सधैँ एकनासले चलिरहने समय। समयसँगै एकनासले चल्न नसक्ने म। अहिले एउटै लयमा चलिरहेकाे छु। मेरो दैनिकी सेकेन्ड, मिनेट, घन्टा रूटिङ बनेर कैद छैन। बिहान अलार्मकाे घन्टीमा जबरजस्ती ब्युउँझनु पर्दैन। सायद त्यसैले म र समय निकट साथी जस्तै भएका छाैं। देशभर लकडाउन छ। लकडाउनका कारण घर भित्रै कैद भएपनि मन भने स्वतन्त्र चरा जस्तै आकाशमा उडिरहेको छ।
लकडाउन सुरू भएपछि मेरो दैनिकी फेरियो। बिहान कलेज जान अलार्मसँग ब्युउँझिने म, अहिले भालेको कुखुरी काँ ले ब्युउँझिन्छु। लकडाउनले धेरै रोजगार विहिन भए। धेरै विदेशमा छन्, धेरैको बिहान र बेलुकीको गर्जो टार्न धौ धौ छ। यी सबै पिडासँगै जोडेर लकडाउन सम्झिन्छु मन खिन्न हुन्छ। सम्झिन्छु, कहिलेकाहीँ चाडपर्वमा मात्रै भेट हुने परिवार, अहिले परिवारसँग समय बिताइरहेका छन्। टाढा-टाढा भएका अहिले सँगै घरमै छन्। परिवारसँग सधैं सँगै हुँदा पनि कति कुरा हामीले महसुस गरेका हुन्न रहेछाै। म पनि सधैँ परिवारसँग हुन्छु। मैले पनि कति कुरा महसुस नगरेकाे रहेछु।
कलेज बाट घर आएर खाना, घरको सरसफाइ, आफ्नो काम, पुस्तक अध्ययन गर्दागर्दै सूर्य पनि कतिचाँडो लुके जस्तो लाग्थ्यो। बिहानीको सूर्योदय र बेलुकीको सूर्यास्तलाई अहिले रहर पुगिन्जेल महसुस गर्छन् आँखाले। मानाै यो रहरकालागि मेरा आँखा धेरै समय देखि भोका थिए। पुस्तक पढ्दा पुस्तकका पात्रसँगै बाँचे जस्तो लाग्छ। पढ्दै गरेको पुस्तक कर्नाली ब्लुज पढिरहँदा समाज पढेको भान हुन्छ। समय अनुसार कथाका पात्रले निभाएको पारिवारिक जिम्मेवारी मैले बाँचेको वर्तमान र मैले बाँच्ने भविष्य जस्तो लाग्छ।
खान, पढ्न, सुत्न पनि दैनिक रूटिङ अनुसार नै हुन्थ्यो। लाग्थ्यो, म समयको तालिका (रूटिङ) मा कैद छु। मलाई उ फर्मान जारी गर्छ, म यन्त्रमानव झैं गरिरहन्छु। सँगै घरमा बस्ने बाबा, आमा, भाइबहिनीसँग गफ गर्न शनिवार पर्खिनुपर्ने। बिरामीलाई उपचार गरेर सन्चो बनाउने टाढा भएकी नर्स दिदीलाई ‘सन्चै छाै’ भनेर सोध्न उही शनिवार कुर्नुपर्ने। म मेरो रूटिङमा व्यस्त, भाइबहिनी उनीहरूकै दैनिक स्कुल, गृहकार्यमा व्यस्त, दिदी आफ्नो दैनिकीमा व्यस्त र बाबा आमा आफ्नो काममा। शनिबार आउन कति दिन बाँकी भन्दै भित्ताको भित्ते पात्रोका दिन गन्ने मेरा औंलाहरुले यतिबेला गते गन्न र बार सम्झिन बिर्सिसकेका छन्। कहिलेकाँही इन्टरनेटमा कुनै साथीको जन्मदिन देख्दा सम्झिन्छु गते र बार।
यतिबेला म स्वतन्त्र छु, फुर्सदिलो छु। अहिले दिउँसभर घर बस्दाको मेरो साथी पुस्तक, भाइबहिनी र इन्टरनेट नै हुन् । म मेरा साना भाइबहिनीसँग सानै भएर खेलिरहन्छु। बाल्यकाल सम्झिन्छु, फेरि बाल्यकालमै रमाए जस्तो लाग्छ। घरमा भएको बाख्राको सानो पाठी, घर नजिकै भएको जंगलका चराचुरुङ्गीको चिरबिर मेरा नजिकका साथी भएका छन्।
घर अगाडिको कोलाहल सडक म जस्तै शान्त छ । कहिल्यै सम्झिदै नसम्झिएका चिजहरु यतिबेला आफ्ना भएका छन। जन्मेको १९ वर्ष पुगिसक्दा पनि सुन्न छुटाएको आफ्नो बाल्यकालको कथा, हेर्न छुटाएको बाल्यकालको तस्बिर, सम्झिन छुटाएका बाल्यकालका साथी, बिर्सिएको विद्यालयको पहिलो दिन यतिबेला आमाले सुनाउँछिन, सम्झाउँछिन, सुन्छु सम्झिन्छु र पुस्तकको पाना जसरी नै बाल्यकालको पाना मेरो स्मृतिमा पल्टिरहन्छन्। आमा सम्झँदै सुनाउँछिन, मंसिर महिना खेतमा धानका शिला खोज्न गएको कुरा। शिलाको धानमा भकारीको धान चोरेर हालेको कुरा। आफ्नो बाल्यकाल सुन्दै खित्का छोडेर हासिँरहेकी मसँगै भाइबहिनी पनि हाँस्छन।
आमा सुनाउँछिन – राती हजुरआमासँग सुत्न मेरो र दिदीको झगडा परेका कुरा। हाँस्दा हाँस्दै हाँसो रोकिन्छ। ३ वर्ष अगाडि हामीलाई छोडेर गएकी हजुरआमा सम्झनामा आउँछिन। हजुरआमाको कमि खड्किन्छ। हजुरआमासँग बितेका समय सम्झिन्छु। कति सुन्दर थियो त्यो समय, जब हजुरआमा हाँस्दै ताली बजाउदै संगिनी गाउँथिन्, गीत गाउँथिन्, हामी नाच्थ्यौँ। उनी सुनाउँथिन् आफ्नो समयको कथा। यसरी हाँस्दै, रमाउँदै, सम्झिँदै लकडाउनको समय पनि धेरै बितिसकेछ।
यो समय हामीले आफूलाई चिन्ने समय हो। यतिबेला फुर्सदिला हामीले केही सिर्जना गर्ने, आफूमा भएको प्रतिभालाई चिन्ने समय हो। म पनि घरमा बसेर मन लागेका केही केही कुरा लेख्ने प्रयास गरिरहन्छु बेलाबेलामा। सानो भाइ मसँगै लेख लेख्ने प्रयास गरिरहन्छ।
हेर्नेकथा घरमा हामी सबैलाई मनपर्ने कथा हो। हेर्नेकथाले ल्याएको लकडाउन डायरी लेखनमा मलाई पनि लेख्न मन लाग्यो। के लेख्ने? कसरी लेख्ने? केही थाहा थिएन। वश लेख्नु थियो, लेखेँ। घरमा परिवारसँग रमाइलो भइरहेको छ। उत्तिकैमा कलेजका साथीहरु सम्झनामा आइरहेका छन। बिरामीको सेवामा तल्लिन स्वास्थ्यकर्मी दिदी पनि सम्झनामा आउँछिन। नजिकै नभए पनि प्रविधि (मोबाइल ) ले नजिक भएको महसुस गराउँदछ। यतिबेला नजिकबाट महसुस गरिरहेकी छु, झिसमिसे बिहानी र गोधूलि साँझ । झुल्किनु अनि फेरि अस्ताउनु। अस्ताउनु अनि फेरि झुल्किनु। प्रिय सूर्य! तिमीलाई दिग्दार लाग्दैन? नित्य बल्न अनि निभ्न!!