वर्ष दिनको महान चाड दशैँलाई बिदा गरेर तिहार नजिकिँदै गर्दा, परदेशीहरु घरदेश फर्किने समयमा गाउँभरी मखमली अनि चमेलीहरु फुल्दै गर्दा, म भने, मनभरी घरदेशको सम्झना अनि आखाँभरी सपनाहरु बोकेर, जीवनकाे पहिलो जहाजमा, एउटा बेग्लै यात्रा तय गर्न निस्किएँ— बाबा आमाको आशीर्वादलाई शिरमा सजाएर । साथीभाइ अनि आफन्तको मायालाई हृदयमा सङ्गालेर, २०१९ को अन्त्यतिर, अक्टोबर महिनाको २४ तारिखका दिन मैले त्यो सहर छोडे, जुन सहरको कुनाकाप्चा अनि गल्ली–गल्लीसँग म परिचित थिएँ । हेर्दा हेर्दै काठमाडौँको त्यो झिलिमिली पनि बिस्तारै हराउँदै गयो । एकछिन मन अमिलो भयो । जहाजको झ्यालबाट फेरी एकपल्ट त्यो मधुरो सहरलाई हेरेँ, दुई थोपा आशु पुछेँ । मन भारी भयो । त्यसपछि ‘अब चै साँच्चै कतै टाढा जाँदैछु’ जस्तो भान भयो ।
यसरी नेपाल छोडेर अस्ट्रेलिया आएको पनि झण्डै छ महिना पुग्न लागेछ, यो आधा वर्ष कसरी बित्यो पत्तै पाएको छैन । सुरुका केही महिना त घुमघाम र रमझममै बित्यो, तिहारको बेला थियो, सायद नेपालीहरुको बाक्लो बसाइँ भएर होला यता, नेपाल जस्तै लाग्यो । आएको दिनमै मोःमो पार्टीले स्वागत अनि भोलिको देउसीभैलो कार्यक्रम। विदेशमा पनि स्वदेशी मायाले म आश्चर्यचकित थिएँ । अनि सबैप्रति आभारी पनि । बिस्तारै म यताको रहनसहन र परिवेशमा घुलमिल हुँदैथिएँ । ‘बुस फायर’ले अस्ट्रेलियालाई तहसनहस पारिदियो, करौडौको क्षति भयो, दिनानुदिन डढेलोको खबरले मन त्रसित भैरहन्थ्यो । कक्षामा पनि सबैको ध्यान अनि कुरा पढाइमा भन्दा धेर डढेलामै हुन्थ्यो। आज डढेलो कहाँसम्म फैलियो, हामीभन्दा कति पर छ? यस्तै कुराले हामी चिन्तित हुन्थ्यौँ । प्रोफेसरहरु पनि यस्तो खडेरी पैले कहिले नदेखेको भन्दै वर्षाको लागि प्रार्थना गर्थे । मलाई भने आगलागीले रङ्गाएको यहाँको आकाश अनि प्रदूषण देख्दा पनि नेपालकै झल्को आइरहन्थ्यो।
बिस्तारै सबै कुरा सामान्य हुँदै थियो फेरि यो कोरोनाले संसार नै तहसनहस पारिदियो । लाग्छ, मेरो यो दुई वर्ष यस्तै यस्तैमा बित्ने पो हो कि ?? यो परदेशसँग धेरै आस गरेर आएको त थिइनँ तर पनि केही गर्छु र सिक्छु, केही हदसम्म भएपनि बाआमाका सपना पूरा गर्छु भनेर छिरेकाे। यो सबथोक भोगिरहँदा आजकल कताकता मनमा चिसो पस्छ, भोलि के हुने हो चिन्ता लाग्छ ।
अचेल मन बेचैन हुन्छ, छट्पटिन्छ । न म खुलेर रमाउन सक्छु, न त दुखी भएर बसिरहन । रमाइलो गर्न मसँग साथीभाइ छन् । आफ्नो रहरको काम गर्न समय छ। घण्टौ फेसबुक चलाएर बस वा संसारका कुनाकाप्चाहरुमा छरिएर बसेका मित्रजनहरुसँग भलाकुसारी गरेर बस्न इन्टरनेटको सुविधा छ । तर पनि यो मनमा बेग्लै खालको छटपटी र औडाह छ । कोरोनाको कहरले सबथोक लथालिङ्ग र भताभुङ्ग भएको देख्दा आज त रमाउँला, भोलि के गराैँला भन्ने पिर लाग्छ । अझ, मजस्ता भर्खरै मात्र पढ्न आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई त के–के समस्या पर्छ त्यो भनि राख्न नपर्ला।पत्रपत्रिका र टेलिभिजनमा आइरहेकै छन्, सामाजिक सञ्जालमा त झन् चाहिनेभन्दा बढी भाइरल भइरहेकै छन् । यो सब देखेर म सँधै दुखी भइ रहन पनि सक्दिनँ किनकी मलाई थाहा छ, म एक्लो छैन । सबैलाई यस्तै परेको छ । यो बेला झुपडीमा बसुन् वा महलमा, सबले आफ्नै खालका पिडा महसुस गरेका छन् । अनि सबैलाई आफ्नै समस्या ठूलो लागेको छ ।
हिजोआज जिन्दगी नै कस्तो कस्तो बनेको छ । आधा रातसम्म निन्द्रा नलागेर मोबाइलमा संसार चिहाउनु अनि मध्यदिनमा उठ्नु मेरो दिनचर्या बनेको छ । मलाई न छिट्टै उठेर काम जाने हतार छ, न त युनी पुग्न । म उठुँ, सुतुँ, खाऊँ, नखाऊँ जे गरुँ तर घरको चार कोठाभित्र । मेरो लागि सबथोक खुल्ला छ, सबथोक छुट छ अचेल । कुनै दिन, हामीमध्ये धेरैले यस्तै कुराको ईच्छा गरेको हुनुपर्छ । तर पनि खै त यहाँ सन्तुष्टि, खै त यहाँ हृदयदेखिको खुसी ??
कारोनाले गर्दा घर बसेको पनि महिना दिन पुग्न लागि सक्यो, अझ कति दिन यसरी बस्नु पर्ने हो, थाहा छैन । घर बसिरहँदा भएभरका चलचित्र हेरेर अनि गेम खेलेर नी भ्याइसकेँ । तासको जुतपत्ति मात्र आउने मलाई अचेल म्यारीजबाहेक सबथोक आउँछ भन्दा फरक नपर्ला । बाघचालबारे सुनेको मात्र थिएँ, साथीभाइले घरमै कागजको टुक्राले बनाएर सिकाएदेखी त्यै आजकल ‘फेबरेट’ बनेको छ । केही नहुदाँ मोबाइलमा लुडो पनि खेल्छु र दिन कटाउँछु, मन भुलाउँछु । यस्तै बेला युनीले फेरि ‘असाईनमेन्ट’हरु दिन्छ— अनलाईन क्लास के–के जति हो गरौँ भन्छ । तनमन नै बैचैन भइरहेको बेला पढाइमा पनि के मन जान्छ र ? उताबाट त्यत्रो पैसा तिरेर पढ्न आइयो यता युनीचाहिँ, त्यै अनलाइनको ‘पावार पोईन्ट’ र १—२ घण्टे लेक्चरले टार्न खोज्छ । चित्तै बुझ्दैन, तर पनि बुझाउनु परेको छ किनभने कोरोना सबैको लागि एक अप्रत्यासित वास्तविकता बनि सकेको छ । यस्तो होला भनेर न कसैले सोचेका थिए, न कोही यसबारे तयार नै ।
मसँग आज जति गुनासा गर्ने ठाँउहरु छन्, सायद चित्त बुझाउने ठाउँहरु पनि उत्तिकै छन् । कोरोनाले संसारभरका लाखौ मानिसहरु सङ्क्रमित भैरहँदा, म स्वस्थ छु । हजारौ जना घरबार विहिन अनि भोकभोकै परिरहँदा, दुई छाक मिठो मसिनो खाइरहेकै छु । टाढा होस् या नजिक ‘के छ हालखबर, सन्चै छौ?’ भनेर सोध्ने साथीभाइ र शुभचिन्तकहरु पाइरहेकै छु । अर्काकै देशमा किन नहोस्, आफ्ना सोच्नेहरु भेटेकी छु । बा–आमाको आशीर्वाद लागेकै छ । अनि… परिस्थिति जस्तोसुकै होस्, यो मुस्कान सँधै यस्तै रहोस् भन्दै हर दुःखसुखमा साथ दिने प्यारो मान्छे छ । आखिर यो भन्दा अरु के चाहिन्छ र जिन्दगी जिउनलाई अनि खुसी हुनलाई !
सबैमा माया अनि मिठो सम्झना ।
sukugrg10@gmail.com
सुकमाया गुरुङ्ग
सिरान्चोक गोरखा
हालः सिड्नी, अस्ट्रेलिया
आहा कस्तो राम्रो लेखेको सूकुलो, मन छोयो ।