सानी नानीकाे अनाैठाे बानी

भनिन्छ, संसारमा सबैभन्दा ठूलो कुरा भनेको स्वास्थ्य हो, स्वास्थ्य शरीर हो। र यही शरीरलाई कोरोना (कोभिड—१९) भाइरसबाट टाढा राख्न आज हामी आफूलाई घरभित्र बन्द गरेर बाध्य छौं। म पनि बन्द छु यो चार पर्खाल भित्र, तर पनि बारम्बार आइरहने अनेकौं समाचारहरुले मनभित्र त्रासलाई बास बसाउनबाट भने रोक्न सकिरहेको छैन। यही लकडाउनको समयका केही भोगाइहरू ।

स्वतन्त्रता
हामी चिडियाखाना जान्छौं, थुनिएका जनावर हेरर रमाउन हैन त ? बाटोमा हिँड्दा कति कुखुरा तथा अन्य जनावरहरू एकै ठाउँमा कोचिएर गन्तव्यतर्फ लाग्दै गरेको दृष्य पनि हामी सजिलै हेरेर हिड्छौं। यो त भयो टाढाको कुरा, हामी आफ्नै घरमा बर्षौदेखि एउटै खोरमा सिक्रिले बाँधेर पालेको कुकुरलाई हेरेरै बुझ्न सक्छौं, कि स्वतन्त्र बाँच्ने चाहना सबलाई हुन्छ। केवल ६० दिन आफूलाई बन्द गराउनुपर्दा हामी भित्रै देखि आत्तिएका छौं, तड्पिरहेका छौं ।

त्रास र जिम्मेवारी

म काठमाडौंकै एक रेडियो स्टेशनमा टेक्निसियनकाे रूपमा काम गर्छु। म आफ्नो काम रमाएर गर्छु। यो लकडाउनको समयमा पनि अफिस कार्ड गलामा भिरेर म आफ्नो कार्यक्षेत्रमा जाने गर्छु। लकडाउनकै प्रभाव भनौं सडकमा प्रहरीको समूह चेकिङमा व्यस्त देख्ने गर्छु, कतिपय अवस्थामा मलाई सम्झाउनुहुन्छ, अत्यावश्यक छैन भने नहिड्नुहोस् भन्नुहुन्छ।

बाबा बारम्बार काममा नजान सम्झाउनुहुन्छ, भिडभाडसँग डराउनुहुन्छ। हस्पिटलमा यति संक्रमित भेटिए उति संक्रमित भेटिए भन्ने खबरले रेगुलर चेककअपमा जान समेत डराउनुहुन्छ, अस्पतालसँगै डराउनुहुन्छ ।

तरकारी लिन बजार निस्किँदा देखिने प्रत्येक मान्छेसँग शंका लाग्छ। घर पस्नु अगाडि हात मिचिमिचि धुन्छु अनि ढुक्क हुन्छु कोरोनालाई बाहिरै फालेँ भनेर ।

सबैभन्दा ठूलो रोग ‘भोक’ लकडाउनको समयमा घर जान नपाएका, दैनिकी ज्यालादारी काम गरेर पेट पाल्नु हुने मान्छेहरु सबैभन्दा पिडित देखेँ। टोलकै दाजुहरूले यसप्रकारका मान्छेहरूको लागि साँझको एक छाक निःशुल्क खाना खुवाउने कार्यक्रम सुरु गर्नुभयो । अनि लागेँ म पनि स्वयंसेवकको रूपमा साथ दिन। 

त्यहाँ देख्थेँ, सैयौको संख्यामा आउने मान्छेहरू। मैले एउटी सानी नानीलाई नोटिस गरेकी थिएँ। उमेरमा ५/६ वर्षकी मात्रै होलिन्। तर ४ देखि ५ पटकसम्म खाना थपेर खान्थिन्। मलाई अनाैठाे लाग्थ्याे। त्यसैले एकदिन मैले सोधेँ- ‘यति धेरै खाना एकैपटक खान गाह्राे हुन्न?’ उनले भनिन- ‘दिदी घरमा खाना छैन, अब एकै पटक भोलि बेलुका खाने हो, त्यो बेलासम्म भोक लाग्छ नि त।’

साबित्री महर्जन

ढल्कु, काठमाडौं

 

म एम्बुलेन्स चालक

कक्षा १० को परीक्षामा बिज्ञान बिषयमा  एउटा यस्तो प्रश्न आउँथ्यो कि यति सानो सियो पानीमा डुब्छ तर यति ठूलो जहाज किन डुब्दैन भनेर। अनि म सबै भन्दा अगाडि हत्तपत्त उत्तर दिन्थे कि जहाज पानीमा डुब्नको लागि बनाकै हैन त कसरी डुब्छ! ….. त्यसैले होला बिज्ञान विषयमा मेराे नम्बर सधै रातो घेरा भित्र हुन्थ्यो। त्यत्तिका बर्ष घोकेर त जान्न नसकेको नाथे म, यो भाइरसका बारे कसरी के बुझ्न सक्नु र !

जीवनको पहिलो अनुभव हाे याे लकडाउन। संसार रोइरहेको यो समयमा तितो अनुभव बटुल्दै म एउटा ड्राइभर भएको हैसियतले आफ्नो जिम्मेवारी निभाउनु पर्छ भन्ने सोचेर एम्बुलेन्स चलाउने निधो गरेँ।

आफ्नो जिल्ला काभ्रेमा भएको व्यवसाय केही दिनको लागि बन्द गरेर केही विशेष काममा पूर्व जिल्ला मोरङ आइपुगेको तीन दिनपछि लकडाउन सुरु भयो। यसकाे पीडा त आफ्नो ठाउँमा छ जेनतेन म इटहरी पुगे। त्यहाँ गएर आफ्नै दाइकोमा बसेँ।त्यति नै बेला मैले साेचेँः अब मैले देशको लागि केही गर्नु पर्छ । अनि निर्णय गरे अब volunteer गर्छु । के गर्ने भन्दा दाइसँग सल्लाह गरेर volunteer एम्बुलेन्स चलाउने निधो गरेँ। मलाई लाग्छ मेरो त्यो निर्णय सजिलो थिएन चुनौतीपूर्ण थियो।परिवारको एक्लो छोरी, यो कुराले परिवारका सबै सदस्यलाई हैरानी भयाे। उनीहरु डराएः अब छोरी मर्ने भो भनेर। तर मेरो आत्माले हरेस खाएन। एम्बुलेन्स चलाउन सुरु गरे ……

सुरुका दिनहरुमा दिन रात भोक तिर्खा केही नभनि बिरामी ओसारपसार गर्न थालें। सबै हस्पिटलले बेडहरु रित्याउँदै थियो। सवारी साधनको नाममा एम्बुलेन्स मात्र थियो।बिरामीहरु साधन नपाएर अलपत्र थिए। एकै चाेटी २/३ जना बिरामी पनि पुर्याएँ।

कसकाे कर थिएन। मेरो रहर थियाे ‘सेवा नै धर्म हो’ भन्ने लाग्यो। लकडाउनका सुरुका दिनहरुमा त दिन रात एउटै लाग्थ्यो निन्द्रा, भोक, तिर्खा केही भनिन। सबै बजार बन्द। यो दुनियाँमा अब केही रहँदैन जस्तो बिरानो, सबै बन्द …..

कहिलेकाहीँ लाग्थ्यो आफू पनि मरिने हो कि। त्यसैले सेवासँगै सुरक्षाको माग पनि गर्याैं। तर बिडम्बना दिन, हप्ता, महिनौं बित्दा पनि नसुन्ने हाम्रो बहिरो सरकारसँग हार मानेर अहिले बर्सातका बेलामा बाईकमा लगाउने रेनकाेट लगाउन थालेकाे छुँ। त्यसले हुने त केही हैन तर पनि मनको सन्ताेक …..

पूर्वकाे यो तातो घाम, अनि त्यो रेङकोट, मुखमा मास्क, हातमा ग्लोब्स, आँखामा चस्मा, टोपी यो शरीरले कत्ति धानोस्। कहिले कहिले गाह्रो भएको महसुस हुन्छ। हत्केलामा उठेका फोकाहरु फुट्न थाल्याे तर मन फुटेको छैन ……

चाउचाउ र पानीको भरमा पूर्व, पश्चिम, उत्तर, दक्षिण दाैडिरहेका छन् मेरा लकडाउनका दिनहरु। यी दिनहरुमा मैले देखेका दृश्यहरु कयौं गुना पिडा दायक छन्। म देख्नेलाई त यति पीडा हुन्थ्यो भने भोग्नेलाई के होला! आतेस लाग्छ त्यो भन्दा अर्को बिकल्प केही थिएन र छैन मेरो ……!!

पूर्व देखि पश्चिम काठमाडौँसम्मको यात्रामा मैले ५/७ कार्टुन पानी सकाउँथे। त्याे आतेस लाग्दो यात्रामा मरेँ पनि आफ्नै परिवारसँगसँगै मर्छु भनेर कलिला दुधे बालक बोकेर चप्पल फटाउँदै त्यो रापिलो घाममा नचालिएका पाइलाहरु अगाडि बढाउँदै थचक थचक पर्दै अगाडि बढिरहेका यात्रुहरु देख्दा मन रुन्थ्याे। ती यात्रुको सास्ती, बच्चा च्यापेर हिंडेका आमाहरुलाई देख्दा आफ्नो एम्बुलेन्समा राखेर केही दुरी भएपनि छोट्याइदिम् कि जस्ताे पनि लाग्ने। तर म लाचार थिएँ। मैले त्यसाे गर्न मिल्दैनथ्यो। त्यसैले एक बाेतल पानी दिएर आफ्नै रफ्तारमा दाैडिन्थे। मेराे सरकारले समेत गर्न नसकेको काम म कसरी एउटा एम्बुलेन्स volunteer ले के गर्न सक्थे र ……

देश अन्यौलमा पर्दै गर्दा, म पनि अन्यौलमा पर्दै गएकी छु। आजभोलि मलाई मात्र हैन, हामी एम्बुलेन्स चालकलाई हेर्ने दृष्टिकाेण पनि फरक भाको छ। समाज, आफन्त परिवार नै हामीसँग कोरोना भाइरसको पोको छ जस्तै गर्छन्। नजिक हुन र बोल्न त के, हेर्न पनि डराउँछन्। आज भोलि त परिवारले पनि घर नआए हुन्थ्यो, बाहिरै बसे हुन्थ्यो जस्तो गर्छन्। त्यसैले पीडा हुन्छ। कहिलेकाहीँ यस्तो लाग्छ, हाम्रो सरकारले हामीलाई पनि केही व्यवस्था गरिदिएको भए आज यो समस्या भोग्नु पर्दैन थियो। आखिर बिरामी छुनु पर्ने डाक्टरले भन्दा पहिला हामीले नै हो नि हैन र ….

तर म हार मान्ने मान्छे हैन। सास रहुन्जेल सेवा नै गर्छु भन्ने प्रण गरेकाे छु। त्यसैले अगाडि बढिराको छु। अरुलाई गुनासो गर्न नसके पनि हेर्ने कथालाई मनकाे कुरा भन्न पाएकी छु। त्यसमै खुसी छु ……..

यसमा फेरि पीडामात्र हैन कत्ती खुसीहरु पनि लुकेको छ। किनकी म खुलेर बाहिर हिड्न पाएकाे छु। कोही साथीहरुलाई समस्या परे आफै पुगेर सहयोग गर्न पाको छु। गरेको पनि छु।

दुधै दुधले नुहाएको मान्छे त काे नै छ र!  तर पनि म पनि बाँच्छु अनि मेरो देशको जनतालाई बचाउँछु भन्ने अठोट छ। कत्ति समाचारहरुमा पढ्छु , एम्बुलेन्स ड्राइभरले बिरामी बोक्न मानेनन् भन्ने। यदि त्यस्तो कहीँ कतै छ वा साँचो हो भने मलाई सम्पर्क गर्नुस्, म जसरी पनि उहाँहरुलाई सहयाेग गर्न तयार छु।

आज भोलि अलिक फुर्सदिलाे भाको छु म पनि। अस्पतालमा बिरामी खासै जान चाहदैनन्। अनि अस्पतालले लिन पनि मान्दैन। त्यसैले आज समय मिलाएर यो डायरी कोर्न मन लाग्यो।

अन्तमा म मेरा एम्बुलेन्स चालक साथीहरूलाई यो भन्छु कि ‘साथी हो, घाम पानी हावा हुरि केहीको प्रवाह नगरी हाम्रो सुरक्षामा खटिएका हाम्रो प्रहरी साथीहरूलाई आफूसँग भएको मास्क, ग्लोब्स र पानी दिने गर्नु होला। हाम्रो भन्दा धेरै पीडा उनीहरूलाई छ। म किन यसो भन्दैछु भने हामी त हरेक अस्पतालमा पुगेर जसरी पनि किन्न सक्छौं। तर उहाँहरुलाई पैसा भएर पनि किन्न गाह्राे छ। सबै भन्दा ठूलो कुरा त हामी एक अर्काको परिपूरक भएर बाँच्न सिकौं। मरेर लाने के नै छ र ! मेरो एम्बुलेन्समै मरेकाहरुले पनि केही लगेनन्। भोगाइ यस्तै छ, धेरै छ ……

बाँचेछु भने अर्को भेटमा धेरै लेखौंला।

लक्ष्मी मगर

काभ्रे

‘तारा’ र मेरी हजुरआमा

विश्वका अधिकांश मुलुकले कोभिड-१९ सॅंग जुध्दनु परेको छ। धेरै मुलुकले यस महामारीको फैलावटलाई न्युन राख्न आफूलाई लकडाउनमा राखेका छन्। हामी नेपाली पनि यस महामारीबाट कहाॅं बच्न सक्छौॅं र? कर्म अनुसारको फल भने जस्तै आज विश्वलाई वातावरणले ठूलो चुनौती दिएको छ। त्यसको स्वरूप हो कोभिड-१९ र यसबाट बच्न अरू मुलुकले जस्तै नेपालले पनि आफूलाई लकडाउनमा राखेको लगभग दुई महिना भइसक्यो। 

लकडाउनको यस समयलाई कसैले आफूलाई कृषिमा व्यस्त राख्नु भएको छ भने कसैले सामाजिक कल्याणकारी कार्य गर्दै आउनु भएको छ। त्यस्तै म एक विद्यार्थी भएका कारणले मैले यस लकडाउनमा आफूलाई विभिन्न काममा व्यस्थ राखेकी छु। लकडाउनका सुरूका दिनमा त मलाई पूरा स्कुलको समयको एक महिने लामो दशै-तिहार बिदा भएको अनुभूति भइरहेको थियो। त्यस ताका मैले खाने, फिल्म हेर्ने, नयाॅं-नयाॅं परिकार पकाउने, सुत्ने यस्तै कार्यमा व्यस्त थिए। लकडाउनको समय जब बढ्दै जान थाल्यो तब संक्रमितको संख्या पनि बढ्दै जान थाल्यो। यस्तो समाचारले मेरो मनमा भय उत्पन्न गरेको थियो।मस्तिष्कमा नकरात्मक सोच बढी आउन थालेका थिए। जस्तै: म पनि यस कोभिड-१९ को संक्रमित हुन्छु कि भन्ने कुराले डर, त्रास उत्पन्न भएको थियो।

समयसॅंग लड्न आफूलाई बढी सिर्जनशील, सकरात्मक राख्नुपर्छ भने ज्ञान ममा बढ्दै गयो। मैले त्यसपछि आफूसॅंग रहेको चित्रकलाको सिपमाथि अझै निखार ल्याउन भगवानहरूको, वातावरणको चित्रहरू धेरै कोरेँ। त्यसै समयमा मैले नेपाली र विदेशी लेखकका क्रमश:”सेतो धर्ती”र “भेरोनिका डिसाइडस टु डाइ” यी दुईवटा पुस्तक पनि पढेँ। त्यस मध्य मलाई सबै भन्दा धेरै मन छोएको पुस्तक अमर न्यौपानेको “सेतो धर्ती” हाे।यस लकडाउनमा अध्ययन गरेको पुस्तक “सेतो धर्ती” मलाई आज सम्म पढेका पुस्तक भन्दा पृथक लाग्यो। यस पुस्तकमा हाम्रो नेपाली समाजमा अझै पनि रहि रहेको बालिववाह र त्यसको नमिठो स्वरूप बालविधवाको दुख, कष्ट र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण प्रति चर्चा गरिएको छ।

यस पुस्तकका हरेक लाइनमा मैले यस पात्रकी बालविधवा तारालाई नियाल्दा मेरी हजुरआमालाई सम्झिरहे। मेरी हजुरआमा पनि सानै उमेरमा विधवा हुनुभएको रे। मेरी हजुरआमाले त्यस समयको सामाजिक कुप्रथालाई सहेर पनि आफ्ना सन्तानहरु, मेरा बुबा,काका ,फूपूलाई शिक्षा दिएर आत्मनिर्भर बनाउनु भएको छ। यस पुस्तकको माध्यमबाट मैले मेरी हजुरआमाको दुख, कष्ट र संघर्षलाई अझै नजिकबाट बुझ्ने अवसर पाएकोमा धेरै खुशी लागेको छ। मेरो मनमा यस पुस्तकले गर्दा मेरी हजुरआमा प्रति अझै सम्मान बढेर आएको छ।

कोभिड-१९ यस मानव समुदाय माझबाट कहिले जान्छ भने कुरा अनिश्चित छ र हाम्रो नेपालमा लकडाउन पनि कहिले सम्म हुने हो , कुनै ठेगान भएन। तर कोभिड-१९ जस्तो महामारीबाट बच्न हामीले लकडाउनलाई पूर्ण रूपमा पालना गर्नु बाहेक अरू कुनै उपाय छैन। तर कहिले सम्म भन्ने प्रश्न हामी सबै माझ उठेकाे छ। स्वास्थ्य क्षेत्रका पूर्वाघारको विकास पर्याप्त नभएकाले हामी सजग भएर लकडाउनलाई पूर्ण पालना गरौॅं, आफू पनि बचौॅं र अरूलाई पनि बचाऊॅं। 

सुनिता पौडेल

कपन,काठमाडौॅं

एक गेम हान्दिम न त !

आफ्नै घरको छतमा म एक्लै बसेर आकाशका तारा नियालिरहेको छु, मनसँग मनका कुरा खेलाइरहेको छु। दिन पनि कस्तो आएका हुन्, घर भित्रै कुहिएर बस्न पर्ने। यो लकडाउनले गर्दा घरबाट बाहिर निस्किन पनि पाएको छैन, बजार गएर मम, चाउमिन, पिज्जा जस्ता मन पर्ने परिकार खान पनि पाएको छैन । छेउ मै रहेको गोठिकाँडाको डाँडा घुम्न जाने सपना पनि सपनै भयो। ल्यादेंको डाँडा मा कति कति बेला गाडीका हेडलाइटका उज्याला देख्छु। घर अगाडिकै बाटोमा फाट्ट फुट्ट कुँदेका बाइक र ट्याक्टर देख्छु। दुई चार जना पैदल यात्री पनि देख्छु।

हावा पनि कति मिठो लागिरहेको छ, दिमागमा पनि के मात्रै फुर्न सकेको होला यही बेला। तर जे भए पनि एक्लै बसेर मनमा कुरा खेलाउनु र कहानी बुन्नुको मज्जा पनि बेग्लै छ। पहिला हिमान्सु भाइ हुन्थ्यो, उसँग थुप्रै कुरामा बहस हुन्थ्याे। आजभोलि एक्लै छु बहसमा पुग्ने कुरो त भएन, तर आन्तरिक द्वन्द्वमा रमाउन पुग्छु।

हातमा पुरानो सामसुङ मोबाइल छ, एउटा साथीले याे मोबाइललाई ड्राइ पिकनिक मोबाइल निकनेम दिएको छ। किन दियो त्यो उसैलाई थाहा होला, तर मलाई त्यो निकनेम एकदमै मन पर्यो। त्यसैले गर्दा म अहिले मेरो सामसुङ मोबाइललाई ड्राइ पिकनिक मोबाइल भनेर बोलाउने गर्छु। मोबाइलको वालपेपरमा आफ्नो ऊ बेलाको हिरो फोटो राखेको छु। हातले वरिपरि हल्लाउँदा फोटो पनि नाच्ने गर्छ। मलाई आफू झनै चम्किलो भए झै लाग्छ। १५-२० थरीका एप्लिकेसन छन्, तिनीहरुमध्य मैले चलाएको ८-९ वटा मात्रै होलान्। यिनी ८-९ वटा मध्य पनि अझ मैले धेरै हेर्ने भनेको मेसेन्जर र फेसबुक पर्यो।

फेसबुक खोले सिमाना लगायत अन्य कुराहरुको बबाल द्वन्द चलिरहेको थियो। त्यतिकैमा मेसेन्जरमा एउटा ग्रुप बनेको मेसज आयो। कुनै रमाइलो अर्थात सूचना सम्प्रेषण गर्ने मेसेज होला भनेको त लुडो ग्रुप परेछ। मेसेज पनि `ओए इन्भाइट गर,´ `को को हान्ने हो एक लट´ यस्ता यस्ता थियो। यो लकडाउन पछि म ५ ओटा ग्रुपमा सहभागी भैसके, सबैको काम लुडो खेल्ने नै थियो।

एउटा साथीले इन्भाइट गर्यो, मैले पनि प्लेमा क्लिक्क गरेँ। लुडो ओपन हुन लाग्यो। स्वागतको डाइलगले नै म प्रभावित भएँ `just kill and chill´। अरु ठाउँमा मारेपछि जेल गइन्छ, केस लाग्छ तर यसमा मारेपछि चिल भइन्छ। एउटा ठाउँ रहेछ जहाँ मार्नु पनि उपलब्धि हो। म जोइन भएँ। गेम सुरु भयो। ६ ओटा थोप्ला भएको गोटी आएपछि घरबाट गोटि निक्लिने रहेछ। खेल चलिरहेकाे थियो। मैले एउटा साथीलाई नमारी जीवन बक्स दिएँ। तर बदलामा उसले मेरो राउन्ड हानी घर भित्र छिर्न लागेको गोटि उडाइदियो। मन कटक्क खायो, जो साथीलाई आफ्नै सोचेर यस्तो जीवन दान दिएको थिएँ, त्यसले नै मलाई मार्यो। यो संसारमा कसैको बिश्वास हुदैन रहेछ भन्ने कुरा सिकायो। म कच्चा खेलाडी जित्ने कुरा त भएन। तर फाेर्थ आउँदा पनि म दंग परेँ।

अरु भन्दा लुडो खेल मलाई एकदम ठिक लाग्यो। यसमा हारे पनि डाहा नलाग्ने, जिते पनि अर्को गेममा उडिन्छ कि भनि मन बुझाउन सकिने। जित्ने हार्नेलाई एउटै सोचको लेवलमा लिने। लुडो खेल मन पर्याे मलाई। कुन गोटि उडाउने त्यो गोटि उडाउँदा आफूलाई के फाइदा जस्ता कुरा सिकाउने भएकाले यो एउटा राजनीतिक दार्शनिक खेल पनि हो जस्तै लाग्याे। अब मनोरञ्जनको त कुरै छोडौं, काटिदा पनि मनोरञ्जन काट्दा पनि मनोरञ्जन।

फुटबल भएको भए चौरमा गएर खेल्दा पुलिस आएर कुट्लान, कोरोना सर्ला भन्ने डर हुन्थ्यो। तर लुडो खेलमा त्यो डर पनि देखिन। उता कोरोना लागेर मर्नै आँटे पनि यता सर्ने छैन। आत्मियता पनि कति धेरै हुने रहेछ। अझ विशेष लुडो खेल्दा खेल्दा च्याट पनि गरेर ‘ओए यस्को चेक बस´,dont kill´, `well played´´ जस्ता कुरा भन्दा अनि अरुले भनेको पढ्दा पनि रमाइलो हुने रहेछ। यो खेलमा को कति खेर उल्टिन्छ पत्तो नहुने, मिलेर खेल्लान् भन्ने चान्स पनि कम, आखिर सबैलाई जित्नै पर्ने हुन्छ, त्यसैले पाए सम्म काट्ने गर्छन्। यो कुराले यो खेललाई अझ बढी सुन्दरता दिएको छ।

फुटबलमा रोनाल्डो र मेस्सीको नाममा झगडा परेको, बोलिचाली बन्द भएको, फेसबुकका भित्ताहरु रंगिएको, कति पटक लफडा नै भएको दखेको छु। तर लुडोमा त्यस्तो हुन्न। जित्ने मान्छेले ‘दिमाग लगाउनु पर्छ, दिमागकाे खेल हाे’ भनेर जितको महसुस गर्नसक्ने भयो। हारेको मान्छेले ‘भाग्यको खेल हो, गोटि के पर्छ पर्छ, लेखेको कुरा हुन्छ लुडोमा देखेको हुँदैन’ भनेर आत्मशान्ति गर्न सक्ने भयो। अब आफै सोचौं जित्दा र हार्दा पनि कमजोर महसुस हुन नदिने, साथी साथी बिच झगडा पनि नहुने यो खेल कति शान्त र शालीन छ।

जे होस्, यो लकडाउन र लुडो खेलले एक अर्कालाई साथ दिएर, आम मानिसहरुको समय सजिलै कटाइदिएकाे छ। अब यस्तो शान्ति प्रेमी, भातृत्व विकास गर्ने लुडो खेललाई सरकारले पनि बुझेर आगामी ओलम्पिकमा समावेश गरोस्। हरेक गाउँ गाउँ, स्कुल स्कुलमा एक लुडो अफिस बनोस्। यो लुडो हाम्रो लकडाउन संस्कृति भएकाले यसकाे ऐतिहासिक महत्व पनि एक दिन हुने नै छ। एकदिन सबै आमसमुदाय, राजनीतिकर्मी, ठालुहरुले लुडोको महिमालाई बुझ्दै यसको संरक्षणमा नीति नियम निर्माण गर्ने छन् भन्ने मैले आशा राखेको छु।

साँझ पर्यो। छतबाट ओर्लिन लागेको थिएँ, मेसेज आयो “ओए एक गेम हान्दिम् न त” मैले पनि रिप्लाई दिए “इन्भाइट गर”!!!

लाेकेन्द्र न्याैपाने

कालिकाेट

काेराेनाका कारण मृत्यु र गाउँमा त्रास

लकडाउनको दिनहरू अरू दिनभन्दा निकै लामोलामो लागिरहेको थियो। पढ्न किताबहरू थिएनन्। साथीहरू काठमाडौँमै थिए। यता गाउँमा सधैँ एउटै लयमा बगिरहेको थियो दैनिकी। यसैबिच हाम्रै तिर घर भएकी २९ वर्षीय सुत्केरीकाे २०७७ ज्येष्ठ १ गते धुलिखेल अस्पतालमा मृत्यु भयो। म काठमाडौँ बसेर पढ्दै आइरहेको भएता पनि हजुरबाको बर्खान्तको लागि भनेर सिन्धुपाल्चोक बाह्रबिसेकाे त्यही गाउँमा अाएको थिए। र लकडाउनमा परेको थिए। यता सामाजिक संजालमा उक्त मृत्युको कारण कोरोना नै हो भनी किटान गरिसकिएको थियो। कतै त फोटोसहित श्रद्धाञ्जली दिनेहरुको लर्को समेत लागिसकेको थियो। त्यस्ताे देख्दा हामी मृत्युजस्तो कुरामा किन संवेदनशील हुन नसकेको होला? जस्तो लागिरह्यो। उक्त मृत्युको आधिकारिक पुष्टि के कस्तो होला भनेर सबैजस्तै म पनि कुर्दै थिए।

जब स्वास्थ्य मन्त्रालयले नै मृत्युको कारण कोभिड-१९ हो भनि पुष्टाइदियो तब सिन्धुबासीमा एक किसिमको भयानक डरले आसन जमाउन थालिहाल्यो। हाम्राे नगरपालिका, जहाँ मेरो पनि घर छ पूरै सील गरियो। प्रदेश, स्थानीय सरकारका प्रतिनिधि, सन्चारकर्मी, सुरक्षाकर्मी र धेरै सहयोगी हातहरुको साथ र सहयोग देखेर एकातिर स्थानीय गाउँलेहरुले राहतको सास फेरिरहेका थिए भने अर्कातिर उनीहरुका मनभित्रको डर बिस्तारै कम हुँदै गएको थियो। “यदि हामीमा पनि कोरोना लागे सरकारको सहयोग हुनेछ” भन्ने कुरामा स्थानीयहरु विश्वस्त भएका थिए।

यो घटनाले सिन्धुबासीहरु थप सतर्क हुन थाले। घरबाट बाहिर निस्कँदा मास्क लगाएर हिँड्ने, जथाभावी घुमफिर नगर्ने, घुलमिल नहुने जस्ता नियम अरु कठोरताका साथ पालना हुन थाल्यो। हरेक विपत्तिलाई सहजतापूर्वक जित्दै आएको सिन्धुपाल्चोक अहिले कोरोनासँग लड्न पनि तयार भैसकेको जस्ताे भान भएकाे थियाे। पहिला गाउँमा लकडाउन खासै कडा थिएन। मृत्युको घटनापछि हुँदाहुँदै मान्छेहरु छिमेकका घरमा समेत जान छाडेको र केही घरले त पानीपँधेरो समेत बन्द गरेको पनि देख्न थालियो। यसले एकातिर गाउँलेहरुको थप सतर्कता देखाइरहेको थियो भने अर्कातिर अझै पनि सिन्धुसमाजमा कोरोनाबारे जनचेतनाको अभाव भएको पनि महसुस गर्दै थिए।

स्वास्थकर्मीद्वारा गरिएको कन्ट्याक्ट ट्रेसिङमा लिइएको स्वाब परीक्षणमा कोरोनाले मृत्यु भएको भनिएको घरपरिवार लगायत सबैको रिपोर्ट नेगेटिभ आएपछि अहिले यहाँको बासिन्दाले केही राहत महसुस गरेका छौँ। यो सँगसँगै एकसाता यता ठप्प रहेको जनजीवन बिस्तारै सामान्य हुँदै गएको देखिन्छ। अहिले उनको माध्यमबाट कोरोना नसरे पनि अन्य व्यक्तिका मार्फत कोरोना सर्न सक्छ, त्यसैले हामीले सामाजिक दुरी कायम राख्नुपर्छ भन्ने कुरामा पनि सबै सचेत भैसकेको जस्ताे लाग्छ।

साथै सामाजिक सन्जाल र विभिन्न ब्यक्तिहरुमा अनेकौ शंका उपशंका पनि उत्पन्न भइरहेको अवस्था छ जस्तो कि : सबैको रिपोर्ट नेगेटिभ आउँदा उनमा मात्र किन कोरोना देखियो ? के सरकारको परीक्षण नै त्रुटिपूर्ण छ? उनको मृत्युको कारण कोरोना नै हो त? ती सुत्केरी महिलाले काखमा राखेर खेलाएको र दूध खुवाएको शिशुलाई किन आमाबाट कोरोना सरेन? उनकै परिवारका अन्य सदस्यलाई किन देखिएन ? सामाजिक दुरी कायम गर्नुपर्छ भन्ने कुराले यो घटनालाई कसरी मूल्यांकन गर्छ? यी शंका उपशंकाको जायज छन् र अहिले सिन्धुबासी हामी यसकै जवाफ खोजिरहेका छाैं। कोरोना भाइरस सिन्धुपाल्चोकमा फैलन नदिन धेरै भन्दा धेरै परीक्षण गरिनु पर्ने स्थानीयको माग छ जसलाई सरकारले चाँडो भन्दा चाँडो सम्बोधन गरोस् । 

कोरोनाले मृत्यु भएको भन्ने समचार आएपछि मैले महसुस गरेको अर्को दुःखको कुरा कोरोनाबाट पिडित व्यक्तिका बारेमा उसको सम्पूर्ण परिचय नखुलाउने भन्दाभन्दै पनि मृतक महिलाको तस्वीर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पोष्ट्याइयो। यसले बाह्रबिसे र वरपरका बासिन्दाका मनमा थप डर र असहजताको पहिरो गयो। सामाजिक सन्जालमा गलत सूचना फैलँदा अथवा व्यक्तिको पूरै परिचय खुलाउँदा उहाँका अाफन्त र परिवारहरुमा नराम्रो असर पर्दो रहेछ। त्यसैले यस किसिमको सूचना सम्प्रेषणमा अझै कडा रोक लगाउनु जरुरी छ ! हामी सामाजिक संजाल प्रयोगकर्ता पनि संवेदनशील हुनु जरूरी छ ।

अन्त्यमा, कोरोना भाइरसबाट मृत्यु भएकी दिदीप्रति हार्दिक श्रद्धाञ्जली र उनको शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने क्षमता मिलोस्। सिन्धुपाल्चोकमा कोरोना भाइरसबाट यही एउटा मृत्यु बाहेक कोही संक्रमित नभएकोले आगामी दिनहरुमा पनि कसैलाई याे महामारी नलागाेस् भन्ने कामना छ। यसका लागि हामीले लकडाउनको पूर्ण पालना गरौं, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कौं, समाजिक दुरी कायम राख्दै कोरोनाविरुद्ध लड्न सक्षम बनौं र यदि कसैलाई कोरोना सङ्क्रमण देखिहाल्यो भने उसलाई सामाजिक दुर्व्यवहार हैन सक्दो स्वास्थ्यलाभको लागि सहयोग गरौं। सम्झिराखौं, यस्तो विपत जुनसुकै बेला जो कोहीलाई पर्न सक्छ ।

सुषमा तिमल्सिना

सिन्धुपाल्चोक, बाह्रबिसे

‘पानी बाराबार’

आमा बाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङामुढा माथि जस्तै त होइन, तर सोचाइ यस्तै परेको हुन सक्छ।काठमाडौँको सुदुर पूर्व पेप्सिकोलामा लकडाउनको २४ औं दिन पार गर्दासम्म घरमा त्यस्तै परेको हुन सक्छ। एक्लो बसाइ अनि अक्सर आफ्नो नजिकको मान्छे कोही नभएको ठाउँमा बसिरहँदा मलाई व्यक्तिगत रुपमा केही समस्या त थिएन। उपलब्ध पुस्तक पढ्ने, फिल्म हेर्ने गरेर मेरो दिन राम्रै बितिरहेकाे थियो। तर घरको कान्छो छोरा घरमा बा आमा मेरै पिरले खर्लप्पै दुब्लाइसकेका। जिल्ला प्रशासनमा पास बनाउने, उपलब्ध एम्बुलेन्सलाई बिरामी बनाएर ल्याउने देखि काठमाडौँमा भएका सवारीबाहक मार्फत छोरा घर फर्काउने उपाय सफल हुन नसकेपछि बा आफै हिडेर छोरा ल्याउन तयार भएपछि अन्तमा एउटा बिकल्प निस्कियो। काठमाडौँमा रहेका एकजना प्रहरी दाइले आधा बाटाेसम्म ल्याइदिने र आधा बाटो घरबाट लिन जाने।

२४ औ दिनको एका बिहानै एकजना दाइले फोन गरेर ९ बजे जडिबुटी आउन भन्नु भयो। म एक्लै बसिरहेको एक्लोपनले कहिले चिमोटेन। दाइको ड्युटी सकेर करिब १२ बजे घरकाे बाटाे लागे। माथि चढ्न अलि बाटो खराब र पानी पनि परेकाले करिब १५ मिनेटको बाटो हिडेर जाने निर्णय गँरे र दाइलाई त्यहाँबाट बिदा गरेर लागे आफ्नो बाटो। जब चेकपोस्ट पुगेँ, सिमा सुरक्षामा खटिएका सेना र प्रहरी दाजुभाइले नुवाकोट जाँदै गरेका र काठमाडौ फर्किदै गरेका १५ जना यात्रीलाई रोकेर राखेका थिए। सुरुमा मैले आफ्नो बिबरण  सुनाएर जान दिन आग्रह गरेँ। तर जान नमिल्ने सुझाएपछि मैले मेरा एकजना कर्णेल मित्रलाई फोन गरेर सहज बनाइदिन आग्रह गरे। उनले उक्त गणमा फोन गरेर मलाई जाने वातावरण मिलाइदिए।

त्यहाँ अरु पनि मान्छे भएकाले एक जना सैनिक दाइले जङ्गलको बाटो देखाउनु भयो। मैले सूर्यचौर जाने बाटो हुँदै यात्रा तय गरेँ। शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै चराको चिरबिर आवाजसँगैकाे यात्रा तय भयो। अलि अगाडि पुगेपछि के लाग्याे भने यहाँ गरिब र पहुँच नहुनेको केही नहुने रहेछ। कति समस्या बोकेर यात्रा गरेका मानिसहरु सिमानामा यसरी रोकिनु परेको छ। मेरो पनि कर्नेल साथी नभएको भए म त्यही बस्नुपर्ने वा फेरि काठमाडौँ नै फर्किने अवस्था आउने रहेछ भन्ने सम्झिदा चाहिँ मन कटक्क खायो। राजमार्गमा हिडेका हजारौं यात्रीहरुले कति दुख पाएका होलान्। समाचारमा देखे सुनेको भन्दा अझ कति दुख सहेका होलान्। समाजबाद र खै के के वाद ल्याउनका लागि भनेर १२ बर्ष लडेका र १९ दिने जनअन्दोलनमा परिवर्तनको लागि लड्ने योद्धाहरुलाई, फेरि पनि मजदुरले नै दुख पाएको देख्दा, समाज परिवर्तन र भोका दुखीको लागि राजनीति गरेको भन्ने नेताहरु देखि कति ग्लानी भयो हाेला? अझ गाउँ गए भोकले नमरिने सोचेर, राजमार्गमा भोकै रात दिन नभनि १२/१५ दिनको यात्रा तय गरेकाहरुकाे मन एकतर्फ भोकै हिड्नुको पीडा र अर्को तर्फ प्रशासन र सुरक्षाकर्मीले दिएको पीडाले कति अमिलो भएको होला। सम्झेर आँखाबाट आँसु झर्छ। फेरि एकछिन भावनामा डुल्न पुगेँ। जे होस् जङ्गलमा हिँडेर एकछिन भएपनि प्रकृतिसँग रुझ्न पाउँदा औधी खुसी लाग्यो। एकछिनको पैदल यात्रापछि तल गुरुङ गाउँबाट दाइसँगै घरसम्मको यात्रा तय गरियो।

वास्तविक ‘अछुत’ त घर गएपछि भइयो। न घरमा भाकोले आफ्नो सोच्न थाले न त छरछिमेकीले। घरमा परिवारका सदस्यसँग २ मिटरको दुरी राखेरै बसेँ। घर आए देखि मेरो खाजा, खाना, चिया र तातो पानी सबै मेरै रुममा नै खाने गर्छु। म लगभग १३ बर्षे काठमाडौँ बसाइमा ८/९ बर्ष त एक्लै बसेको छु। मलाई एक्लै बस्नमा केही समस्या छैन तर अवस्था यस्तो होला भन्ने सोचेको थिएन। घरमा खासै काम नहुने हुनाले केही पुस्तक झोलामा र केही पुस्तक मोबाइलमा हाल्न सकेकोले समय बिताउन केही समस्या छैन। तर काठमाडौमा हुँदा तास खेल्ने टिम र युट्युव चाहिँ खुब मिस गरिरहेको छु। घरमा वाइफाइ नभएकाले मोबाइल डाटाबाट सामाजिक संजाल पनि हेरिराको छु।

काठमाडौँबाट कोही मान्छे आउँदा त गाउँमा पानी बाराबारको अवस्था छ भने झनै रोग नै लाग्यो भने त बिरामीले पानी पनि पिउन नपाउने हाेलान्। सावधानी अपनाउनु त ठिकै हो, अपनाउन पर्छ तर बहिष्कारणको नीति चाहिँ ठिक होइन। समाजमा रहेका शिक्षित वर्गले पनि यसबारे अनभिज्ञता प्रस्तुत गर्दा भोलि गाउँमा कोही बिरामी भए उपचार नपाउने र अन्य कारणले मान्छे मरे पनि मलामी नपाउने अवस्था नआउला भन्न सकिन्न।

विश्वास ढकाल

हजुरबुवाकाे सम्झनामा

लक डाउन भएकाे ६० दिन बित्याे। सङ्क्रमित र मृत्यु हुनेकाे सङ्ख्या बढेकाले लक डाउन दुखदायी त छँदै थियो, त्यसमाथि झन डर र त्रास थपिदैछ।। डर र त्रासलाई हटाउन आफ्नाे course book पढेँ । युवामञ्च, मधुपर्क, बालपत्रिका , काेपिला लगायतका थुप्रै साहित्यिक लेख तथा रचनाहरु पढेँ। त्यसैगरी केही समय नेपाली, हिन्दी, अङ्ग्रेजी र प्रेरणादायी चलचित्र हेरेर दिन बिताएँ।

कहिलेकाहीँ काेठामा त्यत्तिकै बसिरहँदा बाल्यकालकाे याद आउँथ्याे । सानै हुँदा टाेल छिमेकका साथी र दिदीबहिनी मिलेर बनभाेज गएकाे, चैत बैशाखकाे समयमा ऐँसेलु र काफल खान गएकाे, साथी साथी मिलेर लुकामारी, चुङ्गी, गट्टी खेलेकाे यी सबै कुरा अहिलेकाे समयसँग तुलना गर्दा म कुनै सपनामा नै पुगेको अनुभूत गर्छु।   

हजुरबुवाले पहिले सानै हुँदा सुनाउनुभएकाे इतिहासका कुरा त्यतिकै भनेकाे हाे जस्तो लाग्थ्याे। तर अाज विगतका कुरा साँच्चै हाे जस्ताे लाग्छ। हजुरबुवाले भन्नुहुन्थ्यो विगतमा पनि विभिन्न समयमा ठ्याैला, दादुरा, बिफर, हैजा जस्ता राेगले थुप्रै मानिसको मृत्यु भएको थियोे रे! ‌मैले सानै हुँदा सुनेकाे भएकाले हास्यव्यङ्ग्यमा उडाइदिएकाे थिएँ। अहिले आफैले काेभिड १९ जस्तो महामारी भाेग्नुपरेकाे छ। विश्व नै त्रसित तथा राेगव्याधिग्रस्त बनाउने याे महामारी काेभिड १९ विरुद्द लड्ने राेग प्रतिराेधात्मक क्षमताको वृद्धि गर्न तम्तयार हुनु परेकाे छ। समयले सबै मानिसलाई समय दिदाें रहेछ।

कहिले विनाशकारी भूकम्प जस्ताे प्रकाेपकाे सामना गर्नुपर्याे त कहिले काेभिड १९ जस्ताे महामारी खेपेर मलाई मलाई अहिलेसम्मकाे मेराे जिन्दगीकाे साढे एक दशक समय बिताउन त हम्मे हम्मे परेकाे छ । म साेचिरहन्छु , स्वर्गीय हुनुभएको मेराे हजुरबुवाले ९ दशक समय कसरी बिताउनुभयाे हाेला? यस्ताे प्रकाेपकाे सामना नगर्न नै हजुरबुबा नवाैं दशक पूरा हुनासाथ भगवानकाे प्याराे हुनुभएकाे हाेला।

मैले course book का साथसाथै प्रेरणा दिने खालका अन्तर्राष्ट्रिय लेखकका किताबहरु पनि पढ्दैछु। Anthony Robbins द्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘Awaken the giant within’ , Rhonda Byrne द्वारा लिखित ‘The secret’ र Florence Scovel Shinn द्वारा लिखित ‘The game of life and how to play it’ जस्ता प्रेरणादायी पुस्तक पनि लक डाउनकै बेलामा पढेर पनि सकेँ। Anthony Robbins द्वारा लेखिएको ‘Awaken the giant within’ मा अमेरिकाकाे क्यालिफोर्निया, काेरिया, चीन, फिजि लगायतका विभिन्न स्थानका विशेषता पढ्दा म पनि उक्त ठाउँ गएर हावामा बेलुन उडे जस्तै उडेकाे अनुभव भयाे। याे किताबमा हाम्रो जीवनमा गर्नुपर्ने परिवर्तनका कुराहरु पनि लेखिएको रहेछ। किताब पढिसकेपछि आफू यस ठाउँमा नै नरहेर अन्त कुनै सुखी र एकान्त स्थानमा पुगेकाे अनुभूति  हुँदा लकडाउन नै नभए जस्ताे लागेकाे छ ।       

बन्दाबन्दीकाे समयमा घरायसी कामहरु पनि थुप्रै सिकेँ। त्याे नियाल्दा बन्दाबन्दीकाे समय वरदान जस्तै लाग्दछ। तर सानो काेठामा आफू कैद हुँदा कहिले कहिले याे समय अभिशाप जस्तै पनि लाग्दछ । अहिले आएर बल्ल थाहा भयाे मलाई ‘मान्छे समय र परिस्थितिसँग जिउन सक्नुपर्छ’ भनेकाे के रैछ भनेर। याे बन्दाबन्दीकाे समयमा मैले न त इतिहास सुन्न पान। न त पाैराणिक कथा न त प्रेरणादायी कुराहरू नै सुन्न पाएँ। ती सबै कुराहरु सुनाउने हजुरबुबा नै स्वर्गीय हुनु भइसक्याे। कहिलेकाहीँ त लाग्छ समय पनि कस्ताे निष्ठुरी। जब म हजुरबुबाले भन्नुभएको कुरा बुझ्दिनथे तब मलाई उहाँसँग बिताउने र कुरा गर्ने समय जत्ति पनि थियाे।अब म उहाँले भन्नुभएको कुरा बुझ्छु तर उहाँले याे संसार त्याग्नु भइसक्याे। कस्ताे अनाैठाे छ जिन्दगीकाे यात्रा। अस्थिर रुपमा चलिरहने।    

बन्दाबन्दीकाे समयमा नयाँ नयाँ काममा निपुण हुँदै राज्यको नियम कानुनहरु पूर्ण रुपमा पालना गरेकी छु। मरेपछि स्वर्ग देख्नु भन्दा पहिले हामी आफैले आफ्नाे मातृभूमिलाई स्वर्ग तुल्याउनकाे लागि राज्यको नियम उल्लंघन नगराै। आफू पनि बाँचाैँ र अरुलाई पनि बचाऊ।

आज हामी लक डाउनमा छाैँ, लक डाउन खुलेपछि हामी नवीन जाेश, जाँगर र तत्परताका साथ देश विकास र रचनामा लाग्ने छाैँ । अँध्यारो पछिकाे उज्यालो अवश्य नै आउँछ। त्यसैले उज्यालोलाई पर्खन अँध्यारोमा भएका बाधा व्यवधान सहनुपर्छ।अहिले बसन्त ऋतु नै बसाइ सरेकाे छ र शिशिर ऋतुकाे आगमन भएकाे छ। शिशिर पछिकाे बसन्तलाई पर्खन शिशिरमा आइपर्ने समस्यासँग जुध्नुपर्दछ। हामीले राज्यकाे नियमकाे पूर्णरुपमा पालना गरेर अर्थात केही समयकाे प्रतिक्षा पछि अवश्य नै हामी लकडाउनबाट स्वतन्त्र हुनेछाैँ। प्रतिक्षाकाे फल स्वादिष्ट हुन्छ। स्वादिष्ट फल प्राप्त गर्नका लागि हामी सबै मिलेर राज्यकाे नियम कानुनकाे पालना गराैँ ।     

सुवर्ण श्रेष्ठ  

दाेलखा

                                                                    

कर्मघर चिन्दै

म रामेछापको एउटा सामान्य गाउँको सामान्य परिवारमा जन्मे हुर्केकाे हुँ। सानोमा चन्चल र जिज्ञासु थिएँ। गाउँमा SLC सम्मकाे पढाइ सकेर म उच्च शिक्षा अध्ययनकाे लागि सहर हानिए। सहर छिरेपछि आफ्नो पढाइ अनि करियरकाे कारणबाट सालमा दुई पटक मुस्किलले गाउँ जाने गर्न थाले।

सहर आएकाे करिब तीन वर्षपछि मैले जिन्दगीको अर्काे महत्त्वपूर्ण निर्णय लिएँ। मैले विवाह गरेँ। विवाह पछि घर व्यवहार, पढाइ, करियरकाे कारणबाट बर्षमा मुस्किलले एकपटक दशैँमा आफ्नाे जन्म घर पुग्ने भएँ। यता घरमा पनि विवाह भएकाे भाेलिपल्ट नै सहर आएपछि दशैंमा दुई दिन बाध्यताले पुग्ने बाहेक अरू बेला  कहिल्यै जाने माैका मिलेकाे थिएन। बुवा आमाले पनि पढाइ चलिरहेकाले कहिले ‘गाउँ आऊ’ भन्नु भएन। बरू समय मिल्ना साथ बुहारी भेट्न सहर आउनुहुन्थ्याे।

यस्तै दैनिकीकाे बिचमा विश्वमा महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे कारणले  हाम्रो देशमा पनि लकडाउन भयाे। यसै समयलाई उपयोग गर्दै, म पनि आफ्नो गाउँ आएकाे छु। सहरमा बस्दा हर्न र घाम झलमल्ल नहुँदासम्म नउठ्ने म, यहाँ त ६ बजे नै उठिसक्छु। गाउँमा  सबै भालेकाे डाँकाेसँगै उठिसकेका हुन्छन्। कलेज नभएकाे दिन बिहानकाे खाना खाएर दिउँसाे फेरि सुत्ने म , गाउँमा त लाटोकसेराे बाहेक काेही पनि सुत्दैनन् दिउँसाे।

चारवटा पर्खाल बिचकाे एउटा काेठामा सिमित म अहिले यहाँ गाउँको हरियाली महसुस गर्न पाएकाे छु।महिनामा दुईपटक फाेनमा मुस्किलले दुई मिनेट बाेल्ने म, करिब दुई महिना देखिन मेराे हर खुसी घर परिवार र छिमेकीसँगै  साटिरहेकाे छु। सालमा एकपटक दशैंमा नमस्कार  भन्ने म, मेरा छिमेकीसँग धक फुकाएर बाेल्ने भएकाे छु। घरकाे काम सबै मिलेर गर्छाै।गाउँमा छिमेकीसँग मिलेर काफल र एेसेलु खान र बन जान पाएकाी छु। परिवारसँग मिलेर मकै गाेड्ने र तरकारी लगाउने काम पनि गर्दैछु।

गाउँको स्वच्छ हावा, स्वच्छ पानी,हरियाली वातावरण र अर्गानिक खाना खान पाएकाे छु। गाउँमा हरियाली छ। अहिलेसम्मलाई काेराेनाकाे फिटिक्कै डर  छैन। सबैकुरा अर्गानिक छ। सबैभन्दा ठूलाे कुरा विवाह भएकाे तीन बर्षपछि बुवा आमाकाे माया अनि छिमेकीसँग चिनजान गर्ने माैका पाएकाे छु। जेहाेस् आफ्नो गाउँ चिन्ने माैका मिलिरहेकाे छ।

सरस्वती  रायमाझी

रामेछाप

‘पागल’सित मलाई प्रेम जो छ!

 “विना कोसेली रित्तै हात आउँछ मेरो दिन

विना समाचार निस्तै मुख फर्कन्छ मेरो दिन”

भैरव अर्याल “हुरीको पतकर” कविताका यी हरफले केही दिन अघि मलाई झल्याँस्स बिउँझाए। कोसेली त धेरै बोकेर आउँथे मेरा दिनहरु। कानूनका किताबहरु, साहित्यका किताबहरु, मेरो ‘अन्लाईन कक्षा’,  संगीत र धेरै फुर्सदिलो समय बोकेर आएका मेरा दिनहरुलाई मैले रित्तो हात र निस्तो मुख नै पठाइदिन्थेँ।

घरभन्दा डेढ घण्टा पर भएको मेरो कलेज आउजाउ गरिरहन पर्दा मलाई केही गर्ने फुर्सद हुँदैथ्यो। मैले मेरा कलेजका साथी बाहेक अरु साथीहरूसँगको सम्पर्क बन्द गरिसकेको थिएँ। मैले मेरो कविता, साहित्य, संगीतप्रतिको लगाव सबै बिर्सिन आँटिसकेको थिएँ। अर्यालका दुई हरफले मलाई एक्कासी केही ठूलो घटनाले मन्छेलाई बिउँझाउने जसरी नै बिउँझाए। 

मैले पुनः संगीत सिक्न थालेँ। केही दिनमै म “किबोर्ड”मा ४/५ ओटा नयाँ गीत र केही “कर्ड्स” बजाउन जान्ने भएकी छु। बजाउँदा बजाउँदै मिलेन भने झनक्क रिस उठ्छ। तर नयाँ सिकाइहरुका क्रममा रिस-नियन्त्रण र धैर्य पनि सिकुँ भन्ने सोचेको छु। सकेसम्म आफूलाई सम्झाइहाल्छु। छिमेकीले बिहानै हारमोनियम बजाउँदै राग गाउँदा, त्यस्तै राम्रो गाउन पाए कस्तो हुन्थ्यो होला भनेर सोच्ने गर्छु। औँलाहरू किबोर्डमा बिहान-बेलुका अलिक बढी नै रमाउन थालेकाे पाउँछु।  

६ महिना अघिबाट सिक्न थालेको स्प्यानिस भाषा केही दिन सिक्ने, फेरि केही दिन चटक्कै छोड्ने गरिरहेकी थिएँ। यो बिदाले फेरि मलाई स्प्यानिस भाषा सिक्ने समय दिएको छ। एउटा शब्द पनि नजान्ने म अहिले एउटा नयाँ भाषामा धेरै वाक्य बनाउन सक्ने भएकी छु। आफैसित अलिअलि वार्तालाप गर्न सक्ने भएकी छु। 

मेरा सबै भन्दा प्यारो मित्र देवकोटा पनि मैले माया मारेँ अरे भनेर रिसाएका रहेछन्, धेरै समयदेखि। देवकोटालाई फेरि मैले फकाएरै छोडेँ। “पागल”सित मलाई प्रेम जो छ।  मसँग ठुस्केर बसेका भूपी शेरचन र मलाई व्यङ्ग्य हान्न ठिक्क परेका भैरव अर्याललाई पनि मैले फकाएरै छाडेँ। “मैनबत्तीका शिखा” हरूले केही रात उजेलिए। केही दिन “भुँडी”का “जय” नि सुनिए। मैले यो “लकडाउन”मा ‘रामलाल जोशी’, ‘शारदा शर्मा’, ‘निलम कार्की निहारिका’ जस्ता धेरै साथी बनाइसकेँ। यो लकडाउन पछि त म मेरा साथीहरूले इशारा मात्र गरेपनि भेट्नेछु भन्ने सोचेको छु। “जय भोलि” भन्दै समयसित फेरि समय माग्न थाल्छु कि भन्ने डर पनि छँदैछ।

धेरै समयपछि डायरीमा लेख्न थालेको भएर होला, मनमा अनेकन कुरा खेलिरहे पनि अक्षरले कोर्न र पानामा पोख्न भने सजिलैसँग सकेकी छैन। मनभित्रका बादल बर्सिहाल्न नसकेपनि यो लकडाउनमा आकाश धेरै दिन निर्धक्क बर्षियो। आकाश त्यसरी दिनहुँ भक्कान्निएर रुँदा पनि मेरो मन भने यसपाली किन हो कहिल्यै रोएन। आकाश जति रुन्छ,  माटोमा त्यतिनै आशाका त्यान्द्राहरु देख्छु। माटोमा अल्झिएका आशाका त्यान्द्राहरुले मलाई पनि जिन्दगीप्रति एक मुठी आशा दिएर जान्छन्। आखिर जिन्दगीलाई चाहिने पनि यहीँ झिनु आशा त रहेछ नि है? झरिपछिको आकाशको रंग कत्ति मिठो हुन्छ नि! 

स्मृति खनाल

माकुरो

साँझ बिहान कैयौ बितेर गए। कैयौ दिन निदाए, उठे, दिन बिताए। दिन बिताउने क्रममा कसैले केही लेखे। सिके। सिकाए। हेरे। देखाए। उनीहरु सबैको योगदानले केही अर्थ राख्यो होला। राख्यो नै। मैले के गरेँ?

म पनि बिहान उठेँ। सामान्य घरधन्दा गरेँ। यस बाहेक सम्झन लायक मैले केही गरिनँ। नयाँ किताब नभएपछि घरमै जालो लागेको एउटा किताब उठाएँ। जालो पुछेँ। माकुरो पनि त्यहीँ रहेछ। किताब पुछ‌दा उसको एउटा खुट्टामा लागेछ। भाँच्चिएछ। उसलाई आफ्नो घरबाट खेदाउँदा म असंवेदनशील नभएको होइन। माकुराको बेस्कन माया लागेर आयो। उसको घर भत्काउने अधिकार मसँग छैन। कसैलाई कसैको घर भत्काउने अधिकार छैन। अर्काको जिन्दगीमा यसरी हस्तक्षेप गर्नु सबैभन्दा घिनलाग्दो कुरा हो। तर म स्वार्थी छु। उ त लकडाउनमा छैन। एकातिर नभए अर्कोतिर गएर बस्छ। म लकडाउनमा छु। घरभित्रै बस्नु छ। नयाँ किताब नभएर पुरानो खोजेर पढ्नु परिरहेको छ। ऊ किताब नै पढ्दैन होला। पढ्ने भए पो थाहा हुन्छ। मैले पढ्नुपर्छ। 

सफा किताबकाे केही पन्ना पढेपछि मलाई पढ्न मन लागेन। अरे ! मलाई पढ्न मन नै छैन त कसरी पढ्न सक्छु त। इनर्जी नै छैन। किताब पढ्न पनि इनर्जी चाहिँदो रहेछ। किताब पुरानै ठाउँमा राखे पहिलेजस्तै गरेर। माकुराको याद आयो। कता बसाइ सर्यो होला। घरभित्रै कि बाहिर ? बाहिर कालो मैलो भएर बादल तल तल झर्दैछ।  हावा चल्दैछ । आँगनमा उभिएको अमलाको पात भुइँ भरि भएका छन्। फूलका बाेटहरु नाच्दैछन। हैन कस्तो मनपरेको होला यो कालो मैलो, हावाहुरी ! त्यसाे त मलाई पनि खुब मनपर्थ्यो पहिले हावा। हावा चल्दा खुसीले मै पनि नाच्थे। मलाई पनि आफू हावा भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो। संसारभरि डुल्थे। भएजति रुख , पहाड, खोला, समुन्द्र, हिमाल, आकाश सबैलाई छुन्थे। रुखहरुसँग ठोक्किन पुग्थे।  पातहरुलाई आफ्नो टीम बनाएर चराहरुसँग अन्ताक्षरी खेल्थे। तर ऐले खै के भाको होला यस्तो, मन नै रमाउँदैन केहीमा पनि, कतै पनि !

रुखका हाँगाहरुले चरालाई घर बोलाएका होलान्। एकदम हल्लिदैछन्, कैले यता कैले उता फर्केर। माकुरा यस्तो बेलामा कहाँ होला? के गर्दै होला?  

कता बसाइ सर्यो होला। अर्कोतिर ठाउँ पायो कि पाएन? उसका पोका, पन्तुरा, झिटीगुन्टा बोक्न कसले सघायो होला? हावापानी आउनै लाग्दा अहिले कति आत्तिएको होला? प्रतिकूल अवस्थामा हामीलाई सरकारको आश भएजस्तो उसलाई कसको आश होला? उसको दुनियाँमा सरकार त छ?

विशाल दुनियाँमा कतै ऊ पनि सबै भएर कोही नभएको जस्तो त भको छैन? मलाई अहिले घरबार नभएर सडकमा जीवन बिताउनेहरुको याद आयो। घर तिनीहरुकाे थियो कि थिएन होला? मैले माकुराको घर भत्काएजस्तो उनीहरुको पनि कसैले भत्काइदिएको हो कि। मैले माकुरोको खुट्टा भाँचिदिए। उनीहरुको महँगाइले ढाड भाँच्चिएकाे छ कि? धन्न ठाउँ ठाँउमा ठूला मन भएका मान्छेहरु छन् र उनीहरूलाई खान, बस्न दिदैछन् भन्ने सुन्दैछु। 

माकुरो खोजेँ। उ त्यहाँ छैन। आँखा डुलाए। किताब राख्ने र्याकको तल्लो तलामा रहेछ।  खुट्टा भाँच्चिए पनि जालो बुन्दैरहेछ। शारीरिक कमजोरी हुनेहरु अशक्त हुँदैनन् । माकुरा परिवारको मूली हो जस्तो लाग्यो। घरमूलीहरु अहिले कति प्रयास गरिरहेका होलान् संसारभरि नै। महिनौ देखि कोठाभित्रै भएपछि जोहो गरेको खानेकुरा, पैसा सकिएपछि पनि घर उस्तै बनाइराख्न लागि परिरहेका होलान्।  मेहेनेत र संघर्ष गर्दै हाेलान्। मैले कल्पना गरेँ- ढाड भाँच्चिएकाे माकुरो बाउ हाेला। उसकी श्रीमती पनि त होली कतै, मतलब आमा। ऊ पक्कै साना माकुराहरुलाई अँगालोभरि  चेपेर न्यानो बनाउँदै होलि। आफूलाई बिर्सेर सन्तानलाई मात्र सम्झिनेहरु आमा नै हुन्। 

एउटा माकुरा घर बनाउँदै थियो।अर्काे पनि आएर सघाउन थाल्याे। ओहो! अब त दुबैले घर बनाउँदैछन मिलेर। लाग्याे, बुवा र आमा संघर्ष, त्याग र मेहेनेतले बन्दो रैछ, पदले वा जन्माएको भरमा हैन। भूमिका निभाउँदा जो पनि आमा वा बुवा वा दुबै हुन सक्दा रहेछन्। 

धत्, कस्तो उल्लु छु म। यतिका समय माकुरा सम्झेर बिताएँ। केही उपलब्धिमुलक कुरा गर्न सकिन। आजपनि मैले केही गर्न सकिनँ। म बाच्नुको अर्थ छैन। मलाई एक्जिस्टेन्सियल क्राईसिस भैरहेछ। म बेकार छु।

ओहो केटाकेटी भोकाए होलान्। खाजा बनाउने बेला भएछ। जति नै डिप्रेस्ड भएपनि मैले छोराछोरीलाई भोकै राखेकी छैन। एनर्जी भएपनि नभएपनि उनीहरूलाई सफा राखेकी छु। खुवाएकी छु।  आफूलाई आफ्नो ध्यान नहुँदापनि उनीहरुको रेखदेख गर्दै आएकी छु म। खुसी दिन खोजिरहेकि छु। उनीहरु खुसी नै देख्छु। म आफू पनि त खुसी हुनै खोजिरहेको छु। म भएर यो सब चलिरहेछ।

बिहान उठेर दिनको सुरुवात गर्नु मेरो लागि चुनौतीपूर्ण हुन्छ। तैपनि उठ्छु। केही न केही गर्छु। म काम नलाग्ने छुइन। स्थीर भएर पढ्न नसके के भो त म पढ्न खोजिरहेछु। प्रयास गरिरहेछु।अहिले गर्न नसकेर के भो, म केही गर्न त खोजिरहेछु। माकुराजस्तै। माकुराजस्तै? साँच्चै ? मतलब म पनि मेहेनेती ? म पनि मेहेनेती रैछु। म पनि केही अर्थ बोक्दो रहेछु। ओहो! म कति सुन्दर  रहेछु। मलाई म मनपर्यो। आफू हुनुको अर्थ महसुस हुनु नै सबैभन्दा ठूलो कुरा रैछ। मलाई म भएको महसुस भयो।

तपाईं पनि निराश हुनुहुन्छ केही गर्न सकिन भनेर? डिप्रेस्ड हुनुहुन्छ ? केही उपलब्धिमुलक गर्न सकिन भनेर चिन्तित हुनु हुन्छ? त्यसो हो भने तपाईं भ्रममा हुनु हुन्छ, बुझ्नुभो? तपाईं गलत हुनुहुन्छ। आफू हुनु नै ठुलो कुरा हो। तपाईं हुनु भनेको तपाईंले आफूले आफूलाई स्विकार्नु रैछ। तपाईं जस्तो हुनुहुन्छ,  बश आफूलाई त्यस्त अँगाल्नु होस्।जिउनु नै ठूलो कुरो रैछ। तपाईं केही गर्न खोजिरहनु भएको छ , त्यो नै ठूलो कुरा रैछ। कोहि जस्तो हुनुपर्दैन , बस आफैजस्तो बन्नुस। आफूलाई समय दिनुस् ल। माया गर्नुस् । तपाई सुन्दर हुनुहुन्छ। अर्थपूर्ण हुनुहुन्छ। त्यसको प्रमाण तपाईं तपाई हुनु हो। सधै आफू भैराख्नुस् ल।

ज्याेत्सना प्रसाईं

झापा

फर्किने आशा

चारैतिर झ्याल अनि एउटा फराकिलो ढोका। तर पनि थुनिएको मान्छे म। फरक सोच फरक पहिचान बनाउँदै अघि बढ्ने सपना बोकेको मान्छे म। पढाइमा अब्बल दर्जा त पाइएन तर सन्तुष्टि चाहिँ पाए। गहिरिएर सोच्ने अनि मनमा इख गाडिएर हिड्ने व्यक्ति म आज भौतारिएको संसारबाट महिनौ अघि देखि आराममा छु।

कोभिड १९ को कारण चीन पश्चात त्राश फैलिएको दक्षिण कोरियामा म तेश्राे सेमेस्टरमा अध्ययनरत विद्यार्थी आमाबुवाको चिन्ताको कारण नेपाल फर्किए। जाडो बिदाको कारण नेपाल फर्किन सजिलै थियो। हतारिएर फर्केको विद्यार्थी, भरिपूर्ण त के होला र तर पनि कमाएको केही अंश लिएर नेपालमा लकडाउनको केही साता अघि मात्र आइपुगेँ।

करिब दुई साताको घुमफिर पश्चात लकडाउन शुरु भयो। म आएको केही सातासम्म नेपालमा कोभिड १९ का बिरामी थिएनन्। तर आज ५०० नाघिसकेको छ। अब एक महिना पछि त सबै सामान्य हुनेछ र पुन आफ्नो दैनिकीको लागि कोरिया फर्कौलाँ भन्दै दिन पर्खदै गएँ। तर आज करिब दुई महिना बितिसक्दासम्म नेपाली बजार लगायत सम्पूर्ण अन्तराष्ट्रिय आवतजावत बन्द छ। फर्कने कसरी अन्याेल छ।कोरिया-नेपाल सरकारको सहमतिमा विशेष चार्टरमा उडान हुनेछ भन्ने सहमति भए लगत्तै पहल सुरु गरेता पनि कुनै निस्कर्ष आएको छैन। सुन्नमा आए अनुसार क्याविनेटबाट अनुमति पाएको छैन भन्छन्। अनुमति दिन पनि मुन्टो काटेर दिनु परे झैँ गर्छन् रे! अनि सुरु हुन थाल्यो भोलिको चिन्ता। क्षणिक खुसीमा पनि पिडा अनि देशकाे मौनता।।

रित्तिदै गरेको खल्ती अनि लम्बिदै गरेको लकडाउनले साह्रा नेपालीको मन पोलिएको छ। त्यसमा पनि म झन् चिन्ताले ग्रस्त हुन थाले। निम्न वर्गको मान्छे, झनै मुख्य कमाइको स्रोत मै आज यसरी थोत्रो गाडी झै थन्किएको छु। आफ्नो भविस्य एकातिर परिवार देश अर्कोतिर।अनेकौ प्रश्नहरुले घेरिदाँ रात पनि झिसमिसे बिहान झैँ भइदिन्छ।

के नेपाल साँच्चिकै नाजुक अवस्थामा जान्छ?? कुन अवस्थामा पुग्ला मेरो देश? यता भाइरस बढेर अब कोरिया फर्किन नपाए भविष्य के होला? स्रोत र साधनले अपूर्ण मेरो देशले जनताको सुरक्षा गर्न सक्ला? यस्तै यस्तै कुरा अनि प्रश्नहरु मनमा उमाल्दै नयाँ आशाको किरणको पर्खाइमा बस्दैछु।

सोमर (कमल) लामा

धुलिखेल

अत्यासका बिच अक्षरहरुको खेती…

साँच्चै आश्चर्य लाग्दो छैन त वर्तमान ?
सायदै कसैले सोचेको थियो, विज्ञान प्रविधिको युगमा एउटा रोगको औषधीको अभावले लाखौँ मानिस निरीह भएर मृत्युवरण गर्नुपर्छ र सन्त्रासपूर्ण समय बाँच्दै आफ्नै कोठामा कैद हुनुपर्छ।

विश्व अहिले ठप्प छ, मौन छ तर भित्र कतै सर्वज्ञानी मानिस चित्कार छोडिरहेको छ। क्रन्दन अलापिरहेको छ र जीवनको भिख मागिरहेको छ। ती मानिसहरु मध्य एउटा म कसरी हैन भनुँ ?

म दाङको घोराहीमा बस्छु। बजार भन्दा पाँच किलोमिटर पूर्वमा छ घर। तर बजारमै मेरो डेरा छ। मैले घोराहीमा पत्रकारिता गर्न थालेको १० वर्ष नाघ्यो। हाल गणतन्त्र दैनिकको कार्यकारी सम्पादक र राजमार्ग न्युज पोर्टलमा काम गर्छु। यो बाहेक कविताहरु लेख्न मन पराउँछु। पुस्तकहरु पढ्छु।

मान्छे कति कमजोर छ, महसुस गरिरहेको छु। पृथ्वीको धरातलका किटपतंगदेखि भुगर्भका अनेक रहस्यहरु, ब्रमाण्डका सम्पूर्ण शक्तिको अवयवहरुमा खेलेको, खोजेको मानिसलाई आज एउटा भाइरसले कमजोर तुल्याइएको छ ।

नक्सा र अभाव

नेपाल सरकारले लकडाउन घोषणा गरेको ५८ औँ दिनमा मैले यो डायरी लेखिरहेको छु। नेपाल सरकारले औपचारिक रुपमा लिपुलेख र लिम्पीयाधुरा सहितको नक्सा जारी गरेको छ। भारतले अस्वीकार गरेको छ। दुई देशको बिच एउटा नमिठो तुष मौलाएको छ ।

देशमा कोरोना संक्रमित भेटिएकादेखि क्वारेन्टाईनबाट भागेका समाचारहरु चर्चित छन् ।

बजार बन्द छन्, यातायातका साधन खासै चलेको छैनन् । अभाव मौलाउँदो छ। मान्छेहरुमा छटपटि थेग्न नसक्ने अवस्थामा पुगेको। अनुहारमा निराशा बोकेर आमाहरु नपाकेको केराहरु बेच्न बसेका छन् सुनसान चौकमा। साँच्चै दृश्य हृदयविदारक छ।

सामाजिक सञ्जालमा युवाहरु देशको नक्सा बारे व्याख्या गरिरहेका छन्।

लकडाउन सुरु भएको केही दिनमा घोराही आसपासका केही बस्तीहरुमा पुगेर भोकका समाचारहरु लेखेँ। समाचार लेखेर मात्र मात्र के हुन्छ? लकडाउनले दलित समुदाय र मजदुर वर्ग सबै भन्दा बढी मारमा छन्।

घोराही सौडीकुलाको कोरी समुदायको बस्ती, सेवार खोलाका बादी समुदाय, कपासी बगियाका भुमिहिन सुकुम्बासीहरु सहित धेरै बस्ती र समुदायले राहतका लागि बाधा र झञ्जट खेप्नु पर्यो ।

पत्रकारिता सधैँको नौलो अनुभव हो।

विपद् र जोखिमको समयमा पत्रकारको भूमिका कति बलियो हुन्छ? झन नजिकबाट महसुस गर्ने अवसर लिइरहेको छु। जोखिममा परेकाहरुको उद्धार, अभावमा आपुर्ती, सहयोग, समझदारी र समन्वयका लागि कलम चलाइरहेको छु । राहत वितरणमा सहभागी छु, विवादलाई समाधान गर्न र विकृतिका विरुद्ध पनि उभिनु परेको छ।

राहत वितरणमा देखिएको राजनीति र विभेद होस्, या लकडाउनको समयमा हुने चोरी सिकारी । क्वारेन्टाईन निर्माणमा देखिएको विरोधको समाधान होस् या भारत जान नपाएका सयौं भारतीय मजदुरहरुको क्रन्दनपूर्ण आँसु।

यी सम्पूर्ण समस्या समाधानका लागि हामी पत्रकारहरु एकजुट भएर काम गर्दैछाैं।

आमा र सन्त्रास
झोलामा स्यानीटाइजर छ। मास्क र ग्लोब्सहरु छन्। हिँड्नै पर्ने ठाउँमा हिँड्ने गरेको छु। नत्र कार्यालयबाटै सूचना संकलन नै प्राथमिकतामा पर्छ।

घरमा आमा एक्लै हुनुहुन्छ।
दुई/तीन दिनको बिचमा म घर जान्छु। घर नगएको दिन आमाले फोन गर्नुहुन्छ। आमा खुसी भएको, दुखी भएको, अत्यास लागेको या कुनै भवितव्य भैपरेको, सबै थाहा हुन्छ — आमाको आवाजमा। आमाले सधैँ फोनमा ‘घर आएर बसे हुन्थ्यो’ भन्न छुटाउनु हुन्न।

टेलिभिजनमा देखे सुनेका समाचारहरु मलाई सुनाउनु हुन्छ। पत्रकार, नर्स र पुलिसलाई समेत कोरोना लागेको बताउनुहुन्छ।

आमालाई गाउँमै कसैले सुनाइदिन्छ,
बृद्धबृद्धाहरुलाई कोरोनाले छिटो आक्रमण गर्छ भनेर। कसैले भनिदिन्छ, भारतबाट थामिनसक्नु मानिसको भिड आउँदैछ भनेर। आमालाई बुढी भएँ भन्ने महसुस भएको छ। एक्लै छु भन्ने लाग्छ।

एक दिन आमाले फोन गरेर भन्नु भयो, ‘कोरोनाको औषधी बन्यो रे त अमेरिका हो कि कहाँ, थाहा पाइस् ?’ आमाका यस्ता प्रश्नले पीडा दिन्छ।

पाँच कोठाको घर छ, आमा एक्लै बस्नुहुन्छ। मलाई थाहा छ, एक्लै बस्दा कति डर लाग्छ। मैले बच्चा हुँदा भोगेको छु।

कविता र किताब
केही वर्ष पहिल्यै सोचेको थिएँ, कविताको संग्रह प्रकाशन गर्छु ।
‘ईश्वरको अस्थीपञ्जर’ कविता संग्रह २०७१ र ‘एकात्म’ कविता संग्रह पछि पनि कविता संग्रहकै तयारी गरेको छु। पाण्डुलिपी ‘फाइनल’ भएको छ।

फुर्सद् छ, केही नयाँ कविताहरु लेखेको छु, पुराना अपुरा कवितालाई पूर्णता दिएको छु। धेरै भन्दा धेरै कविहरुसँग सम्पर्क गरीरहेको छु।

करिव दुई महिनाको बिचमा केही नयाँ किताब पढेँ, केही पढिसकेका किताबहरुलाई दोहोर्याएर पढेँ। घनश्याम खड्काको निर्वाण, रमेश सायनको छुटेका अनुहार, विजयकुमारको खुशी, महेश पौड्यालको त्यसपछि फुलेन गोदावरी किताबहरु दोहोर्याएँ ।

नयाँ किताबमा डा. प्रतिभा रायको द्राैपदी र राजेन्द्र थापाको शकुनी पढेर भर्खर सिध्याएको छु। अरु नयाँ किताब बारे सोचेको छैन। केही फुटकर लेखहरु पनि पढेँ।

अन्त्य !
जीवनको २७/२८ वर्षको आयुमा मैले मानिस यति भयवित, त्रसित र हतास कहिल्यै देखेको थिइन।
मानिसले नै यति सुन्दर बनाएको हो यो संसार । किनकि सुन्दरताको परिभाषा नै मान्छेसँग मात्र छ। नत्र त चरालाई आफ्नै आवाजको मधुरताबारे के थाहा?

त्यसैले संसारका सबै मानिसको अनुहारमा हाँसो फर्किने छ।
धन्यबाद।

नवीन अभिलाषी

घोराही, दाङ

फुर्सदिला आँखाहरु

अकल्पनीय लामो लकडाउनका कारण अचेल समयै समय छ म सँग। यो समयलाई संचय गर्न मिल्ने भए, बैंकमा लगेर संचित गर्थें।जब समयको अभाव हुन्छ, तब बैंकबाट समय निकालेर समय कै बजारमा खर्च गर्थेँ। तर यी सब त स्वप्न न हुन्। हुन त मैले म सँग समय छ भनेर फगतमा लेखेँ जस्तो लाग्यो। समय त उसैसँग हुन्छ, जो समयलाई अधीनमा राख्न सक्छ। मसँग त फुर्सद मात्रै पो छ त! अचेल फुर्सदै फुर्सद छ मलाई।

फूलको मालाले घेरिएको आफ्नो बुवाको तस्बिर हेर्ने फुर्सद छ मलाई। जुन तस्बिरमा देख्छु, म प्रतिको असंख्य असन्तुष्टिहरु।चाउरिएको आफ्नी आमाको गाला हेर्ने फुर्सद छ मलाई। जुन गालामा देख्छु,म जन्मिदा बनेका पिडाका धर्साहरु।मेरी जीवन संगिनीको आँखा हेर्ने फुर्सद छ मलाई।जुन आँखामा देख्छु,मलाई डुबाउने मायाका तलाउहरु। मेरा सन्तानहरुको अनुहार हेर्ने फुर्सद छ मलाई। जुन अनुहारहरुमा देख्छु, बेरोजगारी बाउकाे कथाहरु। यी सब आफ्नै अगाडि भएर पनि हेर्ने फुर्सद नपाएका मेरा आँखाहरु,हिजोआज खुब फुर्सदिला भएका छन्।

अचेल मसँग, बेच्न नमिल्ने फुर्सदको पसल छ। फुर्सद भएर नै सदा हेर्ने गर्छु, आफ्नै घर अगाडि तनक्क तन्किएको बाटो। जुन बाटोमा थोत्रो साइकलमा खट्याङ खट्याङ गर्दै हिड्नेहरु, हिड्न छाडेका छन्। थोत्रे फलाम….थोत्रे फलाम…. भन्दै कराउनेहरु कराउन छाडेका छन्। तर पनि लौ आयो….ताजा ताजा तरकारी, लौ आयो…. मिठो मिठो फलफूल भन्नेहरु आउन छाेडेका छैनन्।मध्याह्नको टन्टलापुर घाममा बाध्यताले तरकारी बेच्ने ती तरकारी व्यापारीहरुलाई नियाल्ने फुर्सद छ मलाई। दिनभर मिहिनेत गर्दा पनि छाक टार्न धौ धौ पर्ने ती गरिब व्यापारीहरुलाई हेर्ने फुर्सद छ मलाई। दिनभर घोक्रो सुक्ने गरि कराउँदा पनि सामान नबिकेर, निराशाले ढाकेको ती अनुहार हेर्ने फुर्सद छ मलाई। मलाई फुर्सद भएर नै ती दृश्य देखिरहेछन् मेरा यी फुर्सदिला आँखाहरुले।

ग्याजेटमा मिति हेर्ने बानी परेको मलाई, अचेल भित्तोमा तुङ्द्रुङ्ग झुन्डिएको भित्ते पात्रो हेर्ने फुर्सद छ। कुन मितिमा कति जना नेपाली कोरोना संक्रमित भए? त्यो तथ्यांक राख्ने फुर्सद छ मलाई। कोरोनाका कारण कुन मितिमा कति नेपालीको मृत्यु भयो? त्यो संख्या भित्ते पात्रो मै गोलो घेरा लगाउने फुर्सद छ मलाई। अनि कोरोनाका कारण दिवंगत भएका नेपालीहरुको सम्झानामा, दुई थोपा आँसु झार्ने फुर्सद छ मलाई। हिजोआज फुर्सदै फुर्सद छ मलाई।

आफ्नै छेउछाउका विपन्नहरुकाे खाली भाँडो हेर्ने फुर्सद छ मलाई। आफ्नै छेउछाउका असहायको रित्तो थाल हेर्ने फुर्सद छ मलाई। तर फुर्सद भएर मात्रै के गर्नु? खाली भाँडोमा चामल भर्न सकिएन। रित्तो थालमा खाना पस्किन सकिएन। ती विपन्न वर्गलाई हेरिरहन बाहेक केही गर्नै सकिएन। आफूसँग नभएरै केही गर्न नसकेपनि, मेरा फुर्सदिला आँखाले हेर्न मिलेसम्म हेरि रहन्छु। हेर्ने फुर्सद पाएसम्म कहिल्यै चिम्म पार्ने छैन, मेरा फुर्सदिला आँखाहरु।

ज्ञानेन्द्र कुरुम्भङ्ग
‘पखेरे कान्छा’           

 दमक, झापा 

खिचडी !

अस्पतालको जागिर ! बिहान १०:०० बजेबाट ५:०० बजे सम्म काममा जानै पर्ने।  रोजीरोटी पनि त्यहीँ। अनि आफूसित भएको सीप देश संकटमा परेको बेला लुकाउने कुरो पनि आएन। घरमा भएका मान्छेहरु पनि पहाड तिर उकालिए , घरमा एक्लो भइयो। अस्पताल जस्तो कोरोना संक्रमण जोखिम ठाउँमा काम गर्ने भएपछि एक्लै क्वारेन्टाइनमा बस्नु नै मेरो अनि परिवारका लागि ठिक पनि हो। समस्या भयो खानाको,कहिलेकाहीँ घरमा एक्लो भएको बेलामा एक सय रुपैयाँमा खाना खाने होटल थियो, त्यो पनि लकडाउनमा बन्द छ। 

सुरुका ८-१०  दिन जति त बिहान भात, दाल अनि तरकारी नै खाइन्थ्यो अनि साँझ रोटी र तरकारी। अँ साँच्चै ! २ दिन मासु नि खाइयो। लकडाउन बढ्दै गयो, जाँगर मर्दै गयो।अब चैँ बल्ल ३-४ दिनमा एक छाक रोटी पाक्छ। अरु दिन चुलोमा पाक्छ त केवल खिचडी। बिहानै उठ्यो खिचडी खायो, काममा गयो अनि साँझ आएर फेरि त्यहीँ खिचडी खायाे। सजिलो पनि कति सजिलो, कुकरमा दुई मुठी चामल, दुई मुठी दाल अनि नुन मसला हाल्यो १ सिट्ठीमै खाना तयार। त्यसमाथि एक चमच घिउ हल्देसी मग मग बास्ना अनि मिठो पनि त्यति नै। डर के लाग्न थालेको छ कि भोलि यहीँ बाँकि जाँगर पनि मरेर गए पछि के खाने! सायद चामल मात्रै चपाइन्छ कि! 

उता सरकारको खिचडी छुट्टै छ। अस्तिन चीनबाट स्वस्थ्यकर्मीका लागि सुरक्षा सामग्री अनि टेस्ट-किटमा भ्रस्टाचार गरे भन्ने सुनियाे। यता कालापानीको कथा छुट्टै छ। जनताले जितेका प्रतिनिधि छन् कि छैनन् जस्तै भै सकेको छ। हुन त मैले खिचडीले आफ्नो भोक मारे, सरकारले पनि आफ्नो भोक मार्ने कुनै उपाय भेट्ला। कुरो उस्ता उस्तै नै हो भोका रहे त केवल गरिब जनताहरु। 

आफन्तहरुको माया छुट्टै छ, बुढी हजुर-आमा फोन गर्नु हुन्छ “त काम गर्ने अस्पतालमा के के रोग आको छ भन्छन्, पहाड आइजा तेरो बाजेले बनाको यत्रो रोपनी जग्गा बाँझै छ, यतै गरि खालास्।” हजुरआमालाई कसरी सम्झाउनु! जाबो खाना बनाउने जाँगर नभाको म, खेती गरेर खान सक्छु होला त ? यो लकडाउनले मलाई एउटा पाठ चैँ सिकायो, केही नगरि बसे झनझन जाँगर हराउँदै जाँदो रहेछ। 

बश हामी सबैको यही कामना छ, यो महामारीको चाडै अन्त्य होस्। नेताहरुले पैसाको भोक होइन जनताको भोक मारुन्। कालापानीसँग संगै नेपाली भूभागमा अतिक्रमण रोकियोस्।  मेरी हजुरआमाको चिन्ता दुर होस् अनि मेरा चुलामा खिचडी हैन, आमाले पकाको मिठो खानेकुरा पाकोस्।

दिनेश भण्डारी

बझाङ

जिन्दगीको किताब

समय सधैं सफल भएर अघि बढ्ने गर्छ । कहिले घाम कहिले पानी हावा, हुरी त कहिले आँधीबेहरी सबै परिस्थितिलाई छिचोल्दै अघि बढ्छ र त हरेक अवस्थामा सफल हुन्छ । समयलाई नै चुनौती दिदै सफलताको यात्रामा भाग दौड गरिरहेको म । 

जन्म त मेरो सहजतामा नै भएको रहेछ तर जब आफूले आफूलाई बुझ्न थाले। त्यतिनै जिम्मेवारी पनि बढ्दै थियो। आज मसँग मेरो मात्र हैन परिवारको सपना पनि जोडिएको छ। त्यही सपना प्राप्तिको लागि सकरात्मक सोच उत्साहका साथ संघर्ष गरिरहेको थिए। म जन्मदा मेरो पहिचान थिएन। त्यसैले  मेरो जन्मको खबर धेरैले थाहा पाएनन्। तर यस्तो पहिचान बनाउने छु जुनबेला मेरो मृत्युको खबर दुनियाँले थाहा पाओस्। यही सपना लिएर संघर्ष गर्दै थिए। संघर्षको यात्रामा रमाइ नै रहेको थिए।

दिन प्रति दिन कोरोनाको दर्दनाक आतङ्क र त्रास बढिरहेको थियो। विकसित राष्ट्रहरूमा पनि ठूलो महामारीको रूप लिएको सुन्दा कता कता मनमा डर लागिरहेको थियो। यति सानो राष्ट्र नेपालमा आयो भने के  होला। हिजो सानोमा विकास उन्मुख देश भनेर निबन्ध लेखेको याद छ अझै पनि विकास उन्मुख नै छ। आफैलाई प्रश्न गर्थे के मेरो सपना पूरा नहुने हो र ???

फेरि सदा झैँ आफ्नै दैनिकीलाई मध्यनजर राख्दै कार्यतर्फ लागि रहे। कोरोना महामारी अत्यन्तै बढिरहेको थियो। कोराेनाको आतङ्क सामाजिक संजालमा छ्याप्छ्याप्ती देखिन्थ्यो।  अन्त त २०७६  चैत्रमा नेपालमा  पनि लकडाउन गरियो । मेरो सबै योजनाहरु असफलता तिर लम्किदै थिए।

तर कोरोनाले मनमा डर त्रास भएता पनि लकडाउनले मेरो जीवनमा सकरात्मक प्रभाव परेको छ। सबै भन्दा ठूलो कुरो त आज सम्म जिउन पाएको छु। मनमा हिम्मत र साहस छ कि म मेरो पुस्ताको पहिचानलाई चिनाउने सपना पूरा गर्न सक्छु। आज धेरैलाई लकडाउनको समय धेरै भएर दिन बिताउन गाह्रो भइरहेको होला तर मलाई कम भएको महसुस भइरहेछ । 

हामी प्रत्येक बिहान उठ्ने त गर्छौ। किन ? यही प्रश्न मैले यतिबेला आफैलाई पनि सोधेँ, म हरेक बिहान किन उठ्छु ??  सबैको मनमा निन्द्रा पूरा भएर उठ्छु, उज्यालो भएर उठ्छु, रात सकिएर उठ्छु, काम गर्नलाई उठ्छु जस्तो लागिरहेको होला! तर लकडाउनले मलाई पृथक तरिकाले सोच्ने अवसर दिलाएको छ। जब बुझे त्यो दिनबाट म हरेक दिन मेरो न्वारनमा दिएको नामलाई पहिचानमा परिणत गर्न उठ्ने गर्छु। लाखौ सपनालाई उजागर गर्ने अवसर दिनको लागि उठ्ने गर्छु। किनकि यदि हामी सफल हुन चाहन्छौ भने खुसी बाँड्न सक्नु पर्छ । मान्छे एउटै मात्र यस्तो विशिष्ट प्राणी हो जसले अरूको लागि बाँच्न सक्छ।

बाहिरको माहोल निकै शान्त देखिन्छ। तर पनि धेरैजना बहाना बनाएर बाहिर निस्केको देख्छु। अचम्म लाग्छ , विश्व हाम्रो स्वस्थ्यमा चिन्तित छ । अस्पतालमा खटिएका डाक्टर हाम्रो स्वास्थ्य प्रति चिन्तामा देखिन्छन् । चोकचोकमा खटिएका राष्ट्र सेवक हाम्रो चिन्तामा देखिन्छन् तर हामी आफ्नो लागि चिन्तित छैनौं। सबै आफूमा सचेत हौ राष्ट्र आफै सुरक्षित हुने छ।

दुनियाँले बनाएको धनी,गरीब र  मान,अपमानको कारण ले  धनी र सम्मान कमाउन बाध्य बनाएको छ । म पनि भविष्यको सुनिश्चितताको यात्रामा आज घरबाट अलि टाढा छु। बन्द कोठा भित्रबाट विश्वलाई नियालि रहेको छु। लकडाउनले गर्दा प्रत्येक दिन ३ घण्टा आफ्नो स्वास्थ्यको लागि छुटाउने मौका पाएको छु। ध्यान,योग र शारीरिक व्यायम गर्ने गर्छु ।

तर आज पनि म विश्वस्त छु कि म भविष्यमा केही गर्छु। हरेक समयमा मस्तिष्कलाई सकरात्मक सोच दिने गर्छु । गौतम बुद्ध ले बन्नुभएको छ (Your mind is everything what do you think you become.) 

यो लकडाउनले जिन्दगीको किताब पढ्ने अवसर दिएको छ। मैले पनि अध्ययन त १ कक्षा देखि ११/१२ कक्षा सम्म गरेँ। तर कुनै किताबबाट पनि भविष्य सुनिश्चित गर्ने ज्ञान पाउन सकिन। मात्र परीक्षामा कसरी राम्रो पूर्णाङ्क प्राप्त गर्ने भन्ने मात्र सिकेको थिएँ।

नेट इन्टरनेटको माध्यमबाट प्रत्येक दिन अनलाइन ट्रेनिङ दिने गर्छु।  दिनको २-३ वटा सम्म टिम व्यवस्थापन गरेर मिटिङ्ग गर्ने गर्छु। लकडाउन पछिको योजनाको तयारीमा छु। दिनको प्रत्येक सेकेण्ड राम्रोसँग प्रयोग भएको छ। दिन प्रति दिन नयाँ नयाँ कुरा सिकिरहेको छु। लकडाउनको समयमा पनि सफलताको लागि म अगाडि बढिरहेछु।

यदि भोलिको दिन खुसी जिउन चाहन्छौ भने आज नै समयको सही सदुपयोग गर्नु पर्छ। भविष्यको पछि नलागौँ। वर्तमानलाई सही रूपमा प्रयोग गरौं ।खुसी साथ बिताउ। पक्कै पनि भविष्य सुनौलो हुने छ ।

आशिष थुलुङ राई 

व्यस्त दिनहरु

लकडाउनको समय कार्यालय र घरायसी काममा व्यस्त हुन्छु। कार्यालय सुरु हुनभन्दा अघि व्यक्तिगत र घरायसी काममा बित्छ। कार्यालय विहान ८:३० बजे सुरु हुन्छ।आधा घण्टा अघिल्लो दिन र आकस्मिक सेवाको रिपोर्टिङ हुन्छ। त्यसपछि छानबिन क्लिनिकमा नयाँ बिरामीहरुको स्क्रिनिङमा व्यस्त रहन्छु। अहिलेको दैनिक क्रियाकलाप टाढा टाढाबाट विशेष छालाको समस्या लिएर आउछन्। उनीहरुमा कतै कोभिड १९ सक्रमण छ कि भनी छानबिन गर्ने। मास्क लगाएकाहरुलाई चेकजाँच गरि साबुन पानीले हात धोइ टिकट काउन्टरमा पठाउने गरिन्छ। कसैको नभए किन्न सल्लाह दिन्छौ र उपलव्ध भएपछि मात्र पठाउँछौ । यदि १००.४ डिग्री भन्दा माथि ज्वरो भए पुन: अघिल्लो चरणको छानविनको लागि पहल गरिन्छ । यदि भारत तथा अन्य मुलुक अनि सकं्रमित भएको स्थानबाट आएकाहरुको सम्पूर्ण विवरण टिपोट गरी सम्बन्धित निकायमा पठाइन्छ।

अहिलेको यो माहोलमा साधारण रोग सम्भव भएसम्म स्थानीय स्तरमा जचाउँने यात्रा सकेसम्म नगर्ने, सबैभन्दा जटिल समस्या कोभिड १९ महामारीको रुपमा सारा विश्वमा फैलिएको छ। यसको रोकथाम भनेको सामाजिक दुरी कायम राख्ने आफू अनि अरुलाई पनि संक्रमण हुनबाट बचाउने। सरकार अनि विज्ञहरुबाट आएको सरसल्लाह र सुझावलाई पालना गरेर घरमै बस्ने अति आवश्यक परेमा मात्र बाहिर जाने पटक पटक आवश्यकता अनुसार मिची मिची हात धुने यदि शंका लागेमा सम्बन्धित निकायमा जान परामर्श दिने गरिन्छ। छालाको रोगीहरुलाई साेही अनुसारकाे उपचार विधि सिकाइन्छ। मापदण्ड अनुसार पूरा भएपछि पुन: जाँचको लागि आउने सल्लाह दिन्छौ।

बाँकी समय फेरि घरायसी काम गर्नै खेल खेल्ने, बाजागाजा बजाउने, गीत गाउने साथीभाइसँग भलाकुसारी र अहिले कोभिड १९ को नयाँ रिपोर्टहरुको बारेमा जानकारी लिने, लेख, कथा, कविता लेख्ने आदि इत्यादि गरेर बित्छ।

अशोकमालती थापा

धनुषा

उही चमक फेरि कसाे नफर्किएला!

एकनास गतिमा बगिरहेको थियोे समय, संसार निकै सुन्दर लाग्थ्यो, पूर्वदेखि पश्चिमसम्म उत्तरदेखी दक्षिणसम्म स्वतन्त्र भइ हिड्ने हामी नेपाली आज एक अर्काकाे समिपमा जान पनि डराउनु पर्ला भन्ने कदापि साेचिएकाे थिएन। राेक्दा राेक्दै याे महामारी एवं रितले अराजक गीत गाउँदै हिड्दैछ। के मन्दिर के मस्जिद के गुम्बा के विहार हरेक स्थानलाई लकडाउनले छाेयाे

हरेक बिहान खुलेर मुस्कुराउने माछापुच्छ्रे आज पनि सहरका तिनै अनुहार खाेज्दै छ, हरेक गल्ली हरेक चाेकमा भविष्य खाेज्दै दाैडनेहरूकाे शितल छहारी बन्न नपाउँदा साच्चिकै दुःखी छ माछापुच्छ्रे।अनि शून्य मसानघाट जस्तो बनिरहेकाे छ मेराे पाेखरा। मानिसहरू समयकाे ओइराे हालेर जिन्दगी पिनिरहेका छन्, कैयाैँ सपना पूरा गर्न याे सुन्दर सहर पसेकाहरूकाे लागि यहीँ सहर आज अभावकाे सम्राज्य बन्दै गइरहेकाे छ। 

यी सुनसान बाटाेहरू देख्दा लाग्छ ,यी पनि विदेशमा भएका सबै नेपालीकाे सुरक्षित फर्काइकाे पर्खाइमा छन्। अनि गाउँ पसेका आम नेपालीको पर्खाइमा छन्। गाउँ सहर जहाँ छाैँ हामी त्यहीँ सुरक्षित छाैं। गर्ब गराैँ दुई छाक खाने, परिवारसँग रमाउने अनि याे संकटमा एकजुट हुने माैका पाइरहेका छाैं।

आफूभन्दा कम भाग्यमानीलाई सहयाेग गर्ने सहयाेगी हातहरू अगाडि बढिरहेका छन् र बढिरहुन् । हरेककाे चुल्होमा आगाे बलाेस्, सुखकाे सास फेर्दै याे संकटलाई हटाउन सकियोस् र सदा सम्मान जाे दिनरात हाम्रो लागि खटिरहनु भएकाे छ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र हाम्रो याे समयलाई थप सम्झन लायक बनाउन सहयोग गर्ने आइ टि टेक्निसियनहरूलाई।अत्यावश्यक समय बाहेक अरू समय लकडाउनलाई पालना गराैं। म पनि गरिरहने छु। आशा गराैँ सहरको उही चमक फेरि कसाे नफर्किएला!

सन्ताेषी सुनार

पाेखरा

लकडाउन कि लभडाउन

आज म घर आएको ५७ दिन हो। कलेज पढ्न काठमाडौँ छिरेदेखिको मेरो सबैभन्दा लामो घरबसाइ हो यो। कोरोनाको असर दिनदिनै चुलीचुली हुँदैछ। स्थिति अस्सनिस्स छ।

पढाइको चक्कर, जागिरको रुटिन अनि साथीहरुको रमझममा भुल्ने मेरा दिनरातहरु अचेल घरकै यात्रु हुन पुगेका छन्। लकडाउनको सुरुवातमा यति लामो बसाइ होला भनेर सायदै कसैले सोचेको थियो। पाल्पाको कुनै क्याफेमा साथीहरु बसेर गफिरहेका थियौं ‘१५-२० दिन त होला’ मेरो प्रिय साथी सुरेश हेर्दै हँसिलो र हिस्स परेको छ। रित्तिदै गरेको बियरको ग्लास ओठमा च्याप्दै हाँस्दै उसले मलाई हेरेर भनेको थियो “बिजोग होला जस्तो छ यार!”

जब १० क्लास सकेर कलेजमा प्लस टु सुरु गरे ,दिनहरु यस्ता पनि थिए, म मेरा स्कुलका साथीहरुलाई खुब सम्झिन्थे। आज दिउँसो मोबाइलमै डाटा प्रयोग गरेर साथीहरुसँग बोलियो। तुल्सिपुर हाम्रो घरबाट नजिकै छ। अक्सर मान्छेहरुको भिड त्यहाँ देखिदैन। मैले ड्याडि मम्मीलाई सम्झाइरहन्छु, “यो महामारीको सुरुवात मात्र हो है” मम्मीले बेला बेला झर्को मान्दै भन्नुहुन्छ, “खानु त पर्यो नि केटा” मैले हरबार एउटै उत्तर दिन्छु “बाँच्नु त पर्यो नि मम्मी!”

हाम्रो घरमा सानो तिनो कस्मेटिक पसल र फलफूल पसल छ। केही दिन अघिसम्म सामाजिक दुरी कायम गरि सामानहरु बेच्थ्यौं, अहिले त्यो पनि बन्द छ। घरमा चारवटा बाख्रा छन्। बाख्रा चराउन जाँदा सानोमा साथीहरुसँग खेलेको लुकामारी याद आउँछ। ती गाउँले साथीहरु अहिले पनि भैंसी, गाइ-गोरु वा बाख्राहरु वरिपरि चराइरहेका हुन्छन्। मनलाग्दा लाग्दै म एउटा वाक्य मुखमै रोक्छु “केटा हो लुकामारी खेलौन”। हजुरबुवाले भन्नुहुन्थ्यो “रहरलाई केहीले रोक्दैन नाति।” हजुरबुवा अहिले ज्युँदै भएको भए म भन्थे “उमेरले रोक्दोरहेछ बा”

तर लकडाउनको यो सन्नाटामा हाम्रो पारिवारिक समय भने बढो सुनौलो हुँदै छ। मेरी बहिनीको ८ क्लासको नतिजा अस्ति भर्खर आयो। हामी सबै खुसी भयौ। म उसका गतिविधिहरु नजिकैबाट नियाल्न पाइरहेको छु। म उसलाई पढ्पढ् भनेर किचकिच गर्दिन र मम्मी ड्याडिलाई पनि सम्झाइरहन्छु। विश्व मानसिकता नै धुलाम्मे भएको बेला बच्चाहरुलाई दबाब दिराख्न सायद त्यति उचित पनि हुदैन। मैले उसलाई टिभि हेर्दैगर्दा डिस्कोभरी र जियोग्राफि च्यानल हेर्न सल्लाह दिन्छु। उसलाई योगा खुब मन पर्छ , मेरो ढिला उठ्ने बानी उसलाई मन पर्दैन। हरेक बिहान “दाइ दाइ “भन्न पुगिहाल्छे अनि उक्साउँछे “दाइ म तपाईलाई योगा सिकाउँछु।” 

घरपछाडि सानो बारी छ। दिनको एकफेर सकेसम्म म बारीमा छिर्छु र केही समय त्यतै बिताउँछु। मेरो ड्याडिलाई अचेल कौसी खेतीमा खुबै रुचि बढेको छ। लकडाउनको समयमा फाटेका बोराहरु, पेन्टका भाडाहरु प्रयोग गरि हामीले भिंडी, खुर्सानी र धनियाँहरु लगाएका छाैं।

लकडाउन अघिको रमझम सम्झेर म बेला बेला घोरिन्छु। मम्मीले मलाई देखेर भन्नुहुन्छ “लकडाउन त छोरालाई लभडाउन भएजस्तो छ”  म मुस्कुराउँछु मात्र।

हरेक दिन खाना खाएपछि हामी १-३ घण्टा केही खेल्छौ। कलब्रेक मलाई‌ मनपर्ने र आउने तासको खेल हो।अस्ति २-३ घण्टा लगाएर घरमा सबैलाई यो खेल सिकाए। दिक्क लाग्दा रमाइलोको लागि परिवार बसेर तास, लुडो, ब्याडमिन्टन, टेनिस, फुटबलजस्ता खेल खेल्दा रमाइलो पनि  हुने, समय पनि सजिलै बित्ने।मैंले आज दिउसो परिवारलाई होममेड मिन्ट लेमोनेड बनाएर चखाए।  मम्मीलाई एक ग्लास दिएपछि मम्मीको प्रतिक्रिया थियो “लेमाेनेड भन्या त पुदिनाको झोल त रहेछ” म मुस्कुराएँ।

लकडाउनको बेला कम्युनिकेसन ग्याप सबैको हुन्छ अझ अनिश्चित लकडाउन।मम्मीले मेरो अनुहार धमिलो हुने बितिकै चोरलाई पुलिसले समाते जसरी समाइ हाल्नुहुन्छ। मैले यस्तो अनिश्चित समयमा केही स्मार्ट तरिकाहरु प्रयोग गरिरहेको छु जस्तै धेरै लेख्ने, फोन च्याटमा समय मिलाएर बोल्ने, एकअर्कालाई निरुत्साहित हुनबाट बचाउने। फेसबुक र इन्स्टाग्राम सँगै लिङ्कडिन र टि्वटर चलाउन सुझाव दिन्छु।

आज बिहानै उनले मेसेज गरिन् “फोन बिग्रिएर राम्ररी टाइप गर्न पनि गाह्राे भइराछ ” मैंले फ्लर्टि रिप्लाइ दिए “मन चाहिँ बचाइ राख, अरु जेजे बिग्रिए पनि मिलेर सम्हालाैंला!” उनले मायाले सङ्गालेर एउटा शब्द मात्र उत्तरमा पठाइन् “आलु”

म हरदिन लकडाउन कति बढ्ला भनेर आत्तिन छोडिसकेको छु। बरु हरेक दिन विशेष कसरी बनाउने सोच्दै छु। हिजो बेलुका बहिनीले भनेकि थिइ “दाइ भोलि बेलुका तपाईंले सयचोटि डोरी खेल्नु पर्छ है”

अब म किप्याडबाट आँखा हटाएर स्टोर रुममा स्किपिङ डोरी खोज्न जान्छु।

सुरज आखिर 

दाङ

तरकारीकाे स्वाद

अहिले विश्वव्यापी रूपमा आतंक फैलिरहेको कोभिड -19 नोबेल कोरोना भाइरस को कारणले स्वदेशी उत्पादनहरुले निरन्तर बजार पाइरहेका छैनन। कयौं कुहिएर नष्ट पनि भएका छन्। यसले कृषक अनि देशलाई धेरै नोक्सान भएको छ। बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दैछौं। जुन नेपाली स्वाभिमान अनि कृषिकर्मको आदर्श विरुद्ध हो भन्दा फरक पर्दैन। हामीले लाज र अल्छी मानेर पनि हाे। हामी करोडौं नेपालीहरु कृषकको निर्भरमा थियौं/छौँ । यो बिपत्तिले आफैं आत्मनिर्भर हुनु पर्दछ भने कडा संदेश दिएको छ ।  र कैयौं नागरिकहरु आफ्नो बाँझाे खेत छोडेर विदेश पलायन भइरहेका बेला कति चाहीँ लाज र अल्छि पनालाई बिर्सिएर सक्रिय भइ कृषि कर्ममा खटीएकाे पनि देखिन्छ।

यो बिपत्तिले पनि मानबजिबनमा अती आबस्यक सिक्नुपर्ने महत्त्वपूर्ण  शिक्षा दिएको छ ।  यो बिपत्तिको समयमा मेरो जिब्रोले इच्छा अनुसार थुप्रै स्वादहरु बिर्सिरहेको झैँ लागिरहेको छ। लाग्दछ कि जिब्रोले पनि नौलो अनुभूती गरिरहेको होला। तरकारी पसलहरुमा बेच्नको लागि राखिएका विभिन्न थरीका तरकारीहरु देखे पनि कोरोनाको जोखिमका कारण सजग भएर टाढिरहेको छु। मेरो घरकै अगाडि स्थानीय तरकारी उत्पादकहरु टाउकोमा तरकारी बोकेर बेच्न आउनु हुन्छ। त्यो समयमा अलि कम डर लाग्छ। त्यसैले उपयोग गर्छौ। तर उपभोग गर्नु अघि नुन/कागती र  पानीको मिश्रणमा तरकारी धोइ, फेरि ३ पटक सम्म सफा चिसो पानीले धोएर मात्रै खानलाई योग्य मान्दछाैं। यसाे गर्दा ब्याक्टेरिया मर्दो रहेछ।

मलाई  यस जटिल परिस्थितिले कृषि तर्फ उत्प्रेरित गरिरहेको अनुभूती भइरहेको छ। म चाडैं आफ्नो बाँझो खेतमा कृषि जन्य उत्पादन गरि, परिवारजन र ईष्टमित्र समेतलाई चाख्न पुग्ने गरि स्वच्छ उत्पादन सुरु गर्ने बारे साेच्दैछु। कयौँ कृषकसँग निर्भर भएका सम्पूर्णलाई यसरी पनि आत्मनिर्भर बन्न सकिन्छ है भनी सन्देश पनि जाओस् भन्ने सोच्दैछु। हेराैं के हुन्छ। 

अहिलेको यो बिपत्तिको परिस्थितिलाई मध्यनजर गरि, सरकारले पनि तुरुन्त कृषि क्रान्ति अघि बढाओस् र बढी प्राथमिकता दिए भविस्यमा कुनै पनि बिपत्ति आए पनि भोकले मर्नु पर्दैन। पछि दुखी बन्नु नपरोस्। कृषिकर्ममा ध्यान दिने हो भने यसको परिणाम भविष्यका पुस्ताले सुख भोग्नेछन्।

बिशाल मल्ल

गाउँकाे माटाे र मुग्लानकाे बाटाे

बिहानैदेखि आकाश निकै कालो भएर धुम्मिएको थियो। कालो बादल आकाश मडारिएको देख्दा मनमा ठूलो पहिरो गएको अनुभूति भएकोे थियो। बिहान १० बजे पछि भने आकाश हल्का खुल्दै गएर सौर्यकिरण देखिन थालेकोले मनमा हर्षको सिमा नै थिएन । यसो चारै भञ्ज्याङ्मा देखिएका पहाडहरुलाई नियालेर हेरेँ, आज धर्ती पनि रोइरहेको प्रतित भयो।

भनिन्छ प्रकृति आमा हुन्, आमा रुँदा सन्तानलाई पनि पीडा हुन्छ भनेर। दिन यसै गरि बित्दै थियो,बिहानीको समय हल्का बादल ,घाम हुँदै क्रमश: मैतालुहरु पनि यो समयमा फाट्टफुट्ट देखिन थालेका थिए। यसो मोबाइललाई गोजीबाट निकालेर हेरें। आफ्नो मोबाइल भरि आमाको सम्झनामा कोरिएका शब्दहरु हेरेँ अनि सोचेँ कि ती आमा जसलाई यो मोबाइल हेर्न त परै जाओस् छुनसम्म पाएका छैनन् उनलाई यसले के फरक पर्छ र! मध्यान्ह १२ बज्दासम्म टन्टलापुर घाम थियो। यस्तो लाग्थ्यो– अब पानी त असारमा मात्रै पर्ला। क्षितिजमा कतै पनि एक टुक्रा बादल थिएन। एक महिनादेखिको नित्य कर्ममा थिए– आममान्छे। कोरोना पस्ने भयले सबै घरभित्र चुकुल लगाएर बसेका थिए। काठमाडौंका सडक सुनसान थिए। 

समयले फन्को मारिरहेकै थियो। म भने आफ्नै नियमित काममा ब्यस्त हुने प्रयासमा थिएँ। तर आमाको यादले चसक्क मन छोयो। दैनिक दिनमा चार/पाँच पटक फोन गर्ने मेरो दैनिकी नै छ। म औंसी भएर मात्रै सम्झने गर्दिन किनकी मेरी आमा नै मेरो जीवनको आधारशीला हुन् जसको अबिराम दु: खले म, म हुन पाएको छु। जिन्दगीको यात्राले तीन बिस र छ पुगिसकेकी मेरी आमा सधैँ मेरो फोनको पर्खाइमा बस्नुहुन्छ। कुनै दिन ढिला हुँदा ‘तँलाई केही भयो कि भनेर डराएको थिएँ, के छ?’ भन्नुहुन्छ। आमालाई आफ्नो भन्दा पनि सन्तानको माया धेरै हुन्छ। आमालाई सम्झन पनि दिन चाहिन्छ र ?

दिन क्रमशः ढल्कदै छ मन भित्रै उकुसमुकुस भएर तरङ्गित भएको छ। देश कोरोनाको कहरमा बन्दाबन्दी भएको पनि यत्तिका दिन पुगिसकेको छ। मानिसहरुमा यसको त्रासदी बढिरहेको महसुस गर्न सकिन्छ। पानी निरन्तर परिरहेकाले आज काठमाडौँमा चिसो महसुस भएको छ।मौसमी बर्षाको झैँ पानी परेको पनि निकै दिन भयो। पानीले वायुमण्डलको बिकार त सफा गर्दैछ, तर मानिसको मनको बिकार भने बढाइरहेको जस्ताे लाग्छ। मोबाइल, टि भि हेरिसक्नु छैन मानिसका पीडाहरुले।

समयको लय र गति त जहिले पनि उस्तै त छ। तर हामी मनुवाहरुले बाटो बिराएका छौँ र त चित्त भ्रान्ती भइरहेको छ। मन, वचन र कर्मले भौतिकवाद भन्दा बाहिर कोही पनि कहिल्यै निस्कन सक्दैन वा निस्कन चाहिरहेको छैन, त्याे बुझ्न सकिएको छैन।आजकाल त आफ्ना पनि पराइ भएका छन। धनका पुजारी हुने रहेछ दुनियाँमा। मुन्छेहरुलाई चाहदैमा कहाँ आफ्नो मान्न सकिन्छ र! हिजो एउटै कोखमा जन्मिएका बिचमा पनि लालचा अधिक देख्न पाइने अरु त झनै लालची न परे। साहित्यकार सरुभक्तको पागल बस्ती  उपन्यास जस्तै हो यो दुनियाँ  नमरिकनै मसानघाट  भएको छ बस्ती बस्तीहरु। जीवन त दु: ख सुखको संयोग न हो सोचाइमा सकारात्मक  धारणा हुनु पर्दछ। बिगत साह्रै कष्टपूर्ण थियो र त वर्तमान झिलिमिली बन्दै छ।

आज त आफ्नै आँगन पनि मुग्लान सरह बन्न पुगेको छ। तीन बिस र सोह्र  पुगेका बा आमा मात्र आँगन कुरेर बसिरहनु भएको छ।दैनिकी फोन वातचितले कहाँ  मन मान्छ र! मनले भन्छ नि सँगै बसिरहौं तर पापीपेट र साहुको ऋण समेतले गर्दा मुग्लान भासिनु पर्यो। अब त आफ्नै भूगोल र माटो पनि धेरै पर बन्दै जान लागेको आभास गरिरहेको छु। साना लालाबाला आँखाका नानी चन्द्र र सूर्य झैँ प्रकाश छरिरहेका छन्।

छोरीले ‘बाबा कहिले आउनुहुन्छ? मलाई नियास्स्रो लाग्यो,आउनु!’ भन्दा मनमा भक्कानो फुट्छ। ‘गाँउमा दुध लिन बस आउँदा  आउनु न’ भन्छिन। तर म ‘आउँछु’ भन्दै छल गरिरहेको छु। आखिर कति दिन चल्छ र यसरी ! एक दिन त सत्य सत्य नै बन्नेछ। केटाकेटीलाई  हजुरबा हजुरआमा र आमाको साथ त छदैछ तर बाबा पनि साथै हुनुपर्दछ भन्ने चाहनालाई कुन्ठित बनाइरहन कहाँ सकिन्छ र ?अत: चन्दनका बृक्षको वरिपरि नागै नाग हुन्छन् तर चन्दन बृक्षमा तिनीहरुको प्रभाव परेको हुँदैन। त्यसैले हामी मनुवा पनि चन्दन बन्न सक्नुपर्दछ। 

श्याम प्रसाद दुलाल

मेलम्ची, सिन्धुपाल्चोक

 

१९ वर्षमा नफेरिएकाे मेराे गाउँ

एउटा गाउँको सामन्य परिवारमा जन्मिएकी मलाई आफ्नो बाल्यकाल हजुरबुवाआमाकै काखमा बिताउने साैभाग्य मिल्यो। गाउँमा गुणस्तरीय शिक्षाको अभावले सहर सम्मको यात्रा गर्नु पर्यो। पढ्नका लागि सहर गए पनि, मेरो मन मस्तिष्कमा भने गाउँकै आकृति सलबलाउँथ्यो। कहिले शुक्रबार आउँला र गाउँ जान पाइएला भनेर अति उत्सुक हुने म र मेरा भाइका कलिला हातका अौलाहरु आइतबार, सोमबार गर्दै हप्ताका सातै दिनका लागि भाचिन्थे तर ती अौलाका लागि पनि शुक्रबार अति प्रिय थियो। एस.एल.सि दिए पछि भने गाउँ जान चाडपर्व नै कुर्नु पर्थ्यो।

बाल्यकालमा गाउँ आउँदा गोटा, डन्डीबियो, लुकामारी खुब खेलिन्थ्यो। गाउँसँग जोडिएका बाल्यकालमा घटेका धेरै तितामिठा सम्झनाहरु छ्न्। लकडाउनले गर्दा,म र मेरा दाजुभाइ र बहिनीका लागि फेरि तिनै बाल्यकालमा खेलिने खेल खेल्न र तिनै तितामिठा सम्झनाहरुका प्रत्येक पल फेरि जिउने सुवर्ण अवसर मिलेको छ। हामी खेलेको देख्दा हजुरबुबाआमा भन्नुहुन्छ , ‘किन दशैं कुर्नु पर्यो हामीलाई त आजै दशैं आएजस्तो भएको छ।’ सबैजना खुशी हुनुहुन्छ।

काठमाडौँ हुँदा गाडीको चर्को हर्नले समेत नबिउँझने म आजभोलि चराचुरुङ्गीको सुमधुर आवाजले छिट्टै बिउँझन्छु। फुर्सद भएको समयमा चैतारीको शितल छाहारीमा बसेर, हातमा आफूलाई मनपर्ने किताब अनि साथमा मन माेहित पार्ने प्रकृतिको अनुपम दृश्य हेर्न पाउँदा यी नयन पनि मन्त्रमुग्ध छ्न्। 

लकडाउनले गर्दा घरपरिवारको बारेमा मात्र नभएर गाउँको खेतीपाती र गाउँको रहनसहनको बारेमा बुझ्ने अवसर मिलेको छ। सुन्तालामा मल हाल्ने, मकै छर्ने , खन्ने, गहुँ टिप्ने, तरकारी लगाउने इत्यादि गरेर नै दिन बितेको छ। आफूमा भएको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने  समय मिलेको छ। कृषि पेशामा हुनुभएका काकाकाकीसँग्काे सङ्गतले एउटा कृषकको जीवनयापन र कृषि पेशामा आइलाग्ने चुनाैती र आम्दानीको बारेमा बुझ्ने अवसर मिलेको छ। हावाहुरी, घामपानी, दिनरात केही नभनि आफ्नो रगत पसिना माटोमा मिलाएर माटोको सच्चा पुजारी बन्दै विपन्न देखि सम्पन्न परिवारको हातमुख जोड्न एउटा किसानको मूल्य कति हुँदो रैछ भन्ने कुरा नजिकैबाट नियाल्ने सुयोग लकडाउनले जुराएको छ। यहाँका किसानहरुसँग कुरा गर्दा जति नै परिश्रम गरेता पनि लगानी  उठ्न गाह्रो हुने सुनाउँछन्।

जनप्रतिनिधिहरु चुनावी माहोलमा हात जोड्दै घरदैलो गरेतापनि, चुनाव जितेर गएपछि जनप्रतिनिधिहरुका पाउले कुनैपनि कृषकको आँगन नटेकेको कुरा गाउँका किसानहरु बताउँछ्न्। अर्थतन्त्रको मुख्य आधार मानिने कृषिमा अझैपनि आधुनिकीकरण छाएको छैन । गाउँ गाउँमा आधुनिकीकरण छायो र कृषि पेशामा नै राम्रो आम्दानी भयो भने लाखौं युवाहरु विदेस जानु पर्दैनथ्यो।

यस महामारी कोरोनाभाइरस माथिको जितपछि हाम्रो सरकारले कृषि पेशालाई माथि उठाउने नयाँ नीति तथा कार्यक्रम ल्याउन सकेको खण्डमा बाझो रहेका गाउँका पाखापखेरालाई पनि युवाजमातले हराभरा बनाउने थिए। अझैपनि गाउँको शिक्षा, स्वास्थ क्षेत्र पहिलेकाे जस्तै छ। केही सुधार भएको छैन। म ३ वर्षमा सहर जाँदा मेरो गाउँको शिक्षा र स्वास्थ क्षेत्रको अवस्था खासै राम्रो थिएन।अहिले म १९ वर्ष भैसक्दा पनि शिक्षा र स्वास्थ क्षेत्रको त्याे मुहार मलिनै छ। अझैपनि गाउँका धेरै नानीबाबुहरु पढ्नकै लागि म जस्तै सहर पस्छन्। गाउँका बिरामीहरु पनि राम्रो उपचार पाउनका लागि सहर जान बाध्य छन्। मेरो गाउँ जस्तै कयौ गाउँहरुमा विकासको खाँचो छ ।

सम्झना खनाल

स्याङ्जा

मौन युद्ध

एउटा सानो घाउ लाग्दा, एक हप्तासम्म रुने म। जिन्दगीमा केही आपत आइ पर्दा साथीलाई नसुनाइ बस्न नसक्ने म। अनि साथीहरुलाई समस्या पर्दा सबै भन्दा पहिले समाधान खोजिदिने म। सबैसँग परिचित तर स्वयंसँग अपरिचित म। सम्भवत: यो समय मेरो लागि एना बनेको छ।

मैले अब आफूलाइ आफ्नै नयनबाट नियाल्न थालेकी छु। सधैँ हतारमा हराउने मलाई स्थिरता प्रिय लाग्न थालेको छ। केही घटना हुँदा त्यसैमा बिलाउने म, अचेल फेरि हराएकै ठाँउबाट आफूलाई खोज्न थालेकी छु। आफैसँग यति गहिरो र गहकिलो संवाद हुनसक्छ भन्ने बोध यही कोरोनाको कहरमा सिकेँ। आफ्नो पृथक कहानी हुँदाहुँदै पनि सधैँ परिवार र साथीसंगीका जीवन कथामा आफूलाई खोज्ने म अब आफ्नै कहानीमा आफूलाई भेट्न थालेकी छु। जीवनमा आफूले आफूलाई रुवाउनु, हँसाउनु, फकाउनुको मज्जा छुट्टै हुँदो रहेछ। सुन्दा त्यति व्यवहारिक लाग्दैन, तर एक्लोपनको संगत जस्तो अरु संगत हुन सक्दैन रहेछ। स्व-संवादबाट निस्कने अभिव्यक्ति रोचक पनि हुन्छन्। आफैबाट उब्जिएका प्रश्नले आफैबाट उत्तर पाउँदा छुट्टै  आत्मा सन्तुष्टि पनि हुँदो रहेछ।

हो! देश र संसारका हृदयबिदारक घटनाले मनमा हलचल पक्कै ल्याउँछन्। तर परिस्थिति प्रतिकूल हुँदा अनुकूलता खोज्नु भन्दा प्रतिकूलतामै रमाउने उपाय खाेज्न आँट गर्नुपर्छ भन्ने सिकाइ यही समयमा भएकाे छ। समयले समस्या दिन्छ, संघर्ष दिन्छ। यो अवस्थामा समयसँग पाैठेजोरी खोज्नु भन्दा समस्यामा लुकेको झिनो आशालाई  नियाल्न सक्नु पर्दो रहेछ। समस्या शिवको अर्धनारेश्वर स्वरुप जस्तै हुँदो रहेछ, जसकाे एउटा पाटोले समस्या झल्काउँछ भने अर्को पाटोले समाधानको प्रतिनिधित्व गर्छ।
यो समयमा संयम हुन सक्नु सबै भन्दा आवश्यक रहेछ जसले हामीलाई ढाढस त दिन्छ नै अर्को तिर आफ्नो परिचय पनि जोगाइ राख्छ। आफ्नो क्षमतालाई नकार्दा तिल जस्ता परिस्थिति पहाड बनेर आफूसँग मौन युद्ध गर्न आउँदा रहेछ्न। अत: ती मौनतामा ओझेल परेका आत्मा सम्मान र स्वप्रेमका आवाजहरु सुन्ने क्षमता यही कहरमा महसुस गर्दैछु। आफ्नो ओझेल अस्तित्वमा दुर्योधन, शकुनी, अर्जुन र कृष्ण जस्ता पात्रहरु हुँदा रहेछ्न। कुन समयमा कुन पात्रमा आफूलाइ उतार्ने हो त्यो पनि जान्नु पर्दो रहेछ।

यही समयमा पढेका ‘The alchemist, The power of now र death जस्ता पुस्तकले आफ्नो सपनालाई पछ्याउन साहस दिएका छन् र जीवन भन्दा मृत्यु वास्तवमा सुन्दर हुन्छ र बाँच्न भन्दा मर्न जान्नुपर्छ भन्ने केही आध्यात्मिक अभिव्यक्तिले जीवनलाई हेर्ने नजर बदलिदिएको छ। परिवारको सामिप्यतामा आफ्नो अपनत्व थपिदा पक्कै पनि जिन्दगी रोचक बन्छ भन्ने केही भोगाइ र सोचाइले मैले नचिनेको ‘म’ लाई केही हदसम्म परिचित बनाएको छ।

संगीता के. सि

चरी भए भुरूरू जान्थे उडेर…

चरी भए भुरूरू जान्थे उडेर,

सन्चो छ कि बिसन्चो छ आउथेँ बुझेर ।

जब प्रत्येक पटक बबिना किराँती दिज्यूको गीत सुन्छु,मन नै अमिलो भएर आँउछ। जीवन जोखिम, सर्वत्र लकडाउन र बन्धनले स्वतन्त्रताको धज्जी उडेको भान हुन्छ। तर के गर्नु!  

सामान्य जीवन कस्तो हुन्छ नै विर्ससकेँ।बाहिर निस्किनु निकै नौलो लाग्छ। लकडाउनले मेरो दैनिकी नै परिवर्तन गरिदिएको छ । बस्दा बस्दै थकाइ लाग्छ र सुत्छु, सुत्दा सुत्दै थकाइ लाग्छ र उठ्छु। 

दुई दिनको भेटघाटको सिलसिलामा नेपालगंजबाट सुर्खेत आएको म करिब ५१ औं दिन पुग्दा सम्म यतै बस्न विवश छु। बढेको दाह्री र कपालले मेरो आफ्नै स्वरूप पनि बिरानो लाग्न थालेको छ। घरभित्रै कुन्ठित भैरहँदा मनमा भने अनौठो किसिमको भेल पैदा भैरहेछ। 

२०७६ साल मेरा लागि त्यति उर्वर रहेन। सोचेको थिंए २०७७ सालको आगमन सँगै जीवनले थप उचाइ पाउने छ। जीवनमा नयाँ उमङ्ग थपिनेछ । तर बिडम्बवना कुरो अर्कै भइदियो। नववर्षको आगमन कालो वर्षको रूपमा परिणत भयो। नेपाल भ्रमण वर्ष, २०२० समेत गर्भमै तुहियो। नेपाल भ्रमणसँगै जोडिएका मेरा योजना पनि अधुरै रहने भए। यदि स्थिति सामान्य हुँदो हो त यतिखेर सम्ममा मुगुको रारा अनि अर्घाखाँचीको सुपादेउरालीसमेत भ्रमण गरिसकेको हुन्थेँ। साउने पूर्णिमामा मेरो प्यारो जन्मभूमि बाजुरामा रहेको प्रसिद्द धार्मिकस्थल बुढीनन्दा माईको दर्शन गर्ने योजना थियो। आशा छ यो चैँ योजनामै सीमित नहोस् । 

हजार कोशिस गर्छु, आफैलाई खुशी पार्न। धेरै पछि प्रकृतिदेवीले सुखको श्वास फेर्न पाएकी छिन्। म आफैले पनि आफ्नो मूल्यांकन गर्न पर्याप्त समय पाएको छु। अतीतका असफलताबाट गतिलो पाठ सिक्ने अवसर जुरेको छ। तर पनि मनमा हाइसञ्चाे भने पटक्कै छैन। उफ् डर लाग्छ र आत्तिन्छु। एकातिर कालापानी र लिपुलेक अनि लिम्पियाधुराको चिच्याहट, अर्कोतिर राजनैतिक खिचातानी अस्थिरता तर्फ उन्मुख, त्यसमाथिकाे यो महामारी ।

सुदुर गाँउमा बस्ने मेरी मुवाहजुरलाई पनि पक्कै चिन्ता हुँदो हो, जसरी प्रत्येक आमालाई हुन्छ, सन्तानको पिर। हुन त दैनिक जसो फोन सम्पर्क भैरहेकै हुन्छ। तर पनि उहाँको डर मिश्रित आवाज सुनेर म आफै चिन्तित हुन थाल्छु। मुवा हजुरका अनुसार मेरो गाँउमा कोरोना भगाउन धार्मिक सप्ताह चल्छ रे! जुवाताससँगै रक्सीको खेती पनि राम्रैसँग फस्टाएको छ अरे, मेरो गाँउमा आजभोलि! म अहिले केवल मेरी मुवाहजुरलाई सामाजिक दुरी कायम राख्नुपर्छ भनेर सम्झाउन मात्रै सक्छु। थाहा छैन उहाँले याे मायाकाे अर्थ बुझ्नु हुन्छ हुन्न!

तर पनि समय बलवान छ, आशा छ छिट्टै हामी सामान्य दैनिकीमा फर्कन सक्नेछौं। मेरी मुवाहजुर जस्तो हजारौं मुवाले आफ्नो सन्तानको लागि रातदिन पिरलो मान्नुपर्ने छैन । हामी मान्छे भएर हार्दिकता साटासाट गरी निर्धक्क भएर समाजमा घुलमिल हुन सक्नेछौँ। बश, धैर्य गरौं। संयमित बनौं।

छविजंग मल्ल

बाजुरा

‘९ दिनमा नौलो, २० दिनमा बिर्सियाे’

चाइनामा कोरोना कहर शुरु हुनुभन्दा २ महिना अघि नै मेरी आमालाई श्वास प्रश्वासको समस्याले थला पारेपछि २ हप्ता आइसियु कक्षमा उपचार गराइ निको भएपछि घर ल्याइएको थियो। घरको २ छोरा मध्य म कान्छो छोरो, बुवाआमासँगै मेरी श्रीमती र छोरा छोरी गरि ६ जना बस्दछौं। दाइ, भाउजु अनि भतिज कामकाे सिलसिलाले छुट्टै बस्दछन्। आमाले जति धेरै सन्तान भएपनि समान भावले उनीहरुको हेरविचार गर्दछिन् जुन शाश्वत सत्य हो। सन्तानले आमालाई पनि त्यही अनुरुप गर्नुपर्छ भन्ने शिक्षा सायद आमाबाटै सिकेका थियौं हामीले पनि। हामी सबै जागिरे र बुवापनि प्रायः समय घरबाहिर जानुपर्ने हुनाले आमाको हेरविचार गर्न गाह्राे भएपनि हामीले त्यसलाई सहज बनाएका थियौं। ढिलो गरि कार्यालय जाने र कार्यालयबाट पनि चाँडै आएर समयमा ओखती खुवाउने गर्थ्याैं।

जब २०१९ डिसेम्बरको अन्तिमदेखि नै फाट्ट फुट्ट समाचारमा कोरोनाले स्थान पाउन थाल्यो। हालको समयमा इन्टरनेटको पहुँचले एक क्लिकमा संसार हेर्न सक्ने हामीलाई फेसबुकमा देख्न सकिने अनेकन दृष्य मध्य करोनालाई पनि त्यहीँ टोकरीमा राखेको थिएँ। २१ औं शताब्दिमा चन्द्रमामा घडेरी किन्ने विषयदेखि समुद्रमुनिको संसारमा रमाइरहेको समाचार पढेको मलाई कोरोनाको समाचारले खासै प्रभाव पारेन। म ढुक्क थिएँ, विज्ञानले कुनैपनि रोगको निवारण गर्नसक्छ र यसको पनि ओखती बन्दै होला भनेर यसकाे धेरै चियोचर्चो गर्न जरुरत देखिँन। तर आज अर्कै देख्दै भाेग्दैछाैं।

करिब ६ वर्षको सामाजिक संस्थाको जागिर पूरा गरि २०२० जनवरीदेखि युरोपियनहरुको आवत जावत हुने संस्थामा कार्यरत रहँदै गर्दा कोरोनाको विषय चाइना हुँदै इटलीतिर मोडिन थालेको प्रसंगले मन भित्रभित्रै कुँडिन थाल्यो। दैनिक रुपमा विदेशीहरुसँगको उठबस र संस्थाकाे प्रमुख पनि विदेशी नै भएकाले कोरोनाको कुराले खानाको टेबुल हुँदै मनमस्तिष्कमा समेत प्रवेश पाउन थाल्यो। जब नेपालमा पनि विद्यालयहरुलाई बार्षिक परिक्षा सकाउने समयसीमा दिइयो कोरोनाको प्रभावले नेपाल पनि अछुतो नरहने पक्काा भयो। जसको परिणाम संस्थामा धेरैसमय देखि रहेका विदेशीहरु पनि धमाधम आफ्नै देश फर्किन थाले। कार्यस्थल वरिपरि शून्यता छाउन थाल्यो। कार्यालयको कामको लागि जुम एप्लिकेसनको सहारा लिनुपर्यो, जुन अहिले पनि जारी छ।

जब लकडाउन सुरु भयो हाम्रो दैनिकी फेरियो। ८ नबज्दै एक गाँस खाइ कार्यालय, स्कूल जानको लागि तछाँडमछाँड गरि हिँड्नुपर्ने अवस्थामा पूर्णविराम लाग्यो। आमा पनि सबैसँग हुँदा अलि धेरै खाने, कोही नहुँदा केही नखाने प्रायः भन्नुहुन्छ, ‘एक्लै के खानु र ?’ त्यहीँ आमाका सन्तानहरु भएपनि आफू स्वयं आमा नबनिकन थाहा नहुने रहेछ। यो २ महिनाको अवधिमा आमाको अनुहार फेरिएको छ। परिवारका सबै सदस्य घरमै छन्, समयमा खाने, सुत्ने, उठ्ने, कँही कसैलाई कुनै हतारो छैन। आमालाई पनि परिवारका सदस्यहरु कति बेला घर आउँछन् भनी घडीको सुई हेर्नु परेको छैन। परिवारका सदस्य सबैसँगै भएर होला कोरोनाको डरले पनि मनमा भ्रान्ति ल्याउन सकेको छैन। बुवा आमाको आध्यात्मिक झुकावले गर्दा योग, जपध्यान, भजन, कीर्तन र भगवानका लीलाहरुले मन मष्तिस्क पवित्र भएका छन् ।

कोरोनाको कारणले फुर्सदिला भएका हामीले अझैपनि सामाजिक सञ्जालमा घण्टौं बिताउने, तासजुवा खेल्ने र नकारात्मक चिन्तनमै डुबिरहनु भन्दा सकारात्मक चिन्तन र सिर्जनात्मक कार्यमा आफूलाई अग्रसर गराउँदा आफू स्वयं र परिवारलाई शान्ति मिल्दछ। यो मानव जीवनमा म र मेरोबाट पृथक भइ अरुको लागि केही गर्न सक्दा मात्र परमआनन्द मिल्छ जस्तो लाग्दछ।भविष्यको चिन्ता नगरि वर्तमान संकटलाई सहज तरिकाले पार पाउने प्रयत्न गर्नुपर्छ। जति सम्पति भएपनि र जति काम गरेपनि कहिल्यै नपुग्ने मान्छेलाई यो करोनाको कहरबाट पाठ सिक्नैपर्छ। हिजो भूकम्प जाँदा पनि हामी अब त सुध्रिन्छौ भन्थ्यौ, तर ‘९ दिनमा नौलो, २० दिनमा बिर्सियाे’ भन्ने नियम यो कोरोनाको विषयमा लागू नहोस्। हामीले जे गर्दैछाैं, हाम्रा सन्तानले त्यहीँ सिको गर्दछन्। तसर्थ सन्ततीको रक्षार्थ पनि हामी सुध्रिने हो कि?

सरकारको नियमको पूर्ण पालना गरौं, घरमै बसौं।

राजनमणि पौड्याल (रोसु)

कागेश्वरी मनोहरा
काठमाण्डौ