विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेको आज पहिलो दिन हो । म म्याग्दीको स्वयंसेवक समूहमा पनि आवद्ध छु । यसमा प्रहरी र स्थानीय युवा संलग्न छाै । सवेरै नै स्वयंसेवक परिचालन तथा लक डाउनको पालनाबारे सचेतनाकोे लागि हाम्रो टोली बेनी नगरपालिका तथा जिल्लाको सिमानामा गयाै ।आजको मुख्य काम लकडाउन अवेज्ञा गर्नेलाई यसबारे सचेतना दिने र जिल्लामा अति आवश्यक कार्य बाहेक अन्य मानिसहरुको ओहोर दोहोर गर्न नदिनु थियो । साथै कोरोनाकोबाट बच्ने उपायको बारेमा जानकारी पनि दियाैं ।
म र मेरो समूहको साथीहरु म्याग्दीको प्रमुख द्धार कालीपुलको पक्कि पुलमा पुग्यौ । हामी दिन भर नेपाल प्रहरी तथा आर्मीहरुसँग सहकार्य गर्दै काम गरिरहेका थियौ । दिनभरमा धेरै किसिमका मानिसहरुसँग भेट भयो ।कोही आफूलाई आवश्यक सामानको खरिदका लागि, कोही आफनो घर जानका लागि, कोही भने यत्तिकै बरालिदै ओहोर दोहोर गरिरहेका थिए । यतिकै बरालिनेलाई कडा रूपमा सम्झायाैं । एकति जनाले हाम्रा कुरा मनमा लिनु भयो भने कतिले चित्त बुझाउनुभएन । हामीले सम्झाएका मानिसहरु मध्य केहीले नेपालमा केही हुँदैन भन्ने भ्रम दिने खालको अभिव्यक्ति पनि दिनुभयाे । केहीले हाम्रो कामलाई स्वागत गरे ।
मध्य दिनको चर्को घाममा पनि म र मेरा साथीहरु लकडाउनको पालना गर्नुस् भन्दै सबैलाई सचेत गराउने प्रयासमा थियौ । अरुलाई सम्झाउने काम साह्रै गाह्राे हुने रहेछ ! हाम्रै उमेरका कति युवा साथीहरुलाई पनि सम्झाउन गाह्राे भइरहेको थियो । संगैका एक जना आर्मी दाइ भन्दै हुनुहुन्थ्याे,“ हामीले आफ्नो सबै परिवार छोडेर यहाँ जनताको सुरक्षाको लागि रातदिन गरी यसरी खटिरहेका छौ । तर कति मान्छेहरू आफ्नो परवाह त गरेनन् गरेनन् , आफ्नो परिवारलाई पनि जोखिममा राखेर बाहिर खुलेआम हिडिरहेका छन् ।” यो वाक्यले मेरो मन पनि चसक्क भयाे । आफ्नो परिवार छाडेर जोखिम मोल्दै हर बखत सेवामा तयार रहने सुरक्षाकर्मीहरु प्रति सम्मान र आत्मियता जाग्याे ।
हुन त म पनि मेरो परिवार देखि टाढा रहेर सबैलाई सचेत गराउने अभियानमा लागिरहेको छु । मलाई पनि घर , ममीबुवा, दिदीदाइको औधी याद आइरहेको छ । कस्ताे संयोग थियाे त्याे । ठिक त्यति नै बेला मेरो मोवाइलको घण्टी बज्यो । घरबाट ममीको फोन रहेछ । ममीले मेरो सन्चो बिसन्चो सोधी मेरो घर आउने बाटो कुरिरहेको बताउनुभयो । म मेरो पढाइ र कामले गर्दा घर नगएको पनि धेरै भइसकेको थियो । त्यसैले यो लकडाउनको समयमा छोरी घर आउँछे भन्ने आश लिएर बस्नुभएको रहेछ । एक मन त भर्खरै उडेर घर पुगाैं जस्तो पनि भयो । तर आफ्नो कर्तव्य पनि सम्झे । ममीलाई आफूले स्वयंसेवा गर्दै गरेकाले अहिले घर आउन नमिल्ने बताए । ममी केही आत्तिनुभयो । तर मैले यस्तो विपद्को घडीमा म र मेरा साथीहरुको सानो प्रयासले सबै जना आफ्नो परिवारसंग सुरक्षित रहन्छन भने हामीले प्रयास गर्नुपर्छ भनेर सम्झाए । ममीले अलि संकोच मान्दै मलाई आफनो ख्याल राख्न भन्नुभयो । मेरो मनको कुरा पनि बुझ्नुभयाे शायद र अन्तिमममा राम्रो काम गर्न हाैसला दिदै फोन राख्नुभयाे । आफ्नो सन्तानको हरदम खुसी चाहने आमाबुबा मात्रै त हुन् ।
ममीसँगको कुराकानी पछि त्यो चर्को गर्मिमा पनि मनमा केही गनुपर्छ भन्ने भावना आयाे । बेला बेलामा भाउजू, दाइ दिदिको फोन पनि आइरहेको थियो । सबैसँग कुरा गरिरहे र आफनो काममा लागिरहे ।
म पर्वत बेनी तिरको साइडमा काम गरिरहेको थिए । गर्मीले हस्याङ फस्याङ गदै एक जना वृद्ध आमा लकडाउन हो भन्ने थाहा नपाएर पर्वतको मल्लाज भन्ने गाउँ देखि विजुलीको महसुल तिर्न बेनी झर्नुभएको रहेछ । उहाँ निराश हुँदै घर फर्किन लाग्नु भएको थियो । तर हामीले उहाँलाई विजुलीको महसुल तिर्नको लागि सहयोग गर्याै । उहाँको चाउरी परेको गालामा खुसीको लहर देख्दा मनै रमायो । दिनभर हामी खटिरहयौ। बेलुका तिर भने आवत जावत कम भयो र अर्को साथीलाई पालो दिएर म र मेरो समूहका साथीहरु आ–आफनो डेरामा फर्कियौ । दिनभरको थकान भए पनि मनमा भने एक प्रकारको आनन्दको सञ्चार भइरहेको थियो ।स्वार्थ र अपेक्षा बिनाको कामले मनमा सन्तुष्टि मिल्छ भन्थे, हो रहेछ !
सबैले लकडाउनको समयमा आफनो घरपरिवारसँग साथमा रम्न सबैको भागमा हुँदैन । त्यसैले जो आफ्नो परिवारसँग हुनुहुन्छ आफ्नो र परिवारको ख्याल गर्नुहोला । यो समय बाहिर घुमेर होइन घरमै सिर्जनात्मक काम गराैं । एक अर्कोलाई सहयोग गरौं। आफू पनि बचौं अरुलाई पनि बचाऊ ।
No responses yet