साँच्चिकै उनको माया नहुँदो हो त यो कथा लेख्ने नि थिइँन होला!
मेरी एउटी सानी मैयाँ छिन्। जसलाई म असाध्यै माया गर्छु। यो माया कुनै शब्दले परिभाषित गर्नै सक्दैन। एउटी राजकुमारीकाे मिठो कल्पना थियो चाहाना थियो। अनि भगवानसँग प्रार्थना पनि।जसलाई पाउँदा संसार जितेजस्तै भयो। जस्लाई देख्दा म सधैँ फुरुङ्ग हुन्छु। उनी मेरो जीवनलाई स्वर्ग बनाउने परी हुन्। मैले उनलाई परी नाम दिएकी छु। उनी मेरो काखमा, हृदयमा मस्तिष्कमा जहीँतहीँ खेलिरहेकै हुन्छिन। हरपल, हरक्षण सँगै खेल्थ्यौ। सँगै नाच्थ्यौ। सँगै गाउथ्यौँ। धेरै भन्दा धेरै रमाइलो र मिठा पलहरु बिताइरहेका थियौं।
यही क्रममै फेरि हाम्राे परिवारमा अर्को नयाँ सदस्य थपियो। आजभोलि उनको सानो भाइ साथै छ। लकडाउनको बेला सबै फुर्सद नै फुर्सदमा भन्ने लेखेको देख्छु। म भने मेरी मैयाँलाई यत्तिका धेरै दिनकाे लकडाउनमा पनि समय दिन नसकेकोमा सारै दु:ख मानिरहेकाे छु। किनकी उनी भन्दा सानो भाइ काखमा छ।उसलाई दुध खुवाउँदा फकाइ फकाइ सँगै सुताउँदा उनको मन दुखेको आभास गर्छु मैले। सानाे भाइ, घरधन्दा अनि केही खेतबारीको कामले उनलाई समय दिनै सकिरहेको छैन।
हरपल काख र साथमा राज गर्दै रमाइरहेकी मेरी मैयाँ आफूलाई निकै एक्लो महसुस गरिरहेकि छिन्। यत्तिका समयमा धेरै कुरा सिकाउने रहर थियो उनलाई। केही इतिहासका कुरा, केही सिर्जनाका कुरा, केही जीवनका कुरा, केही सुखका कुरा, केही दुखका कुरा पनि। तर उनलाई दिन समय नै पुगिरहेको छैन मनको रहर मनमै मात्र छ।
एकदिन उनले निकै घोरिएर प्रश्न गरिन् “मामु लकडाउन खुल्ने बित्तिकै भाइलाई घरमा छोडेर तपाईं अनि म मात्र घुम्न जाऊ न हुदैन?” मैले किन भन्ने प्रश्नमा उनले जवाफ”तपाईं र म मात्र गयौं भने तपाईंको हात समाउँदै, रमाउँदै हिड्न पाउँछु नि ! होइन भने त तपाईंले भाइ र मैले ब्याग समाउनुपर्नेछ ”
ओहो! मेरी मैयाँको कलिला दिमागमा कत्ति ठूलो पिडा भरिएको रहेछ।सायद भाइलाई मात्र माया गरेको जस्तो लाग्दो हो उनलाई। यही कुरामा निकै दुख लागिरहेछ मलाई। माया त पक्कै बाँडिएको होइन। समय मात्रै बाँडिएको छ । तर कसरी सम्झाउ मेरी मैयाँलाई।माया नै माया मेरी मैयाँलाई
No responses yet