आज लकडाउनको नवौ दिन। म आफ्नो जन्मघर भन्दा टाढा, काठमाडौंको डेरामा आफूलाइ कैद गर्न बाध्य छु। दैनिकी पट्यार लाग्दो छ । ट्राभलिङ टु किचन, किचन टु बेड बाहेक अन्त जाने नयाँ ठाउँ छैन। गेटमा हरबखत ताला झुन्डिरहन्छ। गेट बाहिर सानो बजार छ। एकाध पसलहरु बिहान एकझमट खुल्छ्न् । त्यसपछि बन्द। मान्छेको आवातजावत छैन। कुनै होहल्ला छैन। एकदम सुनसान।
म विज्ञानको बिद्यार्थी हुँ । अघिपछि मेरो दैनिकी पढ्ने कलेज अनि पढाउनको लागि ट्युसन सेन्टरहरु धाएर दौडधुप गर्दैमा बित्थ्यो। आजभोलि यो दौडधुपमा पूर्णविराम लागेको छ । विज्ञान पढ्यो , अनियमित बस्तुको आयातन नाप्यो, बेलुन उडायो, स्याउ खसाल्यो, सिद्धान्तहरु रटेर मध्यरातमा लाल्टिन निभायो। गणित पढ्यो, Sin, Cos, Tan ले भित्ता रंगायो, l×b×h गुलेली झै तन्काउदै हिड्यो, मुनाफा र नाफाले कापीको पाना सिध्यायो। हिजो यस्तै चल्दै थियाे । तर आज सब फरक छ।
यसैपनी प्राय: बन्द कोठाभित्र बसेर पढ्ने लेख्ने मान्छेलाई लकडाउन खासै ठूलो कुरा त होइन। तर पनि खै किन हो, हरबखत कोठाभित्रै बस्नुपर्दा असहज महसुस गरिरहेछु । अहिले म जाँचको तयारीमा पनि लागिरहेको छु। बेलाबेलामा कोर्सका किताब बाहेक अरु किताब पनि पढ्दैछु । अहिले सुविन भट्टराईको ‘प्रिय सुफी’ सिरानमै छ ।
युट्युब ,फेसबुक, टुइटरमा पनि मेरो धेरै समय बित्छ । एउटा रमाइलो कुरा के भने नि लकडाउनले म टिकटक पनि चलाउने भएको छु। एकदिन एकजना साथीले ‘के छ खबर’ भनेर सोधिन् । मैले भने ‘के हुनु ,बोर फिल भइरहेको छ।’ उनले ‘टिकटक हेर त, समय गएको थाहै हुन्न ।’ भनिन् । त्यसपछि खोलेको मज्जा लाग्यो । थरिथरि मान्छेका थरिथरि अभिनय …..! जेहोस् टिकटक रमाइलै टाइमपास रहेछ ।
लकडाउनमा मेरो दिनचर्यामा खासै फरक छैन। युटुवबाट पहिले नै डाउनलोड गरि राखिएका सांगीतिक कार्यक्रमहरु छ्न । सधै बिहान उठ्ने बित्तिकै त्यही चालु गरिदिन्छु। यो मेरो नाैलो बानी हैन । कालो चिया पिउँछु । गाउँबाट ममीले हरेक बिहान सम्झिनुहुन्छ – ‘सन्चै त छ्स् नि ? पकाएर खाएको त छस् नि ? यस्तै यस्तै…..’ यसरी ममीले माया ममता देखारहँदा मलाई झनै जिम्मेवारी बढेको महसुस हुन्छ अनि अझ राम्रो मान्छे बन्ने कोसिसमा लाग्छु ।
अब यसैगरी लकडाउनका नवौं, दसौं दिनहरु गन्दै १४ दिन पनि बित्नेछन् । जुन दिन लकडाउन खुल्छ। त्यो दिन संसार अँध्यारो होइन, उज्यालो हुनेछ। आशा छ त्यसदिन विज्ञानले कोरोना भाइरसलाई हराइसकेको हुनेछ।