इन्टर्न डाक्टरको डायरी

मेरो इन्टर्नसीप दैनिकी भने सबै कुराहरु बन्द रहँदा पनि सदा झै खुल्लै छन्।

म चाहिँ नेपालगन्ज मेडिकल कलेजमा कार्यरत इन्टर्न डा.रोजी थपलिया।

डब्लु एच ओले विश्व स्वास्थ्य संकटकाल घोषणा गरे लगत्तै काठमाडाैं विश्व विद्यालय अन्तर्गतका सबै पठन पाठन बन्द भयाे। छात्र छात्रावास पनि खाली खाली छ। छात्रावास अहिले भूत बंगला भन्दा कम लाग्दैन मलाई। सबैको दैनिकि घरमै बितिरहेका बेला फेसबुकका भित्ता टिकटक, मिष्ठान्न परिकार अनि कोरोना अपडेटले भरिरहँदा म भने अस्पताल मै सबै थोक खोजिरहेकी छु।

एउटा पुरानो सर्जिकल मास्क धोइपखाली पुन: त्यहीँ मास्क लगाएर खै कसरी जोगिने होला भन्दै स्त्री तथा प्रसुती विभागको दिनँहु डिस्चार्ज, राउन्ड देखि लेवर ड्युटीमा लागिरहेकी छु।

कैलाली कंचनपुरका केसहरु आइरहँदा लाग्छ २ कोश परै बसौं। तर मेरो इथिक्सले त्यस्तो गर्न दिंदैन। दिन दिनै नयाँ नयाँ जीवनका ढोकाहरु खोल्छौं आफ्नै आँखा अगाडि।  तर कुन दिन आफ्नै जीवनको ढोका बन्द हुने हो त्याे कसलाई के थाहा!  

कलेजले दिएको कपडाको मास्कले त भाइरसलाई आँछु पनि हुँदैन होला। यहाँ हामी इन्टर्नलाई कसैले गन्दैनन्। ठूला भनिएका डाक्टरको त कुरा छाेडौं, सिस्टर, हेल्परले पनि राम्राे व्यवहार गर्दैनन्। राम्राे खाले मास्क भए उनैले पाउँछन्। हाम्रो कथा त उही टुकी मुनि अँध्यारोको अँध्यारै छ।

यसो इमर्जेन्सीमा हेर्छु, दाइ दिदीलाई, नत गतिलाे कवच, न त गतिलाे हतियार नै छ उहाँहरुसँग। जसो तसो ओटी गाउन र मास्कले आफूलाई ढाकेकाे देख्छु। यस्ताे देख्दा लाग्छ, उनीहरू साँच्चै ज्यान कै परीक्षा दिइ रहेका छन् यतिबेला ।

बाहिर ज्वरो क्लिनिकको कथा व्यथा त्यस्तै छ। झनै बिजाेक।

जति  छ त्यति नै सुरक्षा कवचमा दिनकै खटिएका हुन्छन् सबै। सबैलाई भाग पनि पुग्दैन।

युद्धभूमीमा भाइरससँग लड्दा लड्दै साँच्चिकै लास बनी लड्ने त होइन भन्ने त्रासलाई एक ठाउँमा पोको पारेर, अर्कातिर आशाको बन्द पोको खोलेर काम गरिरहेकाे देख्छु सबै । वास्तविक जीवनका नायक, जिउँदा देवता त यिनै हुन् भन्दा फरक  नपर्ला।

उनीहरूले गरेकाे काम देख्दा आफू पनि यही भिडको एउटा फक्रीदै गरेको कोपिला भएकोमा गर्व लाग्छ।तर यो गौरवलाई बेला बेला समाचारमा सुनिने डाक्टर माथिको कुटपिट, लाठिचार्ज, कोठा छोडिदिनु पर्ने घरबेटीको धम्की, सरकारको लाइसेन्स खारेज, हिरासतमा राख्ने, जागिरबाट निलम्बन गरिने अनि अलि अस्तितिर त प्रहरीकै लाठी पनि खानुपरेकाे खबरले छिया छिया पारिदिन्छ।

घर,आफन्तजन ,इष्टमित्रकाे फोन आइरहँदा आफूलाई निकै भाग्यमानी महसुस गर्छु। फेरि दिनकै डाक्टर नर्सको मृत्युको खबरले मिडिया रुवाएको बेला मेराे बाबाले ‘छोरी, सुरक्षा कवच बिना अस्पताल नजानु’ भनेको म कहाँ सुन्छु र ! म बाबाकी प्यारी छोरी उहाँको वचन राख्न भन्दा यतिबेला कर्तव्यको ठेली खोलेर अस्पताल तर्फ कदम बढाउँछु। मलाई थाहा छ यसले दिन रात मेरा बाबा आमाका मस्तिष्कमा त्रास भरिदिएकाे छ । तपाईंकी प्यारी छोरी अटेरी बनेकी छ आजकाल ।

अझै केसहरु बढिरहेका छ्न्, बढ्दोक्रममा छन् ।

मैले भनेको कसैले सुन्ने भए यत्ति भन्न चाहन्छु – हामी जस्ता जुनियर डाक्टरको सुरक्षा तर्फ पनि ध्यान जाओस् अबका दिनमा।

कोरोना नबढाउन, धेरै कुराकाम अघि बढाइएकाे छ। म पनि अघि बढिरहेकी छु। मेरो पनि सुरक्षा होस्।

म पनि त देश कै छोरी हुँ।

जय चिकित्सा धर्म! जय चिकित्सक!

डा. रोजी थपलिया

नेपालगञ्ज

साइँला बा !

माछापुछ्रेको छेउबाट मडारिँदै गएर कालो बादलको ढिक्का कहिले धौलागिरिमा त कहिले निलगिरिमा ठोकिन्थ्याे।  डाँडाको टुप्पोबाट निहालिरहँदा पूर्वी चैते बताससँग मिसिएर आएका पानीका थोपाले प्याट्ट हान्दा शरीर झसङ्ग हुन्थ्यो। केही बेरमै पानीले चुर्लुम्म भिजेका दुबोका मुनामा टेक्दै तल झर्नुको मज्जालाई आखिर केले जित्न सक्थ्यो र !

सधैजसो नौलो बिहानी। घरको मिठो सम्झना अनि घामको मिठो स्पर्शसँगै चियापसलबाट फेसबुकमा शुभकामना छाड्दै सुरु हुने मेरो नयाँ बर्ष यसपालि भने फरक भयाे। संयाेग वा बिडम्बना, मुलुक लकडाउन, परिस्थिति बिषम त छँदै थियो । फेरि थोरै बिषेश पनि कारण धेरै बर्ष पछि नयाँ बर्षलाई आफ्नै घरमा पाइयो ।

माछापुछ्रे तिर ढाड टेकाएर धौलागिरि तिर फर्किएको मेरो गाउँ प्रकृतिको धनी त छ नै, अनि भित्रैबाट अनुभूति गरे।  समुन्द्र पारीको मेरो सपनाको देश र सहर भन्दा आज म आफ्नै गाउँमा कति सुरक्षित रैछु, आखिर कति खास रैछ त जन्मभूमि।

मुलुक लकडाउनमा छ। अनि त्रासपूर्ण सहरमा मन अडाउन कहाँ सकिन्थ्यो र!  म पनि अघिल्लो दिन नै झोला बोकेर घरतिर लम्किहालेको थिए ।बसन्त ऋतु चल्दै थियो । चैते गर्मी बढ्दो थियो । एकै छिनमा चैते हुरीले चिस्साइ हाल्थ्यो पनि। न वल्लो डालि पल्लो डालि गर्ने चरिलाई लकडाउन थियो । न त्यो फक्रनै लागेका काभ्रा र कोइरालाका फुललाई। धौलागिरि र निलगिरिसँग बादल जुधेँरि खेलेकै थिए। एैसेलु र काफल पाकेकै थिए। लालिगुराँसले बन सजाएकै थियो। टेका भरि दाउरा थिए। बर्ष भरिलाई पुग्ने भकारीमा अन्न । कोइली र न्याउली यति मिठो गाउँछन् ? प्रकृति आखिर जहाँको पनि त्यही छ। 

कर्ममा बिश्वास राख्नेलाई आखिर केले नै छेक्थ्यो र! फाँटमा मकै गोड्ने र जौं गहुँ थन्क्याउनेको चटारो थियो। गर्मी निकै थियो। तर खहरेको त्याे चिसोपानीलाई भेट्न कहाँ सकिन्थ्याे र! कुलो लगाएर बाँसको धारोबाट झारेको खोल्साको पानीमा रुझ्नुको छुट्टै माजा थियो । डाँडैको चौतारीमा छेउमा रेडियो राखेर बजार तिर फर्केि डोको बुन्दै गरेका उपल्ला घरे साइँला बालाई केको लकडाउन, के हिउँद के बर्खा !” उ बेला सुख काट्न , पैसा कमाउन सहर बिदेश छिरेकाहरु फेरि गाउँ नै फर्केलान जस्तो छ ! आखिर दुखमा त सबैलाई गाउँ नै प्यारो लाग्दो रहेछ ।” बाजेकाे आफ्नै सुर थियाे।

डाँडैको छेउमा रहेको सानो स्कुल, पर्खाल झै बनेर उभिएका सल्लाका बोट, मोदि कालिको सुसाहट, मैदानमा बैँस चढ्दै गरेको दुबो जहाँ इन्जिनियर बन्ने सपना बोकेर तल माथि गरिन्थ्यो कुनैबेला , बार्षिक परिक्षा सकिए पछिको त्यो उमङ्ग , नयाँ बर्षसँग  सुरु हुने नयाँ शैक्षिक सत्र, नयाँ जोश। आहा ! साचिक्कै अविस्मरणीय छन् ती दिनहरु। बाल्यकाल जसलाई भुल्न नि नसकिने अनि जसमा फर्कन पनि नसकिने ।

बिसम परिस्थितिमा कोरोनासँग जुद्दै गरेको विश्व, जीवनसँग लड्दै गरेको मानव जाति। तैपनि भयभित मनलाई सान्त्वना दिदैँ आशा जगाउँदैछ, सुरक्षित अनुभूति गराउँदैछ, मेरो प्यारो गाउँ । 

                 

सुजन पोखरेल

पर्बत

एघार बज्न लागिसक्यो

म बिहान आमैको सत्ताइसौं बोलावटमा उठेँ। मुख धोएँ र भान्सामा गएँ। समय साढे दश!

“के हो आज तरकारी?” त्यही नियमित प्रश्न।

अनि उत्तरको लागि दिमागमा चार ओटा अप्सन। आमैले अप्सन ए रोज्नुभो, यसो ढकन सारेर हेरेँ, सही जवाफ रैछ । 

खाना खाइसकेपछि, अफिसको काम गर्नलाई हाजिर गरेँ। खाना खाएर एकछिन नसुते त “वर्क फ्रम होम को मतलबै भएन नि।” सोच्दै कुन चाहिँ कोठाको कुन चाहिँ खाटको तापक्रम कम छ भनि छामछाम छुमछुम गर्दै चिसोचाहिँ पत्ता लगाएर सुतेँ।  

तीन बजेछ । “ओहो ! आज त मस्त सुतियो ।” उठेर ब्रस गरेँ। अनि आलस्य जीउ लिएर फेरि लागेँ भान्सा तिर। दिमागमा प्रश्न आयो,”के हो खाजा आज?” चार ओटा अप्सन सहित, सही जवाफ फेरि आमाबाट। यतिबेलासम्मको हिसाब गर्दा म लगभग ४० मिनेट मात्र उठेको थिएँ। म सुतेरै पनि थकित । खाजा खान बसुन्जेल नि वाक्कै लागिसकेको थियो। ग्वामगुम खाएर सोफामा लडेँ । कोल्टे परेर। पेट भ्ल्यात्त निस्क्यो। “दशैंको बेला तिर हुँदा झन्डै याब्स नै देखिन लागि सक्याथ्यो । दुई सेन्टिमिटर जति बोसो नभाको भए हेर….!!! अब साँझमा वर्क आउट गर्नुपर्छ। हुँदैन यसरी।” मनमनै सोचेँ।  

टिभीले नि कोरोना कोरोना बाहेक केहीँ दिदैन। वाहियात लागिसक्याे।”बरू एकैछिन इन्स्टाग्राम चलाउनुपर्यो।” मिम पनि केही रमाइला लागेनन् । एउटा मजाको सिनेमा डाउनलोड गरेँ। हेर्न लागेको, त्यही नामको पोर्न परेछ । स्किप स्किप गरेँ । दुइतीन मिनटपछि बन्दै गरेँ । यसपालि राम्ररी हेरेर डाउनलोड गरेँ । हेर्दा हेर्दै बिचमा एकछिन पज गरेँ।म वर्क फ्रम होम प्र्याक्टिस गरिरा मान्छे, वर्क प्रोग्रेस सिट पनि अपडेट गर्नुपर्याे।

सिनेमा सकिने बेला हुन हुन लाग्दा कुकुर चुईं चुईं गर्दै मुख हेर्न आइपुग्यो। पेटभार हल्का गराउन कुकुर लिएर बाहिर निस्के। बाटोमा मान्छेहरु लखर लखर गरिरहेका थिए। साँझमा दोबाटे लाग्छ र कोरोना निस्किदैन भन्दै मान्छे निस्के कि क्या होे! कुकुरले काम सक्यो, मैले एउटा ड्युटी । 

घर पुगेर  युट्युबमा यसो दुई चार वटा भिडियो हेरेँ। यही बेला खाने बेला भयो । बिहान खाको खानेकुरा नि युज भैसक्या छैन होला जिउमा। के नै गरिएको छ र, भन्ने सोच्दै एक थाल बजाएँ । खाना खाएसी यसो फेसबुकमा टहल्ने बानी छ, अम्मल नै भनौं। यसो ककस्को कैले कैलेका फोटा उत्खनन् भएछन्, ककस्ले नयाँ मिम भेटेछन, हेरौँ हासौँ जानकारी लिउँ। अनि मन नपरेको मुन्छेको रैछ भए ठ्यास्स लाइक फाल्दिम्ला, हाँसो उठ्दो कन्टेन्ट भए पनि जस्तो लाग्छ। त्यसै गरेँ।

 “लुडो हान्नी?” भनेर मेसेज आयो ।

इन्भिटेसन लिंक आयो । तर गेम सुरु नभै टाइम ओभर रे। “के भो ओए?” भनेको “बेबि अनलाइन आइ, सरि ल पछि।” रे ! अनि यसै बस्दै गर्दा एघार बज्यो, अब पो के गर्ने । युट्युब । खोइ, के बाट हेर्न सुरु गरेको थिएँ । हेर्दै जाँदा *how to play harmonica* को बेसिक कोर्स सकिसकेछु, “वाह् हिजोको तबला वालाले भन्दा त छिटै सिकायो यसले। सजिलो रैछ हार्मोनिका बजाउन” जस्तो लाग्यो। न मसँग तबला छ न हार्मोनिका नै, न त यिनीहरु बजाउन सिक्नु नै छ। 

तीन बजेछ, अझै निद्रा लागेन। बत्ति निभाए केही हुन्छ कि भनेर त्याे पनि निभाएँ। निन्द्रा छैन । दायाँ फर्कन्छु, म्याराथन दौडन लागेको धावक जस्तो पोजिसनमा सुत्छु, मुर्दासनमा सुत्छु, घोप्टिएको मुर्दासन, आर्कोपट्टी फर्किएको मुर्दा, आर्कोपटी फर्किएको धावक, निन्द्रा आउने सुरसारै गर्दैन। जुरुक्क उठेँ।  बायाँ हात ठ्याक्कै माथि उठाएँ । अनि इन्स्टाग्राममा “does everybody do this or is it just me?” लेखेर आउने पोस्टमा मनमनै हाजिर गरेँ। बत्ति बालेर पानी खाएँ। साढे चार। निन्द्राको अत्तो पत्तो छैन। बेकार दिउँसो सुतेछु। 

अनि यो लकडाउनको पहिलो दिन के भाको थियो सम्झिन खोजेँ। म दिनभरी सुत्ने भएकाले राती निन्द्रा नलाग्ने हो या, रातभर जागिरहने थकाइले दिउँस निदाउने हो, यो कुरा पत्ता लगाउनुथ्यो। पहिले अण्डा कि पहिले कुखुरा जस्तै। पहिलाे दिन सम्झन सकिन। पर्दाको चेपबाट उज्यालो भित्र छिर्न थाल्यो । “आज पनि सुत्न सकिएन राति। भोलि देखि त दिउँस सुत्दिन, अफिसको काम नि सक्दिन्छु कति राख्नु, सुपरभाइजरले माग्यो भने के बुझाउनु प्रोग्रेस रिपोर्ट त टन्नै भरिएको छ। एकाध घन्टा एक्सर्साइज नि गर्छु अनि त कसो निद्रा नलाग्ला १२/१ बजे सम्म…”

” बाबु उठ्, एघार बज्न लागिसक्यो।”

आराेग्यराज ओझा

ललितपुर

अस्पतालको ड्युटी

टिरिङ टिरिङ…. बिहानै मोबाइलको अर्लाम बज्छ ।

उठेर घडी हेर्दा ठ्याक्कै ०६:३० बजेको छ । हतार हतार बाथरुम छिरेर फ्रेस हुन्छु । किनकी ०७:०० बजे ड्युटी भ्याउनु छ । २ वटा टिफिन बक्स (खाना र तरकारी ) झोलामा हाल्छु केही फलफूल पनि । साथीहरू कपडा लगाएर तयार भैइसकेका हुन्छन् । म पनि हतार गर्दै जुत्ता टल्काएर कोठा बाहिर निस्कन्छु । सेक्युरिटी डिपोर्टमेन्ट टक्क हुनुपर्छ । त्यसैले सधैं सफा अनि चिटिक्क पर्नुपर्छ । 

हामी अपार्टमेन्टको तेस्रोतलामा बस्छौं । हिजोआज लिफ्टबाट उक्लन र झर्न खुब डर लाग्छ ।त्यसैले सिंढीबाटै उक्लन्छु, झर्छु । कोरोना संक्रमित भएकाले पो छोएका छन् कि भनेर? मनमा अनेकौं कुरा खेलाउँदै रोड पार गर्छु । कोठाबाट हिडेको २ मिनेटमै हस्पिटल आइपुगिन्छ । झोला सेक्युरिटी कोठामा राखेर मलाई पर्खेर रिसेप्सनमा बसिरहेको फिलिपिनो साथीसँग ड्युटी टेक ओभर गर्छु ।

 हिजोआज कोरोना संक्रमित बिरामी संख्या बढी नै आइरहेका छन् ।

मुदिर ( अस्पताल प्रमुख ) को आँखा छलेर मोबाइल हेर्छु । फेसबुक, युट्युब अनि म्यासेन्जरमा आएका म्यासेज हेर्छु सबै कोरोनाकै कुराले भरिएका हुन्छन् । मन झन आत्तिन्छ। हतार हतार ग्लोब्स र मास्क लगाएर बस्छु । गेट, ढोका खोलेपछि बाथरुम गएर मिचिमिची हात धुन्छु । हातमा मात्र त कुरै छैन आफू बस्ने कुर्सीमासम्म स्यानिटाईजर लगाएर घरिघरि टिसु पेपरले सफा गर्छु । घर सम्झन्छु अनि करेसाबरी सम्झन्छु । डालोभरी घिउबोडी, रायोको साग, फर्सीको मुन्टा गाँजर ,मुला मक्कैको भात र ढिँडो । आहा ! त्यस्तो अर्गानिक खाना छोडेर सुख खोज्ने वहानामा महिनौसम्म फ्रिजमा राखेको विषादी तरकारी खाएर म हाँस्न खोजिरहेको कस्तो मूर्ख ! मेरो बाजेले आधा बैँसमा वरपिपल रोप्दा लगाएको गाह्रो मेरो यो मस्त जवानीले हल्लाउनसम्म आँट गर्दैन । त्यो ढुंगाहरु उसैगरि उठाउन र मिलाउन अहिले म जस्ता चार जवान चाहिन्छ । बुढाहरु कसरी बलिया र स्वस्थ रहे ? यसो सम्झन्छु – पक्कै पनि अर्गानिक खाना खाएर नै हो । 

घरीघरी अरबी भाषामा बोलिरहेको हुन्छु । ‘सु मुस्किल इन्ता? फि हरारा? फि काहा? फि नफस मुस्किला?’ अर्थात तपाईंलाई के समस्या छ ? ज्वरो छ ? खोकी? श्वास प्रश्वासमा केही समस्या छ ? आदि । त्यसपछि हातमा स्यानिटाइजर लगाउन भन्छु । अनि ज्वरो नाप्छु र डाक्टर, नर्सलाई रिपोर्ट गर्दै जिम्मा लगाउँछु। दिन यसैगरी बितिरहेको थियो । हिजोआज त यी सबै बन्द भयो किनकी हामीले काम गर्ने हस्पिटल ‘स्पेसल कोरोना भाइरस’ संक्रमित बिरामी राख्ने आईसोलेन बनेको छ।

पूरै अस्पताल नै लकडाउन छ । सुपरभाइजरको रूपमा काम गर्ने चितवनको एक जना दाइ हुनुहुन्छ जीतेन्द्र गुरुङ । अल्फावेट नाम चार्ली । रेडियो (Walkie Talkie) मा  म्यासेज आउँछ – “अल स्टेसन, अल स्टेसन, दिस ईज चार्ली स्पिकिङ । अटेन्सन – कोभिड 19 पोजेटिभ प्यासेन्ट अन दि वे , बि अलर्ट ” । अनि हामी सबै स्टाफलाई जानकारी दिँदै बिरामी लाने बाटो क्लियर गरेर बस्छौं । रेडियोमा अपडेट जारी रहन्छ । गेट देखि वार्डसम्म बिरामी पुर्याउनु मुख्य भूमिका हाम्रो नै हुन्छ । बिरामी वार्डसम्म लगिसकेपछि लगेको बाटो सफा नगरिन्जेल कसैलाई पनि आवतजावत अनुमति हुँदैन । जब हामीले ‘पाथ इज क्लियर’ भन्छौ अनि मात्र आवतजावत हुन्छ। 

हरेक देशका हरेक थरीका मान्छे आउँछन् । कसलाई के भन्ने, कहाँ पठाउने सबै हाम्रो काम हुन्छ । सामान ल्याउने लाने सबै चेकिङ हामीले नै गर्नुपर्छ । हिजोआज त हरेक दिन पोजेटिभ बिरामी ३/४ जना आइरहन्छन् । वार्ड नै भरिसकेको छ । घर परिवारले लौ अब छोडेर आइज भो अब पैसाको मुख नहेर भन्छन् । शुभचिन्तक आफन्त साथिभाईहरुले पनि फेसबुक मार्फत साबधान रहेरने र घर फर्किने सल्लाह दिन्छन् । यसैगरी दिनहरु बितिरहेको छ । फरक अनुभव पनि । यस्तै गर्दै ५ हप्ता बितिसक्यो ।

राम्राे चैं के छ भने यतिधेरै कोरोना पोजेटिभ बिरामीहरु रिसिभ गरिरहँदा हस्पिटलका कसैलाई पनि केही भएको छैन। त्यसैले आत्मबल बढेकाे छ। सजगता अपनायो भने त कसैलाई केही नहुने रहेछ भनेर साथीहरू र घर परिवारलाई पनि भन्ने गरेकाे छु। उनीहरु पनि अलि ढुक्क हुन्छन्। अहिले त निक्कै जना पूर्णरुपमा निको भएर घर पनि फर्किसकेका छन । यस्तोबेला चै एकदम खुशी लाग्ने रहेछ। 

हस्पिटलमा काम गर्दाका यी अनुभवले मलाई के लाग्छ भने एक्लैले पनि सजगता अपनाएर हुँदैन । यो सबैले गरे मात्र सम्भव छ। हामी समूहमा काम गर्ने भएकाले बेला बेलामा कसरी सुरक्षित रहने भनेर छलफल गर्छौ । त्यसैको कारण आजसम्म सुरक्षित छौ जस्तो लाग्छ । अर्को कुरा अस्पताल पनि सफा रहनुपर्छ ।

वैदेशिक रोजगारको सिलसिलामा दुबई आईयो । लगभग ७ बर्ष बितिसकेछ अस्पतालमै काम गरेको । कहिलेकाहीँ आफ्नो देशको अस्पताल सम्झन्छु र एक्कासी नमज्जा लाग्छ। कारण सरसफाइ नै हो । नेपाल र यहाँको अस्पतालको म्यानेजमेन्ट दाँज्ने हो भने आकाश पतालको फरक हुन्छ । जे होस् सबैले सजगता अपनाए कोरोना भाइरस पनि सामान्य रहेछ भन्ने लागेको छ र ढुक्क छु ।

इनयाँ बर्ष आइसक्याे । हेर्ने कथाको दर्शक तथा पाठकहरु सबैलाई नयाँ बर्षको अनेकौं शुभकामना !


वचन राई

युएई 

जाेखिमकाे यात्रा

बिहानको झुल्के घामसँगै कल्याङकुलुङ चिर्बिराइ रहेका चराहरुको मधुर आवाज । क्षितिज पारीबाट चिहाइरहेको मधुर सूर्यको किरण । त्यसमा सुगन्ध बिनाको शाकुराका फूलहरुले बिस्कुन लगाएका। बिना संकोच , बिना आवाज बिना गन्तव्य लम्की रहेको खोलाले कति रमणीय आभास गराउँछ ।

तर यथार्थ त्यो भन्दा बिल्कुलै भिन्न अनि कहालीलाग्दो छ। अहिले बिपत्तिमा जीवन र मरनको दोसाँधमा हरेक मानिसहरु मुकाबिला गरिरहेका छन् । यता आफ्नो दैनिकी सामान्य चल्दै नै थियो । यहाँ पनि सुरुका दिनमा त्यति संक्रमण संख्या नभएता पनि दिनानु दिन बढ्ने क्रम थियाे। जन्मभूमी अनि आफ्ना परिवारसँग टाढा हुनुको पिडा त हुने नै भयाे। त्यसमा पनि यो अवस्थाले झन पिडा थपेको अनुभूति भयाे ।

अङ्ग्रेजी मार्च महिनाको सुरुवातबाट संक्रमणको संख्या बढेसँगै मेराे निरन्तर चलिरहेको काममा केही कटौती भयाे। विदेशी भूमी त्यसमा पनि तुलनात्मक रुपमा खर्चिलो ठाउँ। अझ दिनानु दिन संक्रमण हुनेको संख्या बढ्दै जानु अनि काममा कटौतिले केही असहजता महसुस भयाे। नियमितको काम नहुँदा फुर्सदीलाे भएर दिनहरु निकै कष्टकर बने।

दिनको सुरुवात आफ्नो नित्यकर्म पश्चात सामाजिक सन्जाल अनलाइनले दिन दिनै विश्वका शक्तिशाली मानिएका देशहरु लगायत विभिन्न देशहरुमा लाखौंको संक्रमण र हजारौकाे मृत्यु हुने खबर ल्याउँथ्याे। त्यसले मन नै अमिलो बनाउने।हप्ताको केही दिन काममा जाँदा सार्वजनिक यातायातमा यात्रा गर्नु पर्ने भएकाले अलि बढी जोखिम हुने। अन्य देशको तुलनामा यहाँको सरकारले सुरूमै उति कडा नगरेकाले मानिसहरुको आवतजावतमा त्यति धेरै भिन्नता भएन। तर अधिकांशले मास्क र पन्जाको प्रयोग गरेका थिए ।केही भने बिना संकोच सामान्य मास्ककाे पनि प्रयोग नगरि यात्रा गरेकाे देखेर त्रास पनि हुने। तर सजग हुनु भन्दा बिकल्प थिएन।

अहिले याे अल्लि फुर्सदिलो समयको सदुपयोग गर्न खबरका साथै विभिन्न उपन्यासहरु अनलाइनबाट अडियो मार्फत सुन्ने गरेकाे छु। अर्की आइमाइ… एक सर्को माया ..त्रिभुवनकी एरिका …दरबार बाहिरकी महारानी जस्ता उपन्यासले समय कटाउन धेरै सघाएको छ।

सबैलाई धन्यवाद।

सुरेश खनाल

जापान, टोकियो 

त्याे पहिलाे ‘मेसेज’

म पोखरामा बसेर कानुन विषय पढ्दैछु।मेराे दोस्रो सेमेस्टरको परीक्षा चलिरहेको थियो । यसै त हाम्रो परीक्षा ढिला सञ्चालन भइराखेको बेला झन् कोरोनाले गर्दा अर्को सूचना नआइन्जेल सम्मको लागि परीक्षा स्थगित भयो । त्यस्तो सूचना जारी हुने बित्तिकै घर नगइकन  आमा र भाइ डेरा गरेर बस्नु भएको ठाउँ काठमाडौं पुगेँ ।

एकहप्ताको लागि मात्र लकडाउन हुन्छ भन्ठानेर हामी घर नगइ काठमाडौंमै बसेका थियौं।  अहिले संक्रमितको सङख्या बढिरहँदा र लकडाउन अवधि लम्बिदै जाँदा भने गाउँ नगएकोमा पछुतो जस्तै लागेको छ । उता घर गएर पनि घर भित्रै बस्न परे पनि यहाँ कोठामा बसेको जस्तो असजिलो हुदैनथ्यो होला।

भाइ १२ कक्षाको परीक्षाको तयारी गर्दै भएकाले भाइ र आमा काठमाडौंमा डेरा गरेर बस्नु भएको हो । म पनि पढाइकै सिलसिलामा पोखरामा होस्टलमा बस्छु ।

लकडाउनको समय जसोतसो बितिरहेकै थियो । हाम्रो घरमा अहिले हामी आमा, भाइ र म छौं । बाबा देशको सुरक्षामा बाहिरै हुनुहुन्छ। हामीहरू कहिले लुडो खेलेर , कहिले इन्टरनेट चलाएर, कहिले कोठा भित्रै आखाँ छोपि खेलेर, पुस्तकहरु पढेर त कहिले रमाइला गफगाफ गरेर दिन बिताइराखेका छौं । हामी मोबाइलमा झुन्डिएको देखेर होला आमाले लकडाउनको दोस्रो हप्ताको अन्त्य तिर ‘मलाई पनि रोमनमा मेसेज लेख्न सिकाइदेओ त’ भन्नु भयो ।

मेसेन्जर ,फेसबुक, इन्टरनेटको दुनियाँमा मेरो आमाले लेख्न सिक्न रूचि देखाउनु स्वभाविक पनि हो । अहिले भाइ र मैले आमालाई मोबाइलमा मेसेज टाइप गर्न सिकाइरहेका छौं । उहाँ भन्नुहुन्छ ‘लेखिराख्यो भने त जानिने रहेछ । ‘मोबाइलमा मेसेज लेखिसकेपछि भाइ र मलाई पढ्न भन्नुहुन्छ । आमाले लेखेका मेसेज पढेर भाइ र म मजाले हास्छौं । एकदम खुसी लाग्छ ।

आमाले बाबालाई पहिलाे मेसेज लेखेर पठाउँदाको खुसी बेग्लै थियो ।

” Sriman ju ma,

Srimati ko tarfa bata seer nugye dhog 

Lekhnu parnye khabar ta thyenw tara pane hajur ko samjana ma maya mamata lye garda 2 4 sabda lekhna badhye vayeko xu “

आमाको मेसेज पढेर बाबाले ‘के अचम्म भयो आज’ भन्दै हुनुहुन्थ्यो रे । 🙂

भर्खर लेख्न सिकेकाले उहाँले लेखेका मेसेज त्यति शुद्ध हुदैनन् । तर हामी उहाँलाई हौसला दिन्छौं । आमाले नयाँ कुरा सिक्नलाई गरेको यो प्रयासले साँच्चै नै हामी खुसी छौं ।

नेपालीमा अब्बल मेरी आमालाई अंग्रजी रोमन सिकाउन त्यति गाह्रो भएन ।

मेरी आमा रोमनमा लेख्न जानेर मख्ख हुनुहुन्छ।

आमालाई खुसी देखेर हामी पनि खुसी छौ। 🙂

सुमना पाैडेल

मेराे बखत भाइ !

खै, के लेखौ! खासै लेख्न पनि आउँदैन। जानेको पनि छैन तर नलेखी पनि बस्न सक्दिन । कहाँबाट सुरु गरौं भन्ने भेउ नै पाइन। हात थरथरी कामेको छ। सम्झियो अनायासै आँखा रसाइहाल्छ ।

रोजगारीको सिलसिलामा आफ्नै जन्मभूमी अनि जन्मदिने आमा र सारा परिवारलाई छोडेर परदेश लागेको पनि आज ठ्याक्कै २३ महिना बितेछ । परदेश हो कहिले कस्तो दुख कहिले कष्ट भोग्दै दिनहरु बिते। ती दिनहरुलाई सन्झन त चाहन्न। तर परदेशमा भोगेको दुखका दिनहरु यो मानसपटलबाट सितिमिती चाहिँ नहट्ने रैछ । दुख त सबै आफ्नो ठाउँमा थियो नै । साथ साथै नयाँ साथीहरुसँगको भेटघाट अनि हाँसी मजाकले गर्दा घरदेशको सम्झनालाई थोरै भुलाउँथ्यो । 

साथीहरु थिए कोही कस्ता !

कोही कस्ता !

 तर सबै लाथ्यो मै जस्ता !

हुन पनि हो सबै मै जस्ता आफ्नो दुखलाई सुखमा परिणत गर्न यति टाढा आफ्नो देश, घर परिवार छोडेर आइपुगेका।

तर के गर्नु भाविको खेल अनि बिधाताको झेल कत्तिको त्यो सपना पूरा हुन्छ । कत्तिको अधुराे नै । झनै कोरोनाको महामरीले गर्दा डर माथि डर थपिदिएको छ ।

यस्तै आज त April 16 तारिख भैसकेछ । १६ दिन भएछ मेरो बखत भाइले यहि परदेशी भूमिमा हामी सबैलाई अप्रिलफूल बनाएर यो दुनियाँ छोडेको । अनि निसन्देह आफ्नो घरपरिवार अनि आफ्नी प्यारी ममतामयी आमालाई एक्लै बनाएर गएको। हो, त्यही बखत भाइ! जो साथी साथी मजाक गर्दा मेरो पाखुरीमा झुन्डिने! त्यही बखत भाइ, हाँसखेल गर्दा पटक पटक मलाई झाँगलझुँगल बनाउने! 

कुरा 2020 April 1 को हो, कतारमा बाइकमा home delivery गर्ने काम गर्ने हामी सधैँ झै आफ्नो ड्युटी रुम फर्कियाैं। त्यही दिन अप्रील १ को रात बाइक लिएर रुमबाट निस्केको मान्छे त्यसपछि ड्युटी रुममा कहिल्यै फर्केनन्। बरू उनको दुर्घटनामा परेर ज्यान गएको खबर मात्रै काेठामा फर्कियाे। उनको नेपाल घर चाहिँ सुर्खेत भन्थे। साँच्चिकै बखतले हामीलाई त अप्रिलफूल नै बनाएर गए।जीवनभरि नबिर्सिने अप्रिलफूल । 

बखतको पनि कति सपना थिए होलान्! आफ्नी आमालाई सुखसँग पालौंला,जिन्दगी खुसी खुसी बिताउँला। तर त्यो सपना खोलीमा हाल्दा झिङ्राले च्यातिदिएको जाल झै च्यातियो । कतारको दुखले उसकाे जीवन खायो, सक्कायो ।बुढेसकालमा ‘मेरो बखत छोरा आउँला भनेर बाटो हेर्दै’ बसेकी आमाकाे पर्खाइ हेराइमा मात्रै सिमित भयाे । 

आमा तपाइको छोरा पक्का आउँछ। तर जसरी Airport बाट बाइबाइ गर्दै पठाउनु भको थियाे त्यसरी नै हाइ हाइ गर्दै हैन।ऊ त अब काठको बाकसमा बन्द भएर आउँदैछ आमा । तपाईंलाई सुख दिन हैन तपाईंको मुटुमा गढेर कहिले नउप्किने किला बनेर आउँछ । मैले यी कुराहरु भनिरहँदा ती आमाले सुनिन् भने र पढिन् भने के भन्लिन मलाई। के बित्ला उनी माथि । यो खबर त पुग्यो होला उनको कानसम्म। के बितिहेको होला उनी माथि। कसरी आफूलाई सम्हालेकी होलिन् । खै ! आमा म के नै भन्न सकुँला र ! के नै गर्न सकुला र ! करिव करिव २२/२३ महिनाको भेटलाई त मैले  कहिल्यै भुल्न नसक्ने भएको छु भने तिमी त आमा। मैले पनि कति पटक भने : ‘ए बखत भाइ! आउन मेरो पाखुरामा एकफेर फेरि पिङ खेलन। मलाई फेरि एकफेर झाँगलझुँगल बनाउन।तर खै त! तिमी त्याे बाकसबाट उठ्नै मानेनाैं।’ 

आफैले जन्माएर हुर्काएर बढाएकी कसरी बिर्स्याैली र ! आमा मेरो बखत भाइले तिमीले सोचेको अनि चाहेको खुसी दिन सकेन।  उसको तर्फबाट म माफी माग्छु तिमीसँग। क्षमा माग्छु आमा तिमीसँग माफ गर्देउ है आमा !!!  

हो ! आफू भित्र आफू नरहेको बखत भाइ! आज तिमी कतारको कुन चाहिँ अस्पतालमा नेपाल जाने दिन कुर्दै छाै होला ।याे महामारीको बेलामा तिमीलाई नेपाल लैजाने प्लेन पो कहिले आउने! सबैलाइ कोरोनाको महामारीले त्राही त्राही बनाइरहेको यो दिनमा तिम्री आमालाई त्यसले अब के नै फरक पार्दाे हो र बखत भाइ! कोरोना भन्दा ठूलो भाइरस उनको मुटुमा छिरेको छ। यसकाे न कहिले भ्याक्सिन बन्छ न कहिले उपचार हुन्छ ।

अन्त्यमा

तिमी त यो दुनियाँबाट गयौं । मेरो प्यारो बखत भाइ, अब तिमी मेरो पाखुरामा झुन्डिए जसरी तिम्रा यादहरु मेरो मानस्पटलमा नझुन्ड्याउन है!  मलाज्ञ नघच्घच्याउन है! 

राम तिमल्सिना
(क्षितिज के.सि)

ललितपुर

हाल- दोहा, कतार

जीवन एक भोगाइ अनेक

म यति बेला व्यस्त सहर मानिने संघीय राजधानी काठमाडौंमा छु । लकडाउन भएको पनि करिब महिना दिन पुग्न थाल्यो । लकडाउनका कारण सडक सुनसान छन । शान्तिपूर्ण वातावरण छ । तर मनमा अनेकौं कुराहरुले डेरा जमाएका छन् । अनेकौ उद्देश्यका साथ सहर छिरेकाहरु आ-आफ्नो जन्मभूमी प्रस्थान गरिसकेका छन त कोही बन्दी बनिरहेका छन । वल्लो,पल्लो कोठामा बस्नेहरु पनि सावधानीका साथ मुखमा मास्क लगाएर अनुहार छोपिरन्छन ।

यत्रो सहरका मान्छेहरु कसरी गुम्सिएर बस्न सकेका होलान् ? गाडीको कोलाहल पनि छैन । सार्वजनिक यातायातका खलासीहरुको याद आइरहन्छ । कोचाकोच गरेर मान्छे ओसार्ने ती खलासी ड्राइभरहरु यति बेला के गर्दै होलान ? कलेजका साथीहरु यति बेला के गरिरहेका होलान ? चिया पिउने वहानामा भए पनि साथीहरुसँग भेटघाट भइरहन्थ्यो । आज भोलि केही साथीहरु घर गएका छन । उनीहरु पनि उतै घरायसी काम धन्दामा व्यस्त होलान् कि!

वसन्त ऋतुले सबैतिर हरियाली छाएको छ । फूलहरुको मधुमास छ । व्यस्त सहरमा  चराचुरुङ्गीले आज भोलि मान्छेहरुलाई जिस्काइरहेको अनुभूती भइरहेको छ । कोरोना सन्त्रास बढेसँगै यहाँ मान्छेहरू तर्सिएर हिँडेका छन् । मानौं उनीहरु एक अर्कालाई फरक ग्रहबाट आएका जीवात्मा हुन् कि भन्ने भान गर्छन । तनको दुरी मात्र हैन मनको दुरी समेत बढ्दै छ । एकले अर्कालाई देखेर तर्सिनु पर्ने अवस्था सिर्जना हुँदा मान्छे सामाजिक हो कि एकल भन्ने प्रश्न खडा भएको छ । बन्दाबन्दीको जीवनलाई कसैले जेल जीवनसँग गाँसेका छन । मान्छेको अन्तिम लडाई भनेको उसको स्वतन्त्रता सँग रहेको छ । मान्छेले स्वतन्त्राका लागि भन्दै अनेकौं कालखण्डमा व्यवस्था परिवर्तन गरेका थिए । तर यी सब कुरा अहिले छायाँमा परेका छन । स्वतन्त्रताको नाममा खासै केहि गर्न नसके पनि मैले चर्काे आवाजमा कराउन त सक्थें नि । तर अहिले म पनि कराउन नसक्ने गरि कोठा भित्र बन्दी बनिरहेको छु ।

अहिलेको सहारा भनेको मेरो लागि यहि इन्टरनेट छ । एक थान मोबाइल छ । जसबाट म यति सम्म चिच्याउन सकिरहेको छु । झ्याल,ढोका बन्द गरेर यही कोठामा बस्दाबस्दै मन बरालिएको छ । सृजनशिलतामा शून्यता जस्तै भइसकेको छ । बन्दी हुनु भनेको के रहेछ भन्ने कुरा आफैलाई ज्ञात हुँदैछ । यही नेट इन्टरनेट नभए अहिलेको मान्छे कस्तो हुन्थ्यो होला भन्ने कुराले मानसपटलमा प्रश्न गर्छ । भैरव अर्यालले भने झैं भगवान मानवको सृष्टि गरेका ब्रह्माको प्रयोगशाला कस्तो होला ? आदिम मानवको ठाउँमा कतै नयाँ आधुनिक प्रविधिको मानव तयार गर्न ब्रह्माले यो सब त गरेका छैनन् ? यो विचित्रको समस्याबाट गुज्रन पनि त यहाँ तह तहमा प्रश्न उब्जिरहेका छन् ।

मलाई त अब आफै वैज्ञानिक बन्न मन छ । विज्ञान र प्रविधिलाई चुनौती दिने महामारीबाट मुक्ति पाउन लकडाउन हैन जन्जिर तोडेर हिमालय पर्वत पुग्दै ब्रह्माको प्रयोगशाला अनुसन्धान गर्न मन छ । लकडाउन डायरीमा हरेक कुरा टिपोट र अभिलेख राख्न मन छ । हरेक मानवको मनमा शान्ति अनि अनुहारमा कान्ति भर्न मन छ ।मन त के के छ नि!

भूपेन्द्र शाह ठकुरी

बुढिगंगा नगरपालिका-३ बाजुरा
हाल काठमाण्डौ

एउटा फरक दुनियाँ

लकडाउन जिन्दगी बाँचिरहेका छौ हामी। तर घाम आफ्नै समयमा झुल्किन्छ, आफ्नै समयमा अस्ताउँछ। चराचुरुङ्गीहरु निर्वाध उडिरहेका छन्। प्रकृति उसैगरि हिमालमा मुस्कुराइ रहेको छ । फूलहरुमा रंग भरिरहेको छ। अनि हावा केही फरक चलेको छैन,ऊ चलिरहेछ आफ्नै गतिमा। यतिबेला मानव मात्रै आफ्नो गतिलाई सिमित गरिरहेको छ। 

मेरो जिन्दगी पनि यतिबेला घरमा नै सिमीत भएको छ । विहान साढे सात बजे उठेपछि शरीर तन्काउदै घरको छतमा निस्कन्छु । श्रीमती जीले रोपेका गमलाका फूलहरुमा नजर लगाउँछु । लकडाउन अघि सम्म यो छतमा म दश एघार दिनको फरकमा मात्र उक्लिन्थे । फूलहरुमा नजर फेरिसकेपछि मेरो घरै तलको रोडमा एकपटक आँखा डुलाउँछु । खाली रोड, तर रोडको भित्तामा थुपारिएको माटोको थुप्रोमा लडिरहेको हुन्छ सधै एउटा सजिव मुढा….हो सजिव मुढा! एउटा पुरानो मैलो मण्डी ओढेर माटाको ढिस्को माथि लडिरहको छ एउटा मान्छे । उसलाई हेर्दा लाग्छ न कोरोना, न लकडाउन, न साबुन पानी, न स्यानिटाइजर, न सामाजिक दुरी, केही मतलव छैन उसलाई। मतलव अनि डर छ त केवल घरभित्र सम्पूर्ण अनुशासनमा बसेको मलाई र हामीलाई। सुन्न त उसले पनि सुन्छ होला सुरक्षाकर्मीको गाडीमा घन्किरहेको कोरोना सतर्कताका सूचनाहरु, महसुस त उसलाई पनि हुँदो हो मान्छेहरु हिड्न छाडेका, गाडीहरु गुड्न छाडेका, अनि बन्द पसलका सटरहरु उसले पनि देख्छ होला। यति अनभिज्ञ पनि उ कहाँ होला र? रात र दिनको फरक थाहा नपाउने, यस्ता अनगिन्ति कुराहरु उसको बारेमा सोचिरहनु आजभोलि मेरो दैनिकी बनेको छ। 

मेरो आमा पनि म जस्तै त्यो मैलो मण्डी भित्रको मान्छेको कुरा गर्नुहुन्छ। भन्नुहुन्छ “त्यो के खान्छ होला ? त्यसलाई जाडो गर्मी केही महसुस हुँदैन कि? त्यो दिनरात बाहिर बस्छ रोग पनि लाग्दैन कि उसलाई?” म आमालाई दिने सही जवाफ कहिल्यै पाउँदिन। 

हुन त हिजो कोरोना अनि लकडाउनको समय भन्दा अगाडि पनि त्यो मान्छे त्यही थियो त्यसैगरी । त्यतिबेला मैले उसलाई मेरो पसल अगाडिबाट त्यसरी नियालिन पनि। जसरी अहिले घरको छतमा उसैलाई हेर्न भनेर दिनको तीन चार पटक उक्लन्छु। पुष माघको चिसो ठिहीर्याउनेमा पनि उ त्यही थियो। छेउमा आगो बालेर उसैगरि सुतिरहन्थ्यो। मैले कहिल्यै सोचिन उसको बारेमा। सायद म भित्रको मानवता भौतिक सुखको खोजिमा भौतारि रहने मेरो शरीर छाडेर कतै पर सुस्ताइरहेको थियो त्याे बेला। आज म उसलाई कहिले चलमलाइ रहेको, कहिले अलि पर सरेर बसेको त कहिले सुतिरहेको देख्छु। कहिले त ऊ मलाई फोहोरको थुप्रो जस्तै लाग्छ। वरिपरी कागज र प्लाष्टिकहरुको बिचमा लडिरहेको हुन्छ ऊ। हाम्रो दुनियाँ भन्दा फरक उसको दुनियाँ। 

उसलाई यसरी हेर्दा हेर्दा यो समय मेरो मनमा एउटा इच्छाको पालुवा पलाइरहेको छ। कुनै दिन म उसलाई एक छाक मात्रै भएपनि पेट भर खुवाउन चाहन्छु , अनि सोध्न चाहन्छु उसको सञ्चो बिसञ्चो। यही सोच्छु मुस्कुराउँछु, अनि हेर्छु पर क्षितिज तिर। घाम अस्ताउनै लागेको छ र त्यही घाम जस्तै मानवता पनि कतै अस्ताउन लागिसकेको पाे थियाे कि! जब घाम झुल्कन्छ, म फेरि उसैलाई हेर्छु अनि उसको भोक, जाडो, गर्मी, पिडा महसुस गर्न खोज्छु। तर अझैपनि उसको छेउमा गएर दुई बात बोल्ने साहस म मा आइसकेकाे छैन।  उसलाई पेटभरि खान दिने इच्छाले पनि मलाई उसको छेउ सम्म डोहोर्याइसकेकाे छैन। अनि यो दैनिकी लेखिरहँदा मनमा प्रश्न उब्जिएको छ “के म भित्रको मानवता अझै बाँकी छ होला?”

सुन्दर कार्की

चरिकोट, दोलखा 

वशमा छैन आफ्नै बानी

प्राय एकान्तमा ब्युँझने म, थाहै नपाइ आजभोलि खलबलीको माझमा ब्युँझन थालेछु। किर्तन दिदी जसलाई म किर्तु दिदी भन्छु, उहाँ पनि अस्ति यस्तै भन्दै हुनुहुन्थ्यो। फरक यति थियो उहाँ मन्दिरको भजनहरु सुनेर नेपालमा ब्युँझने, अनि म भने म्यासेन्जर, भाइबर, अनि ईन्स्टाग्रामा आएका म्यासेज र कलहरुको आवाजले अमेरिकामा ब्युँझने। बुवाआमा, श्रीमती, दाजु, दिदी, भिनाजु, मामा, ठूलाबा, काका, छरछिमेकी, अनि संसारभरका साथीहरु आजभोलि साँझ बिहानै सम्झन्छन्। मनचाहिँ मेरो पनि तिनै मन्दिरका भजन र परेवाका बथान उड्दा आउने हावाको आवाजबाट ब्युँझन चाहन्छ।

दैनिकी नै भयो फोनमा कुरा एउटै हुन्छ, ‘अमेरिका त नम्बर वानमा आयो। तेरो ठाउँतिर स्थिती के छ, बाहिर तिर नजानु।’ मेरो सबैलाई एउटै उत्तर रेकर्डर बोलेझैं  ‘मेरो ठाउँमा खासै संक्रमण छैन, म सुरक्षित छु तपाईंइहरु पनि सबैजना आ-आफ्नै ठाउँमा सुरक्षित रहनुस।’ तर यो कथा लेख्दै गर्दा अस्ति कोरोना संक्रमण सम्बन्धि “लासको शहरमा मेरो बाँच्ने आश“ भनेर एकजना कविले लेखेको याद आयो । म अझै पनि हाँसोको मुकुण्डो लगाउँदै सबैलाई सान्त्वना दिदैँ थिए, ‘मेरो ठाउँमा केही भएको छैन’ भनेर। त्यो दिन म बसेकोे राज्य मेनमा २११ संक्रमित २४ मृत थिए। आज ७७० संक्रमित र २४ को मृत्यु भएको छ।  

हेर्दा हेर्दै एक महिना हुन लागेछ घर भित्रै बसेर online class लिन थालेको। नढाँटी भन्छु कक्षा चलिरहँदा समेत म worldometer को मिटर घुमाउँछु बेलाबेलामा। किनकी आजभोलि याे बानी मेरै वशमा छैन, स्वचालित झैं भई सकेको रहेछ। पिडा यसमा छ कि सारा संसार ठप्प छ। 

अर्को कोणमा हेर्छु, म वन विज्ञानको पूर्व विधार्थी र हाल मानवशास्त्रसँगै वातावरणका नियम कानुन पनि पढ्दैछु। अझै भनौं भने climate justice अर्थात जलवायु तथा वातावरणको न्यायको वकालत गर्ने पनि मेरो जिम्मेवारी मै पर्छ। अहिले कोरोना संसारभर फैलिरहेको बेलामा संसारभर हरितगृह ग्यास उत्सर्जनमा कमी भएको, वन्यजन्तुले आफ्नो बासस्थान फिर्ता पाएको, पानीका श्रोतहरु सफा भएको, प्रदुशित हावा स्वस्छ भएको समुन्द्रमा प्लाष्टिकका थाना घटेको स्पष्ट देख्न पाईन्छ। म सालकको अनुसन्धानकर्ता तथा संरक्षक पनि हो । त्यसैले चाइनाले यसको अवैध शिकार तथा किनबेच गर्ने बजार बन्द गर्छु भनेको खबरले वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा टेवा पुग्ने देखेर म खुशी पनि भएको छु।

खुसीको सिमा नै छैन। १०/१५ दिनमा बातचित हुन्थ्यो घरपरिवारसँग, आजभोलि दैनिक जस्तो हुन थालेकाे छ। नातागोता सबैजना सामुहिक च्याट बक्समा खुम्चिएर सबैसँग गफगाफ गर्न थालेका छन्। सबैजना फुर्सदिला भएका छौं। सबैलाई एक अर्काको साथ चाहिएको छ। 

एक महिना हुन लाग्यो याे चार कोठे संसारमा बसेको। सामाजिक स्नेह यस्तै मजबुत हुँदै, अन्य हजारौंले ज्यान नगुमाउँदै याे रागको विलय होस्। फेरि यसरी कोठाभित्रै थुनिएर बस्ने दिन नआओस। मेरो मनको आशा त अबको एक महिनामै कोरोनाको सम्पूर्ण व्याधी नष्ट होस् र म मेरो घर फिर्ने योजना पूरा गर्न पाँउ। मेरी श्रीमती, बा,आमा, नातागोता, साथीभाइ सबै मेराे पर्खाइमा छन्। अनि पश्चिम नेपालका दैलेखी र डोल्पाली किसानहरुसम्म पुगेर अनुसन्धान पनि गर्नुछ। सबैसँग थप सामाजिक निकटता बढाउनु छ। नमस्कार

सुमन आचार्य 

ओरोनो, मेन, अमेरिका

              

            

गाईको लकडाउन

महिना दिन हुन लागेछ। मेरा टाउकाका कपाल १३ सेन्टिमिटर लामा अनि चिउँडोमा उम्रेका दाह्री ३ सेन्टिमिटर लामा भएछन्। लकडाउन सुरु हुनु भन्दा केही आगडिका समय अस्तव्यस्त थिए। त्यतिबेला सोच्ने गर्थें के जिन्दगी अब यस्तै हो? गन्तब्य के हो? के खोजिरहेछु ?  के पाइरहेको छु? अलि दिन आराम गर्न पाए पनि हुन्थ्यो ! यो अस्तव्यस्त दिनचर्यामा केही क्षण यसरी नै बिताइदिन पाए पनि हुन्थ्यो। यस्तै यस्तै सोचिरहन्थेँ।

पक्कै पनि भगवानले मेरो मनका कुरा सुनेको हुनु पर्छ । एउटा भनाई छ नि “तँ सोच म पुर्याइदिन्छु।” त्यही अनुभव भयो। अहिले बिदामा छु। तर आफैले चाहेको बिदा आफैलाई बोझ भएको छ आजकाल। एक दिन ठिकै थियो, दुई दिन ठिकै थियो, तर महिना दिन पुग्न लागिसक्यो। वाक्क दिक्क लागि सक्यो। फेरि त्यही पुरानो समय आइदिए हुन्थ्यो जस्तै भइरहेको छ। हामी मान्छेहरु पनि कस्तो स्वार्थी है! एउटा भए अर्को चाहिने अर्को भए अर्को चाहिने। तर त्यही चाहनाले नै त नयाँ नयाँ कुराहरुको आविष्कार भइरहेको छ। कहिले लाग्छ ठिकै हो , फेरि कहिलेकाहीँ लाग्छ किन यस्तो छ? को संग होला यो प्रश्नको उत्तर। अनि म त्यही प्रश्नको उत्तरमा आफूलाई स्तब्ध पाउँछु। अनुतरित्त पाउँछु ।

आज भोलि खाना खाँदा हरेक गाँसमा आमाको गाली खानु पर्छ। नत्र त पहिले पहिले हतारमा गासँ टिप्दा आमाकाे मायाले भरिएका गाली सुन्न कहाँ पाउँथे होला र? फरक दिउँसोको समयमा हुन्छ। आज भोलि बिहानै भाइबरमा टुंग टुंग आवाज आउँछ। आवाज सुरु हुन्छ ‘तपाईलाई स्वागत छ’ भन्दै। रामलाल जोशीद्वारा लिखित ‘सखी’ पुस्तकको अडियो वाचन भाइबरमै आइ पुग्छ। आज सम्म यसरी सुनाउने र सुन्ने गरेको थिइन। तर नयाँ कुराको सुरुवात भयो। हरेक दिन केही समय उक्त किताबको वाचन सुनेर दिन अघि बढ्दै छ।

प्राय खालि खालि हुने घर आजभोलि भरिभराउ छ। तर म भने आफ्नै दुनियाँमा हराएको छु। म मात्रै होइन सबै आ-आफ्नै बेग्लै संसारमा रमाइरहेका हुन्छन्। बाबा, आमा, भाइसँग त्यही खाने बेला मात्र होला सँगै भेट्ने भनेको। नत्र सबै आफ्नै दुनियाँमा। आज भोलि सबैको दुनियाँ हात हातमा छ। त्यही मोबाइलको दुनियाँमा भुल्छाैं सबै। सामाजिक सञ्जालले दिनहरु कटाउन सजिलो बनाएको छ। को, कहाँ के गरिरहेको छ भन्ने कुराको खबर त्यहीबाट हुन्छ। तर आफ्नै घरको एकै छाना मुनि बसेको पल्लो कोठाको मान्छे के गर्दैछ भन्ने कुरा चाहिँ थाहा नै हुँदैन।

लकडाउन भएदेखि मेरो मोबाइल अनि ल्यापटप चौबिसै घण्टा खुल्ला छ। यसले एक छिन पनि आराम पाएको छैन। काम के गरेको पनि थाहा छैन, तर त्यही मोबाइल अनि ल्यापटपमा झुन्डिएको छु। कसैले बोलाउँदा पनि ‘एक छिन है’ भन्दै ल्यापटप र मोबाइल नै चलाइरहेको हुन्छु। तर थाहा छैन केको खोजीमा छु म अनवरत।

घरको उत्तर तिर हजुरबा हजुरआमाले गाई गोठ बनाउनु भएको छ। त्यहाँ दुइ चार वटा गाईहरु पनि छन्। हिजो एक्कासी गाई ठूलो स्वरमा कराउन थाल्यो। बाँ …. बाँ……  गर्दै। म पनि के भएछ भनेर झ्याल बाटै हेर्न थालेँ। बिचरा गाई दाम्लोले बाँधिएको रहेछ । कहीँ कतै जान नपाएको, आफूले भनेको, चाहेको गर्न नपाएको। गाई न बोल्न सक्छ न संकेत दिन सक्छ। बस दिएको घाँस पराल खान्छ, बस्छ। त्यत्तिकैमा मेरो मोबाइमा आवाज आउँछ ‘ब्याट्री लो।’ अनि मोबाइल चार्जमा राख्दै चलाउन खोजेँ । चलाउँदा चलाउँदै ठ्याकै गाईको याद आयो मलाई । गाईलाई त दाम्लोले बाँधेको छ, अरु कसैले। तर मान्छे ? मान्छेले आफ्नाे दाम्लो आफै बाँधेको छ।मोवाइलको र सामाजिक संजालको दाम्लो। मनले सोच्न थाल्यो मान्छेहरु पनि पशु हुन थालेछन् । मान्छेहरु पनि त बाँधिन थालेछन्।

लाग्याे, आजको विश्व यहीं दाम्लोमा अड्केको छ। हामी लकाडाउनमा छाैं तर ती गाई वस्तुहरु कति अगाडि देखि सधैँ लकडाउनमा परेका रहेछन् । साँच्चै यदि बाँधिरहेका गाईबस्तुलाई पनि स्वतन्त्र छोडिदिएको भए के हुन्थ्यो होला हगी ? उनीहरुले पनि आफ्नो जीवनयापन निर्वाह गर्न छुटै जीवन शैलीहरु बनाउँथे होलान्। सोच्दा रमाइलो लाग्याे। तर अहिलेको हाम्रो जीवन र ती अबोध प्राणीहरुको जीवनसँग दाँज्ने हो भने कुनै फरक देखिँन मैले। उनीहरु पनि एउटै ठाउँमा बाँधिएर बस्नु परेको छ र हामी पनि। यति फरक छ कि उनीहरुलाई खुवाउन आहारा हामीले बनाइ दिनु पर्छ र उनका अगाडि राखिदिनुपर्छ भने हामी आफैँ जे मन पर्छ त्यही बनाएर खान सक्छाैं। उनीहरु पनि स्वतन्त्र हुन्थे भने आफ्नै खुसीको आहारा खान्थे। कति खानु यो पराल भन्दै हरिया घाँसको खोजीमा निस्कन्थे होलान्। अनि फेरि हरिया घाँस पनि थरी थरीका खान्थे होलान्।

श्यामसुन्दर श्रेष्ठ

अमेरिकामा रोकिएको समय

आफूलाई नपरेसम्म अरुको समस्या सानो देख्ने तुच्छ मानव प्रवृत्ति सायद सभ्यता सुरु भएदेखि नै विकसित भएर आजको दिनमा त्यसको पराकाष्ठामा पुगेकाे हाेला! तर समयले आफ्नो पाठ सबैलाई सिकाएकै हुन्छ। केही महिना अघि छिमेकिको घरमा आगो लाग्दा न त निभाउन गइयाे न आफ्नो घर वरिपरि अग्नि रेखा नै कोरियाे। न त्यस घटनावाट केही पाठ नै सिकियाे। 

सन्दर्भ कोरोना भाइरस, समय दिउँसो ३ वजे, स्थान मस्को आइडाहो अमेरिका। 

नमरि देखिने स्वर्ग यही नै हो भन्ठानेर होस् या अवसरका लागि मलाई अमेरिका नआएसम्म आफूले केही गर्न सके जस्तो लागेकाे थिएन । जेहोस् म पनि काेही भन्दा कम अंहकारी र स्वार्थी पक्कै छैन। आफ्नो देश, आफ्नो माटाे आफ्नी आमालाई हजाराै कोस पर छाडी विरानो ठाउँमा श्रम गरिरहेको छु। शारीरिक कम, मानसिक ज्यादा ।

अमेरिका आएको एक वर्ष तीन महिना बितेको छ। हिजो घरबाट आमाले भिडियो कल गर्दा उहाँका चिन्ता अनुहार र आवाजमा ऐना जस्तै छर्लगं थियो। मलाई बहिर धेरै ननिस्कन अनि अलि सुरक्षित भएर बस्न सुझाव दिँदा लगभग गला अवरुद्ध र आँखा भरि आँसु टिलपिल थिए। मैले आमालाई केही हप्तादेखि प्रत्येक दिन, बिहान बेलुका यही कुरा सम्झाइ  बुझाइ राखेको छु, “म घरबाट बाहिर निस्केको छैन, फ्रिज भरि खानेकुरा छ। चिन्ता मान्नुपर्दैन। तपाईंहरु त्यहाँ सुरक्षित भएर बस्नुहोला। म बस्ने ठाउँ नेपालको गाउँ अनि हाम्रो घर तिर जस्तै छ। शान्त छ, धेरै मान्छे छैनन्, म ठिक छु।” आमाका पाँच जना छोरीहरु, हामी तीनजना यता छौं । सन्तान जति भएपनि आमाको माया कसैकालागि कम नहुने। तर अहिले उहाँको सबै चिन्ता हामी घरमा नहुनुहरुकै धेरै छ। आमाको मनमा केही राहत होला भनेर अरु बेला भन्दा धेरै नै कुरा गर्ने गरेको छु। 

आज फेरि बाबाले फोन गर्दा भन्दै हुनुहुन्थ्यो – ‘अरु ठाउँमा भन्दा अमेरिकामा धेरै मान्छे मरिरहेका रैछन्, सुरक्षित भएर बस है।’ यति शब्दमै, समयको संवेदनशिलता र बाबुको माया सबै मिसाउनुभएको थियाे उहाँले । तर आमाको मुहार केही हप्तादेखि उज्यालो देखेको छैन। बहिनी भन्दै थिइ- छिमेकिले बाटोमा हिड्दा समेत अमेरिकामा यस्तो उस्तो भो नानीहरुलाई कस्तो छ भनेर सोधिरहन्छन्। उही त आमाको चिन्ता त्यस माथि झन चिन्ता थप्ने बाटो!

मलाई भने सानोठाउँमा बसेकोले पनि केही सुरक्षित महसुस भएको छ। उता न्युयोर्क  सहरको अवस्था सम्झेर पनि कहाली लाग्छ। त्यहाँ वसिरहेकाहरु कति मानसिक त्रासमा हाेलान्, म कल्पना पनि गर्न सक्दिन। उही नै छ मेरो दैनिकी, उठ्यो, खायो, काम गर्यो,फेरि खायो अनि सुत्यो। याे कसैलाई फुर्सद नहुने देशमा यतिबेला समय नै रोकिए जस्तै लाग्दैछ। पहिलेभन्दा परिवार र नजिकका साथीहरुसँग अलि वढी कुराकानी हुन्छ। अहिलेसम्म आर्थिक समस्या परेको छैन। काम र तलब नियमित भएकोले पनि ठूलो राहत मिलेकाे छ। तर म अनुभव गर्न सक्छु जसको काम रोकिएको छ, उनीहरुलाई कति कठिन परेको होला । चर्को शैक्षिक शुल्क तिर्नुपर्नेहरुकालागि त यस्तो अवस्थामा खान बस्न समेत मुस्किल परेकाे होला। यस्तै अवस्थामा आफ्ना घर र आमाको हातको मिठो मसिनो झनै सम्झना आउने। तर पनि आफ्नो वरिपरि सबै कुरा ठिकठाक्कै देखेर पनि होला त्यति हतास र निराश भैसकेको छैन म। 

रुममेटहरु सबैजना नेपाली अझ सबै भाइबहिनीहरु नै छन् ।  दिनभरि घरैमा भइन्छ। सबैजनासँग सँगै खाने मेसाे मिलेको छ।  गाह्रो साह्रो एक अर्काकालागि चाहिने सहयोगी भावना छ, बस्। अब कुनैदिन पुरानै रफ्तारमा अवस्य फर्कनेछाै। अनि त एक अर्कालाई देख्न फेरि विक एन्ड आउनपर्नेछ । सबैको व्यस्तता रकेट गतिमा बढ्नेछ । 

आफ्नै अस्तित्व बिर्सेर संसार जित्न निस्केका हामी सबै जनाको लागि यो आफ्नाे अन्तरमनसँग बिताउने समय हाे जस्तो लागेको छ । भाैतिक दुरी कायम गराैं। एक अर्का बीचको भावनात्मक दुरी कम गर्न त अहिलेको समयले सिकाउँदैछ । 

दिक्षा पोखरेल

आइडाहो , अमेरीका

रेडियाे साथी

एकाबिहानै झिसमिसेमा निन्द्राले छोड्छ, म घडी हेर्छु बिहानको ५:२० बजेको रहेछ। केही दिनदेखिको लकडाउनले अहिले सहरको वातावरण स्वच्छ,शान्त, सुन्दर, प्रदुषण रहित भएका कारण चराचुरुङ्गीहरु खुसीले मिठो गीत गाइरहेका छन् । 

यो आनन्दमय बिहानीसँगै मेरो दैनिकी सुरु हुन्छ। 

म बाल्यकाल देखि नै हरेक दिन बिहान नियमित रेडियो नेपाल सुन्ने गर्छु। आज पनि रेडियो नेपालमा बिहान ६:०० बजेको समाचार सुने। समाचारमा अहिले विश्वभर कोरोना भाइरसको महामारीले लाख भन्दा बढी सङ्ख्यामा मानिसको मृत्यु र लाखौको सङ्ख्यामा संक्रमीत भएको खबरले मन नै खिन्न बनाउँछ। कति सुन्नु एकै खबर।

म बिहान ७ बजे देखि ९ बजे सम्म नियमित अध्ययन गर्छु। लकडाउनले झनै अध्ययन गर्ने अवसर मिलाइदिएको छ। केही दिन यता देखि मदन पुरस्कार विजेता निलम कार्की `निहारिका ´काे उपन्यास `योगमाया´को पढ्न सुरु गरे । याे पढ्दै गर्दा योगमायाले पाएको दु:ख, पिडामा भावुक त घरि रिस आक्रोशित पनि बन्न पुगे। केही समयको अध्ययन पश्चात फेसबुक, टुइटर जस्ता सामाजिक सन्जालमा केही समय बिताए ।

बिहानको खाना खाएपछि फेरि पढ्न थाल्छु। दिउँसोको २ बजे सम्म पढेर म युट्युबमा भारतीय एक साहसिक महिलाको जिवनकथामा आधारित •बन्धित क्विन• हेर्न सुरु गरे। सारै दु:खद कहानी पटक पटक बलात्कारको सिकार बन्नु परेको र डाँकु बनेर हिडेको लगायतका घटनाले धेरै ठूलो पाठ सिकायो । आजकाल अफिसको काम गर्नु नपरेकाले धेरै ज्ञान बर्द्धक र जानकारीमूलक भिडियो हेर्ने र अध्ययन गर्ने मौका मिलेको छ। यसरी नै दिन बित्दै साँझ पर्यो, खाना खाए पश्चात् केही समयको अध्ययन पश्चात्  फेरि सामाजिक संजालमा केही समय बिताए म पुनः रेडियो सुन्दै निन्द्रा देवीको काखमा पुग्छु।

 

दिपेस खड्का

खोटाङ हाल सुनसरी 

…र मैले झुट बाेले

बिहानको १० बजेको थियो। म अफिसमा बसेर काम गरिरहेको थिए। यत्तिकैमा एक जना साथीले मलाई मेरो नजिकै टेबलमा बसि काम गर्ने साथीलाई कोभिड-१९ (कोरोनाभाइरस) को संक्रमण भएको कुरा सुनायाे। ऊ (संक्रमित साथी) मेरो टेबलमा आउने, कहिले चम्चा, कहिले टिस्यु पेपर लिने गर्थ्यो। त्यो खबर सुने पछि मलाई त्यहाँ बस्न मन लागेन।

त्यत्तिकैमा Safety Manager ले हाम्राे त्याे साथीको सम्पर्कमा भएका सबैलाई अस्पताल गएर स्वास्थ्य परिक्षण गर्नु भनेर पठाउनुभयाे। त्याे बेलामा अफिसमा कति मानिसले त यस्तो ब्यवहार गरे कि, मानौ हामीलाई अहिले नै संक्रमण पुष्टि भइसकेकाे छ। मानिसहरु हामीलाइ देखेर टाढा भए। 

कम्पनीको सहयोगमा अस्पताल गएर स्वास्थ्य परिक्षण गर्याैं।  रिपोर्ट आउन ३/४ दिन लाग्ने रहेछ। १४ दिन क्वारेन्टाइनमा पनि बस्नु पर्ने भयो। म लगायत मेरा रुमका ५ जना क्वारेन्टाइनमा बस्यौ। सबैजनाको स्वास्थ्य सामान्य भएकाले मनमा उति डर थिएन। मेरो लागि एक रुम दिइएको थियो, जसमा ट्वाइलेट वाथरुम भएकाले बाहिर निस्कन पर्थेन। मेरो Floor त्यस्तै बिरामी राख्नको लागि थियो। दिनभरि कोठामै बसेर दिन बित्दै थियो। ५/६ दिन पछि कसैको रिपोर्ट आयो। १ जनालाई कोरोना भाइरसको संक्रमण भएको रहेछ। ऊ मेरो भन्दा माथिको बेडको साथी थियाे। त्यसपछि उसलाई अस्पताल लगियाे। 

मेरो रिपोर्ट नआएकाले मन डराउन लाग्यो। घरपरिवारलाई रिपोर्ट नआए पनि आएको र सबैको रिपोर्ट नेगेटिभ भएको भनि ढाट्नु पर्यो। २ दिन पछि नजिकै बस्ने अर्काे साथीको पनि कोरोनाभाइरसको संक्रमण भएको रिपोर्ट आयो। त्यसपछि त झनै डर लाग्न थाल्यो। त्यस बेला घर परिवारको धेरै याद आयाे। अझ ३ महिनाकी छोरीलाई सम्झेर धेरै रुन मन पर्यो। उसँग त मेराे भेट पनि भएको थिएन। लाग्याे कतै छोरीसंग भेट हुनै नपाउने त हाेइन। कहिले आफूलाई त कहिले घर परिवारलाई ढाँटेर बिते ९ दिन । अनि मेराे रिपोर्ट पनि आयो।  रिपोर्ट नेगेटिभ रहेछ मन धेरै खुसी भयो। 

त्यसको भोलिपल्ट नजिकै कोठामा बस्ने ४ जनामा कोरोनाभाइरसको संक्रमण भएको खबर आयो। दुई जना नेपाली पनि थिए। १२ दिन बाद फेरि काम सुरु भयो। अफिसमा धेरै जनालाई संक्रमण भएकोले डर धेरै लाग्छ। त्यस माथि Document को काम गर्ने भएकोले धेरै जनाको रिपोर्ट (पेपर) संकलन गर्नु पर्ने। आफू खुसी काममा नजानु पनि मिलेन।  

यहाँ परिस्थिति जस्तो भए पनि घर परिवारमा सबै ठीक छ, राम्राे छ भन्नु पर्यो। आमाले त्यसै त धेरै चिन्ता लिनुहुन्छ। आमाको मन न हो त्यसै त चिन्ता गर्छन। झन् यहाँको अवस्थाको त कुरै गर्न भएन। कोरोनाभाइरसको संक्रमण दिनको दिन बढेको बेला, क्याम्पमा ट्वाइलेट बाथरुम साझा भएकोले जोखिम पनि धेरै हुने ।

दुई दिन ड्युटी गरी साँझ कोठामा आएपछि शरीर दुखेको महशुस भएको थियो। तेस्राे दिन पनि ड्युटी गए। त्यस दिन मलाई सन्चो भएन । ज्वरो धेरै थियो । त्यसमा खोकी र टाउको दुखाइ, श्वास लिन पनि गाहृो भयाे। दिन भरि अफिसमा बसि साझ क्याम्पमा आएर ज्वरो चेक गर्दा उच्च थियो र तुरुन्त अस्पताल जान भनियो। ६ बजे अस्पताल गए । त्यहाँ मानिसको भिड धेरै थियो। बाहिर बस्नलाई कुर्ची थियो। ज्वरो उच्च भएकाले मलाई धेरै जाडो अनि गाह्राे भयाे। मैले त्यहाँ एक जना सरकारी अफिसरलाई ‘मलाई धेरै गाह्राे भएकोले चेक गर्नको लागि पठाइदेउ’ भन्दा हप्कायो। पिडाले गर्दा आँसु आँखामा अटाउन सकेन । साउनको झरी जस्तै। बिहानको ३ बजे मेरो पालो आयो। अघिल्लो बिहान देखि केही खाएको थिइँन। चेक गरेर कोठामा आउँदा ४:३० भएको थियो।

अहिले घरमा राम्राेसँग कुरा गर्ने आँट छैन मसँग। सञ्चो हुँदा त आमाले “किन यस्तो आवाज़ छ बाबु । बिसन्चो त भएन, के खायौ, खान समयमा पाउदैनौ होला, भोक लाग्यो होला…” भन्नु हुन्थ्यो। पहिले १/२ घन्टा video कल हुन्थ्यो, अहिले अफिसमा बिजी छु, कोठामा नेटले काम गरेको छैन, कल गर्न मिल्दैन भनि ढाँटेको छु। श्रीमतीले किन राम्राेसँग बोल्नु हुदैँन भन्दा रिसाएको वहाना बनाए। यति भन्दा मेरा आँखाहरुले आँसुको वहाव रोक्न सकेका थिएनन। ३ महिनाकी छोरीको मायाले मन सारै दुखाउँथ्यो, रुवाउँथ्यो। लाजै नमानि आँसुको बर्षात हुन्थ्यो। 

आज १ दिन पछि यी कुराहरु लेख्दै छु। मन अशान्त छ। के हुन्छ , कसो हुन्छ भनि! रिपोर्ट आउन बाँकी छ। तर मनमा असाध्यै डर छ। यदि रिपोर्ट पोजेटिभ आयो भने के होला, परिवारलाई के भन्ने होला। बस त्यही रिपोर्टको पर्खाइमा छु।

हिजो बिहान (April’15) सम्म मैले काम गर्ने ठाउँ (Project) मा ४९ जनालाई कोरोनाभाइरसको संक्रमण भएको थाहा भयाे।

पि.के

दुबई

‘यो समय पनि बितेर जानेछ’

४ दिन भयो लेख्न खोजेको, कहिले के मिल्दैन कहिले के । अफिसियल्ली एक गृहिणी नै हुँ । त्यसैले कामको बोझ धेरै नै छ । बिहान उठेदेखि बेलुकीसम्म पनि आफ्नो लागि भनेर समय छुट्याउन गार्हो पर्छ । सदा दिनको दैनिकीमा भागदाैड यस्तै चल्दै थियाे। अहिलेको त झन कुरै नगराैं। छाेराछोरी स्कूल गएका बेलामा यस्सो अलिकति सुस्ताउन पाउने, त्याे समय पनि काटिएको छ।

आजकालको दिनचर्या पहिले भन्दा फरक छ । सबै जना घरमै छौं । त्यसैले झनै भ्याइनभ्याइ छ। छोरा छोरीले भान्साबाट फुर्सद दिदैनन् । आज यो खाने, आज त्यो खाने! उनीहरू याे संकटको बेला हो भनेर बुझ्ने उमेरका भइसकेका छैनन्। स्कुल जान नपर्ने, होमवर्क गर्न नपर्ने, दिनभरि घरै बस्याे, खायाे, खेल्याे, रमायो गर्दा उनीहरूलाई चैँ अहिले चाडपर्व आएजस्तै भएको छ । उनीहरु खुशी खुशी दिन काट्दैछन्। छोराछोरीको खुशीमा आमा त्यसै खुशी । म पनि उनीहरूसँगै दंग छु। जीवनमा यस्ता अमूल्य पल फेरि आउलान नआउलान्! 

कोरोना महामारीको अन्त्य चाडै होस भनेर घरका सबैजना मिलेर एकदिन दियो पनि बाल्यौं। दियो बालेर कोरोना महामारी कम हुन्छ हुन्न, त्याे त थाहा छैन। तर मनको एक कुनामा भएको विश्वासले दियो बाल्न अर्हायो ।मैले त्यही मनको कुरा सुने । यसो गर्दा केटाकेटीहरू खुबै रमाएका थिए! 

कोराेनाकाे महामारीले नागरिकका स्वास्थ्य प्रति संवेदनशील  र उपचारमा अब्बल भनेका देशहरु समेत हायल कायल भइरहेको दृश्य टेलिभिजन, रेडियो, अनलाइन र सामाजिक सञ्जालहरुमा मिनेट मिनेटमा अपडेट भइरहेका छन् । सुन्दा पढ्दा पनि कस्तो डरलाग्दो ! कति धेरैमा रोग सरेको । कति धेरैको मृत्यु, डर, रोदन, मृत्यु, बिछोड । उफ ….. ! मन पनि सारै कमलो हुनेरैछ। यही कारण आजकाल समाचार हेर्ने, सुन्ने, पढ्ने काम अलि सिमित गरेको छु । 

छोराछोरीलाई पनि सकारात्मक कुराहरु मात्रै सुनाउँछु र सम्झाउँछु । व्यक्तिगत सरसफाइ, सामाजिक दुरी, स्वस्थ्य जीवन र सिर्जनात्मक कुराहरुमा उनीहरुलाई भुलाउने कोशिस गर्दैछु । सधैँ कामले बेफुर्सदी मेरा बुढा । पहिले घरमा एकछिन बास हुन्नथ्याे । अचेल उहाँलाई पनि करेसाबारीमै भेटिन्छ। घर अगाडि स्यानाे बगैंचा बनाउने मेराे रहर उहाँले पूरा गर्दै हुनुहुन्छ।अस्ति भर्खरै बेलीको विरूवा रोप्नुभयाे । जाई, जुई, चमेली यी सबै फुलेपछिकाे याे आगँन सम्झेर अहिले नै दंग परिसके। 

म केटाकेटीहरूसँग युट्युव हेर्दै थरिथरिका खानेकुरा बनाउन पनि सिक्दैछु। उनीहरूलाई पनि सिकाउँदैछु। हामी सबैजना मिलेर पिज्जा, मोमो, चटपटे र केक बनायाै। मिठो नमिठो जस्ताे भए पनि हामी सबैले मिलेर गरेकाले रमाइ रमाइ खायाैं।  छाेराछाेरी दुवैलाई पकाउने, घर र आफूलाई सफा सुग्घर राख्ने कला पनि सिकाउँदैछु। उनीहरूले यसलाई बोझ मानेका छैनन्।  

हरेक कुराको २ वटा पाटो हुने रैछन्। कोरोनाले पनि परिवार र समाजमा केही सकारात्मक प्रभाव पारेको छ। सधैँ भरिभराउ देखिने घर नजिकैको काठमाडौं विमानस्थलमा हिजोआज मुस्किलले जहाज देखिन्छन्।  हरेक क्षण व्यस्त रहने विमानस्थल अहिले शान्त छ । प्लेन बस्दा र उड्दा घरै थर्किने आवाज कम भएको छ । कहिले कुन देशका नागरिक कहिले कुन देशका नागरीक लिन चार्टड जहाज आउँदा ‘ए घर नजिकै त एयरपोर्ट पनि पो छ है’ भन्ने पर्छ । 

लकडाउन भएपछि काठमाडौं उपत्यकाको प्रदुषण कम भएको छ । घरको छतबाट चारै भञ्ज्याङ्ग छ्याङ्गै देखिन्छ। सेता हिमाल, मन्दिर, गुम्बा, स्तुपाहरु छर्लङ्गै देखिन्छन्। साँगामा रहेको महादेवको मूर्ति र नाला भञ्ज्याङ्ग देखेपछि मन त्यसै त्यसै फुरूङ्ग हुन्छ। त्याे मेराे माइती देश हो।

मम्मी ड्याडिसँग सधैँ कुरा हुन्छ तर जन्मे हुर्केको घर, परिवारको मायाको तुलना केहीसँग पनि नहुने रैछ । माइती गाउँतिर पनि अहिले त धेरै परिवर्तन भएको छ अरे ! अवसर खोज्दै, प्रगतिको लक्ष्य राख्दै सहर पसेकाहरु, गाउँबाट सहरमा बसाइँ सरेकाहरु पनि कोरोनाको त्रासले गाउँ फर्केका छन् अरे ! गाउँघर रुँगेर बस्ने बुढाबुढीको मुहारमा खुशी छाएको छ रे । ड्याडिले सुनाउँदै हुनुहुन्थ्याे –  खन्जर पाखा बारीमा खनखान शुरु भएको छ रे । गाउँमा बेग्लै उत्सव छ रे अचेल । मकै रोप्ने, तरकारी फलाउने । यसलाई पनि त लकडाउनकै देन त भन्नु पर्ला नि!

लकडाउन हुनुभन्दा केही दिन अघि गएको थिए उता। धन्न गएछु! नत्र त अब यो लकडाउन कहिले खुल्नु र पुग्नु माइती देश। उता पनि हामीले दशैको बेलामा पिङ खेल्ने, लङ्गुरबुर्जा खेल्ने गरेको ठूलो चौरमा वडा कार्यालयको भवन बन्न लागेको रहेछ । मन चसक्क भयो । बालापनका सम्झना दौडने त्यो चौरमा अब सिमेन्टको भवन बन्ने भयो र हाम्रा सम्झना त्यही भवनभित्रै हराउने भए । गाउँमा उमेरका केटाकेटी  कोही छैनन् । प्राय सप्पै विदेशमा कि त सहरमै । पवन दाइ, निश्चल, राजेश, महेश, हिमाल सबै विदेसिए।अरूको के कुरा मेरै भाइ पनि त विदेशमै छ।  अहिले हामीलाई उनीहरुको पनि पिर छ । कोरोना जोखिम भएको मुलुकमै छन् उनीहरु । 

यादहरु अनगिन्ति छन् । सम्झनाको पोको खोतलेर पनि सकिन्न। सम्झेर भ्याइन्न, लेखेर कति नै पो लेख्न सकिएला र ! अब भान्सा तिर पस्ने बेला पनि भयो । सबै कुरा समय क्रममा सुल्झिदै जानेछन् । अलि अस्तितिर एउटा मन छुने वाक्य सुनेको थिए – “यो समय पनि बितेर जानेछ” । पक्कै पनि यो समय बितेर जानेछ। दिन सधैं यस्तै एकैनासको कहाँ भइराख्छ र!!

मनिषा दाहाल

गोठाटार

वुहान र वुताई शान

दैनिक जसो मेसेन्जर खोल्छु र हेर्छु । धेरैमा १५/१६ जना मात्र अनलाइन देखिने आफन्तजन र साथीहरु आजकल ३०/३५ जना, कहिले त ४० जना सम्म पुग्छन्। सबैभन्दा पहिले पोखरा घरतिरका आफन्तहरु कोही अनलाइन छन् कि भनेर हेर्छु । आज माइला दाइलाई देखेँ। उहॉको घर बाबा-आमासंगै जोडिएको छ। बाबा-आमा भाइको परिवारसंगै बस्नु हुन्छ। तर भाइले मेसेन्जर कहिल्यै चलाउदैनन् । घरमा फोन गर्ने कलिंग कार्ड किन्न अफलाइसेन्स पसल जान नभ्याएकोले  घरतिरको हालखबर माइला दाइसँगै लिन्छु आजकल। घरतिर ७० कटेका बाबा-आमा, लालीगुरॉस टोल घर भएका साइला दाइको परिवारको हालखबर लिए पछि कुरा सकिन्छ। साथीभाइहरुको सन्चो बिसन्चो पनि बुझ्छु। 

आजकल मेरो दैनिकी नै भएको छ बारम्बार बि बि सी समाचार हेर्ने, फ़ेसबुक र ट्वीटर हेर्ने र कोरोनाले कहॉ कहॉ के कति प्रभावित भए भनेर जानकारी लिने। भाइबरमा पनि विभिन्न समूहहरुमा भएकाले त्यता पनि मेसेजहरु टिंग टिंग गर्दै आइरहेका हुन्छन्।  तर अलि बढी नै तनाब लागेकोले आजकल नोटिफिकेसन बन्द छ, त्यति हेर्दिन।

वुहानबाट  फैलिएको कोरोनाको क़हरले नजिककालाई टाढा र टाढाकालाई नजिक बनाइ दिएको छ। अलि अस्ति सम्म कामकाज र व्यस्त दैनिकीबाट फ़ुर्सत हुने बित्तिक्कै सप्ताहन्तमा भेटघाट भइ रहने प्रवासी साथीभाइ र आफन्तजनहरु आजकल पराई जस्तै र कयौं माइल टाढा रहेका साथीभाइहरु र आफन्तजनहरु भर्चुयल नै सही नजिक त भएका छन्। 

कोरोनाको त्रासले दैनिकीलाई यति प्रभावित गरेको छ कि यसो किनमेलमा निस्कौं भन्दा पनि सशंकित हुनु पर्ने । सुपरमार्केट गयो भने कि त दैनिक उपभोग्य बस्तुहरु सकिएका रित्ता सेल्फहरु हेरेर फर्कनु पर्ने नत्र २ मीटरको आपसी दुरी बनाइ पट्यार लाग्दो लाइनमा बसेर त्यस माथि सिमित कोटामा मात्र पाइने किनमेलमा चित्त बुझाउनु पर्ने बाध्यता । युद्ध नै जितेको झै गरि किनमेल गरेर आए पछि कहॉ ढुक्क हुने हो र फेरि । सबै किनमेलका सामानहरु छुट्टयाएर राखे पछि प्लास्टिक कभर भएका जतिलाई ब्लिच सहितको वाइपले पुछ्ने र कागजको कभर भएकालाई सफा भॉडामा खन्याएर कभर फ्याले पछि बाहिर जॉदा लगाएको कपडा फुत्त बाथरुममा फ्याली मिले नुहाउने नमिले हात खुट्टा साबुनले मिची मिची धोइवरी बल्ल अरु काम गर्नु पर्याे।

मनै मानेन एक पटक फेरि समाचार हेर्ने इच्छा भो । बेलायतमा  रहेका नेपालीहरु एक एक गर्दै कोरोनाको कारण मृत्यु भएका समाचारहरु पढ्दा साह्रै दु:ख लाग्यो । बेलायत जस्तो विकसित देशमा त यस्तो हालत छ । हाम्रो देश नेपालमा यो रोग यसरी नै फैलिए के हालत होला ? नेपालमा प्रधानमन्त्री ओलीले बेलामै लकडाउन गरेर बुद्दिमतापूर्ण काम गरेकै हुन् । तर हामी जनताहरुले पनि यसलाई मान्ने र स्वास्थ्य मन्त्रालयको निर्देशनलाई पूर्ण पालना गर्ने हो भने यो रोग माथि हामी बिजय पाउन गार्हो छैन जस्तो लाग्याे । चीनको वुहानमा कोरोनाको कारण तीन महिना पछि पहिलो पटक कुनै मृत्यु  नभएकोमा खुशीयाली मनाउदै गरेको समाचारले आशाको किरण जगाएको छ । 

वुहान भन्ने बित्तिकै १५ बर्ष अघि चीनको एक उतर पूर्वी प्रान्त सान्चीको सम्झना ताजा भएर आयो। त्यो बेलामा वुताई शान (चिनिया भाषामा वुताई शानको अर्थ पाँच पहाडहरुको तह ) भन्ने शहर भनुम् या पोखरा जत्तिकै क्षेत्रफलको उपत्यका घुम्न पाएको थिएँ। चार दिशामा चार वटा बौद्ध  गुम्बाहरु भएको ठाउँ किंवदन्ति अनुसार भगवान बुद्धले दर्शन गरेको पवित्र धार्मिक स्थल रहेछ र बौद्ध धर्मावलम्बिहरुका लागि अति नै प्रख्यात। त्यहाँ मन्जुश्रीको पनि मन्दिर देख्दा गर्बले छाती चौडा भएको थियो । त्यहँ मलाई अनौठो लागेको दुई वटा क़ुराहरु – पहिलो मान्छेहरु हातमा पानीको बोतल भित्र पानी र गुन्द्रुक जस्तो देखिने बस्तु बोकेर हिड्ने , दोश्रो कप्राय अधबैसेहरू निधारमा पनियुँले डामे जस्तै राता डामहरु लिएर हिंडेका  । पछि अध्ययन क्रममा जानकारी पाएँ कि ती त चिनियाँहरूको परम्परागत उपचार बिधि रहेछन्। पछिल्लो समयमा चीनमा कोरोनाको उपचारमा पनि परम्परागत विधि प्रयाेग गरेको समाचार सुनेको थिए । हाम्रो नेपालमा आफ्नै परम्परागत घरेलु ओखतिहरुको सही प्रयोग गर्न सकिन्थ्याे कि भनेर जिज्ञासा लागि रह्यो। तर जहाँ जुनसुकै देशमा रहे पनि अहिलेको अवस्थामा आधिकारिक र स्वास्थ्यबिद्हरुको सल्लाह मानेर आफूलाई घर भित्र नै क़ैद गर्नु सबै भन्दा बुद्धिमानी काम हो। 

क्षितिज

बेलायत

झारखण्ड जम्शेदपुरकाे खबर

मास्टर्स पढाइको सिलसिलामा करिब डेढ वर्ष पहिले म भारतको उत्तराखण्ड आएको थिएँ । याे पश्चिम नेपालबाट नजिकै पर्छ। म करिब आठ महिना अघि नेपालको पूर्वीय सिमानाबाट नजिक पर्ने झारखण्ड राज्यको जम्शेदपुरको टाटा स्टील प्लान्ट आए। हाम्राे कम्पनीमा थोरै कामदार राखेर काम भने सुचारु राखिएको छ। बाँकी कामदारलाई घरबाट काम गर्ने व्यवस्था मिलाइएको छ। कसैलाई छुट्टी पनि दिइएको छ।

यहाँ स्कुल, कलेज, सपिङ मल, होटेल  रेस्टुरेन्ट, जिम खाना, रेल्वे सेवा, हवाइ सेवा सबै बन्द छन्।  रासनका दोकानहरु प्रत्येक दिन बिहान करिब तीन घण्टाका लागि खुल्छन्।  प्रहरीका  भ्यानहरु साइरन बजाउँदै गस्ती गरेको र खाद्यान बोक्ने ट्रेनको आवाज बाहेक अरु आवाज नसुनिएको धेरै भयाे। यसबेला यहाँ खाद्यान्न महँगाे भएको छ। तरकारी, माछा, मासु, अन्डाको भाउ बढेको छ। तर बढेको मूल्यमा गुनासो नगरि सामान किन्नु पर्ने वाध्यता छ।  कम्तिमा यति त उपलब्ध गराएका छन् भनेर।

म पनि अहिले कार्यालय गएकाे छैन। कम्पनी जान नपाउँदा रिसर्चको काम ठप्प जस्तै छ। यस्तो बेलामा बिरानो शहरमा एक्लै बस्दा घरपरिवारको खुब चाख लाग्दो रहेछ। हुन त घर जान समय नमिलेको पनि होइन । लकडाउन थोरै समयका लागि नै हुने हाेला जस्तो लागेर यतै बसेर कोरोना विरुद्दको लडाईं लड्ने विचार गरेँ। अहिले नेपाल-भारत सीमामा घर फर्कनेको बिचल्ली भएको सुन्दा एकातिर नरमाइलो लाग्यो भने अर्कोतिर  धन्न आफू जोगिएछु भन्ने पनि लाग्याे ।

त्यसो त दिनैपिच्छे घरपरिवार, आफन्तजन र साथीभाइसँग इन्टरनेटमा कल हुन्छ। तर पनि सँगै भएजस्ताे कहाँ हुनु। यस्ताे बेलामा अचम्मै न्यास्रो भने लाग्दो रहेछ। तर सकेसम्म मनलाई सम्हाल्छु। एकै ठाउँमा बसिरहँदा आलस्य हुने हुँदा कोठाभित्रै गर्न सकिने ब्यायाम पनि गर्छु। महामारीका बारेमा जानकारी लिँदा विश्वसनीय श्रोतबाट मात्र लिने गरेकाे  छु।  बाँकी समय ज्ञानगुनका किताब पढेर, राम्रा सिनेमा हेरेर  बित्छ।

अहिले विज्ञानले ठूलै प्रगति गरिसकेको छ।  संसारभरि विभिन्न रिसर्च संस्थामा बैज्ञानिकहरु कोभिड – १९ विरुद्द खोप बनाउन दिन दुई गुना रात चार गुना गरि कम गर्दै छन्। कति खोप परिक्षणमा पनि छन् । आशा छ छिट्टै नै कोरोना विरुद्दको खोप पत्ता लाग्नेछ र यो संसारभरि नै याे सजिलै पाइनेछ।

भूकम्प, बाढीपहिरो, युद्द, हिंसा, महामारी जस्ता घटनाहरु मानव जातिले सुरुदेखि नै भोग्दै र देख्दै आएको हो।  यसले अर्थव्यवस्था,  संस्कृति,  चालचलन, रितिरिवाज,  मूल्यमान्यतामा सानो वा ठूलो धक्का दिएर नै जान्छ। यस्तो आपतविपदको घडी भनेको समाजको ऐना हो । जसले हामी प्रत्येकको सामर्थ्य झल्काइदिन्छ।  हामीले यस्ताे बेला माया, सहृदयता, निस्वार्थपन जस्ता मानव धर्मलाई पालना गर्नु जरुरी हुन्छ।

बिबेक काफ्ले

कोहलपुर – बाँके

हाल: टाटा स्टिल कम्पनि जम्सेदपुर, भारत

कोरिया कथा

समय चक्रले आज मान्छेलाई भयभीत बनाएको छ। चितामा पुग्ने चिन्ता कतिसम्म कहाली लाग्दो हुने रहेछ भन्ने अनुभव गर्न पाइयो । जान्न पाइयो। मानव जातिले रोग, भोक, शोक सबै सिर्जना गर्यो। कल्पना गर्दागर्दै जहाज बनायो। चन्द्रमामा पुग्यो। तर याे सब बनाउँदा बनाउँदै पनि धनी र गरिब पनि बनाइ राख्यो। त्यही गरिबीको खाल्डो भित्र फसेर म दक्षिण कोरिया पुगेको हुँ। अहिलेको विश्व संकट कोरियामा भोग्दैछु।

व्यस्त समय, सफा र सुन्दर जता हेर्यो उतै मन लोभिने सुन्दरता देख्दा मैले मनमनै भने ‘आज भन्दा चार वर्ष अगाडि सोचेको थिएँ भाग्यमा भएरै मैले यो जुनीमा स्वर्ग देखेँ ।’ आफ्नो देशलाई धेरैले कविताका हरफमा स्वर्गको टुक्रा भनेर वर्णन गरेको रत्तिभर चित्त बुझेको थिएन त्यो बेला। अहिले लाग्छ म गलत थिएँ । आफ्नो देश जस्तो अरु केही नहुने रहेछ। संकटमा पहिलो सम्झना देशकै आउने रहेछ। घरपरिवारकै यादले सताउने रहेछ।

सुख र दुख नभइ जिन्दगी सायदै कसैको चल्छ। यता आएपछि मेरो पनि यस्तै रुपले जिन्दगी चल्दैछ । करिब २ महिना अगाडि आश्चर्यजनक तवरले सुनिएको शब्द ‘ कोरोना’ले भयभीत बनायो । त्यसको केही दिन पछि म कार्यरत कम्पनीको काम घट्दै गयो। रोग भन्दा नि बेरोजगार भइएला कि भन्ने चिन्ताले मन मडारियो। त्यसै ताका कोरोनाले कोरियाको थेगु सहरमा महामारीको रुप लिँदा मन एक किसिमले आतंकित भयो। दिनदिनै संक्रमितको संख्या बढ्दै जाँदा अनुहारमा पिडा लुकाए पनि मन हलुङ्गो हुने अवस्था थिएन । लाग्यो, पहिलो प्राथमिकता ज्यान नै हो। बाँच्नु पर्छ।

कोरियन सरकारले अपनाएको उच्च सतर्कताका कारण इटली, स्पेन, बेलायत, जर्मन, अमेरिकामा जस्तो महामारी नफैलिए पनि शान्तिको अवस्था अहिले पनि छैन यहाँ। कोरियावासी नेपालीलाई आफूखुसी आवतजावत गर्न मिल्ने वातावरण छैन। कोरियन नागरिकलाई पनि हाम्रै जस्तो हाे । अहिले त आफ्नै देशमा पनि कोराना संक्रमितको संख्या बढ्दै गएकाले आफ्नो भन्दा घरपरिवारको चिन्ता बढ्न थालेको छ । विकासको चुलीमा चढेको देशलाई त यतिसम्म अप्ठ्यारोमा पारिरहेको छ भने हाम्रो देशको हालत के होला! यहाँ साना तथा मझौला कतिपय कम्पनी बन्द नै हुन पुगे। हाम्रै दाजुभाइहरु पनि रोजगारी गुमाउने अवस्थामा पुगिसकेका छन्। बाहिर निस्केर सहजै अर्को ठाउँमा काम खोज्ने, बुझ्ने अवस्था छैन। उच्च सतर्कता छ । कोरियामा लकडाउन नै त गरिएको छैन।तर नागरिक चेतनाको स्तर राम्रो भएकाले एक हिसाबले देश आफैँ लकडाउन जस्तै छ भन्दा पनि हुन्छ।

नियमित काममा हामीले निस्किनु नै पर्छ। पूर्ण ठप्प बनाएर देश चल्ने अवस्था पनि छैन होला। कोरियन नागरिकको सिको गर्दै कोरियामा मजदुरी गर्ने अर्को देशका मजदुरले पनि आफूलाई सुरक्षित राख्दै आएका छन्। फुर्सदको बेला ‘लकडाउनमा नेपाल आज यति औं दिन’ भन्दा एक खालको चिन्ता मनमा आइहाल्छ । तर कोरोनाको प्रकोप हुँदा र अन्य अवस्थामा कोरियाली हाम्रो दैनिकीमा भने खासै फरक भएको छैन ।

भोजराज घोडासैनी

सुर्खेत

हाल: दक्षिण कोरिया

कर्फ्यु र कुबेतकाे फ्ल्याट

यहाँ कोठामै बसीरहँदा एक पटक सोचेको पनि हो इन्डियन वेब सिरिज जस्तै खालको यो फ्ल्याटको पनि कथा लेखौ ।फ्ल्याट भनेपछि तपाईंले सोच्नुहोला २ वटा कोठा, एउटा डाइनिङ्ग हल, चटक्क परेका सोफा आदि आदि ।

लकडाउन डायरी लेखेर पठाउनु भन्ने उहाँको त्यो आग्रहले मन त्यस्तै बनायो, जतिबेला कथा,कविता वा गजल नै भए पनि छापिन्छ कि भनेर क्याम्पसे जीवनमा पत्रिका कुर्दा हुने गर्थ्यो । र सधैं निरास हुनुपर्थ्यो । 

होइन ! यो चोटि गजवले लेख्छु, प्रकाशन होस् वा नहोस्, हेर्नेकथाको टिम चै प्रभावित होस्। मनले यही सोच्यो । त्यही भएर युटुबमा अर्को फिलिम सर्च नगरीकन कोल्टे फर्किएर सुते । मनमा अनेक कुराहरू खेल्न थाले । लकडाउनको बेला त्यस्ता के घटनाहरु भए मेरो जीवनमा जो म हेर्ने कथामा साझा गर्नसक्छु ? यही प्रश्नले बारम्बार कोल्टे फेरिरहनु पर्यो । 

खाट खत्र्याक खुत्रुक गर्यो ।  दुइतले खाट । म भन्दा माथि सुत्ने साथीको ड्युटी जाने बेला भएछ । पहिला पहिला यसरी ऊ उत्रिदा म जहिल्यै आत्तिन्थे । भूकम्पको बेला नेपालमै भएको हुनाले होला। यस्तो पनि भएको छ कि आफ्नै नाडी धड्किएको सुन्दा निद्रामै जुरुक्कै उठिएको पनि छ ।  अब त साँच्चै भुइँचालो नै गयो भने पनि साथी ओर्लिएको होला भनेर सुत्छु कि !

कुवेतको रिगाइ। मार्च १५ देखि काम बिनाको बसाइ । मार्चको त सेलरी आयो ।साथी क्यासियर थियो।कुवेत सरकारले ३ वटा घना बस्ती भएका ठाउँमा आजबाट २४ घन्टे कर्फ्यु लगाएपछि त्यहाँ भएका सेल्स कर्मचारी निस्कन नपाउने भए। त्यही भएर होला अस्ति म गए जस्तै आज साथी गएको छ। अनलाइन सामान प्याकिङ्ग गर्न वेयरहाउसमा । 

उ गएपछि नै हो भन्ने लाग्छ। सिन्धुली हुँदै पूर्व जाने बाटोमा छोरीलाइ बोकेर र कहिले हिडाउँदै एक जोडी दम्पति हिडिरहेका थिए । म उनीहरूको भिडियाे बनाउँदै थिए । मैले बिद्या चापागाइकै शैलीमा उनीहरूलाई सोधे “अनि सरकारले तपाईंहरु जस्तै मजदुरहरुको लागि भनेर राहत बाड्दै छ त? तपाईंहरु चै किन चटक्कै छाडेर हिड्नुभाको ?” उनीहरुको कुनै उत्तर आएन। अनुहारमा त्यही दिक्दारी र निरासापन मात्रै छचल्कियो । तर यता मेरो मोबाइल भ्या भ्या गर्यो । झल्याँस्स ब्युँझिए। घरबाट बुढीको फोन आको रहेछ । एकछिन त सचेत हुनलाई नै समय लाग्यो ।सपना कि बिपना । म नेपालमै हिड्दै छु कि कुवेतमा ओछ्यानमा छु भन्नेमा नै द्विबिधा भयाे। घडी हेरे बिहानको नौ बज्दै रैछ । झ्यालको पर्दा तानेको बाटैभरि गाडीको पार्किङ्ग । र मन कुटुक्क भो म कुवेत मै त छु ।

त्यो एउटा इन्स्टाको पोस्टले कति गहिरो प्रभाव पारेछ भने सपना पनि देख्न थालेछु । त्यही भएर त म हेर्नेकथा त्यति हेर्दिन । बिद्या चापागाईंले त्यस्ता वास्तविक कथा निकाल्छिन हेर्दा हेर्दै कतिखेर आखाबाट आँसु झर्छ थाहै हुन्न । कथामा नदेखिएको अर्को पात्रसँग यस्तो रिस आउँछ सायद अगाडि भए,थप्पड लाइदिन्थे,जस्तो बाउको कथा । 

यहाँ कोठामै बसिरहँदा एक पटक सोचेको पनि हो इन्डियन ‘वेब सिरिज’ जस्तै खालको यो फ्ल्याटको पनि कथा लेखौ । चाहे त्यो सम्भव होस् या नहोस् । सिर्जनात्मक रुपमा दिन बित्ने त थियो । तर कथा कसरी सुरु गर्ने भन्नेमै अड्केर त्यो थाँती राखे । र निरन्तर युटुब हेराइमै बित्न थाल्यो दिन । ड्युटीमा हुँदा पो सजिलो हुँदोरहेछ त । सबै आ आफ्नै समयमा निस्कदा रहेछन् । फ्ल्याट भनेपछि तपाईंले सोच्नुहोला २ वटा कोठा, एउटा डाइनिङ्ग हल, चटक्क परेका सोफा आदि आदि । यो सोचाइ परिवर्तन गर्नुस एउटा फ्ल्याटमा ७ वटा कोठा सम्झनुस् । र एउटा कोठामा ३ जनाको दरले गर्दा लगभग २१ जना । धन्न ३ वटा कोठामा एक एक जना छन । २ वटा ट्वाइलेट भए पनि के भो र खाली नभएपछि । आफू परियो कस्तो भने पानी नखाउ जीउ कट कट खाने, पानी खाउ ट्वाइलेट गएको गएकै गर्नुपर्ने ।

एउटा  फेमिली मलावीको छ । उसलाई खाना बनाउन धेरै समय लाग्छ । झन्डै तीन देखि चार घन्टा।  उसले खाना बनाउँदै गर्दा किचनमा पुगियो भने किचनको हालत हाम्रो असारमा धान रोप्न ठिक्क पारेको गर्हो जस्तै भएको हुन्छ । अर्को फिलिपिनोको परिवार छ ।उनीहरू सफा र चिटिक्क पारेर सामान राख्नमा एकदमै सिपालु । सायद यो उनीहरुको जीन मै छ किनकी पूरा कम्पनिमा फिलिपिनोहरु मात्रै छन् जसले भिजुवल मर्चन्टाइजरको काम गर्छन । तर यी दुइटा फेमलीको टसलले हाम्रो निद्रामा भने असर गरिरहन्छ ।  कार्टुन सिरियल टम एन्ड जेरी जस्ता छन उनीहरु ।

हेर्ने कथाको आग्रह लकडाउन डायरी थियो । लेख्दै जाँदा के भैरहेको छ थाहा छैन । मार्च १४ सम्म अरु कम्पनिले रिटेल स्टोर बन्द गर्दैछन् भन्ने सुन्दा र हाम्रो कम्पनिका म्यानेजरहरु प्रति आवेग थियो । यिनीहरुले हाम्रो पसिना मात्रै चुस्न जान्दछन भन्ने लाग्दथ्यो । किनभने कुवेत सरकारले १२ मार्च देखि नै  सार्वजनिक बिदा घोषणा गरेको थियो । अन्ततः सरकारले कडा चेतावनी दिएपछि कम्पनिले अर्को सूचना जारी नभए सम्मको लागि रिटेल स्टोर बन्द हुने घोषणा गर्यो । यसरी दैनिक ड्युटीबाट छुटकारा पाउने हाम्रो चाहना पूरा हुँदै गर्दा के थाहा थियो र कोठामै रहिरहँदा कति मोनोटोनस होइँदो रहेछ भन्ने । 

बाहिर निस्कनै नपाउने त होइन । यहाँ निश्चित समयमा मात्रै कर्फ्यु हाे । औषधि पसल र ग्रोसरीका मार्केटहरु खुल्लै थिए । तर ट्याक्सी सेवा पनि बन्द गरेपछि चाहिँ जतिसुकै महँगो होस् त्यही सानो बकलामा ( किराना) भर पर्नु पर्या छ । यस्तै चल्दैछ यताको जिन्दगी !

देवराज निरौला 

शिव सताक्षी, झापा 

हाल कुवेत

मेराे दुई हप्ते क्वारेन्टाइन

मन बेचैनी छ के गर्ने कसो गर्ने मेसो पाइराखेको छुइन ।धेरै पछि दुई चार शब्द लेख्न मन लागेर मोबाईल कै किबोर्डमा हात चलाए। आज यहाँ आइपुगेको २५ दिन भयो । आउने बितिकै  दुई हप्ताको लागि क्वारेन्टाइनमा बस्नुपर्‍यो ।केही नरमाइलो भयो। यद्यपी फ्लाइटको थकानले २-४ दिन आराम गर्ने इच्छा भने मनमा थियो । दुई हप्ताको गुप्तबास यत्तिकै बित्यो। बिहान उठ्यो,नित्यकर्म गर्‍यो,चिया नास्ता खायो, youtube र फेसबुकमा  झुम्मियो । मन लागे खाना बनायो, खायो, मन नलागे त्यसै सुत्यो, यसैगरी बिते २ हप्ता ।

१५ दिनमा अफिस हाजिर भए। तर छुट्टी जानु भन्दा पहिले जस्तो गति र चमक थिएन काममा। सबै त्रसित जस्तो देखिन्छन् ।दैनिकी कार्यतालिका बिग्रिएको छ। कति बजे हिड्ने, कति बजे खाने, कतिन्जेल काम गर्ने केही ठेगान छैन । लगभग एक  हप्ता काम गरियो। तर विडम्बना फेरि यहाँ २४ घन्टे कर्फ्यु सुरु भएको छ । यो महामारीले विश्व हल्लाएको छ। दुनियाँ एकोहोरो भएको छ। अगाडिका दिन कसरी बित्ने हुन्! यी सधैं भेटिने मान्छे अब कहाँ पुग्छन् !आफ्नो काम के हुने हो अझै अन्यौल छ!

 सामाजिक दुरीको बाध्यताले गर्दा भिडभाड र कोलाहल भन्दा आजभोलि एकान्त पनि जिन्दगी हो भन्ने बुझाइ बढ्दै गएको छ ।मान्छेले गरेको प्रकृति प्रतिको अन्याय बढी भएको हो कि जस्तो पनि लाग्दैछ। तर हामीले नि जे जस्ताे भएपनि जिउन संघर्ष गर्नु डार्विनले प्रमाणित गरेको सिद्धान्त हो । आज विषम परिस्थिति भएपनि बिस्तारै यस माथि हाम्रो जित हुनेछ भन्ने हाम्रो दृढ बिश्वास छ । फेरि प्रकृतिले हामीलाई  स्वतन्त्र उसको काखमा खेल्न अधिकार दिनेछ,फूलहरु बगैंचामा मुस्कुराउने छन् , केटाकेटी निर्धक्क भएर बिद्यालय जान पाउनेछन् । काममा बिश्वास गर्ने मजस्ता सबैले आफ्नाे कर्ममा फर्कन पाउनेछन्।

यो सृष्टि फेरि निरन्तर चल्नेछ । सुन्दर आशा जिवित छ ।

शैलेष दाहाल 

चाँगुनारायण ३ भक्तपुर

हाल दमाम,साउदी अरब

आइसोलेसन वार्ड र मेरो साथी

“आजभोलि त अस्पताल जान पनि डर लाग्छ। तर अहिलेको अवस्था धेरै नाजुक छ। आफ्नो त फेरि पेशै यही, के गर्नु जानै पर्यो। अस्पतालको काम सकिएपछि बेलुकी घर जान झन् डर लाग्छ।”- उनले सुनाइन।

मेरो स्कुले जीवनदेखिकै साथी हुन् उनी। आजभोली गाउँघरकै स्वास्थ्य-चौकीमा कार्यरत छिन् ।

“आइसोलेसन वार्डमा १२ घण्टाको ड्युटीमा खटिएकी छु आजभोलि। वार्डमा बसेकाहरूले पनि जानाजान अटेर गर्छन। हामी एउटा कुरा सम्झाउछौँ, उनीहरू दशथरी कुरा सुनाउँछन्। गाउँघरका मानिसहरूलाई सम्झाउन बरू सजिलो छ, बाहिरबाट आएकालाई झन् गाह्रो हुने रैछ। फेरि यस्ताे बेलामा सम्झाउने पनि खै कसरी?”

केहीबेर कुराकानी गर्दा मलाई लाग्यो उनीसँग फुकाउने थुप्रै पिडाका पोकाहरू जम्मा भएका छन् हिजो-आज। तर मसँग भने सञ्चो-विसञ्चो सोध्ने र ‘आफ्नो ख्याल गर्नु है’ भन्नु बाहेक अरू केही हुँदैन। 

मेरो विवेकले आजसम्म कुनै पनि पेशालाई दर्जाको उपमा दिएको छैन। सबैको आ-आफ्नो महत्व हुन्छ, कुनै-कुनै बेला बस् परिस्थिति अनुसार पेशाको  सहभागिता अझ अब्बल हुनुपर्दछ। यतिबेला स्वास्थ्यकर्मीहरूको सक्रियताले हामी कयौँलाई राहत मिलेको छ।सारा दुनियाँले यो महामारीलाई विश्वयुद्धकै संज्ञा दिइरहँदा मैले पनि उनलाई सुनाए-

“यो युद्धमा हामीले जित्नै पर्छ र विस्वास गरौँ जित्ने पनि छौँ र अन्तत: यो जितको पहिले श्रेय तिमीहरूलाई नै जानेछ।” 

मैले थपेँ- ” कुनै दिन यस्तै विपदको घडीमा म अग्रपङ्तिमा उभिनु पर्यो भने आजको दिनलाई सम्झेर तिमी मेरो प्रेरणा हुनेछौ।”

आजभोलि स्वास्थ्य क्षेत्रमा लागेका मेरा थुप्रै साथीहरूसँग कुराकानी हुन्छ। उनीहरू अहोरात्र खटिइरहेकाे देखेकाे छु। मुस्किल समय त छ तर हौसलाको कमी भने पक्कै छैन। उनीहरूले आफूले पनि मुस्कुराउन बिर्सेका छैनन् र आफू नजिकै पल्टिरहेका बिरामीहरूको मुस्कान पनि ओइलाउन दिएका छैनन्।

विदेशमा भन्दा पनि हाम्रो हालको अवस्था हेरेर यहाँका अस्पतालमा काम गरिरहेका मेरा स्वास्थ्यकर्मीहरूलाई अझ बढी सन्ताप छ। यो युद्ध त चलिरहेको छ, उनीहरूलाई धेर-थोर हतियार हातमा थमाइएका पनि छन् तर दुश्मनले आक्रमण गर्दा चाहिँ छेक्ने के ले त?

वीर-गाथा लेख्दैछन् मेरा सबै स्वास्थ्यकर्मी साथीहरू। मेराे स्यालुट छ उनीहरुजस्तै सबै स्वास्थ्यकर्मीहरुलाई ।

“आज बत्तिको आभामा पहिलो अनुहार तिम्रो छ।

  सङ्कटले मनै छोपेनि उज्यालो मुहार तिम्रो छ।।”

(मेरो साथी जस्तै सम्पूर्ण स्वास्थ्यकर्मीहरू प्रति समर्पित)

basnetmegh25@gmail.com

मेघ बस्नेत

गुल्मी

(हाल नयाँ दिल्ली, भारतबाट)

…र त्याे फोन कहिल्यै आएन

खासै लेख्न जान्ने मान्छे त म हाेइन, तैपनि याे पाली केही लेखाैँ लेखाैँ लागेर लकडाउन डायरी लेखेकाे छु ।

म यति बेला आफ्नाे देशदेखि टाढा अस्ट्रेलियाबाट याे डायरी लेख्दैछु । मेरो घर गोर्खा जिल्ला भएपनि हाम्राे परिवार पोखरा बसेको लगभग १२ बर्ष बढी भयो । हामी चार जनाकाे परिवार । म घरकाे कान्छाे छाेरा। म यता आएकाे एकबर्ष भयाे । दुख गरेरै मलाई बुवाआमाले अस्ट्रेलिया पठाउनुभएकाे हो । त्यसैले यता राम्राे कमाइ गरेर उहाँहरुलाई सुखसँग राख्ने मेराे एउटै चाहना हाे। यही कुरा मनमा राखेर म दिनरात काम गरिराखेकै थिएँ । यत्तिकैमा चीनबाट सुरु भएकाे काेराेना भाइरसकाे महामारी म बसेकाे सहरसम्म आइपुग्याे । यहाँका होटेल, रेस्टुरेन्ट, बार तथा अन्य सार्वजनिक स्थलहरु बिस्तारै बन्द हुँदै गए। मैले एउटा होटेलमा सफाइकाे काम गर्थेँ । सबै होटेलहरु बन्द भएपछि मेरो काम पनि बन्द भयो ।


काम बन्द भएपनि मसँग तीन चार महिना खान बस्ने पैसा थियोे। त्यसैले म घरमै बस्न थालेँ। घरमा बस्दा खासै काम नहुने भएकाले म हेर्ने कथाका पुराना भागहरु हेरेर दिन काट्ने गर्थेँ । काम नभएकोले गर्दा घरमा दिनमै दुईतीन पटक कुरा हुने गर्थ्यो आमाबुवासँग पनि । कुरैकुरामा घरगाउँलेका हालखवर पनि गर्थ्याैँ । एकमहिनादेखि चितवनमा रहनुभएका दाइसँग पनि
इन्टरनेटमै कुरा हुन थाल्याे । दाइ र मैले अर्काे बर्ष एकै लगनमा बिहे गर्नेसम्मकाे कुरा भयाे। बिहेकै लागि गाउँमा हजुरबुबा हजुरआमाले खसी पालेर राख्ने पनि हुनुभयाे । त्याे दिन यति कुरा भएपछि बुवाले भाेलि कल गर्छु भनेर कुराकानीकाे बिट मार्नुभयाे ।

विहान व्युझँदा घरबाट थुप्रै मिसकल आएकाे रहेछ । निद्रामा मैले केही थाहै पाइन । ब्युँझिएपछि कल गर्दा कसैले उठाएनन् ।म घरबाट बुवाको फोन आउने प्रतिक्षामा थिए तर बुवाको त्याे फोन कहिल्यै आएन । बुवा कहिल्यै फोन गर्न नमिल्ने ठाउँमा गइसक्नुभएको रहेछ ।हिजो राति त्यति रमाइलो कुरा गरेर छुटि्एका हामी बिहान पनि हुन नपाउँदै उहाँले बाटो फेर्नुभएछ ।

यही खबर दिन दाइले रातमा बारम्बार कल गरेको रहेछ । बुवालाई हृदयघात भएर उत्तिखेरै बित्नुभएकाे बल्ल कुरा दाइको मेसेज हेरेर थाहा पाएँ । यसमा मैले के प्रतिक्रिया जनाउने ? म बस राेइमात्रै रहेँ । पछि दाइसँग फाेनमा कुरा हुँदा न उहाँ बाेल्न सक्नुभयाे न म नै । आमाकाे मन, रुँदै तुरुन्तै नेपाल आउन भन्नुभयाे । त्यसपछि नेपाली दुतावासमा फोन गरेर फ्लाइटबारे सोधेँ । तर अप्रिल १८ मा मात्र फ्लाइट भएकाे र त्यसकाे पनि कुनै टुङ्गाे नभएकाे प्रतिक्रिया पाएँ । स्थिति सामान्य हुन्थ्याे भने म अहिले नै घर पुग्ने थिएँ। तर याे सङ्कटका बेला म घर फर्किन सकिनँ । आफ्नाे प्राणभन्दा प्याराे बुवाकाे शव समेत मेराे अनुपस्थितीमै सदगद गर्नुपर्याे ।


म अहिले यतै नुन बारेर बुवाकाे किरिया बसेकाे छु । रुँदारुँदै कहिलेकाहीँ साेच्छु बुवाकाे शरीरमात्रै बितेर गएकाे हाे सबै सम्झनाहरु त हामीसँगै छन् । जति जे भनेर बुझाउन खाेजेपनि याे मनले मान्दैमान्दैन । आज पनि म बुवालाई सम्झिएरै याे डायरी लेखिरेहेकाे छु ।

आई मिस यु ड्याड ।

हजुरले माथिबाट हामीलाई हेरिरहनु भएको त होला नि है ड्याड ?

I love you Dad.❤️❤️❤️😂😂❤️❤️❤️

विशाल भट्ट

अष्ट्रेलिया

सेल्फी र समाचारकै लागि राहत

 चैत २९

बिहानको ६:३० भएको थियो। मोबाइलमा घण्टी बज्यो ।आँखा मिच्दै फोनमा उठाए।

फोन उठाउने बित्तिकै उहाँले भन्नुभयो ‘तपाईँ रेडियो हो?’

मैले ‘हैन’ भन्न नपाउदै उहाँले थप्नुभयो ‘मैले राहत वितरण गरेको थिए। सात बजेको समाचारमा बजाइ दिनुपर्यो।’

मैले उहाँको परिचय माग्दै साेधे ‘के राहत वितरण गर्नुभयाे ? अनि कसलाई हो?’

उहाँले आफनो परिचय दिदै भन्नुभयो ‘मैले मेरो गाउँमा कुखुरा फार्ममा काम गर्ने तीन जना भाइहरुलाई एक/एक थान कपडाको मास्क दिए।’ उहाँले थप्नुभयाे – ‘मास्क अभाव भएको बेलामा मैले २५/२५ रुपैयाँमा खरिद गरेर ल्याएर उनीहरुलाई दिएको छु । सेल्फी फोटो तपाईको फेसबुकमा पठाइ दिएको छु । अनलाइनमा पनि समाचार पोष्ट गरिदिनु है । वितरण चाहिँ हिजो गरिएको हो। मिलाएर रेडियाेमा समाचार पनि बनाइ दिनुहोस है दिदी ।’

मैले भने ‘भाइ मास्क दिनुभएछ। राम्रो गर्नुभयो। तर याे कसरी समाचार हुन्छ ?’

उहाँले भन्नुभयो ‘दिदी मास्क वितरण गरेको पनि समाचार नहुने। तपाईंले जसरी पनि मेरो समाचार लेख्नै पर्याे।’  

फोन राखे र उहाँले पठाएको फोटो हेरेँ। तीन जनाले मास्क लगाएको र एउटा मास्क दिदैँ गरेको फोटो थियो। लकडाउन यता राहतको नाममा एक थान साबुन, एक केजी नुन, एक लिटर तेल लगायतका सामग्री वितरण गरेको फोटो दैनिक रुपमा समाचार बनाउनका लागि सामाजिक सञ्जालमा आउने गरेका छन् । कसैले समाचार बनाउन पटक–पटक अनुरोध गर्नुहुन्छ । कोही चाहिँ ‘हामी पनि तपाईलाई चाहिने मान्छे हो’ समेत भन्नुहुन्छ । 

लकडाउनको बेला दैनिक श्रम गरि खाने नेपालीलाई यतिबेला रोगको भन्दा भोकको चिन्ता बढी छ ।विभिन्न व्यक्ति र संस्थाको नाममा यतिबेला नाम कमाउने र सेल्फी खिचेर समाचार बनाइदिनुस् भन्नेहरुलाई हेर्दा पनि लाजै लाग्छ । नामकै लागि एक पिस मास्क दिएर पनि दश जनाले फोटो खिचेर ‘समाचार बनाइ दिन पर्यो । यो फोटो अनलाइनमा पनि पोष्ट गरिदिनुन’ भन्दै फेसबुकमा पठाउनेहरूलाई…. ! बाँकी कुरा मैले भन्नै पर्दैन । सामजिक संजालमा छ्याप्छ्याप्ती छन्। 

२०७२ साल बैशाख १२ गते गएको भूकम्पका बेला बाँडिएको राहतको भन्दा भद्दा र विजोकलाग्दो व्यवहार यस पटक देखे मैले । भाइरसको पीडाबाट त्रसित भएर ‘गाउँ जान नपाइ न सहर न गाउँ’को अवस्थामा सहरको कुनामा बसिरहेकाहरू देख्दा मन अडिदैन। यस्तो पीडा र महामारीको समयमा आफूलाई ‘विशिष्ट’ देखाउन खोज्ने यस्ता स्वार्थी प्रवृत्तिका मान्छेहरूको समाचार यी हातहरूले कहिल्यै लेख्न नपरोस् । 

तारादेवी बस्नेत 

दोलखा

रेडियो शैलुङ

सेल्फ क्वारेन्टाइन

करीब ३००० किलोमिटर हवाई दुरी पार गर्दै युएइबाट फ्लाई दुबईको प्लेनले मातृभूमीको एयरपोर्ट ल्याण्ड गर्दा मनमा एकप्रकारको छुट्टै आनन्द आउथ्याे । तर, यो पटक त्यस्तो भएन । डर र त्रास थियो मनमा । ३ बर्षे विदेश बसाइमा यो चौथो पटक काठमाडौँ ल्याण्ड गर्दै थिएँ सधैँकाे भन्दा बिलकुलै फरक अनुभव बाेकेर।

मैले ल्याण्ड गर्ने बखत, कोरोनाको कहरले कयौँको रहर मेट्दै शून्य बनाएको विश्वका अरु सहरहरुजस्तै शिथिल भने भइसकेकाे थिएन काठमाण्डाैँ । अरु कयन सहरहरुकाे तुलनामा आज पनि यहाँकाे स्थितीलाई भयवह भन्न मिल्दैन । तर पनि मनमा एक किसिमकाे त्रास थियो। सरकारले घोषणा गरिसकेको थियो कि, काम नपरे स्वदेश नआउनु भनेर । मैले साेचेकाे पनि थिएँ, घर  नजाउँ कि भनेर ।  दुई महिना पहिले नै पास गरिसकेकाे छुट्टी र १ महिना अघि बुक गरेको टिकटले जाउँ जाउँ भनि रहेको बेला, मनले कहाँ मान्दो रहेछ र! आफ्नो देश कहिले जान पाइएला भन्ने भैसकेको थियो। 

नभन्दै चैतको पहिलो हप्ता मेरो काठमाडौँमा पाइला टेक्ने समय आयो। सधैँ सानी छोरी लिन आउने एयरपोर्टमा यसपाली नआउ भनेको थिएँ ।

काठमाडौँ टेकेको दिनदेखि  नै सेल्फ क्वारेन्टाइनमा बसिरहेको बेला मैले मेरो सानो छोरीलाई अङ्गाल्न पाएको थिइँन। अवस्था र उपयोगिताअनुसार आफूलाई परिवार र समाजिकरुपमा दुरी कायम गरि नै रहेँ। उही बेला दुबइस्थित कार्यालयबाट कोरोना नभएको रिपोर्ट मागेपछि मलाई समस्या भयो । आफूमा कुनै समस्या नभएपनि रिपोर्टको लागि स्वाब दिन टेकु अस्पताल गएँ । परीक्षापछिको नतिजाले छटपटी पारे झै मलाई कुनै समस्या नभएपनि रिपोर्ट के आउने होला भनेर मनमा डर लागिरह्याे । रिपोर्टको लागि त्यहीको डाक्टरले व्यक्तिगत नम्बर दिनुभएको थियो । मैले २४ घन्टामा करिब ५ पटक कल गरेँ । मेरो रिपोर्ट न्युट्रल आएछ। फेरि दिनु पर्छ भन्नुभयाे ।अब भने आफूलाई एक प्रकारको डर उत्पन्न भयो। केही नभएपनि रिपाेर्ट किन त्यस्तो भयो ? भनेर रातभरि मनमा चस्का पसिरह्यो। फेरि भोलिपल्ट नै  स्वाब दिन गएँ । पर्सिपल्ट रिजल्ट आयो नेगेटिभ ।  मनमा आनन्द भयो। बल्ल सन्तुष्टिको सास फेरेँ।

मेरो लकडाउन त म नेपाल आए देखि नै सुरु भएको थियो किनकि मैले अनावश्यक काममा यताउता हिँडडुल गरेको थिइँन। सरकारले भने म आएको केही दिनमै लकडाउन गर्याे। लकडाउन र कोरोनाको प्रभाव नभएको भए धेरै कामकुरा गरौँला भनेर लामो बिदामा आएको थिएँ म । अहिले त यहाँ घरमा बसेको पनि २९ दिन भैसक्यो।

आजभोलि भने लकडाउनमा सानी छोरीसँग खेल्ने,कविता लेख्ने,फिल्म हेर्ने, समाचार हेर्ने गरेरै बिताएको छु। गाउँमा आमाबुवा भेट्न जाने मन भएपनि  एकप्रकारको डर र त्रासले हिँड्न सकिरहेको छैन । झन् अहिले त सम्भावना पनि छैन।फोनमै गफ गरेर चित्त बुझाइरहेको छु।आजभोलि  यसो वरिपरि मान्छेको भिड देख्दा नि डर लाग्छ।  दुबइमा लक डाउन तोड्दा जरिवाना तिराएकाे देखेर आएको म लकडाउनका बेला काठमाडौँबाट सयाैँ मानिसहरु बाहिरिदाँ छक्कै परेँ । जेहाेस म चाहिँ सरकारकाे निर्णय पालन गरी बुवामालाईसमेत भेट्न गएकाे छैन । म सबैले लकडाउनकाे पालना गरोस् भन्ने चाहन्छु । अनि सरकारले पनि विपन्न परिवारलाई केही व्यवस्था गरोस्।

अब छुट्टी पनि सकिन लाग्यो । देशमै के गर्ने ? मैले मेसाे पाउन सकेकाे छैन । स्नातकोत्तर सकेपछि बिदेसिएको म, अब उडान खुलेपछि फेरि फर्किने कि ? नेपालमै बस्ने ? दोधारमा छु।

जनक गोले 

सिन्धुपाल्चोक

 हाल: हाडिगाउँ काठमाडौ ।