लकडाउन जिन्दगी बाँचिरहेका छौ हामी। तर घाम आफ्नै समयमा झुल्किन्छ, आफ्नै समयमा अस्ताउँछ। चराचुरुङ्गीहरु निर्वाध उडिरहेका छन्। प्रकृति उसैगरि हिमालमा मुस्कुराइ रहेको छ । फूलहरुमा रंग भरिरहेको छ। अनि हावा केही फरक चलेको छैन,ऊ चलिरहेछ आफ्नै गतिमा। यतिबेला मानव मात्रै आफ्नो गतिलाई सिमित गरिरहेको छ।
मेरो जिन्दगी पनि यतिबेला घरमा नै सिमीत भएको छ । विहान साढे सात बजे उठेपछि शरीर तन्काउदै घरको छतमा निस्कन्छु । श्रीमती जीले रोपेका गमलाका फूलहरुमा नजर लगाउँछु । लकडाउन अघि सम्म यो छतमा म दश एघार दिनको फरकमा मात्र उक्लिन्थे । फूलहरुमा नजर फेरिसकेपछि मेरो घरै तलको रोडमा एकपटक आँखा डुलाउँछु । खाली रोड, तर रोडको भित्तामा थुपारिएको माटोको थुप्रोमा लडिरहेको हुन्छ सधै एउटा सजिव मुढा….हो सजिव मुढा! एउटा पुरानो मैलो मण्डी ओढेर माटाको ढिस्को माथि लडिरहको छ एउटा मान्छे । उसलाई हेर्दा लाग्छ न कोरोना, न लकडाउन, न साबुन पानी, न स्यानिटाइजर, न सामाजिक दुरी, केही मतलव छैन उसलाई। मतलव अनि डर छ त केवल घरभित्र सम्पूर्ण अनुशासनमा बसेको मलाई र हामीलाई। सुन्न त उसले पनि सुन्छ होला सुरक्षाकर्मीको गाडीमा घन्किरहेको कोरोना सतर्कताका सूचनाहरु, महसुस त उसलाई पनि हुँदो हो मान्छेहरु हिड्न छाडेका, गाडीहरु गुड्न छाडेका, अनि बन्द पसलका सटरहरु उसले पनि देख्छ होला। यति अनभिज्ञ पनि उ कहाँ होला र? रात र दिनको फरक थाहा नपाउने, यस्ता अनगिन्ति कुराहरु उसको बारेमा सोचिरहनु आजभोलि मेरो दैनिकी बनेको छ।
मेरो आमा पनि म जस्तै त्यो मैलो मण्डी भित्रको मान्छेको कुरा गर्नुहुन्छ। भन्नुहुन्छ “त्यो के खान्छ होला ? त्यसलाई जाडो गर्मी केही महसुस हुँदैन कि? त्यो दिनरात बाहिर बस्छ रोग पनि लाग्दैन कि उसलाई?” म आमालाई दिने सही जवाफ कहिल्यै पाउँदिन।
हुन त हिजो कोरोना अनि लकडाउनको समय भन्दा अगाडि पनि त्यो मान्छे त्यही थियो त्यसैगरी । त्यतिबेला मैले उसलाई मेरो पसल अगाडिबाट त्यसरी नियालिन पनि। जसरी अहिले घरको छतमा उसैलाई हेर्न भनेर दिनको तीन चार पटक उक्लन्छु। पुष माघको चिसो ठिहीर्याउनेमा पनि उ त्यही थियो। छेउमा आगो बालेर उसैगरि सुतिरहन्थ्यो। मैले कहिल्यै सोचिन उसको बारेमा। सायद म भित्रको मानवता भौतिक सुखको खोजिमा भौतारि रहने मेरो शरीर छाडेर कतै पर सुस्ताइरहेको थियो त्याे बेला। आज म उसलाई कहिले चलमलाइ रहेको, कहिले अलि पर सरेर बसेको त कहिले सुतिरहेको देख्छु। कहिले त ऊ मलाई फोहोरको थुप्रो जस्तै लाग्छ। वरिपरी कागज र प्लाष्टिकहरुको बिचमा लडिरहेको हुन्छ ऊ। हाम्रो दुनियाँ भन्दा फरक उसको दुनियाँ।
उसलाई यसरी हेर्दा हेर्दा यो समय मेरो मनमा एउटा इच्छाको पालुवा पलाइरहेको छ। कुनै दिन म उसलाई एक छाक मात्रै भएपनि पेट भर खुवाउन चाहन्छु , अनि सोध्न चाहन्छु उसको सञ्चो बिसञ्चो। यही सोच्छु मुस्कुराउँछु, अनि हेर्छु पर क्षितिज तिर। घाम अस्ताउनै लागेको छ र त्यही घाम जस्तै मानवता पनि कतै अस्ताउन लागिसकेको पाे थियाे कि! जब घाम झुल्कन्छ, म फेरि उसैलाई हेर्छु अनि उसको भोक, जाडो, गर्मी, पिडा महसुस गर्न खोज्छु। तर अझैपनि उसको छेउमा गएर दुई बात बोल्ने साहस म मा आइसकेकाे छैन। उसलाई पेटभरि खान दिने इच्छाले पनि मलाई उसको छेउ सम्म डोहोर्याइसकेकाे छैन। अनि यो दैनिकी लेखिरहँदा मनमा प्रश्न उब्जिएको छ “के म भित्रको मानवता अझै बाँकी छ होला?”