बाबालाई विश्व अर्थतन्त्र, इतिहास र समसामयिक कुराहरुमा रुची भएर होला यी बिषयमा हाम्रो घरमा पहिला देखि नै बेलाबेलामा छलफल हुने गर्थ्यो। हाम्रो घरमा हाँसो,ठट्टा, रमाइलो भन्दा बढि छलफल, कुराकानी बढी हुनेगर्छ। चिनबाट सुरु भएर एक दुई देशमा संक्रमित देखिन पाएको छैन, बाबा चाहिं हाम्रै घरको परिवार मध्ये कोही संक्रमित भएजत्तिकै गम्भीरताका साथ कुरा गर्नु हुन्थ्यो।
बाबाले भएजति समाचारका स्रोतहरू अध्ययन गर्नुहुन्थ्यो, आफुले जानेको विश्लेषण गर्नुहुन्थ्यो र बिहान एक घण्टा हामीलाई विवरण दिनु हुन्थ्यो। भाइ र मलाई तिमीहरु अब जिम नजानु,घरमै बसेर व्ययाम गर्नु भनेर भन्नु भएको पनि एक महिना अगाडि हो। हामीहरुले भने एकदमै सामान्य रुपमा लिएका थियौ। चिनमा हो, यहाँ केही छैन,केही भयो भने थाहा हुन्थ्यो भन्थ्यौं। म अफिस जान्थें, कलेज जान्थें त्यहां झन सामान्य थियो। विश्वभरि डर, त्रास फैलदा पनि हामीहरु भने त्यस बिषयमा कुरा पनि गरिरहेका थिएनौ।
त्यसपछि हाम्रो थाइल्याण्डमा हुने भनेको एउटा कार्यक्रम स्थगित भयो। मैले अझै पनि गम्भिर रुपमा लिएको थिइनँ। अहिले सम्म प्लेन नै नचढेकी मलाई, प्लेन चढ्ने रहर अझै पुरा भएन भनेर दुःख मात्र लागेको थियो। जब मार्च बाट युरोप र अमेरिकामा पनि ब्यापक रूपमा कोरोना संक्रमण देखियो तब पहिलो पटक मेरो मनमा चिसो पस्यो। त्यसपछी मैले समाचार पढ्ने, बाबा सँग कुरा गर्ने गर्न थाले। बाबा भन्नुहुन्थ्यो, डा. क्याम्प्बेलले यस्तो भनेको छ, WHO ले यस्तो भनेको छ, सरकारले लकडाउन गर्नु पर्छ। सुरुमा मेडिकल सामाग्रीहरुको व्यवस्था गर्नु पर्छ। हाम्रो देशमा अहिले सम्म नदेखिनु अचम्मको कुरा हो, सुरु हुनु भन्दा अगाडि नै समझदारी पुर्याउनु पर्छ, नत्र हाम्रो देशको क्षमताले पुग्दै पुद्गैन..आदी इत्यादी। नभन्दै लकडाउन भयो पनि।
हामी घरमा पाँच परिवार छौं, बाबा, मामु, हजुरआमा, भाई अनि म। बाबालाई सबै भन्दा प्यारो किताब। दिउँसो अफिस जाने बाहेक उहाँको अरु समय किताब या लेख पढेर नै बित्थ्यो। मामु बिहानको भात भान्छा पछि आफ्नो अचार ब्यवसायमा लाग्नु हुन्थ्यो। शनिबार बिदा आउना साथ मामु कि त नयाँ ठाउँ घुम्न कि त आफन्त- साथीभाई भेटघाट गर्न उत्सहित भाइहाल्नु हुन्थ्यो। हजुरआमालाई घरको नित्य पूजापाठ, त्यसपछि घर नजिकैको मन्दिरमा हुने जेष्ठ नागरिक सत्सँग। बरु एक छाक खाना नखादा केही हुँदैन थियो आमालाई तर एक दिन मन्दिर जान पाउनु भएन भने निस्रिक्क पर्नु हुन्थ्यो। भाई आफ्नो काम काम भन्थ्यो, शनिबार पनि काम छ भनेर अफिस नै कुद्द्थ्यो। मलाई पनि आफ्नो पढाई र काम भन्दा बाहेक अरु केही कुरा ठुलो होला जस्तो लागेको थिएन। यस्तो थियो माहामरी अगाडिको हाम्रो दैनिकी।
यो दैनिक भाग-दौड बाहेक अरु सबै कुरा हाम्रो जिन्दगीमा ओझेलमा थिए। पाँच भिन्न तरिकाका हामी पाँचजानाको दैनिकी अहिले लगभग एउटै भएको छ। बिहान उठ्ने, रातभरिको समाचारको विवरण सुन्ने, सबैजाना मिलेर घरको कामहरु गर्ने, दिउसो पनि समाचार सुन्ने, गफ गर्ने अनि साँझ एकछिन आफ्नै बारी पाखातिर हिड्ने अनि भाइ र म चाँही मिल्ने जति अफिसको काम गर्ने। कहिले फिल्म हेर्ने, कहिले किताब पढ्ने, कहिले छतमा बसेर आकाशतिर हेर्दै टोलाउने, कहिले कोठाभित्र बसेर सिलिङ हेर्दै टोलाउने। अहिले हजुरआमा पनि बिहान उठ्ने बित्तिकै सुरुमा, सुना त.. रातिभरीमा कुन कुन देशमा के के भयो सबै सुना भन्न थाल्नु भएको छ। कति समय सम्म बोलचाल गर्न नभ्याएका साथीहरु सँग पनि कुरा गर्ने समय र बहाना दुबै मिलेको छ। सामाजिक सन्जालमा पनि सही, गलत समाचार संगसंगै हाँसो ठट्टाको पनि कमी छैन।
काठमाण्डौ उपत्यका भित्र नै परे पनि अलि गाउँ जस्तो ठाउँमा पर्छ हाम्रो घर- गोदावरी नगरपालिकाको वार्ड नम्बर ४, बडिखेल। खासै धेरै गाडी, मान्छे, बजारको चाहलपहल अरु बेला पनि हुँदैन यहाँ। फेरि हामी धेरै जस्तो आफ्नै खेतबारीमा उब्जेका खानेकुरा खान्छौ। त्यसैले पनि होला लकडाउनको पहिलो दिन मलाई अरु दिन भन्दा खासै फरक केही लगेन। लकडाउनको समाचार हाम्रो लागि अपेक्षित नै थियो, अनि अफिसको काम पनि दुई दिन अगाडि बाट नै घरबाट नै गर्न थालेका थियौ। म प्राय घरमा नै बस्न रुचाउँछु, त्यसैले मलाई चाहिँ घरभित्र थुनिनु भन्दा पनि अन्लाईन (virtually) काम गर्न भने असजिलो भयो।
***
आज लकडाउनको पाँचौं दिन, अझै पनि आधारभूत रुपमा मेरो जीवन सामान्य नै छ। म सोच्छु, आफ्नै लागि मात्र सोच्ने हो भने म त यसैगरी ५-६ महिना पनि मजाले कटाउन सक्छु। तर कुरा मेरो मात्र छैन, अझ भनौं हामी घर बसेर खान बस्न क्षमता भएको मान्छेको हैन, दैनिक कमाई गरेर खाने मान्छेहरुको हो। अनि देशको अर्थतन्त्रको हो। मानसिक रुपमा भने मलाई यो लकडाउन, अझ भनुम यो भाईरस संक्रमणको माहामारीले, धेरै असर पारेको छ, धेरै कुराहरु सोच्न बाध्य बनाएको छ।
पहिलो त हाम्रो जीवनशैलीमा, अनि हाम्रो प्राथमिकताहरुमा। कसरी हामी जिउँछौ, कति कुरामा हामी स्वनिर्भर छौं, कति कुरामा अरुको भर पर्छौं, हामी के के कुरामा पैसा खर्च गर्छौ, कति बचाउँछौ? हाम्रो प्रमुख प्राथमिकता के हो, खुशी छौं त हामी हाम्रो life choices बाट?..आदी इत्यादी।
अर्को कुरा, सँधै धेरै अन्तर देख्थें म, साना-ठूला, धनी-गरिब, राम्रो-नराम्रो, सहि-गलत, बिकास-बिनास यी अपर्यायवाची शब्दहरुमा । अहिले यी शब्दहरुका भिन्नता पनि मलाई धमिलो लाग्दै छ। मेरो ब्यक्तित्व यस्तो, मेरो स्तर यस्तो, मलाई यो खान मन्न लाग्दैन, म यो गर्न सक्दिन भन्ने कुरा नै कति हलुका लाग्दै छ।
आखिर मानिस जुन देश, जुन धर्म, जुन स्तर, जुन सोचाईको भएपनि हामीबिच भिन्नता भन्दा बढि समानता रहेछन्। त्यतिमात्र पनि हैन, हामी मानिस नै कुनै प्राणी भन्दा विशेष वा सर्वश्रेष्ठ लाग्दै लागेन मलाई। एकतिर सबै मानव जाती नै घर भित्र थुनिएको बेला अर्को तर्फ सारा प्रकृति मुस्कुराउँदै गरेको देख्दा, सुन्दा अर्कै आनन्द पनि लागेको छ।
विश्व अर्थतन्त्रलाई यसले पर्ने प्रभाव त छदै छ, तर अर्थतन्त्र भन्दा ठूलो प्रश्न सिर्जना गरेको छ यो समयले मेरा लागि।
प्रतिष्ठा आचार्य
बिजनेस डेभलपमेन्ट अफिसर
Pratistha looks after all business and administrative sides of Herne Katha
No responses yet