले सम्म मृत्युको सङख्या गनेर बस्ने होला? विकसित मुलुकहरुलाई त हम्मे हम्मे परेको छ ।नेपालमा के हुने होला पिरै पिरले सुकेको ज्यान झनै सुकिसक्यो। न रोइकराइ गरेर कोरोना हट्ने। डर मात्र लाग्छ। ठूलो स्वरले खोके मात्र पनि छिमेकीले कान ठाडो बनाउँछन। कस्तो रोग आयो ! रोग नलाग्दा नै हेरिने दृष्टिकोण फरक छ, रोग लाग्यो भने त के हालत होला !
आफ्नो पिर, कलेजको पिर, भाइ बहिनीको पिर, त्यसमाथि लकडाउन। कति डामाडोल छ जिन्दगी! तर पनि हरेस खाएको छुइन। विधाताले लेखेको कुरा कसले टार्न सक्छ र ! कसैले ममता देखाए सहानुभूति मात्र दिए पनि मन शान्त हुन्छ।
घरमा बसिरहँदा पनि छटपटी लागिरहन्छ। जिन्दगी अस्तव्यस्त चलिरहन्थ्यो। परिवारसँग पढाइको कारण टाढा रहनु पर्थ्यो। अहिले समय छ , फुर्सद छ, तर अभिभावक नै छैनन्। बा आमा बिनाको घर के घर! वरिपरि सबै छोरा छोरी अनि बा आमा हुनु कति आनन्दमयी हुन्थ्यो। घर भरि टन्न मानिस भए त लकडाउन पनि पारिवारिक जमघटको रुपमा सदुपयोग गर्न हुन्थ्यो।
तर यी सब कल्पना हुन् मेरो। हुनेहरुको छोराहरुले कति दुख दिएका छन्, संसार यस्तै छ । सानै उमेर देखि दुख भोग्दै आए धेरै कुराहरु सिक्ने अवसर पाएको छु पढेर भन्दा पनि परेर भोगेर परिपक्क भएको छु।
एक मनले लाग्छ कस्ता कहाली लाग्दो दिन त बित्यो। अब यति नै लेखेको रहेछ भने हुने कुरा कसैले टार्न सक्दैन। जे भए पनि कठोर बन्न नजाने पनि शाहस कायम छ। साथीभाइको साथ र प्रेरणा पाए यो भने पनि कोरोनालाई जित्न सक्छु जस्ताे लाग्छ। जटिल छ समय तर भाग्ने कुरा भएन। सामना गर्नुको विकल्प छैन।
No responses yet