हुन त म नेपालको लकडाउनमा छुइनँ । तर यो कतारमा पनि बस्न साह्रै गाह्राे भइसक्यो । दिनका दिन ५० जना भन्दा धेरैलाई पोजेटिभ देखिन्छ । दिनभरि ८ घण्टा काम गरेर आयो अनि मोबाईलमा खवर हेर्दा मनै दुख्छ । महिनाभरि दुःख गरेर कमाएको पैसा पठायो, नेपालमा रिसिभ गर्ने वातावरण छैन । अनि अहिले त कत्ति झुटा खबर पनि अउँछन् । यस्ता झुट्टा नेपाली फेस्बुके खबरले झनै अत्ताइदिन्छ । कहिलेकाँही चैं त्याे झुट्टाे खबर हेर्नु भन्दा पहिल्यै हेरेको “हेर्ने कथा ” ३ पटक हेरिन्छ । र सुतिन्छ फलामको २ तले खाटमा ।
कोरोना भाइरस (covid 19) को आतंकले आफ्ना परिवारलाई समेत विच्छेद गराएर एकै ठाउँ गुम्सिएर बस्न बाध्य पारेको छ । यहाँ कोही बल्ल बल्ल बिदा पाएर घर जान लागेकाहरू पनि रोकिएर बसेका छन् ।
रोजीरोटीको लागि विदेशमा भएका हामी जस्ताको पीडा भयावह छ । हामी परदेशी मजदुरहरू एउटै साँघुरो कोठामा कोचिन बाध्य छौं। मानाै हामी एउटा अघोषित जेलमा छाैं । सरकारले लकडाउनमा बाहिर ननिस्कन उर्दी जारी गरेको छ । उल्लङ्घन गरेमा सजाय पाइन्छ ।
बजारहरू आंशिक मात्र खुलेका छन् कतारमा । त्याे पनि सीमित खाद्यान्न पाइने पसलहरू मात्रै । महंगीको कुरा गरि साध्यै छैन । २ पोटी लसुनको मुल्य ४ रियाल । एक पाउ अदुवाको ५ रियाल । खाद्यान्न किन्न जान पनि साह्रै गाह्रो छ । हरेक ठाउँमा शरिरको तापक्रम नाप्छन् । जताततै प्रहरीको गस्ती छ । कतै निस्किए पुलिसले समातिहाल्छ । कतै जानु परिहाल्यो भने कम्पनीको ड्रेस लगाएर मात्र जानु पर्छ । शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि रसिलो पोसिलो खाना खाने भन्छन्। तर यहाँ पैसा भएर पनि खान नपाउने अवस्था छ । के गर्नु यहाँ यस्तै छ ।
झुटा खबरले अत्यास लाग्छ । यो दुःखी मनलाई झनै दुःखी बनाउँछ । त्यसैले सबैलाई मेरो बिनम्र अनुरोध छ कि कृपया झुटा खवर पोस्ट नगरी दिनु होला । सबैलाइ हौसला दिनु होला । साबुन पानी ले २० सेकेन्ड हात धुनु होला । मेरो आजको डायरी यत्ति नै ।
जय नेपाल !!
No responses yet