हाल म काठमाडौँ स्युचाटारकाे एउटा कोलोनी भित्र अस्थायी बसोबास गर्छु। कोलोनी भएकाले यहाँ राजधानीकाे अन्य स्थानको तुलनामा अलि बढी व्यबस्थित छ। घरहरु कोही भन्दा कोही कम छैनन्। सबैका घरअगाडि ठूला र पीच गरेका बाटा पुगेका छन्। पानीको असुविधा छैन। यसको मतलब यहाँ घर भएका अधिकांशहरुको आर्थिक हैसियत राम्रै छ।
मेरो घर पछाडि करोडौं मूल्यको रोपनी भन्दा माथिको जमीन छ। अहिले यो लकडाउनले गर्दा त्यो बाझो जमीनको स्वरुप बिस्तारै फेरिदैँ छ। त्यहाँ केही छिमेकीहरुले दिनभरि परिश्रम गरेर तरकारी लगाएका छन्। जो जसले तरकारी लगाएका छन् उनीहरुलाई त्यो जमीनको फोहोर पन्छाएर, सुकेका कागज, झुस र झाडीमा आगो लगाएर, कोदालो चलाउन बिर्सिएका हातहरुमा ठेला उठाएर, त्यसमा नित्य चाकर गरेर फलाएको तरकारीमा भर गर्नुपर्ने बाध्यता छैन। तर, उपलब्ध फुर्सदको गतिलो शारिरीक व्यायाम, तरकारी वा नगदको किनमेल गर्दाको संभाव्य कोरोना संक्रमणको जोखिम, ताजा आफैले फलाएको तरकारी उपभोगको उत्कट चाहना आदि जे जस्ता कारण भएपनि उनीहरुमा जाँगर देखियो ।
मेरै घरबेटी दिदी जो सिङ्गो तल्लामा एक्लै बस्नुहुन्छ, उहाँले पनि भएको थोरै करेसाबारीमा सकीनसकी साग, धनियाँ, सिमी आदि लगाउन थाल्नुभएको छ। म कोठा सर्दा बारी बाझो थियो। जब लकडाउन लम्बिदै गयो, उहाँले कोदाली समाउन सुरु गर्नुभयो। दक्षिण कोरियामा छोराको बैंकको जागिरसँगै तराईको घर र जग्गा जमीन उहाँका लागि छेलोखेलो हुँदाहुँदै बुढेसकालमा सकीनसकी बिहान, दिउँसो र बेलुका बारीमा बिताउनुहुन्छ। युट्युब र सामाजिक सञ्जालमा प्राप्त तरकारी खेतीका सामग्रीहरु रुचिपूर्वक हेर्नुहुन्छ। सँगै घरभरि अटाएका गमलाका रंगीबिरंगी फूलहरुको हेरबिचार त छँदैछ। छिमेकी दिदी र आमाहरु दिदीसँगै कौसीबाट कौसी खेतको अनुभव साटासाट गर्नुहुन्छ। अर्को एक बहिनी पनि कौसी खेतीका लागि कस्सिएर मल, माटो र प्रविधिको जोहो गर्न लागेकी छिन्। बिहान टहल्न निस्कदा कोलोनी भित्रका खाली जग्गाहरुमा जाँगरहरु भरिएको देख्न पाइन्छ ।
समाचारहरुमा समेत ठूला कृषि क्रान्तिको कुरा भइरहँदा, त्यसका केही झलक आफ्नै आँखाले देख्न पाएको छु। संकटको यो लम्बिदो समय र स्वास्थ्य सावधानीका कारण पूर्व मन्त्री, प्रशासक, पूर्व मिस नेपालदेखि थुप्रै सेलिब्रेटीहरु समेत कृषिका सपनाहरु साटीरहँदा लहड र अस्थायी प्रयोजनकै लागि सही मेरो कोलोनीका केही बासिन्दाहरु विपना बाँचिरहेको देख्दा सुखानुभूति हुन्छ। के भन्न सकिन्छ र यसरी लहडका लागि सुरु गरेको कामले भविष्यमा स्थायित्व नपाउला भनेर। बानी बस्दै र यसप्रकार कृषिमा रम्दै जादाँ नयाँ योजनाहरु बुनिन सक्छन्। पौरखसँग प्रविधि मिसिएर राम्रै उब्जनीका सम्भावना नजन्मेला भन्ने छैन।
केही दिनअघि मेरो कार्यालयका प्रशासकीय प्रमुख सर सुनाउँदै हुनुहुन्थ्यो– ‘नयाँ बस्तीकाे घर अगाडिको ५ आना जग्गामा सुरक्षित तवरले परिवारकै सदस्यहरु मिलेर मकै लगाएकाे छु ।’ उहाँलाई पनि मकैका घोगा खान खेती गर्नुपर्ने अवस्था होइन। यसरी गरेको मिहिनेतलाई उहाँले गौरवका साथ सबैसँग साट्नुभएको थियो। ‘बुढेसकालमा उक्लिएको मलाई काम गर्ने इच्छा मात्र होइन, जाँगर पनि छ भने युवावयकाहरुले उपलब्ध बाझा जग्गाहरुको सदुपयोग गर्नुपर्छ’ भनेर सुनाउँदै हुनुहुन्थ्यो ।
यसैगरी, काठमाडौँ मात्र नभएर जता भएपनि खाली जग्गामा पौरखी हातहरुले परिश्रम गर्ने हो भने सानो तिनो कृषि क्रान्ति सम्भव हुनसक्छ। जताततै ढुंगा, इँटा, छड र सिमेन्टका अचल भवनहरुको बीचमा लेनदेन नमिलेरै भएपनि बचेका माटाका डल्लाहरुमा मन र मस्तिष्क मिलाएर कोदालाहरु कुदाउने हो भने त्यसले समृद्ध नेपाल निर्माणमा एउटा इँटा थप्छ कि ?
No responses yet