पेशाको हिसाबले म केटाकेटी पढाउँदै हिडेँको एक शिक्षक हुँ। विगत चार वर्षदेखि म काठमाण्डौँको मुटु न्युरोडमा अवस्थित एक सरकारी विद्यालयमा पढाउँदैछु। दुर्गम गाउँमा जन्मिएर मुस्किलले शिक्षा आर्जन गर्दै करिब आधा दशक पिछडिएका गाउँ बस्तीहरुका विभिन्न विद्यालयमा पढाएपछि देशको राजधानी काठमाण्डौको शिक्षक हुने साैभाग्य मिलेको थियो। आर्थिक, सामाजिक र शैक्षिक धरातलको असाध्यै पिंधबाट आएको मान्छे म। उच्च शिक्षा अध्ययनको क्रममा पनि काठमाण्डौँले मलाई बारम्बार लखेटेको तितो सम्झना ताजै छ। २०७२ साल पछि भने काठमाण्डौँ मै टिक्ने र औपचारिक अध्ययनको लागि केही बलियो आधार बन्याे।
अरु बर्षहरु भन्दा यस वर्ष मेरो निम्ति उपलब्धी र चुनौतीहरु ज्यादा भएको वर्ष थियो। विद्यालयको नियमित कक्षाहरुका साथै पेशागत दायित्वहरु अनि कलेजको औपचारिक अध्ययनको अन्तहिन शृङखलाहरु। काठमाण्डौँको केन्द्रमा बसेर आगामी जीवन यात्रामा देखेका अनन्त र सिमाहिन फाँटहरु। यसरी अध्ययन र अध्यापनको सघन चापबाट निस्केका केही फुर्सदिला समय सामाजिक संजालमा टहलिँदा डिसेम्वरको अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको एक किसिमको भाइरसबारे थाहा भयाे। केही महिनामै विश्वभर यो भाइरस सुकेको खरमा लागेको फिलिङ्गो सावित भयो।
बढी चहलपहल रहने काठमाण्डौँको केन्द्र न्युरोड र यहाँको जनजीवनलाई प्रभावित नबनाउने कुरै थिएन। न्युरोडमा भेटिने सबै मानिसहरुमा एक किसिमको संशय, छटपटी र त्रासदी देखिन्थ्यो। उनीहरुको एउटै प्रश्न थियो अब के हुन्छ ? कसरी अगाडि बढ्छ? जतिखेर चीनको वुहान शहर पुरै लकडाउनमा थियो। निकट भविष्यमा हामीले पनि कठोर लकडाउनको सामना गर्नु पर्ने कुरा न्युरोडमा बसेर अनुमान गर्थ्यौ।
चैत दश गते देश पुरै लकडाउन हुनु पूर्व नै न्युरोडका व्यस्त सडक र गल्लीहरु करिब करिब सुनसान भइसकेको थियो। मेरो विद्यालय अघि सधैँ अटेसमटेस रहने पार्किङ स्थल खाली खाली भइसकेको थियो। मानिसहरु दैनिक उपभोग्य सामग्रीहरु ग्यास,दाल,चामल र नुनको जोहो गर्न हतारिरहेको देखिन्थ्यो। पेट्रोल पम्प अगाडि घण्टौ लाग्ने लामो लाईन लागेको थियो। न्युरोडका सधैँ व्यस्त दुकानहरुमा काम गर्ने कामदारहरुले काम छोडेका थिए।न्युरोडको स्थिति एक किसिमले भन्ने हो भने भयानक हुरी आउनु अघिको सन्नाटा जस्तै थियो।हामीले पनि विद्यालयको पढाइ र परीक्षालाई निर्धारित सम़य अगावै सकायौँ। संभावित जोखिमलाई ध्यान दिएर विद्यालय बन्द भयो।
त्यसपछि काठमाण्डौँ बसाइँ रोगको प्रकोपको जोखिम, दैनिक उपभोग्य सामग्रीहरुको अभावसँगै अझै कष्टकर हुने लागेर चैत नौ गते मात्र आठ महिनाको छोरी बाेकेर, पोको पन्तुराे कसि हामी तीन जना बाइकमा एक किसिमले जोखिमपूर्ण यात्रा गरेर भएपनि गाउँ फर्कने निष्कर्षमा पुग्यौं।
राति अबेर हामी कतै ठाउँ नसरि बसेको गन्तव्य आइपुग्यौं। त्यसपछिका केही दिन काठमाण्डौँबाट धेरै मानिसहरु गाउँ आए।गाउँमा झरेका मानिसहरुले सर्वप्रथम सिस्नुका झाङहरु रित्याए। जंगलमा भेटिने निउरो, कर्कलो र खान मिल्ने जति जे भटिन्छ सकाए। त्यसपछि खोलाको माछा, बनका कालिज, कुखुरा, खसी, बोका, बाख्रा, राँगा भैंसी ,बंगुर केही बाँकी हुने कुरा भएन।
कोही समह समुह बनाएर गाउँ गाउँ डुल्दै हिडें त कोही बाँझो खेतबारी फुटाउन र झाडी फाड्न तिर लागे। कोही बाल्ने दाउराको जोहो गर्न तिर लागे। सुनसान बनिरहेको सहर लकडाउनले बाहिर निस्कनसम्म पनि नमिल्ने, तर गाउँमा भने एक किसिमले उत्सव जस्तै भएको थियो। लकडाउनको करिब महिना दिनपछि काठमाण्डौबाट गाडीका गाडी तरकारी, टमटार,दाल,चामल,चिनी,तेल र नुन गाउँ गाउँ बिक्रीका लागि आइपुग्यो। बुझ्दै जाँदा काठमाण्डौँमा बिक्री नभएपछि व्यापारीहरु गाउँ पसेका रहेछन्।मैले बुझेको थिए, लकडाउनले काठमाण्डौमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हनेछ जीवन अति कष्टकर हुन्छ तर भयो उल्टो। अहिले त झन दिनहुँ जसो दैनिक उपभोग्य सामाग्रीहरु काठमाण्डौँबाट निर्वाध रुपमा यता आइरहेका छन।
यतिखेर म आफ्नै गाउँमा बसि यो डायरी लेखिरहेको छु। सायद लकडाउन नभइदिएको भए यतिखेर म विद्यालयको नियमित कक्षा पेशागत जिम्मेवारी,विद्यालयको आगामी कार्यक्रमको लागि कुदिरहेको हुन्थे। साथै न्याय सेवा आयोगको पढाइ, परीक्षा, बार काउन्सिलको परीक्षा,चैत वैशाख जेष्ठ महिनामा हुने भनिएकाे एम ए राजनीतिशास्त्रको परीक्षाकाे तयारीमा लागिरहेको हुने थिए। तर विडम्वना नै भन्नु पर्छ कोरोना र लकडाउनले जिन्दगीका सबै निर्धारित तालिकाहरु बिथोलिदिएको छ। नियमित कामहरु भन्दा बिल्कुलै भिन्न कामहरु गाउँमा गोरु किन्ने देखि सुरु गरेर, बाँझो खेतबारी जोत्ने, मकै रोप्ने, घाँस दाउरा लगायत घरायसी कामहरुमा दैनिकी बितिरहेको छ। जुन कामहरुमा मेरो पुरै बाल्यकाल बितेको थियो। याे बिचमा बाँझो फुटाउने देखि मकै रोपेर एक सरो गोड्ने बेला भइसक्यो।
तर कोरोनाको जोखिम कम हुने र लकडाउन खुलेर नियमित काममा फर्कने कुनै छाटँकाट देखिएको छैन। हुन सक्छ रोपेको मकै फलेर खाइ सकेर अर्को मकै रोप्ने बेला सम्म पनि यही जाममा अल्झिनु पर्छ। लकडाउनले गर्दा आठ महिनाको सानी छोरीसँग मज्जाले खेल्ने र रमाउने अवसर पनि पाएकाे छु। छाेरी अब दश महिना पुरा गर्दैछिन्। के थाहा मेरो सानी छोरीकाे बोलि सक्ने समयसम्म पनि यो कोरोनाको त्रासदी सकिने हो, होइन? प्रश्नहरु आफै भित्र गुजुल्टिएर आउँछन। तर उतर निक्कै कठिन छ।
भन्ने हो भने एक किसिमको कोरोनाले मडारिरहेको कुहिरोमण्डल भित्र छ जीवन। कोरोनाले आफ्नो उन्माद देखाउन कम गरेको छैन। पुरै विश्वलाई नै लपेटिरहेको छ। अझै के हुन्छ र कसरी अगाडी बढ्छ भन्ने सनसनीपूर्ण प्रश्नको भुमरीभित्र रुमल्लिएको छ हाम्रो यात्रा।
हो मलाई राम्रैसंग थाहा छ कि, हरेक विनासको गर्भभित्र विकासको बिउ हुन्छ। मानव, इतिहासको लामो कालखण्डदेखि डरलाग्दो प्रकृतिसँग जुध्दै आयो। जंगली जनावर, नदि, पहाड, हिउँ, बाढीपहिरो, चट्याड़, ज्वालामुखी, भुकम्प, प्लेग भनिने महामारी, हैजा, एड्स, स्वाइनफ्लुदेखि घातक इबोलासम्म। ओडारदेखि अन्तरिक्षसम्म, आदिम मानव देखि आधुनिक अभिनवसम्मको विकासमा प्रकृतिकै योगदान छ ।
बिस्तारै विश्व आफ्नो स्वभाविक गति र लयमा फर्कन्छ अनि एउटा अनिश्चयको यात्राको सफल पूर्णविराम हुनेछ।