प्रिय नेपाल आमा,
परदेशी छोराको तर्फबाट शिर निहुराएर ढोग छ !
कहाँ बाट सुरु गरौं मेरा मनका यी भावनाहरु। म र म जस्ता हजारौं नेपाली आज बन्द कोठामा सिमित रहेको २५ औं दिन भयो । एक दिन र आजको दिन मात्रै हैन हरपल आफ्नो माटोलाई सम्झेर मातृभूमिलाई सम्झेर रुनु सिवाय पददेशीको के नै हुन्छ र ? अझै धेरै दिन हुने छ यो बन्द। कोठामा समय कटाउन उकुसमुकुस छ। याे समयलाई कसरी पार लगाउने?
कोरोना भाइरसले गर्दा बिश्व त्रसित हुँदा हामी वीर नेपाली भनेर मात्रै त्रसित नहुने कुरा भएन क्यारे ! आज विश्व नै कामिरहेको छ। त्यही वीर नेपालीको मुटु त घरि घरि घरपरिवारको चिन्ताले धड्किदै रोकिन खोज्छ। बाहिरका रंगिन संसार पनि आज सुनसान छ ।
यहाँ मात्रै हैन, बिश्वभरका नेपालीहरुको काम ठप्प छ। काम गर्ने पाखुरा बजारुन्जेलसम्म मात्र हो, नत्र यहाँ कसैले के छ कसो छ भनेर पनि सोध्दैनन् ! म आफै आफ्नो माटोलाई सम्झेर यो पत्र लेख्दैछु र सोध्दैछु- सन्चै छौ नेपाल आमा ! हाम्रा नेपालीहरुलाई बचाई देउ है। तर मलाई मेरी घरकी आमाले दिनमा तीन पटक फोन गरेर सोध्नु हुन्छ ‘बाबु कस्तो छ !’ म हाँसेर भन्छु ‘आमा ठिक छु’! तर म खुला जेलको बन्द कोठामा छु, मलाई दुख छ भनेर भन्दिन मेरी आमालाई।
म मलेसियाको खाडीमा छु। यस्तै खाडीमा म जस्तै लाखौं श्रमिक छ्न । जो अहिले यो कोराेनाको उच्च जोखिममा छन्। त्यसमाथि पनि अधिकांश अवैधानिक छन्। सेक्युरिटी गार्डमा काम छन् । उनीहरू झनै जोखिममा छन्। मलाई यिनै साथीहरुको धेरै चिन्ता लाग्छ। मेरो देश प्रतिको माया र नेताको चरित्र देखेर म आफ्नो फेसबुकमा आक्रोश पनि पोख्छु। तर कसले सुन्छ हामी प्रवासीले बन्द कोठाबाट लेखेको फोस्रा कुरा! हामी खाडीमा हुने नेपालीले पठाएको रेमिट्यान्सले देश चल्यो। देशको अर्थतन्त्रमा टेवा पुग्यो त आज त्यही खाडीमा बिचल्लीमा परेका र उच्च जोखिममा परेर हार गुहार माग्दै गर्दा कसैले सुनेन हाम्रा कुरा !
चिनका विद्यार्थीलाई तुरुन्त आफ्नो देश सुरक्षित ल्याइयो । तर खोइ त हामी श्रमिकहरुलाई नेपाल फर्काएको! यही विभेद भएन र? नेपाली नागरिकता बोकर श्रम गरेर खाने नेपाली चाँहि नेपाली नै हैनन् र ? यो प्रश्न म कसलाई गरौं ? फेरि भारतबाट आफ्नै बाेर्डरमा आएर हारगुहार मागेका नेपालीलाई सम्झिएँ । त्यही ढोकामै आएर ढोका ढक्ढक्याउनेलाई त केही गर्न सकेन भने हामी सात समुन्द्र पारी छौँ, हाम्रो कसलाई के वास्ता! यस्तै सम्झेर चित्त बुझाएँ ।
हाम्रो त भाग्य नै यस्तै रहेछ ।मनलाई कठोर बनाइ दिनभरि सुत्छु। फेरि रातभरि सुत्नु नै छ।अनि कोल्टे फेर्दै गर्दा घरबाट मेरी आमाको फोन आयो – ‘बाबु के खायौं।’ मैले ‘खाए आमा चिन्ता नगर्नुस’ भने।आमा ‘सुक्क’ गर्नु भयो।शायद आमाले मेरो ‘भोको पेट’ थाहा पाउनुभयाे।एकैछिनलाई मेराे देशका नेताहरूले हामीलाई गरेको व्यवहार चटक्कै बिर्सिदिन्छु र आमालाई सम्झाउँछु- ‘आमा चिन्ता लिनु पर्दैन हामीलाई केहि भइहाल्यो भने सरकार छँदैछ नि’ ।आमाले भन्नुभयाे ‘बाबु भाेकै नबस है ।’ अरु कसैले नसोधे पनि, वास्ता नगरेपनि , बारबार सोधिरहने, वास्ता गरिरहने मेरी आमा हुनुहुन्छ।
मेरी आमा र नेपाल आमाको पिडामा सयौं आमा परिवार र सन्तान को बिछोडमा आँसु झार्दै छ्न । सरकार बिपत्तिमा परेका सबैको उद्दार गर ! नागरिक सबै समान हुन।सम्बन्धित देशको दूतावासलाई ध्यानाकर्षण गर । हामी बाँचे परदेशीको पैसाले देश बाँच्छ । मर्नु परे हामीलाई आफ्नै माटोमा मर्न मन छ। प्यारी नेपाल आमा नेपालका नेता र नेपाल सरकारलाई हामीलाई हाम्रै माटोमा मर्ने वातावरण मिलाइदिने बुद्धि देउ है । यस्तै सम्झिदा सम्झिदैँ दिन र रात कटाउँदैछु। रात र दिन उस्तै लाग्छ यहाँ । अन्तमा खाडीमा बसेर धेरै बोल्यो नभन्नु है नेपाल आमा म बाध्यताले यो सब लेख्दै छु ।
उही परदेशी छोरो,
रमेश बस्नेत
दोलखा
हाल मलेसिया
No responses yet