महिना दिन हुन लागेछ। मेरा टाउकाका कपाल १३ सेन्टिमिटर लामा अनि चिउँडोमा उम्रेका दाह्री ३ सेन्टिमिटर लामा भएछन्। लकडाउन सुरु हुनु भन्दा केही आगडिका समय अस्तव्यस्त थिए। त्यतिबेला सोच्ने गर्थें के जिन्दगी अब यस्तै हो? गन्तब्य के हो? के खोजिरहेछु ? के पाइरहेको छु? अलि दिन आराम गर्न पाए पनि हुन्थ्यो ! यो अस्तव्यस्त दिनचर्यामा केही क्षण यसरी नै बिताइदिन पाए पनि हुन्थ्यो। यस्तै यस्तै सोचिरहन्थेँ।
पक्कै पनि भगवानले मेरो मनका कुरा सुनेको हुनु पर्छ । एउटा भनाई छ नि “तँ सोच म पुर्याइदिन्छु।” त्यही अनुभव भयो। अहिले बिदामा छु। तर आफैले चाहेको बिदा आफैलाई बोझ भएको छ आजकाल। एक दिन ठिकै थियो, दुई दिन ठिकै थियो, तर महिना दिन पुग्न लागिसक्यो। वाक्क दिक्क लागि सक्यो। फेरि त्यही पुरानो समय आइदिए हुन्थ्यो जस्तै भइरहेको छ। हामी मान्छेहरु पनि कस्तो स्वार्थी है! एउटा भए अर्को चाहिने अर्को भए अर्को चाहिने। तर त्यही चाहनाले नै त नयाँ नयाँ कुराहरुको आविष्कार भइरहेको छ। कहिले लाग्छ ठिकै हो , फेरि कहिलेकाहीँ लाग्छ किन यस्तो छ? को संग होला यो प्रश्नको उत्तर। अनि म त्यही प्रश्नको उत्तरमा आफूलाई स्तब्ध पाउँछु। अनुतरित्त पाउँछु ।
आज भोलि खाना खाँदा हरेक गाँसमा आमाको गाली खानु पर्छ। नत्र त पहिले पहिले हतारमा गासँ टिप्दा आमाकाे मायाले भरिएका गाली सुन्न कहाँ पाउँथे होला र? फरक दिउँसोको समयमा हुन्छ। आज भोलि बिहानै भाइबरमा टुंग टुंग आवाज आउँछ। आवाज सुरु हुन्छ ‘तपाईलाई स्वागत छ’ भन्दै। रामलाल जोशीद्वारा लिखित ‘सखी’ पुस्तकको अडियो वाचन भाइबरमै आइ पुग्छ। आज सम्म यसरी सुनाउने र सुन्ने गरेको थिइन। तर नयाँ कुराको सुरुवात भयो। हरेक दिन केही समय उक्त किताबको वाचन सुनेर दिन अघि बढ्दै छ।
प्राय खालि खालि हुने घर आजभोलि भरिभराउ छ। तर म भने आफ्नै दुनियाँमा हराएको छु। म मात्रै होइन सबै आ-आफ्नै बेग्लै संसारमा रमाइरहेका हुन्छन्। बाबा, आमा, भाइसँग त्यही खाने बेला मात्र होला सँगै भेट्ने भनेको। नत्र सबै आफ्नै दुनियाँमा। आज भोलि सबैको दुनियाँ हात हातमा छ। त्यही मोबाइलको दुनियाँमा भुल्छाैं सबै। सामाजिक सञ्जालले दिनहरु कटाउन सजिलो बनाएको छ। को, कहाँ के गरिरहेको छ भन्ने कुराको खबर त्यहीबाट हुन्छ। तर आफ्नै घरको एकै छाना मुनि बसेको पल्लो कोठाको मान्छे के गर्दैछ भन्ने कुरा चाहिँ थाहा नै हुँदैन।
लकडाउन भएदेखि मेरो मोबाइल अनि ल्यापटप चौबिसै घण्टा खुल्ला छ। यसले एक छिन पनि आराम पाएको छैन। काम के गरेको पनि थाहा छैन, तर त्यही मोबाइल अनि ल्यापटपमा झुन्डिएको छु। कसैले बोलाउँदा पनि ‘एक छिन है’ भन्दै ल्यापटप र मोबाइल नै चलाइरहेको हुन्छु। तर थाहा छैन केको खोजीमा छु म अनवरत।
घरको उत्तर तिर हजुरबा हजुरआमाले गाई गोठ बनाउनु भएको छ। त्यहाँ दुइ चार वटा गाईहरु पनि छन्। हिजो एक्कासी गाई ठूलो स्वरमा कराउन थाल्यो। बाँ …. बाँ…… गर्दै। म पनि के भएछ भनेर झ्याल बाटै हेर्न थालेँ। बिचरा गाई दाम्लोले बाँधिएको रहेछ । कहीँ कतै जान नपाएको, आफूले भनेको, चाहेको गर्न नपाएको। गाई न बोल्न सक्छ न संकेत दिन सक्छ। बस दिएको घाँस पराल खान्छ, बस्छ। त्यत्तिकैमा मेरो मोबाइमा आवाज आउँछ ‘ब्याट्री लो।’ अनि मोबाइल चार्जमा राख्दै चलाउन खोजेँ । चलाउँदा चलाउँदै ठ्याकै गाईको याद आयो मलाई । गाईलाई त दाम्लोले बाँधेको छ, अरु कसैले। तर मान्छे ? मान्छेले आफ्नाे दाम्लो आफै बाँधेको छ।मोवाइलको र सामाजिक संजालको दाम्लो। मनले सोच्न थाल्यो मान्छेहरु पनि पशु हुन थालेछन् । मान्छेहरु पनि त बाँधिन थालेछन्।
लाग्याे, आजको विश्व यहीं दाम्लोमा अड्केको छ। हामी लकाडाउनमा छाैं तर ती गाई वस्तुहरु कति अगाडि देखि सधैँ लकडाउनमा परेका रहेछन् । साँच्चै यदि बाँधिरहेका गाईबस्तुलाई पनि स्वतन्त्र छोडिदिएको भए के हुन्थ्यो होला हगी ? उनीहरुले पनि आफ्नो जीवनयापन निर्वाह गर्न छुटै जीवन शैलीहरु बनाउँथे होलान्। सोच्दा रमाइलो लाग्याे। तर अहिलेको हाम्रो जीवन र ती अबोध प्राणीहरुको जीवनसँग दाँज्ने हो भने कुनै फरक देखिँन मैले। उनीहरु पनि एउटै ठाउँमा बाँधिएर बस्नु परेको छ र हामी पनि। यति फरक छ कि उनीहरुलाई खुवाउन आहारा हामीले बनाइ दिनु पर्छ र उनका अगाडि राखिदिनुपर्छ भने हामी आफैँ जे मन पर्छ त्यही बनाएर खान सक्छाैं। उनीहरु पनि स्वतन्त्र हुन्थे भने आफ्नै खुसीको आहारा खान्थे। कति खानु यो पराल भन्दै हरिया घाँसको खोजीमा निस्कन्थे होलान्। अनि फेरि हरिया घाँस पनि थरी थरीका खान्थे होलान्।
No responses yet