आज लक्डाउनको ३७ औं दिन, यी दिनहरु पनि कति छिटै बित्दा रहेछन् ! नेपालमा मात्र नभएर विश्वका थुप्रै देशका मानिसहरु लकडाउनका कारणले काम ठ्यापै बन्द गरेर घरमै बसिरहेका छन्। तर सुर्य र चन्द्रमा भने निरन्तर आफ्नो काममा लागिरहेका छन्। त्यसैले त हाम्रो दिन र रातको प्रक्रिया चलिरहेको छ! अहिलेको यस्तो अवस्थामा हरपल हरक्षण परिवार, साथीभाइ, निन्द्रा, भोक नभनि खटिरहेका विश्वभरका डाक्टर ,नर्स तथा अन्य सुरक्षाकर्मीहरु पनि सुर्य र चन्द्रमा भन्दा के कम।
लक्डाउनको सुरुवाती हप्ता त डर त्रास मै बित्यो। हरेक घण्टा समाचार, लौन !! अमेरिकामा त कति मान्छे मरे रे नि , इटालीमा त यस्तो भयानक, ला ! नेपालमा नि भेटियो रे कोरोना!अब के होला! विचरा घर फर्कन नपाएको पिडामा विभिन्न नाकामा छट्पटाइरहेका नेपालीहरु।यस्तै यस्तै संवादमा बित्दै गए दिनहरु। आफू नै मरिने हो कि भन्ने चिन्ता। अझैबढी चिन्ता त आफ्ना नातागोता, साथीभाइलाई कोरोना लाग्यो रे भनेर सुन्नु पर्दा के होला भन्ने डर। त्यति बेला त पशुपतिनाथको भूमि हो, उनैले रक्षा गर्छन् भन्ने पनि लागेकाे हाे। तर बिस्तारै लकडाउन थपिदै गयो, भाइरसको बारेमा धेरै कुरा बुझ्दै गए,पढ्दै गए, डाक्टर र नर्सका संवादहरु सुन्दै गए र आत्मबल बढ्दैगयो।र यो लकडाउनलाई सकारात्मक रुपले हेर्न थाले। यो लकडाउन त सबै परिवार एक साथ घरमै बसेर अमूल्य समय बिताउने मौका हो भनेर सोच्न थाले। घरमा गफगाफ, घरी लुडो, घरी क्यारमबोर्ड खेल्ने, युट्युब छँदै थियो मनोरन्जनको लागि – विभिन्न फिल्म हेर्ने। अनि विभिन्न खानेकुराको रेसिपी हेरेर त्यस्तै बनाउन प्रयास गर्ने र परिवारसंगै रमाउन थालेँ। अझ सबै भन्दा रमाइलो कुरा त काठमाडौं – जसलाई धुलो धुवाको सहर भनिन्थ्यो, अहिले त्यही सहरमा भएको मेरो घरको छतमा ताजा र स्वच्छ हावाको साथमा हिमालको मनोरम दृश्य हेर्दै जगिङ गर्नुको मजा नै बेग्लै।
१५ औं दिन बितिसकेपछि र फेरि उराठ लाग्दो समाचार सुनिन थाल्यो। विहान काम गरेर बेलुकीकाे छाक टार्ने परिवारहरु खान नपाएर भोक भोकै आफ्नो गाउँ तिर हिडे रे ! गाउँपनि नजिकै कहाँ होर! काठमाडौंमा रहेका उनीहरु हिडेर बर्दिया, दाङ, रोल्पा तिर जान लागेका रे ! विभिन्न अन्तरवार्ता हेरेँ। कोही रुदैं भन्छन् काठमाडौंमा कसैले पनि एक छाक खाना र पानीको लागि सोधेन। बरु मेरै गाउँ गएर सिस्नु खाएर पनि त बाँचिएला। कोही भन्छन् न पैसा न खाना कसरी बाँच्ने। हुन त राहत वितरण गर्नेहरुकाे लर्को लागेको पनि सुन्छु तर खै किन नपुगेको होला त उहाँहरुसम्म। यस्ता यस्ता समाचारले मन नै भक्कानिएर आउँछ। त्यसपछि आफ्नै भविष्यको चिन्ताले नि मलाई रुवाउन थाल्यो।
एक महिना भन्दा बढी घरको कोठाको चार पर्खाल भित्र बस्दा पनि मन त कहाँ कहाँ डुलिरहँदो रहेछ। मनलाई न त कुनै रोगले छेक्न सक्यो न त कुनै लकडाउनले। उसले सोचेको ठाउँमा पुग्न न कुनै साधन नै चाहियो। यो मन जस्तै आफू पनि निरन्तर डुलिरहन पाए पनि त हुन्थ्यो नि। घरी यो भविष्यमा पुग्छ घरी बितेका पलमा। मन जस्तो हुन पाए म पनि भविष्यमा पुगेर कोरोनाको समाप्ति कहिले हुने रहेछ हेरेर आउँथे नि !