खै, के लेखौ! खासै लेख्न पनि आउँदैन। जानेको पनि छैन तर नलेखी पनि बस्न सक्दिन । कहाँबाट सुरु गरौं भन्ने भेउ नै पाइन। हात थरथरी कामेको छ। सम्झियो अनायासै आँखा रसाइहाल्छ ।
रोजगारीको सिलसिलामा आफ्नै जन्मभूमी अनि जन्मदिने आमा र सारा परिवारलाई छोडेर परदेश लागेको पनि आज ठ्याक्कै २३ महिना बितेछ । परदेश हो कहिले कस्तो दुख कहिले कष्ट भोग्दै दिनहरु बिते। ती दिनहरुलाई सन्झन त चाहन्न। तर परदेशमा भोगेको दुखका दिनहरु यो मानसपटलबाट सितिमिती चाहिँ नहट्ने रैछ । दुख त सबै आफ्नो ठाउँमा थियो नै । साथ साथै नयाँ साथीहरुसँगको भेटघाट अनि हाँसी मजाकले गर्दा घरदेशको सम्झनालाई थोरै भुलाउँथ्यो ।
साथीहरु थिए कोही कस्ता !
कोही कस्ता !
तर सबै लाथ्यो मै जस्ता !
हुन पनि हो सबै मै जस्ता आफ्नो दुखलाई सुखमा परिणत गर्न यति टाढा आफ्नो देश, घर परिवार छोडेर आइपुगेका।
तर के गर्नु भाविको खेल अनि बिधाताको झेल कत्तिको त्यो सपना पूरा हुन्छ । कत्तिको अधुराे नै । झनै कोरोनाको महामरीले गर्दा डर माथि डर थपिदिएको छ ।
यस्तै आज त April 16 तारिख भैसकेछ । १६ दिन भएछ मेरो बखत भाइले यहि परदेशी भूमिमा हामी सबैलाई अप्रिलफूल बनाएर यो दुनियाँ छोडेको । अनि निसन्देह आफ्नो घरपरिवार अनि आफ्नी प्यारी ममतामयी आमालाई एक्लै बनाएर गएको। हो, त्यही बखत भाइ! जो साथी साथी मजाक गर्दा मेरो पाखुरीमा झुन्डिने! त्यही बखत भाइ, हाँसखेल गर्दा पटक पटक मलाई झाँगलझुँगल बनाउने!
कुरा 2020 April 1 को हो, कतारमा बाइकमा home delivery गर्ने काम गर्ने हामी सधैँ झै आफ्नो ड्युटी रुम फर्कियाैं। त्यही दिन अप्रील १ को रात बाइक लिएर रुमबाट निस्केको मान्छे त्यसपछि ड्युटी रुममा कहिल्यै फर्केनन्। बरू उनको दुर्घटनामा परेर ज्यान गएको खबर मात्रै काेठामा फर्कियाे। उनको नेपाल घर चाहिँ सुर्खेत भन्थे। साँच्चिकै बखतले हामीलाई त अप्रिलफूल नै बनाएर गए।जीवनभरि नबिर्सिने अप्रिलफूल ।
बखतको पनि कति सपना थिए होलान्! आफ्नी आमालाई सुखसँग पालौंला,जिन्दगी खुसी खुसी बिताउँला। तर त्यो सपना खोलीमा हाल्दा झिङ्राले च्यातिदिएको जाल झै च्यातियो । कतारको दुखले उसकाे जीवन खायो, सक्कायो ।बुढेसकालमा ‘मेरो बखत छोरा आउँला भनेर बाटो हेर्दै’ बसेकी आमाकाे पर्खाइ हेराइमा मात्रै सिमित भयाे ।
आमा तपाइको छोरा पक्का आउँछ। तर जसरी Airport बाट बाइबाइ गर्दै पठाउनु भको थियाे त्यसरी नै हाइ हाइ गर्दै हैन।ऊ त अब काठको बाकसमा बन्द भएर आउँदैछ आमा । तपाईंलाई सुख दिन हैन तपाईंको मुटुमा गढेर कहिले नउप्किने किला बनेर आउँछ । मैले यी कुराहरु भनिरहँदा ती आमाले सुनिन् भने र पढिन् भने के भन्लिन मलाई। के बित्ला उनी माथि । यो खबर त पुग्यो होला उनको कानसम्म। के बितिहेको होला उनी माथि। कसरी आफूलाई सम्हालेकी होलिन् । खै ! आमा म के नै भन्न सकुँला र ! के नै गर्न सकुला र ! करिव करिव २२/२३ महिनाको भेटलाई त मैले कहिल्यै भुल्न नसक्ने भएको छु भने तिमी त आमा। मैले पनि कति पटक भने : ‘ए बखत भाइ! आउन मेरो पाखुरामा एकफेर फेरि पिङ खेलन। मलाई फेरि एकफेर झाँगलझुँगल बनाउन।तर खै त! तिमी त्याे बाकसबाट उठ्नै मानेनाैं।’
आफैले जन्माएर हुर्काएर बढाएकी कसरी बिर्स्याैली र ! आमा मेरो बखत भाइले तिमीले सोचेको अनि चाहेको खुसी दिन सकेन। उसको तर्फबाट म माफी माग्छु तिमीसँग। क्षमा माग्छु आमा तिमीसँग माफ गर्देउ है आमा !!!
हो ! आफू भित्र आफू नरहेको बखत भाइ! आज तिमी कतारको कुन चाहिँ अस्पतालमा नेपाल जाने दिन कुर्दै छाै होला ।याे महामारीको बेलामा तिमीलाई नेपाल लैजाने प्लेन पो कहिले आउने! सबैलाइ कोरोनाको महामारीले त्राही त्राही बनाइरहेको यो दिनमा तिम्री आमालाई त्यसले अब के नै फरक पार्दाे हो र बखत भाइ! कोरोना भन्दा ठूलो भाइरस उनको मुटुमा छिरेको छ। यसकाे न कहिले भ्याक्सिन बन्छ न कहिले उपचार हुन्छ ।
अन्त्यमा
तिमी त यो दुनियाँबाट गयौं । मेरो प्यारो बखत भाइ, अब तिमी मेरो पाखुरामा झुन्डिए जसरी तिम्रा यादहरु मेरो मानस्पटलमा नझुन्ड्याउन है! मलाज्ञ नघच्घच्याउन है!
राम तिमल्सिना
(क्षितिज के.सि)
ललितपुर
हाल- दोहा, कतार
No responses yet