बुढानिलकण्ठ स्कुलको छात्रावासमा बसेर कक्षा १२ को तयारी गरिरहेकी थिएँ। चैत्र ५ गते बेलुकाको खाना खान डाइनिङ हलतिर जाँदै गर्दा एस् .ई.ई परीक्षा सर्यो रे भन्ने गाइगुइँ हल्ला सुनियो। विद्यालयभित्रकाे ताजा खबर कि सूचना पाटीमा हुन्थ्यो कि त्याे समाचार भोलिपल्टको पत्रिकामा पढ्न पाइन्थ्यो। त्यो रात मैले कसरी खाना खाएँ पत्तै भएन।
भोलि हुने भनिएको एस् .ई .ई परीक्षा स्थगित गरियो भनेपछि हामी यहाँ भित्र मात्र सुरक्षित र बाहिर कोरोनाको प्रकोप बढी सकेको अनुमान हामी मध्य जो कोहीले पनि लगाउन सक्थ्यौँ। खाना खाएर फर्किएपछि हामी सबैलाई घर पठाउने निर्णय भयो। याे अपर्झटकाे निर्णय त्यो बेला त्रासपूर्ण लागे पनि अहिले सम्झदा समयमै गरिएको परिपक्व निर्णय जस्तै लाग्याे। किन भन्ने जिज्ञासा उठेको होला! यसको उत्तर बिस्तारै दिनेछु।
बिहानै ८ बजे सबैजना घर जानुपर्ने भएकाले हामी सबै साथीहरुले बाँचे भेटौँला भन्दै अङ्कमाल गर्यौँ। मेरो परिवार काठमाडौं नै बस्ने भएकाले मलाई घर जान त्यति गार्हो भएन। तर विभिन्न जिल्लाबाट त्यहाँ पढ्न आएका मेरा साथीहरुलाई घर जान त्यति सजिलाे थिएन। त्यसमाथि परीक्षा तयारीका लागि आवश्यक सामग्री बोकेर जान त झनै गाह्राे। तर लकडाउन भन्दा ४ दिन पहिले नै त्यो निर्णय भएकाले त्याे दुरदर्शी र सर्हानिय थियाे भन्ने लागेकाे हाे मलाई।
घर जादाँ कतै बाटोमै कोरोना लाग्ने त होइन भन्ने मनमा संकाेच पनि थियो। मैले त मानिसहरु कोरोनाबाट धेरै प्रभावित भइसकेको कल्पना गरेकी थिएँ। बुवाले मेरो मनकाे कुरा बुझेर यो सबै सतर्कता अपनाउन चालिएको कदम हो भनेर सम्झाउनुभयाे।
विश्वभरी नै माहामारी फैलिदाँ मन आत्तिए पनि लकडाउनले मलाई धैर्यताको पाठ सिकाएको छ। मेराे लागि यो समय परीक्षा तयारीका लागि वरदान बनेको छ। म जैविक विषयको विद्यार्थी भएकाले गणितलाई खासै समय दिन सकेकी थिइनँ। यो बेला गणित विषयलाई दिदैँ आएकी छु। यस सँगसँगै अरु विषय पनि दाेहाेर्याउने फुर्सद मिलेको छ। केही समय विश्वभरका समाचारकालागि छुट्याएकी छु। त्यस्तै छात्रावासमा हुँदा कहिल्यै आफन्तहरुसँग गफ नहुने भएकाले अहिले त्यसकाे लागि पनि सजिलाे भएको छ। अष्ट्रेलियामा हुनुभएका दिदी र भिनाजुसँग नियमित गफगाफ र यताउताको खबर आदानप्रदान गर्न पनि भ्याएकी छु। केही समय लेखनलाई दिने सोच छ। यो समय अझ व्यस्त भएको अनुभूति गर्दैछु।
प्रकृति बराल
काठमाडौं
बुढानिलकण्ठ स्कुल