लामो समय भयो लकडाउनले घेरेको अनि काेराेनाले विश्वलाई बिक्षिप्त बनाएकाे। आनन्दी मनले बस्ने दिन कहिले आउँला? शुभ समाचार सुन्ने दिन कहिले आउँला?
आजकाल हरेक दिन अनुहार किताबमै जाेतेरै बित्छ । साथीभाइसँग चिया अड्डामा भेट नगरेको र तातो चियासँगै मिठा मिठा गफ नगरेको पनि हप्तौ भैइसक्यो । अहिले मानिसहरुलाई आ-आफ्नै गाउँ जान पाए भन्नेमात्रै भएकाे छ। कतिपय त हतार हतार गरिकन गाउँ पनि पुगिसकेका छन्। मुसाले खनेर थाेत्राे पारेकाे घरले फेरि घरमालिक भने पाएकाे छ। कुनै ठूलै चाडबाड आए झैँ गरि मानिसहरु गाउँ फर्केसँगै उजाड गाउँ फेरि तङ्ग्रिएकाे छ। जङ्गल, बारीतिर ढकमक्क फलेका काफल, चुत्रो, किम्बु, मछाइनोले बल्ल खाने मानिस भेटेकाे छ याे पालि।
प्रकृति वसन्त ऋतुले सजिएकाे छ। चराचुरुङ्गी र जीवजन्तुहरु आ-आफ्नै दुनियाँमा रमाइरहेका छन् । शक्तिशाली भनिएकाे मानिस भने आफ्नै घरमा थुनिएकाे छ। एउटा सानो जिवाणुले मानव जगतलाई आक्रान्त बनाएकाे छ । धनले मात्र जीवन नचल्ने रहेछ भन्ने ज्ञान फेरी एकपटक मानव जगतले पाएकाे छ ।
गाउँघरमा मानो छरी मुरी फलाउन सबै जना ब्यस्त छ्न। खेतबारीहरु मलको थुप्राेले कालो हुनेगरि ढाकिएको छ। हल गोरु र ट्रयाक्टरले बाँझा बारीहरु जाेतिएका छन्। उता सहर ठप्प हुँदा यता हाम्राे गाउँका मानिसहरुलाई भने काेराेना भाइरसकाे त्रासदीले उतिसाराे छाेएकाे जस्ताे देखिदैँन। आखिर, बिपद परि आउँदा सबैभन्दा सुरक्षित चाहिँ आफ्नै घरगाउँ लाग्ने रहेछ ।
भलै गाउँमा याे महामारीकाे त्रास कम महसुस गरिएकाे हाेस् , सहरकाे कहर देखेर कसकाे मन आत्तिदैँन र? यस महामारीका कारण हजाराैँकाे रोजीरोटी गुमेकाे छ। अनि,दिनभर काम गरेर साँझ बिहानकाे छाक टार्नेहरुकाे बिजाेक देखेर कसकाे मन नकुँडिएला ? याे महामारी हटेर फेरी चयनकाे शास फेर्ने दिन छिट्टै आओस् ।
प्रकाश काफ्ले
काभ्रे