आमाको ‘ए कति अबेरसम्म सुतेको हँ’ भन्ने आवाजसंगै, हतपत्त एकछिनमा उठिहाले भनेर कोठाबाट आँखा मिच्दै बाहिर निस्किन्छु । सबेरै एक हुल भँगेराहरुले भर्खरै पालुवा पलाएर हरिया भएका, बतिला लागेका बोटमा खै के के कुरा गरे। योजना बनाए कि के गरे।पछि को कहाँ गए पत्तो भएन। तर उनीहरुले मलाई जगाएर, हर्षित बनाएर गए। प्रकृति कति गतिशिल। एक महिना अगाडि अस्थिपञ्जर जस्तै लाग्ने आरुको रुख अहिले हेरुँ हेरुँ जस्तो भइ फेरिइछ । साधारण योग, ध्यान र भजन संगीत बिहानका अध्यात्मिक साथी बनेका छन् ।आफ्नै गाउँ अहिले उज्यालो भएको छ। साथीभाइ विदेश र सहरबाट घर फर्किएका छन्। आ-आफ्नै घर परिवार र खेतबारीमा ब्यस्त देखिन्छन्, कहिले त यो परिवेशले चाडवाड भित्रिएको महसुस गराउँछ ।
सानो आयतनको यस कोठामा बिचारका आयतन निकै ठुला र फराकिला भएका छन् । To do list हरु त्यसै बेरोजगार जसरी यथास्थितिमा छन् । मस्तिष्कको क्यानभासमा कहिले वरपरको दृश्यसगैं हराउने मन त कहिले सोचाइका भेलहरुसंग । लकडाउनमा सामाजिक सञ्जालसंगको घनिष्टता बढेको छ। चाँदी जस्तै टल्किएका हिमाल,बाहिर धुलो धुवा नभएकाे स्वछ र सफा फोटोहरु सामाजिक सञ्जालमा देख्दा मानवीय क्रियाकलापहरुले प्रकृतिलाई ‘अलि बढी नै गरेको हो कि’ भन्ने महसुस हुन्छ । के प्रकृतिलाई यसको पूर्व अवस्थामै ल्याउन सकिएला!
लाग्छ लकडाउनले सिजर्नशील, निकट र उर्जावान बनाएको छ। केही साथीहरुका आफू भित्र रहेका प्रतिभा लेख, रचनाले गति पाएका छन्, वर्षाै देखि छुटिएकाे मित्रताका सम्बन्धलाई ताजा बनाइदिएको छ । लहरै र्याकमा सजिएका पुस्तकहरुले पालो पाएका छन्। घरमा वेवारिसे रहेका सामानहरुले आफ्नो स्थान पाएका छन्। अन्नबालीका फाँटहरु चैत लागेसंगै सुनौला भएकै छन्। बाँझो बारी उर्बर हुँदैछ। बगैचाका फूलहरुले पानी पाएर मुस्कुराइरहेका छन्। अहिले घर चौतारी भएको छ अनि हामी त्यहाँ सुस्ताउने साथी । दिन र रात उही (२४ घण्टा), परिवार उही, साथीभाइ उही, फरक त परिवेश अनुसारको अनुभव ,भोगाइ, जिउने शैली र सिक्ने पाठहरु। दिनहुँको भागदौडमा बित्ने दिनहरु, अहिले सुस्त, शान्त र सुन्दर भएका छन् ।
मानविय गतिविधि जतिनै विकसित र उन्नत भएता पनि उसको प्रकृतिसंग केही जोर नचल्दो रहेछ । यो सानो जिवाणुको समाधान पनि आखिर सानै त रैछ ।सामान्य सरसफाईले कोभिड १९ विरुद्द लड्न सकिने रहेछ भने अहिलेलाई यसको उपचार पनि एक्लोपन र दुरी नै रहेछ ।
No responses yet