कलम समाए डायरी लेख्न भनि मोबाईल नोटिफिकेशनको घण्टी बज्यो । हेरे नेपालमा थप १ संक्रमण भेटियो । मनै गरूङ्गो भयो । कलम र डायरी त्यही टेबुलमाथि राखेर एक गिलास चिसो पानी पिउन खोजे । फेरि त्यही बेला टेलिभिजनमा भनिरहेकाे थियो कोरोना भाईरसको संक्रमणबाट बच्न शरिरको तापक्रम बढाइ राख्नुहोस् । तातोपानी, तातो सुप ज्यादा पिउनुहोस् । जुरुक्क उठेर पानी तताउदै थिए फेरि उता जर्मनबाट साथीले फोन गरि “ओए ! टिमुर पानी सँधै पिउनु है ! फोक्सोलाई खुलाइराख्छ रे ! श्वास फेर्न सजिलो हुन्छ है ! ”
यो कस्तो समय आयो ! यो के सजाय आज धर्तीले हामी मान्छेलाई दिइरहेछ। म यतिबेला संसारकै अति विकसित देश मानिने जापानमा छु। मेरो देशमा कल्पना नै गर्न नसकिने या यस्तो पनि हुन्छ र भनिने या आफू नेपालमै रहँदा लाग्ने त्यस्ता कौतुहलताहरुलाई विपना बनाइदिएको छ यो देशले । विकासको लागि बाँकी केही छैन शायद यहाँ।
सम्पूर्ण भौतिक सुविधासम्पन्न मुलुक, विज्ञान र प्रविधिमा सम्पन्न मुलुक ।याे देशमा समेत आज यसरी कोरोना(कोभिड-१९) दिन दुगुना रात चौगुना फैलिरहेको छ। गरिरहेको काम नछोडि सुखै भएन। कुरो पैसोको होइन । यहाँ जीवन बचाउने सवाल छ दुनियाँलाई । एक त परदेश त्यहीमाथि मँहगी । झनै काम नै बन्द गरेर बसेपछि मुखमा कसरी माड लगाउने ! चिन्ता त हुने नै भयाे ।
कहिलेकँही त लाग्छ कृत्रिम मानव बनाउन सक्ने देशहरुले यस्ता रोगहरुबाट बचाउन सक्ने औषधी बनाउन किन नसकेका होलान् ? गर्न के नै पो सकिन्छ र ! बस् परदेशबाट यही कामना गर्छु संसारका सबै मानव जातिलाई यस्ता प्राणघातक रोगहरुबाट बचाउन सक्ने औषधी कोही त बनाइदेउ। लेख्न कहिल्यै जाँगर नलाग्ने मलाई आज यत्ति नलेखी मन शान्त भएन।
धन्यवाद
No responses yet