खै! कहाँबाट सुरु गरूँ, आफ्नो मनको व्यथा। मन भरी सपनाको पोको बोकेर परदेश हिडेँको थिएँ। त्यति ठूलो सपना पनि होइन, थोरै खुसी, थोरै सुख, बुवा आमालाई दिन सकुँ।
परदेश हिडेँको पनि आज १८ महिना भएछ। मेरो बिदेश साउदी। खडीमुलुक भनेर चिन्ने गर्छन् हाम्रो नेपाल तिर.. है. ? खाडि नै सही, मलाई के फरक पर्छ र !
मेरो काम होटेल मा Burger बनाउने। काम राम्रो थियो,सजिलो पनि। खाडि मुलुक भए पनि घाम कस्तो हुन्छ? गर्मी के हो? थाहा भएन। AC को चिसो, भित्री काम, खुसी छु या दुःखी थाहा छैन। तर सपनाकाे पोको फुकाएर अब पूरा गर्नु थियो।
सबै राम्रै चलि राको थियो। दैवको आँखा लाग्यो कि कसको थाहा नपाइ कोभिड–१९ करोनाको महामारीले मेरो सपना मात्र हैन, दुनियाँ नै सखाप पारि सक्याे।परदेशी ठाउँ न काम छ न दाम, अब के गर्ने…
प्रत्येक बिहान जब म आँखा खोल्छु, म आफैलाई प्रश्न सोध्ने गर्छु – अब म के गरूँ ? न काम छ न त पैसा (सेलरी) म रूँम कि हाँसु! आफ्नो पीडा दुःख म कसलाई सुनाउँ! यहाँ सबैको हालत त्यस्तै छ। घरमा सुनाउँ छोराको पीरैपीरले आफ्नो ज्यान खालान् भन्ने डर! मेरो मनमा अब डर मात्र छ। भोक निद्रा मरि सक्यो। सपना टुटी सक्यो।
धेरै चिन्ता गर्न थालेछु, निद्रा पनि औषधीको भरमा आउन थाल्यो। घरमा बुवाआमासित कुरा नभाको पनि धेरै भाको थियो। फोन लगाए उठेन। काममा व्यस्त हुनुहुन्छ होला। गाउँ घर खेती भीत्र्याउने सिजन छ। साँझ फोन लगाए उठ्यो ।
आमाको बोली सुने …. ‘सानुकान्छा तिम्रो आयु लामो रहिछ तिम्रै कुरा गरी राथीम..’
केही बोल्न सकिन।
‘बाबु, सानु कान्छा (आमाले मायाले बोलाउने नाम ) तिमीलाई ठिक त छ नि। चाइनाले रोग पठाको छ रे, आफ्नो ख्याल राख्नु , साबुन पानिले हात धुनु भिडमा नजानु। मुखमा मास्क लाउनु है।’
कति माया छोराको। आँसु रोक्न साकिन।
‘अनि बाबु खाना खायौ?’
(आँसु पुछदै) ‘उम् खाए आमा। हजुरले खानुभो? कस्तो छ हजुरलाई बुवाले औषधी खानुभो त?’
बुवाको बोली पछाडिबाट सानो स्वरमा आउँदै थियो- ‘सब ठिक छ यता भन।’
‘के भन्नु भाको बुवाले आमा?’ ‘यता सब ठीक छ रे .. केही चिन्ता नलिनु तिमीले’ बुवाले भनेको ।
‘कति माया हुन्छ है आफ्नो सन्तान प्रति’
केही दुःख सुखको कुरा पछि फोन राखे लामो श्वास फेरे। मन हल्का भो। साँच्चिकै बुवा आमा नै भगवान हुन्। बाआमाको बोलीमा जादु शक्ति छ। तिनकै जादुले आज म खुसी छु । दुःखमा पनि हाँस्नबाँच्न सक्नेछु!
“साँच्चिनै मानिसको जीवन परिवर्तन गर्न धन होइन मायालु मन र प्रेरणा चाहिने रहिछ “
Love U बाबा Love U आमा
शानू गुरुङ
साउदी अरब