प्राय एकान्तमा ब्युँझने म, थाहै नपाइ आजभोलि खलबलीको माझमा ब्युँझन थालेछु। किर्तन दिदी जसलाई म किर्तु दिदी भन्छु, उहाँ पनि अस्ति यस्तै भन्दै हुनुहुन्थ्यो। फरक यति थियो उहाँ मन्दिरको भजनहरु सुनेर नेपालमा ब्युँझने, अनि म भने म्यासेन्जर, भाइबर, अनि ईन्स्टाग्रामा आएका म्यासेज र कलहरुको आवाजले अमेरिकामा ब्युँझने। बुवाआमा, श्रीमती, दाजु, दिदी, भिनाजु, मामा, ठूलाबा, काका, छरछिमेकी, अनि संसारभरका साथीहरु आजभोलि साँझ बिहानै सम्झन्छन्। मनचाहिँ मेरो पनि तिनै मन्दिरका भजन र परेवाका बथान उड्दा आउने हावाको आवाजबाट ब्युँझन चाहन्छ।
दैनिकी नै भयो फोनमा कुरा एउटै हुन्छ, ‘अमेरिका त नम्बर वानमा आयो। तेरो ठाउँतिर स्थिती के छ, बाहिर तिर नजानु।’ मेरो सबैलाई एउटै उत्तर रेकर्डर बोलेझैं ‘मेरो ठाउँमा खासै संक्रमण छैन, म सुरक्षित छु तपाईंइहरु पनि सबैजना आ-आफ्नै ठाउँमा सुरक्षित रहनुस।’ तर यो कथा लेख्दै गर्दा अस्ति कोरोना संक्रमण सम्बन्धि “लासको शहरमा मेरो बाँच्ने आश“ भनेर एकजना कविले लेखेको याद आयो । म अझै पनि हाँसोको मुकुण्डो लगाउँदै सबैलाई सान्त्वना दिदैँ थिए, ‘मेरो ठाउँमा केही भएको छैन’ भनेर। त्यो दिन म बसेकोे राज्य मेनमा २११ संक्रमित २४ मृत थिए। आज ७७० संक्रमित र २४ को मृत्यु भएको छ।
हेर्दा हेर्दै एक महिना हुन लागेछ घर भित्रै बसेर online class लिन थालेको। नढाँटी भन्छु कक्षा चलिरहँदा समेत म worldometer को मिटर घुमाउँछु बेलाबेलामा। किनकी आजभोलि याे बानी मेरै वशमा छैन, स्वचालित झैं भई सकेको रहेछ। पिडा यसमा छ कि सारा संसार ठप्प छ।
अर्को कोणमा हेर्छु, म वन विज्ञानको पूर्व विधार्थी र हाल मानवशास्त्रसँगै वातावरणका नियम कानुन पनि पढ्दैछु। अझै भनौं भने climate justice अर्थात जलवायु तथा वातावरणको न्यायको वकालत गर्ने पनि मेरो जिम्मेवारी मै पर्छ। अहिले कोरोना संसारभर फैलिरहेको बेलामा संसारभर हरितगृह ग्यास उत्सर्जनमा कमी भएको, वन्यजन्तुले आफ्नो बासस्थान फिर्ता पाएको, पानीका श्रोतहरु सफा भएको, प्रदुशित हावा स्वस्छ भएको समुन्द्रमा प्लाष्टिकका थाना घटेको स्पष्ट देख्न पाईन्छ। म सालकको अनुसन्धानकर्ता तथा संरक्षक पनि हो । त्यसैले चाइनाले यसको अवैध शिकार तथा किनबेच गर्ने बजार बन्द गर्छु भनेको खबरले वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा टेवा पुग्ने देखेर म खुशी पनि भएको छु।
खुसीको सिमा नै छैन। १०/१५ दिनमा बातचित हुन्थ्यो घरपरिवारसँग, आजभोलि दैनिक जस्तो हुन थालेकाे छ। नातागोता सबैजना सामुहिक च्याट बक्समा खुम्चिएर सबैसँग गफगाफ गर्न थालेका छन्। सबैजना फुर्सदिला भएका छौं। सबैलाई एक अर्काको साथ चाहिएको छ।
एक महिना हुन लाग्यो याे चार कोठे संसारमा बसेको। सामाजिक स्नेह यस्तै मजबुत हुँदै, अन्य हजारौंले ज्यान नगुमाउँदै याे रागको विलय होस्। फेरि यसरी कोठाभित्रै थुनिएर बस्ने दिन नआओस। मेरो मनको आशा त अबको एक महिनामै कोरोनाको सम्पूर्ण व्याधी नष्ट होस् र म मेरो घर फिर्ने योजना पूरा गर्न पाँउ। मेरी श्रीमती, बा,आमा, नातागोता, साथीभाइ सबै मेराे पर्खाइमा छन्। अनि पश्चिम नेपालका दैलेखी र डोल्पाली किसानहरुसम्म पुगेर अनुसन्धान पनि गर्नुछ। सबैसँग थप सामाजिक निकटता बढाउनु छ। नमस्कार
सुमन आचार्य
ओरोनो, मेन, अमेरिका
3 Responses
हेर्ने कथामा तिम्रो कथा पढ्न पाइयो, रमाइलो लाग्यो। धन्यवाद सुमन भाई ।।
पढेर रमाइलो लागेयो सुमन सर
malai pani lekhna man lagyo