पेशाले खबरकर्मी, दैनिक कम्तिमा पाँचवटा रिर्पोटिङका कार्यक्रम सकेर कार्यालयमा आएर समाचार तयार पार्ने, रातिको समाचार पढ्नु पर्ने मेरो दैनिकी आजभोलि अलिक फेरिएको छ ।
झण्डै आधा पोखरा एक फन्को मारेर संकलन गरिएका खबरहरु मार्फत स्रोतालाई सु–सूचित गर्ने मेरो दैनिकीमा दुई सातादेखि परिवर्तन आएको छ ।
‘लकडाउन’ को पूर्ण पालना गर्दै मेरा अधिकांश साथीहरु यति बेला गाउँघरमा पुरानो यादहरु संगाल्दै बसिरहेका छन्। गाउँ जान नपाएका साथीहरु घरभित्रै परिवारसंग समय बिताउँदै छन्। भने बजारमा अत्यवश्यक काम बाहेक बाहिर निस्कनेको संख्या पनि नगन्य छ ।
सधै अबेरसम्म मानिसहरुको खचाखच हुने पसलहरु पनि बन्द छन् । यतिसम्म कि सडकमा मात्र सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, खबरकर्मी र केही अत्यवश्यक सवारी साधनहरुको पातलो आवत जावत देखिन्छ ।
त्यही पातलो आवत जावत गर्ने मध्यको एक म पनि हुँ। यसरी हिँड्न सजिलो त कहाँ छ र ?
घरबाट मैले काम गर्ने रेडियो पुग्दासम्म सुरक्षाका लागि खटिनु भएका सुरक्षाकर्मीहरु झोला बोकेर खबरकर्ममा हिँडेको खबरकर्मीलाई रोकेर ‘कहाँ जाने’ भनेर सोधपुछ गर्नु हुन्छ । म मुस्कुराँउदै भन्छु ‘खबरकर्ममा सर ।’
‘लकडाउन’ का कारण होम क्वारेन्टाइनमा रहनुभएका स्रोताहरुलाई सम्झन्छु । समाचार सकिने बित्तिकै आउने फोन कल अनि कोरोना कहरका कारण अत्तालिएका स्रोताको प्रतिक्रिया, जिज्ञासा सम्झेर पनि खबरकर्मको यात्रामा निरन्तर लाग्न प्रोत्साहन मिल्छ। अझ भनौ सबैलाई सूचना दिनु मेरो आफ्नो कर्तव्य हो भनेर छुट्टै जाँगर आउँछ ।
प्राय जस्तो म साथी र आफन्तसँग भेट गरिरहने अहिले उनीहरुबाट टाढा छु ।तर पनि ठिकै छ। कोरोना भाइरससँग लड्नको लागि मिल्ने जति सबैजना आफ्नै घरमा बस्नुस् र सावधानी अपनाउनुस् है।
तपाईहरूसम्म सत्यतथ्य खबर ल्याउन म पनि सावधानी अपनाएर काम गर्नेछु। कोरोना बिरुद्धको अभियानमा घर–घरबाट नै हात धोएरै लागौं। यसो गर्दा कसो नरोकिएला कोरोनाको विश्व यात्रा ।
हात धोएरै नमस्कार !
No responses yet