मार्क्सवादी लेखक अशोक सुवेदीको सामाजिक सञ्जाल हिजोआज गाउँका तस्बिरले भरिएका छन् । रामेछापको मन्थली नजिकै रहेको सिर्जनानगरतिरका तस्बिर देख्दा गाउँको तिर्सना मेटिन्छ । उनले खिचेर पोस्ट गरेका सुकुमार र ‘भर्जिन’ प्राकृतिक दृश्य, ग्रामीण श्रमशील जनजीवन, रहनसहन र ग्रामीण जीवनशैलीले आफ्नै बाल्यकाल सम्झाउँछन् । अझ उनका शारीरिक र मानसिक श्रमसँग गाँसिएका तस्बिरहरूले असाध्यै लोभ्याउँछन् । म प्रायः गाउँका तस्बिर ‘सेभ’ गरेर राख्छु ।

मेरा स्थानीय मित्र शशी डङ्गोल वेत्रावती बजार नाममा फेसबुक पेज चलाउँछन् । उनी गाउँका अनेकौँ तस्बिर त्यहाँ पोस्ट गर्छन् । डाँडा,पाखा र पखेराका तस्बिर मात्र होइन, उनी वेत्रावती आसपासका मानिसहरूका दैनिकीलाई क्यामेरामा कैद गर्छन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् । यसपटक उनैले खिचेकाे मास्कवाला तस्बिर भाइरल बन्याे । डङ्गोलले फलाखुको तस्बिर पोस्ट गर्दा त्यही खोलामा पौडी खेलेको सम्झना आउँछ । गाडीले दिएको ट्युबमा चढेर पानीमा तैरिएको सम्झना आउँछ ।

सहरको बन्द कोठामा कोरोना कहर खेपिरहँदा गाउँलाई बहुत सम्झिन मन लाग्ने रहेछ । प्रिय गाउँलाई मटुमै सजाउँ जस्तो आदर्शभाव पनि आउने रहेछ ।

सबैभन्दा पहिले गाउँकै कुरा गरौँ । गाउँ बिर्सनेको कुरा गरौँ । गाउँलाई सम्झिनेको कुरा गरौँ ।

बजारको विकास हुँदै जाँदा गाउँ छोड्ने लर्को लाग्यो । गाउँका हुनेखाने सहर पसे । मध्यमखालका मान्छे तराई झरे ।पहाडका गाउँहरू उराठ पखेरामा फेरिए । जहाँ कोइली पनि विरहको भाका मात्र सुसेल्छ । गाउँका पखेरामा फुलेको गुराँस टिपी लगाउने युवतीहरू त्यहाँ छैनन् । मेलापात गर्ने भाउजूहरू छैनन् । दुवाली थुनेर माछा मार्ने हामी केटाहरू छैनौँ । रत्यौलीको भाका हाल्ने गाउँको आर्गानिक म्युजिक टिम अरबमा ऊँट चराउँदैछ । फेसबुकबाट नेतालाई गाली पनि गर्दै होला ।

बुढा बा घरि चुहिने छानु हेर्छन्, घरि छोराछोरी आउँछन् कि भनि बाटो । बुढी आमा दमले थलिएकी छिन् । गाउँ छोडेर जानेहरू गाउँलाई पाखे देख्छन् । पाउरोटी खान सिकाउँछन् । कहिलेकाँही गाउँ आउने अरबे लाहुरेकी श्रीमती सिमीको झालमा बसेर टिकटक बनाउँछिन् । दुई बोट फर्सी, एक गह्राे साग र एकदुई बोट सिमी रोप्ने जाँगर कसैलाई छैन !

यस्तै छ गाउँको तस्बिर । बेचैनी बनाउने खालको !

कोरोनाले कतिपय सुविधाभोगीहरूलाई गाउँ पुर्याएको छ । नेकपा एमालेको सम्पर्क मञ्चमा बसेको ठुटे नेता गाउँमा पुगेर काँक्रोको अचार खाएको तस्बिर ट्विटरमा पोस्ट गर्दैछन् । अर्का पत्रकार छन् जो सहरमा मनोरञ्जन पत्रकारिता गर्थे । उनी गाउँकै युवतीको तस्बिर पोष्टाउँछन् र लेख्छन् – झन्डै केकी अधिकारी जस्तै लाग्ने बैनीको तस्बिर ।

धन्न यूट्युबेहरूचाहिँ मेरो गाउँमा पुगेका छैनन् ।  ती हुँदा हुन् त मायालु झगडा गरिरहने साइँला दाइको घर पुगेर भाउजूलाई रुन लगाउँदा हुन् र भाइरल ‘कन्टेन्ट’ दिँदा हुन् । साइँली भाउजू आउँथिन् होला रुँदै मिडियामा र भन्थिन् होला– अब सम्बन्धविच्छेद गर्छु ।पच्चीस वर्षसम्म जिन्दगीमा कहिले झगडा, कहिले खुसी, कहिले दुःखी हुँदै बाँचेका साइँलासाइँलीको सम्बन्ध घनिष्ठ छ । चित्त नबुझेको कुरामा उनीहरू चर्काचर्की गर्छन् । ठिक यस्तैबेला यूट्युबे छिरे भने साइँलासाईंलीको जिन्दगी त चौपटै हुन्छ ।

सहरको लकडाउन झ्याउलाग्दो छ । सुत्यो, उठ्यो, फेरि सुत्यो । खासै सिर्जनात्मक बन्न सकेको छैन । कहिलेकाँही यस्तै केही लेखिन्छ । चिया खाइन्छ । हल्का किताब पढिन्छ, त्यही हो । यो डायरीचाहिँ आजको गाउँको कथा हो ।

रसुवाली कवि

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply