कतारमा लक डाउन छैन । तर पनि कोरोना भाइरस संक्रमीत मानिसलाई कम्पनीले काममा पठाउन पाउँदैन। क्याम्प नै सिल गरि राखिएको छ। हाम्रो कम्पनीमा बिहान ६ बजे दिउँसो १२ बजे र साँझको ६ बजे खाना कोठामा आउँछ। दिसापिसाब गर्न पालैपालो ट्वाइलेट जाने भन्दा अरु कामले बाहिर जान पाईंदैन। कोठा सफा गर्ने मान्छे भन्दा फाल्टु मान्छे कोठामा आउँदैनन् । बाहिर देखेको भनेको कोठाको झ्यालबाट देखिने अर्को घरको भित्ता मात्रै हो।
क्याम्प सिल भएपछि हाम्रो दैनिकीहरु फेरिए। समयमा सुत्ने, समयमा उठ्ने, समयमा खाने र आराम गर्ने सबै रुटिन फेरबदल भयो। काममा जान आफ्नो पालो अनुसार उठ्ने गर्थ्यौं। अर्लामले ब्युझाउँथ्यो। साथीहरुलाई हल्ला होला भनेर छिटो छिटो आर्लाम बन्द गरिन्थ्याे र बिरालोको चालमा तयार भएर खरायोको गतिमा बसतर्फ दौडनु दैनिकी थियो।
कोठामा थुनिएको दिन देखि अर्लाम पनि बन्द भयो। उठ्ने र सुत्ने समयको कुनै टुङ्गो छैन। फेरि केही काम नभएपछि यो पेटमा भोक चै कति लाग्या! नेपालमा हुँदा खाना खाको एकैछिनमा भोक लागे अलक्षिणा लागेको भनेर गाली खाइन्थ्याे। पेटलाई भोक लाग्यो त हाम्रो के दोष। खानाको समय निश्चित र खाना थप्ने व्यवस्था नहुनाले भोक लागे पनि खप्ने वा पानी पिउनुको बिकल्प केही छैन ।
पहिला पहिला नेपाल गएपछि प्राय मुग्लानेको मुख्य योजना निद्रा पुग्नेगरि सुत्ने हुन्थ्यो । अहिले भोकै पेट भएपनि मुग्लानको फलामे बेडमा मजाले निद्रा पूरा भएको छ। तर कोठाकै साथीले खोके वा ह्यछ्ँयू गरे भने पनि सब योजना चकनाचुर भए झैँ लाग्छ। कस्तो दिनको सामना गर्नु पर्यो। सुरुको पहिलो हप्ता त बितेको पत्तै भएन। हामी तीन जना साथीले आफ्नो बाल्य अवस्थादेखिका गाउँठाउँका सबै कुराहरु भनेर पनि सकिसकेम्। अब के कुरा पाे गर्ने हाे हुन्छ कहिलेकाहीँ त! कम्पनीले उपलब्ध गराएको तीनपल्ट खाना, इन्टरनेट अनि एसी सहितको कोठामै त यति उकुसमुकुस भएको छु। घर परिवार सम्झियो, यताउति गर्यो, मोबाइल चलायो, ड्युटीमा मनमा कुरा खेलाएर बस्ने फुर्सद हुन्न। आजकाल अनेक थरीका बिचारहरु मनमा खेलिरहन्छन्।
यो समयमा परिवार साथीभाइसँग सामाजिक संजालमार्फत खुब कुरा हुने गर्छ। धेरै भिडियो कलमै कुरा हुन्छ। केही समयको लागि भएपनि यहाँ कोठामै बन्द छौं भन्ने कुरा भुलिन्छ। थाहा छ, यो सब त केही समयको लागि मात्र हो। त्यसैले काेही पनि हतास नहुनुहाेला। मुग्लानमा बस्ने सम्पूर्णमा धैर्य गर्ने शक्ति मिलोस्।
No responses yet