श्रीमानकाे न्यास्राे

नुवाकोट जिल्लाको ठूलोडाँडा भन्ने गाउँमा जन्मिएकी मलाई डायरी लेख्नेभन्दा पनि दैनिकी लेख्ने बानी थियो । डायरी र दैनिकी लेखाइमा के कति फरकपन हुन्छ छुट्टाउन नसक्ने हुँदादेखि नै दैनिकी लेखिन्थ्यो । मेरो दिदिहरुले दैनिकी लेख्ने गर्नुहुन्थ्यो मैलै त्यहीबाट दैनिकी लेख्न सिके । बिहान उठेदेखि बेलुका नसुतेसम्म के–के काम गरियो, के खाइयो, कोही नयाँ मानिससँग भेट भयो कि ? आफूलाई रमाइलो लागेका र नरमाइलो लागेका सबै विषयवस्तु समेटेर दैनिकी लेख्ने गरिन्थ्यो । 

कक्षा ६ पढ्दादेखि नै दैनिकी लेख्ने बानी भएकोले प्राय सुत्नुभन्दा पहिले दैनिकी लेख्ने गर्दथ्ये । विं.स २०६५ सालमा एस.एलसी दिएर उच्च शिक्षाको लागि घर छोडेसँगै दैनिकी लेखिएका मेरो कति कापीहरु, कति डायरीहरु घरमै छुटे । २०७२ वैशाख १२ गते आएको भूकम्पले नुवाकोट जिल्ला पूर्ण रुपमा प्रभावित भयो। मेरो दैनिकीका सबै अक्षरहरु त्यही भूकम्पमा घरसँगै पुरिए फेरि कहिल्यै पढ्न र हेर्न नपाउने गरि । त्यसपछि मैले कहिल्यै दैनिकी लेखिन । 

विं.स २०६६ साल साउन १७ गते काठमाडौं छिरेकी म आज २०७६ साल चैत्र महिनाको २८ गते देशभरी लकडाउन चलिरहेको समयमा यो डायरी लेख्दैछु । यो लगभग १० वर्षे अवधिमा मैले देखेका केही सपना पूरा भए।अझै धेरै सपना पूरा हुनै बाँकी छन् । 

जन्मघर र आफ्नो ठाउँलाई कहिल्यै बिर्सन सकिन्न । सहर पसेसँगै कतिपय बाध्यता र कतिपय रहरले यतैको बानी पर्दै जाने रहेछ । पढाइ सँगसँगै कामको खोजीमा हिड्दा सहरको दैनिकी सहज थिएन । बाबाआमाको काख छाडेर कोलाहालपूर्ण सहरमा सपना साकार पार्न हिँडेका मजस्ता लाखौंको भिड यहाँ भेटिन्थे। म पनि त्यही भिडको एक पात्र भएर हराउँदै गए । 

भाइरस नफैलियोस् भनेर देशभरी लकडाउन भएको आज १८ औं दिन भएको छ। देशभरी लकडाउन भएसँगै हाम्राे दैनिकीमा परिवर्तन भएको छ । टाढा रहनुभएका आफन्तहरुसम्म पुग्न समय पनि भएन । जो जहाँ छौं त्यही बस्नुपर्ने भयाे।घरमै खाना, खाजा बनाउनु, परिवारका सदस्यहरुसँगै बसेर खानु, बालबालिकासँग लुडो, क्यारिम बोर्ड, चेस जस्ता खेल खेल्नु, मन परेको पुस्तक पढ्नु, फिल्म हेर्नु, कार्यालयको काम घरमै बसेर गर्नु । यस्तै छ मेरो पनि दैनिकी।

 तर मनमा कस्ताे कस्ताे लाग्दाेरहेछ। यस्तो फुर्सदको समयमा पनि आफ्नाे श्रीमान् सँगै हुन नपाएकोमा मन खिन्न भएको छ। के गर्नु लकडाउनले श्रीमान् हुनुभएको ठाउँसम्म पनि पुग्न सकिएन। यसमा भने मलाई पछुतो लागिरहेको छ । हरेक पटक सरकारले लकडाउनको समय थप्दै जाँदा म भने श्रीमान् धेरै मिस गरिरहेको छु । 

संगीता रेग्मी

नुवाकोट

हाल काठमाडाैँ

‘कसैको नजर नलागोस् मेरो पुड्केलाई’

‘लौ है गनि सर, म हिडेँ।’ अर्जुन दाइले बोलाएपछि झसङ्ग भए। यसो आँखा खोले बिहान ८ बजिसकेछ। ‘पुलिसले नसमात्ने कागत बोक्नु भको छ नि?’

‘अँ छु।’ अर्जुन दाइले हातको मास्क लगाउँदै बोल्नु भो। मैले ढोका लगाए। कोल्टो फेरेर निदाउने प्रयास गरेँ । तर सकिँन। २४ घन्टामा १५ घन्टा सुतेसी लागोस् पनि कसरी?

ग्रीसको राजधानी एन्थिनाको एक्सारकिया पार्कको अल्लि माथि तिनतले घरको पहिलो फ्लोरको दायाँतिर सानु कोठाको झ्यालबाट बाहिर टाउको निकाल्दै सुप्प सुप्प दाइले दिनुभएको कफि पिउँदै छु।

अनि मोबाइल निकालेर सरसर्ती समाचार हेरे। नेपालमा फेरि आज नयाँ देखियो रे! पेप्सिकोलामा मनमा डर लाग्यो ।परिवारलाई सम्झेँ। काठमाडौमा बाबालाई कल गरेँ । २ चोटि गर्दा पनि उठाउनु भएन। अनि ममीको नम्बरमा गाउँमा गरे। निक्कै लामो घन्टी पछि बल्ल उठाउनु भयो।

‘को बोल्नु भको?’

‘म तपाईको साथी’ ममीलाई जिस्काए

‘ए तँ पो हो?’ ममीले स्वर चिन्नु भो। त्यो भन्दा बढी जिस्काउनै पाइन। म कहिले काँही यसै मजाक गर्छु ममीसंग। मेरो ममीलाई नम्बर पढनु आउँदैन। नाम पनि अल्लि अस्ति परार पाली काठमाडौ ६/७ महिना बस्नु हुँदा बैनिले सिकाइछे र २ मिनेट लगाएर लेख्नु हुन्छ नानिमाया गुरुङ। तर मनको साह्रै सफा । मिठो मसिनो पकाउदा गाउँको सबैले खान पाउँछन्।

‘त्यहाँ घरबाट बाहिर ननिस्की है जेठा तँ त फत्तर फत्तर हिन्छ्स्।’ ममीले यसो भन्दा भन्दै स्वर मलिनाे बनाउनु भयो। मैले सम्झिसकेको थिए अब यो भन्दा बढी बोले ममी रुनु हुन्छ ।

त्यति नै बेला बाबाको फोन आयो । भाइ बैनी सबै संगै बसेर भिडियो कल गर्नु भको रैछ ‘तलाई कस्तो छ?’

‘अँ , ठिक्कै छ मलाई । अनि तपाईलाई?’

‘खै फेरि आज नि पेप्सिकोलामा नयाँ भेटियो रे ! घर नै सिल गर्यो भन्छन् । पहिलानै गाउँ जानु पर्ने रैछ। तँलाई झन् यता भन्दा बढी समस्या होला। के खाइराछ पैसा छ कि छैन?’

यसो भन्दै गर्दा बाउलाई पिलिक्क हेरे । सेतो फुलेको दाह्री मलिन अनि निराश अनुहार। सायद पहिलो चोटि देखे बाउलाई यस्तो अनुहारमा। लाहुरे हुँदा दुस्मनसंग कहिले नझुक्ने बाउ आज रोगसंग झुक्नु भो सायद। अब मेरो बाउ बुढा हुनु भो जस्तो लाग्यो। ५/६ मिनेटको कुराकानी पछि फोन राखे ।

उफ् कहिले हट्छ होला यो रोग, अनि यो लकडाउन! हातको मोबाइलबाट खेम थापालाई कल गरे । मैले ‘हलो’ भन्नै नपाइ बोल्नु भो ‘आज फाइन हान्दिगोनी, ५०० युरो । कामले निस्केको भने पनि मानेन। पेपर देखा भन्छ बाहिर । कतै ननिस्किनु है बिना पेपर यार! झन् झन् फैलिदै गाको छ रोग। यतै मरियो भने त लास पनि नेपाल पुग्दैन होला है गनि सर?’ म झल्याँस भए । हुन त मलाई मर्न देखि त डर चिन्ता लाग्दैन। तर पनि यो परदेशको ठाउँमा परिवारको मुखै नदेखी मरिन्छ कि भन्नी चिन्ताले बढी सताउने रैछ।

‘अनि गनि सर, यो मान्छे मार्ने बन्दुक बनाउनु भन्दा नि मान्छे बचाउने औषधि बनाउनु ठूलो कुरा रैछ है?’ खेम थापाको यो दरिलो प्रश्नको उत्तर म आफैसंग मात्रै हैन डाक्टरसंग पनि थिएन। फेरि कुना पट्टि फर्केर सुत्न कोसिस गरे। मरिजाला निँद लागेन । अनि नेताहरुले अनुभवमा किन १४ /१५ बर्ष जेल बसेको लेखेको होला भनेको आज बल्ल बुझे । साँच्चै कहिले सकेला यो रोग अनि लकडाउन कति झिंझ्याट लाग्दो बिरक्त लाग्दो पिर लाग्दो दिनहरु फ्फ्फ्फ्फ्फ !

सुस्तरी चलेको हावाले २/४ वटा झर्नु बाँकी कपाललाई आकास पट्टी ठाडो बनाइदियो अनि बिस्तारै बोले झै लाग्यो ‘कपाल त झरेछ नि केटा?’  मोबाइलमा बजिरहेको छ प्रकाश सपुतको “गल्बन्दी च्यातियो तिम्ले तानेर।” केही क्षणको लागि मन खुसी बनायो यो मौसमले अनि दिमाग चिसो। गीत बजेसंगै कम्मर पनि मर्काए। त्यो पल आफूलाई खुबै हिरो सम्झिए। फेरि यो वास्तविकतालाई विगतको गाउँतिर लगेर दाँजिदिए। मनमा के नपुगे नपुगे झै भयो। हिरो त त्यति बेला पो थिए त!  जब स्कुल जाने बेला ममीले ५ को नोट खल्तीमा हाल्दै ‘कसैको नजर नलागोस् मेरो पुड्के छोरालाई’ भन्दै तोरीको तेल लगाएर अगाडिको कपाल गैरिखेतमा काटेर राखेको धान जस्तै सिलिक्क बनाएर चिउठो छुटाउँदै पैतालाको टीका लगाइ दिँदा। महाकसम!बाच्छाको पाडो उफ्रिए झै बुर्लुक्क उफ्रिदै एक हातले प्लास्टिकको झोला च्याप्दै दौडिँदा। ‘सलमान खान पनि मेरो सुन्दरता देखेर पछि हट्छ जस्तो लाग्थ्यो, बिल गेट्स पनि मेरो छेउमा केही हैन जस्तो लाग्थ्यो । त्यो मिस्टर नेपाल मोडलहरु केही हैन झै भान हुन्थ्यो।

तर आज ममी भन्दा एकदम टाढा छु। एकदम टाढा। गोजीमा १३० युरो छ। नेपाली १४ हजार भन्दा बढी। तर पनि त्यो ममीले दिनु भएको ५ रुपैयाँको दाँजोमा केही हैन।

सबै सुविधा छ यो ठाउँमा। चिसो, तातो, अल्लि जाडो भयो कि हिटर। तर पनि घरमा दाउरामा आगो बालेको जस्तो मज्जा नै आउँदैन। यो गगनचुम्बी महल अनि रँगिन दुनियाँ भन्दा मेरै बाँदर लड्ने भिरपाखा नै कत्ति राम्राे! 

 …सायद  दिलमा राष्ट्रियता बढेर हो। या आफ्नाे ठाँउको माया लागेर हो। साँच्चिकै अब जिन्दगीमा केही गर्नु छ। बाजेले ढुङ्गाको छानो  हालेर बनाएको माटोको घरमा पपकर्नको सट्टा भुटेको मकै टोक्दै पूरा जिन्दगी बिताउनु छ ।

सहरमा जस्तो १ लाखौंको स्कुटरमा हुइँकिनी रहर अब मरिसक्यो। अब गाउँकै  त्यही दूध बोक्ने ट्रकको पछाडि पल्लो गाउँको काकासगै टाँस्सिएर गाउँको विकास गर्नु छ। काले सार्कि दाईलाई पिउनको जागिर लगाईदिनु छ।

भताभुङ्ग भएको अदमाराको स्कुल बनाएर सबै केटाकेटीलाई सिकाउनु छ।

… बाबुहरु तिमीहरु कतारमा भाडो माझ्ने कान्छा बनेर हैन?

दुबैको होटेलमा ढोका कुर्ने बहादुर बनेर हैन ?

आफ्नै देशमा केही गर्नु छ।।। 

गनि गुरुङ

ग्रीस

दिवाकर दादा !

प्रिय डायरी,

हेर न अस्तिसम्म कलेजको परीक्षा सरह सबै विषयको आवधिक पत्र विभिन्‍न खोज, शिर्षक बुझाउनु पर्ने थियो । त्यसैले गर्दा यता तिमीलाई भेट्न पाएको थिइँन ।

अब त फुर्सद पाएको छु । तर डायरी तिमीलाई थाहा छ मलाई यसरी फुर्सद छ भनेर बस्नै मन छैन । लकडाउन हुन्छ भन्‍ने बित्तिक्कै कर्म घर छोडेर जन्म घर जान हतारियौं । त्यसबखत नै मैले अब यो अवसरमा पुस्तकहरु र अङ्ग्रेजी फिल्महरु हेर्ने बानी बसाल्ने सोच बनाएको थिएँ। गाउँमा राम्रो इन्टरनेटको पहुचँ नहुने भनेर पुस्तकहरुको P.D.F पनि डाउन्लोड गरेँ । अनि थाहा छ? आमालाई पनि कोशेली ल्याइदिएको थिएँ नि हेर्ने कथाका केही अकंहरु ।  निकै खुसी हुनुहुन्छ मेरी आमा हेर्ने कथा हेर्न पाउँदा।

अघि भनि हालेँ फुर्सद पाएको छु भनेर। अब त्यो फुर्सदलाई फुर्सद रहन दिन्‍न है! ती पढ्छु भनेर ल्याएका किताबका पानाहरुमा पस्ने छु । सामाजिक संजाललाई पनि राम्रो गरि प्रयोग गर्ने हो भने त कत्ति सकारात्मक कुराहरु पाइने रहेछ। दिनको केही समय यसरी नै फेसबुक भाइबरबाट कलेजका साथीसंग गफ पनि भइराखेको हुन्छ । केही साथीहरुले मलाई विभिन्‍न किताब, सिनेमाहरुको सुझाव दिराख्छन् । यस्तै यस्तै बारेमा कुराकानी भइराख्दा कत्ति खुसी लाग्छ। अस्ति भर्खरै एक जाना साथीले झोला कथा बाचन गरि फेसबुकमा हालेकी रहिछन् । धेरै सुन्‍न मन हुँदा हुँदै त्यो सुन्‍न पाएको छैन।

अहिले त गाउँ पनि कस्तो उजाड भएछ क्या ! सबै जना गाउँ घरतिर आएका होलान् । एकछिन भएपनि गफ गरेर केही दिन काट्न सहज होला सोचेको थिएँ । तर यहाँ त खेल्ने बोल्ने भनेका साना-साना भाइहरु मात्र छन् । नजिकैकाहरु,दिवाकर दादा दिवाकर दादा गर्दै आइराख्छन्। हिजो कत्ति दिन देखि लागिराखेको मःमको भोक यिनै सँग मिलेर मेटाइयो । खुब मिठो भयो भनेर निकै खुसी थिए केटाकेटीहरु नि! यिनीहरुसँगै मिलेर केही कुराकानी गर्यो । यिनीहरुको गफमा रमायो, त्यो हाँसोमा आफ्नो हाँसो पनि मिसायो। तिनीहरुले सोध्ने के, कस्तो, किन,कस्कोको जाने जत्ति झर्को नलागुन्जेल जवाफ दियाे।बस् यस्तै बित्दैछ समय।

अढाई वर्षको भाइले अनेक गरेर शैली मिलाउन खोज्दै Justin Biber को Baby baby oo.. र बाला बाला भन्‍दै गाउँदा कत्ति रमाइलो लाग्छ। कति सुन्दर अबोध, निश्‍चल है त्यो बालापन । कहिले कहिले त लाग्छ फेरि यसै गरि रमाएर खुल्ला भएर त्यही बालापनमा जान पाए नि हुन्थ्यो । आहा! तर समय न हो के सुन्थ्यो र मेरो यस्तो काल्पनिक पुकार ।

  उहि तिम्रो ,

   

सुजन काफ्‍ले (दिवाकर)

काठमाडौ स्कुल अफ ल

    

काफल र पैयुँकाे स्वाद

इन्जिनियर बन्ने अभिलाषा सहित पहिलो वर्षमा भर्ना भएकी म पहिलो सेमेस्टरको इन्टरनल परिक्षा चलिरहेको थियो | परिक्षा सुरु हुने बेलादेखि नै चीनको वुहानबाट देिखएको कोरोना भाइरसको निकै चर्चा सुनियाे | चीनमा मात्रै होला, त्यतै वरिपरि मात्रै होला भनेर अरूले झै मैले पनि सामान्य रुपमा नै सुन्दै र बुझ्दै आए ।एक्कासि भोलीबाट हुने भनिएको एस.इ.इ परिक्षा स्थगित गर्ने सरकारको निर्णयले अनेकौ तरङ्गहरु पोखरीमा ढुङ्गो फाल्दा झै भयो। पूर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गर्दै १० गतेदेखि मुलुकभर लकडाउनको घोषणा गर्यो सरकारले ।

चल्दै गरेको हाम्रो परिक्षा पनि अनिश्चितकालका लागि स्थगित भयाे। अनि भोलि लकडाउन भन्नेको आज जसो बाबा ममी म र बहिनी गाउँ फर्क्यौ। सधैँजसो राम्रो चल्ने नेट केही दिन अगाडि मात्र बिग्रेको थाहा भयो। लकडाउनकै कारणले मर्मत गर्न पनि सम्भव भएन।

गाउँ आएको पनि आज १९ दिन बितिसक्यो। हजुरबुबा हजुरआमाले भने सधै शून्य हुने गाउँ अहिले खुब रमाइलो भएको महसुस गर्नुभएको रहेछ। सधैँजसो कित‍ाबका पाना मोबाइल अनि ल्यापटप हेर्ने यी आखाँले गाँउको वास्तविक चित्र हेर्न पाएको छ।

 बल्ल फूल खेल्दै गरेक‍ा सुन्तला र कागतीका बोटहरु , गह्रागह्रामा जोत्न नारेका हलगोरु अनि गोरूका पछाडि होहो होहो भन्दै गरेका दृश्यहरु दैनिकी बनेका छन अचेल। वनभरी ढकमक्क फूलेको लालिगुराँस, लटरम्म पाकेका ऐैसेलु, रातै देखिने काफलका बोट अनि पैयुँको स्वादले अविस्मरणिय चित्र कोर्दै गाउँसँग अमिट साइनो गाँसेको छ।

गाउँमा केही सम्भावना नदेखेर खाडी भासिएका पल्लाघरे रामे काकाले सिता अन्टिको अदुवा खेती अनि हरि दाइको बाख्रा फारम देखेर आफ्ना बाँझा बारी ट्याक्टर लगाएर जोत्दै हुनुहुन्छ | मैले दैल‍ामुनि छरेका मकै पनि हरियै देखिन थालेका छन, घिरौला अनि काक्राका मुन्टा थाँक्रा समात्ने भएका छन | सानै उमेरमा सहर हुत्तिएको मलाई लामो समयपछि यसरी गाउँको वास्तविकता बुझ्ने अवसर मिलेको छ | गाँउका हरेक पक्षलाई नियाल्ने अवसर पाएकी छु | गाँउघरका धेरैजसो कुरा चिन्ने र अब चिनाउन सक्ने भएकी छु |

आजसम्म  नेपालमा कोरोनाको त्यस्तो सारो नराम्रो स्थिति सुन्नु परेको छैन | सङ्कमण पुष्टि भएकाहरु पनि विस्तारै सामान्य अवस्थामा घर फर्केको समाचारको प्रतिक्षामा छु | यो समयले सक्रियता सहृदयता र सरलताको पाठ सिकाएको छ | भरिएको गाग्रीको  खोजीमा मात्र भौतारिनेहरुलाई रित्तो गाग्रीमा त झन् अमृत भर्न सकिन्छ भन्ने पाठ सिकाएको छ| शा छ समयले सिकाएका यी कुराहरुलाई आत्मसात गर्दै प्रगति पथमा चाडै फर्किन पाइएला |

अग्रता शर्मा 

पर्बत

हात धोएर नमस्कार

पेशाले खबरकर्मी, दैनिक कम्तिमा पाँचवटा रिर्पोटिङका कार्यक्रम सकेर कार्यालयमा आएर समाचार तयार पार्ने, रातिको  समाचार पढ्नु पर्ने मेरो दैनिकी आजभोलि अलिक फेरिएको छ । 

झण्डै आधा पोखरा एक फन्को मारेर संकलन गरिएका खबरहरु मार्फत स्रोतालाई सु–सूचित गर्ने मेरो दैनिकीमा दुई सातादेखि परिवर्तन आएको छ ।

‘लकडाउन’ को पूर्ण पालना गर्दै मेरा अधिकांश साथीहरु यति बेला गाउँघरमा पुरानो यादहरु संगाल्दै बसिरहेका छन्। गाउँ जान नपाएका साथीहरु घरभित्रै परिवारसंग समय बिताउँदै छन्। भने बजारमा अत्यवश्यक काम बाहेक बाहिर निस्कनेको संख्या पनि नगन्य  छ ।

सधै अबेरसम्म मानिसहरुको खचाखच हुने पसलहरु पनि बन्द छन् । यतिसम्म कि सडकमा मात्र सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,  खबरकर्मी र केही अत्यवश्यक सवारी साधनहरुको पातलो आवत जावत देखिन्छ ।

त्यही पातलो आवत जावत गर्ने मध्यको एक म पनि हुँ।  यसरी हिँड्न सजिलो त कहाँ छ र ?

घरबाट  मैले काम गर्ने  रेडियो पुग्दासम्म सुरक्षाका लागि खटिनु भएका सुरक्षाकर्मीहरु झोला बोकेर खबरकर्ममा हिँडेको खबरकर्मीलाई रोकेर ‘कहाँ जाने’ भनेर सोधपुछ गर्नु हुन्छ । म मुस्कुराँउदै भन्छु ‘खबरकर्ममा सर ।’

‘लकडाउन’ का कारण होम क्वारेन्टाइनमा रहनुभएका स्रोताहरुलाई सम्झन्छु । समाचार सकिने बित्तिकै आउने फोन कल अनि कोरोना कहरका कारण अत्तालिएका स्रोताको प्रतिक्रिया, जिज्ञासा सम्झेर पनि खबरकर्मको यात्रामा निरन्तर लाग्न प्रोत्साहन मिल्छ।  अझ भनौ सबैलाई सूचना दिनु मेरो आफ्नो कर्तव्य हो भनेर छुट्टै जाँगर आउँछ ।

प्राय जस्तो म साथी र आफन्तसँग भेट गरिरहने अहिले उनीहरुबाट टाढा छु ।तर पनि ठिकै छ। कोरोना भाइरससँग लड्नको लागि मिल्ने जति सबैजना आफ्नै घरमा बस्नुस् र सावधानी अपनाउनुस् है।

तपाईहरूसम्म सत्यतथ्य खबर ल्याउन म पनि सावधानी अपनाएर काम गर्नेछु।  कोरोना बिरुद्धको अभियानमा घर–घरबाट नै हात धोएरै लागौं। यसो गर्दा कसो नरोकिएला कोरोनाको विश्व यात्रा । 

हात धोएरै नमस्कार !

रोशन अधिकारी

खबरकर्मी पोखरा

गाउँको दैनिकी

म सपनाको शहर काठमाडौंमा आफ्नो र आमाबाबुको सपना सकार पार्ने उद्देश्यले अध्ययनको सिलसिलामा देशको राजधानीमा थिए ।विश्वका शक्तिशाली भनिएका मुलुकमा समेत कोरोना संक्रमण बढी र मृत्युको समाचारले घरमा आफ्नो आमाबुबालाई सधैं चिन्ता भइरह्याे।

त्यसैले आमाबुबाको सल्लाह र आग्रह अनुसार मैले केही समयको लागि राजधानी छोड्ने निधो गरे। कठिन यात्राका बाबजुद म घर आइपुगे। घरमा आमाबुबा दिदी र म हौँ । दिदीको बिहेपछि अहिले हाम्रो तीन जनाको मात्रै सानो परिवार छ । म आमाबुबासंगै हुँदा उहाँहरूलाई मेरो बारेमा कम चिन्ता हुन्छ । त्यसैले म गाउँ आएको हुँ। यो समय परिवार र आफन्त एकै ठाउँ हुँदा कोरोनालाई जित्न आत्मबल बढ्छ जस्तो पनि लाग्यो । अहिले म आफ्नो विषयगत पुस्तक बाहेक अरू पुस्तक पनि पढ्दैछु। मैले पढेका पुस्तक परिवारमा सुनाएर रमाइलोसंग दैनिकी बितारहेकाे छु । गाउँमा यति बेला गहुँ भित्र्याउने बेला भएकोले आमाबाबुलाई मैले सकेको सघाउँदै पनि छु ।

मेराे दिन चै सामाजिक संजालमा भन्दा नि नयाँ-नयाँ पुस्तक र घरायसी काममा सहयोग गर्दै बितिरहेको छ । हाम्रो दैनिकी बदलिएको यो विषम परिस्थितिमा जति सक्दो आमाबुबाको मनोबल उच्च राख्न सत्यतथ्य समाचार मात्र सुनाउने गरेको छु । कोरोना विरुद्धको युद्धलाई  जित्न सरकारको लकडाउन आफ्नै लागि भएकोले यस प्रति पनि सचेत छु । 

आजभोलि बसन्त ऋतु भएकोले गाउँमा कुहुकुहु कोइलीको आवाज सुन्दै स्वर्गीय आनन्द आउँछ। यो मौसम चराहरुको भएकोले आवाज सुन्दै समय वितेको पत्तै हुँदैन । तपाईको तिर पनि कोइलीको आवाज सुनिन्छ अचेल?

शंकर बि.क

अछाम

मेरो सानो कोठाको संसार

सुनेको थिए “राम्रो समय आउँछ आउँदैन थाहा छैन तर यो समय अवश्य बितेर जानेछ”।आजको यो समयमा यो कुरा समय सान्दर्भिक भएको छ। समय सधै उस्तै रहँदैन, आजको यो समय बितेर त  अवश्य जानेछ । तर भोलिको समय कस्तो हुनेछ यो हामी कसैलाई थाहा छैन। मानिसहरु आफ्नै घरमा आफैलाई बन्द गरेर बसेका छन् जबकि सबैलाई थाहा छ संसारमा अजम्बरी कोही छैन।

सोच्छु यो प्रकृतिको कस्तो निर्माणको प्रारब्ध हो।कतै ससांरलाई फेरि नयाँ संसार बनाउने गाथाको आरम्भ त हैन।हामी भनिरहेका हुन्छौं “समय बिताउन गाह्रो भयो।समय बल्लतल्ल बितायौ”।हामी कसलाई विश्वासघात गरिरहेका छौ समयलाई वा आफैलाई।वास्तवमा हामीभित्र कसले कसलाई बिताइरहेको छ? के यो हामीले कहिल्यै सोचेका छौ ?

म आफै पनि हैरान छु प्रकृतिको यो नयाँ रणनीती देखेर।सम्पूर्ण मानव जातिलाइ बन्द गरेर यो समयमा प्रकृति स्वतन्त्रताको सास लिरहेको छ।यस्तो लाग्छ प्रकृतिमा फेरि यौवनको वसन्त छाएको छ।त्यसैले त फूलहरुको रंगमा नयाँपन भेटिदैछ।पंछिको उडानमा नयाँ चाल भेटिदैछ। नदिको बहाब अझ मीठो सुनिदैछ।यस्तो लाग्छ प्रकृतिको यो रुप सायदै यहाँ भन्दा पहिले कहिल्यै देखिएको थियो न आउने समयमा देखिनेछ।

यो समयमा आफ्नो घरदेखि टाढा यो राजधानीमा म आफै पनि एउटा सानो कोठामा बन्द भएकी छु।जहाँ मैले करिब तीन वर्ष बिताइ सकेकी छु । तर यो कोठासंग पहिले भन्दा यी दिनहरुमा म अझै नजिक भएकी छु।एउटै कोठामा किचेन त्यही बुकको र्याक, त्यही कपडा राख्ने सानो दराज,त्यही बेड यस्तै छ मेरो सानो कोठाको सुन्दर संसार। याे मेरो मात्र हैन धेरै विद्यार्थीहरुको जीवनको सत्य हो । 

काठमाडौको जीवन बसाईँमा एउटै घरको वल्लोपल्लो कोठामा बस्ने मानिस पनि एकाअर्काका लागि सधैं अजनवी हुन्छन्।यता उताका घरका मानिस त झन अर्को ग्रहका मानिस नै भए।तर यो लकडाउनले साथी भाइ छरछिमेकलाई चिन्ने राम्रो मौका दिएको छ।म देखिरहेको हुन्छु घरबेटीले भाडामा बस्ने मान्छेसंग भलाकुसारी गरिरहेका हुन्छन्।छिमेकी छिमेकी बिच कुरा भइरहेको हुन्छ।

होला लकडाउनले सम्पूर्ण विश्वलाई कतै रोकिदिएको।विश्वको आर्थिक अवस्थालाई तहसनहस गरिदिएको तर मलाई लाग्छ यो समयमा सम्पूर्ण मानव जातिले आफ्नो लागि नितान्त आफ्नोलागी सोच्ने मौका पाएका छन्।मानवता र पैसा बिचको भिन्नता बुझ्न थालेका छन्।पैसाले जिन्दगीलाई किन्न सकिँदैन,न मिठो निन्द्रालाई किन्न सकिन्छ न सकिन्छ भोक नै किन्न। यो कुरा महसुस हुन थालेकाे छ।

म पुस्तकसंग सयम बिताउन रुचाउने मान्छे। यो लकडाउनले मलाई पुस्तकसंग बिताउनलाई प्रशस्त समय दिएको छ।यो समयमा मैले सिंगापुरका पूर्व प्रधानमन्त्री ली कुअन येव ले लेखेको पुस्तक “फ्रम थर्ड वल्ड टु फस्ट” नामक पुस्तक पढे जहाँ सिंगापुरलाई सुरुवात देखि आजको सिंगापुर बनाउन गरेको संघर्ष र चालेका नयाँ रणनीतिहरुको बारेमा मिठो तरिकाले लेखिएको छ। याे हाम्रो जस्तो विकासशील देशको लागि अत्यन्त उपयोगी हुने रहेछ। 

यो समयमा अनुभव भएको अर्को कुरा चैं – समस्या पर्दा चर्च, गुम्बा, मस्जिद र मन्दिरका ढोका हैन अस्पतालका ढोका खुल्ला हुनु पर्ने रैछ।धर्मका पुजारी, चर्चका पादरी त मात्र देखिने पात्र हुन वास्तवमा जीवन बचाउने काम त डाक्टर र नर्सको हुने रैछ।स्वस्थ जीवनको लागि मन्दिरको घण्टी हैन साबुन पानी चहिने रैछ।

यो सबै घटनाहरुको प्रत्यक्ष साक्षी बनिसके पछि, के मान्छेहरुले अब पनि फेरि मन्दिरमा दान गर्दै हिड्लान त? प्रकृतिको यो चेतावनीलाई आत्मसात गर्लान् त? मानवताको धर्मलाई बिर्से र पैसाको खेती तिर उन्मुख होलान् त? यो समयले यस्ता धेरै सवालहरु छोडेर जाँदैछ । तर यति हुदाँहुदै पनि हामी बाँच्न छोड्नु हुदैन।आशाका किरणसंग मुख मोड्नु हुदैन किनकि हामीलाई बिश्वास छ हामी बाँच्ने छौ नयाँ जीवन आश र भरोसाका साथ र फेरि फेरि मनाउने छौ नयाँ वर्ष हर्ष र उल्लासका साथ त्यसैले सम्पूर्ण नेपालीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।

यमुना थापा

दैलेख

रोकिएका पाइलाहरु

२०६५ सालमा काठमाडौं छिरे । त्यसपछि जीवनलाई सफल अनि खुसी बनाउने चाहना बोकेर  निरन्तर यात्रा गरिरहेछु। अझैपनि आशा मरेको छैन । उस्तै छन् दुवै, यात्रा र आशा। 

जीवनमा जतिसुकै प्राप्त गरेपनि त्यो भन्दा अझ बढी पाउने अभिलाषा जाग्ने रैछ। जति छ त्यतिमा खुसी हुन साँच्चै नै गाह्राे हुने रहेछ ।

तर २० दिन यता एक्कासि समय नै रोकिए जस्ताे लाग्दैछ ।अरू केही नरोकिए पनि मेराे यो निरन्तरको यात्रा भने रोकिएको छ। हिजो सुतेर वा सुस्ताएर कहिले बसिन। जीवनलाई सफल बनाउन वा भनाै पूर्ण बनाउन निकै मेहेनत/ परिश्रम गर्न पर्छ भन्ने लागेरै सधैं केही न केही गरिरहे। हिडिं नै रहे। तर निरन्तर हिडिंरहेका मेरा पाइलाहरू आज अहिले यत्तिखेर भने बाँच्नका लागि टक्क रोकिएका छन्। कस्तो अचम्म!  हिजोसम्म के के न भेटिएला झै गरि हिडेको जीवन आज अचानक थिर छ।

सायद बाँच्न हिडेका पाइतालाहरु बाँच्नकै लागि रोकिएका छन्। याे जीवन बन्द ढोकाभित्रै छ अचेल। साथमा छन् भित्ताका केही थान फोटो फ्रेम र तिनका यादहरू । घरि घरि टेबुलको टिभीले पनि खिच्छ ध्यान। केही थान पुस्तक सकेपछि झ्याल बाहिरको संसारले पनि पालो पाउँछ केही बेर।  अनि जतिवेला पनि साथ साथमै हुने भनेको चैं यो सानो तर संसार अटेको मोबाईल!

दिनहरु बितिरहेकै छन्। साँच्चै फुर्सद पाएको छ यो ज्यानले। जसरी फुर्सद पाएको छ वातावरणले, आकाशले धर्तीले।  आकाश निलो छ, हिमाल नजिकै देखिन्छन्। सुन्दर छन्। हरिया बोट विरूवा, अझ काठमाडौंको रङ्गिएको सडक, पेटी, शान्त बाटो । आहा ! भन्न मन लाग्ने भएको छ !

जमिन थर्काउदै हिड्ने ठूला गाडी छैनन्। कानै खाने गरि बज्ने हर्नको आवाज, हतारमा हुइँकिरहेका मोटरबाईक र तिनीहरु सप्पैलाई जित्नु छ भनि हिँडिरहेका मानिस! यी सबै एक्कासि रोकिँदा कति आनन्द मानिरहेका होलान् ती चराहरूले । जनावर, हावा, बोट, बाटो र आकासले कति उत्सव मनाइरहेका होलान् । यस्ताे लाग्छ मानाै रोकिएको छ ऊ त्याे परको छितिज पनि!

सुरुका दिनमा बेचैनी ल्याए पनि अहिले मेरो मन पनि शान्त र आशावादी हुँदैछ। बाल्यकालका सम्झनाले मन मस्तिष्कमा फेरि बास पाउन थालेको छ !

चारै तिरबाट नदीले घेरेर बनेको टापु पश्चिम नेपालको बर्दिया राजापुरमा मेराे घर छ। खान लाउनसम्म दुख नहुने परिवारको बुबा, आमा, दाजु र भाइ बिचको माइलो छोरा म। गाउँको कुनामा खरको छानोको घर गोठ र फूलै फूलको त्यो सानो आगँन। घरबाट ३ किमी पर स्कुल ।

स्कुल जाँदा दाइको हात समातेर किताब टाउकोमाथि बोकेर कट्टु काँधमा राखेर खोला झरना तर्दै टाउको सम्म माटोको छिटा लगाउँदै पुग्थ्याैं। आफैले साथै लगेको बोरामा बसेर पढेका कुरा अहिले सम्झिदा लाग्छ जिन्दगी त्यस्ताे पनि थियाे ! दिन बितेर गए । याद बाँकी छदैछन्। अझ सबैभन्दा मज्जा त ४५ मिनेटको हाफ टाईममा आमाले दिएको एक रूपैयाँले कहिले पट्टि (भेली/सख्खर बाट बनाइने) कहिले भुजा, कहिले कालो चुरन, कहिले आँपको अमचुर त कहिले इमली खाँदै हिँडेको ।आहा ! क्या दिनहरू थिए ती! कहिले कर्णाली नदीमा नुहाउन पुग्याे । अनि बगरमा लगाएको काक्रो, खरभुजा चोरेर खायाे। कहिले हाफ छुट्टीमा स्कुलबाट भागेर भारततिरको जङ्गलमा बयर खोज्न हिड्याे । विचरा आँपकाे बोटमा बतिलो लाग्न पनि पाउँदैनथे । स्कुल नजिकै बाबा कुटिको बेल र इमली चोरेर खाँदा बाबाले रुखैमा बाँधेका ती सब्बै विगत भइसकेका सम्झनाहरू झन् झन् ताजा भएर आइरहेछन्।

खोलामा, बगैचामा, जङ्गलमा कति दिन किताबका झोला छुटे र अर्को दिन लिन पुगियाे हिसाबै राखिएन् । फर्कदा आमाको गोदाइ अनि त्याे दुखाइ, अहिले पनि अइया भनुँ जस्ताे। खेतमा बाढी आउँदा मझडदानीले माछामारेको, पानी सुक्दा बल्छी लिएर हिडेको र कर्णालीमा जाल हानेको, भैंसी चाराउन जङ्गल जाँदा टिपेको निउरो फर्कदा बजारमा बेचेर आमालाई पैसा दिएको। तिहारमा रातै भर भैलो खेलेको जम्मा भएको पैसाले टिकापुर पार्कमा पिकनिक खान पुगेको । गाउँको पिपलबोट गुच्चा र घुच्ची खेलेको, थारु साथीहरूसंग गङ्गटो, मुसा, र घोङी मारेर खादै लुक्दै हिडेको, बाख्रा चराउँदा गुलेलीले भँगेरा मारेर खाएको, बिना चप्पल कट्टु र गन्जीमा गाउँ गाउँ डुलेको, खोलामा नुहाउँदै बालुवामा सुतेको, सिला खोजेको भनेर खेतबाटै धान, गहुँ चोरेर बेच्ने अनि एउटै फिल्म ३ चोटि हेर्ने गरेको! बुबाको हात समाएर बजार हिडेको। अनि दिनभरिको बदमासी सकेर साँझमा लखतरान परेर आमाको काखमा भुसुक्क निदाएको !

सबका सब सम्झनामा छ । अनगिन्ती यादहरु यो मनमा अझै बाँकी रहेछन् । यति लामो यात्रा गरिरहेँ जिन्दगीमा तर आफ्नै जिन्दगी फर्केर कहिल्यै हेरेको थिइँन। आज यो पल ती पुराना दिन सम्झेर खुसी हुन पाएको छु कति निश्चल थियो त्याे समय, कति सुन्दर थियो हाँसो, निस्वार्थ थियो त्याे मित्रता, आनन्द थियो भोगाइ र थियाे एउटा सानो संसार ! 

                  !!! नयाँ बर्षको शुभकामना !!!

दिपक जि.सी

मनभित्रको लकडाउन

सुरुमा परिचयबाटै सुरु गरौँ है त। म चाहिँ मेडिकल स्टूडेन्ट। एम. बि. बि. एस चौथो बर्षमा अध्ययनरत छात्रा। लकडाउन भएको नि दुईसाता बितिसक्यो। 

यस लकडाउनको असर ममा चाहिँ त्यति धेरै परेको छैन भन्दा फरक नपर्ला। मेरो लागि त के लकडाउन के अरु सामान्य दिन। सबै दिनहरु कोठाको एउटा कुनामा, एउटा किताब च्याप्दै बित्ने न हुन्। अहिले मेरा साथीहरु भन्छन्, “आफ्नै घरभित्र कैदी भएर बस्नुपर्या छ।” तिनीहरुको कुरा सुन्दा अनाैठाे लागेर आउँछ। अनि आफैमाथि दया लागेर आउँछ। तिनीहरुलाई के थाहा कि म त कति बर्षदेखि लकडाउन मै छु। त्यो नि घरबाट टाढा, कुनै एउटा अन्जान सहरमा, अन्जान मान्छेहरुका बिचमा। साथीहरु भन्छन्, “यो लकडाउन सक्योस् न मात्र, यहाँ-उहाँ घुम्न जाने हो।” आफू त सदाबहार एउटै कोठामा बसेर कहिले ‘डेविडसन’ त कहिले ‘बेली एन्ड लब’ को पानाहरुमा घुम्दै, आफ्नो सपनाको संसारमा डुब्दै, भोलिको प्रतिक्षामा बस्ने हो।

कोरोना भाईरसको डर सबैमा भएझैँ म मा पनि छ।  के थाहा? सपना पूरा हुनु अघि नै यो संसारबाट बिदा लिनुपर्ने पो हो कि! तर, सकरात्मक सोच लिएर अघि बढ्ने मान्छे म। मलाई त यो लकडाउनले एक हिसाबले खुशी नै ल्याएको छ। दिन त कोठाको एउटै कुनामा उसैगरि बित्दैछन् अहिले पनि। तर धेरै पछि यतिबेला आफ्नै घरमा, आफ्नै मान्छेहरुको माझमा दिन बितिरहेको छ। त्यसैले म खुशी पनि छु। अनि अर्को कुरा, डाक्टर बन्न गरिएका यी त्यागहरु, अनि सधैँकाे हाम्राे लकडाउन जिन्दगी अहिले अरुले पनि केही अनुभव गर्दैछन्। अरूहरुलाई पनि महसुस होस् न हाम्रो त्यागहरु, हाम्रो मनभित्रको सधैंको लकडाउन। 

अहिले भइरहेको यो लकडाउन त भौतिक हो। एकदिन टरेर जान्छ । तर खै! कस्ले बुझ्ला र! आफैले सिर्जना गरिएको यो मन भित्रको लकडाउन। त्यहीपनि जगतको भलो चिताउने म, यो कोरोनाको त्रास र लकडाउन अन्त्य होस् भनि दिनदिनै भगवानसंग  प्रार्थना पनि गर्दैछु।

नेहा विष्ट

फिक्का

गाउँबाट पढाइको सिलसिलामा काठमाडौं आउनु प्रायः उपत्यका नजिकको जिल्लाका बिद्यार्थीको  बाध्यता हो । एस.एल.सी पास भएपछि बुबा–आमाले मलाई पनि सानोममीसँगै काठमाडौं बसेर पढ्ने वातावरण मिलाकदिनु भयो । सामान्य परिवारमा जन्मिएको हुनाले कलेज लाइफसँगै केही न केही काम गर्नुपर्ने बाध्यता थियो । सुरुका दिनमा घरपरिवारको यादले साह्रै सताउँथ्यो । आमाले पकाएको मिठो खाना । आँगनमा बाँधिएका गाईवस्तु र बाख्रा । बाख्राका पाठासँग खेलेको त्यो पल, सजिलै कहाँ विर्सिन सकिने रहेछ र ? परन्तु, बाध्यताका अगाडि अरु सबै फिक्का हुँदोरहेछ । व्यवस्थापन संकायमा स्नात्तकोतर पास भएको दिन साँच्चै म हर्षका आशुँ रोए। दिन, महिना र वर्ष हुँदै काठमाडौं बसेको आज झण्डै १०वर्ष बितेछ । निरन्तर काठमाडौं बसाइको यो अवधिमा डिग्रीसम्मको पढाइ मात्र सकिएन शहर, राष्ट्रिय राजनीति र राज्यका काम–कार्वाहीलाई नजिकबाट बुझ्ने पर्याप्त अवसर पनि मिल्यो । मैले जिल्लाकै क्याम्पसमा पढेको भए सायद आजको जस्तो देश–काल बुझ्ने अवसरबाट बञ्चित हुनेरहेछु । 

सरकारले लकडाउन गर्नुभन्दा केही समय अगाडि ममी हामीलाई भेट्न गाँउबाट काठमाण्डौ आउने कुरा भइरहेको थियो । आउँदा के लिएर आउने, कसलाई भेट्न जाने, सल्लाह हुन थालिसकेको थियो। घरबाट बुवा/ममी आउनु हुँदा ल्याउन कहिले नछुट्ने कोशेली भनेकै सेलरोटी । मलाई सेल एकदमै मनपर्ने भएकाले ममी काठमाण्डौ आउने कुराले धेरै खुशी थिए । कुरा सेलको मात्र पनि होइन, झण्डै ६ महिना अर्थात् तिहारपछि ममीलाई भेट्न पाउँदै थिए । तर, लकडाउनले आमा–छोरीको दुरीलाई यथास्थानमा राखिदियो । तथापि, यसको सकारात्मक पाटो भनेको दुनियाँमा हजारौं मान्छेको मृत्यु भइरहेको समयमा कम्तिमा हामी सुरक्षित त छौं । यसैमा चित बुझाएर बसेकी छु । 

लाखौं मानिस काठमाडौं छाडेर गाउँ फर्किसकेका छन्। सार्वजनिक सवारी बन्द हुने थाहा पाउनसाथ गाउँमा रहनु भएका बुवा/ममीले घर आउन कर गरिरहनु भएको थियो । केही आफन्त र साथीभाइ भने गाउँ फर्किसकेका थिए । तर,म भने अफिसको काम र जिम्मेवारी छाडेर तत्काल जान मलेन । केही निर्णय लिन पनि सकिरहेकी थिइन। बन्दै हुने स्थिति आएछ भने केही उपाय लगाएर भए पनि घर जाने कुरा भाइ र मेरो बिचमा भइरहेको थियो। लकडाउनसँगै घर जाने सबै बाटाहरु बन्द भए। ममी काठमाण्डौ आउने त कुरै भएन । पहिले जानेहरु परिवारसँग रमाउन पाए तर म भने काठमाण्डौमै छुटे। हुन त म मात्र होइन, यसरी आफ्नो गाँउ जान नपाउनेमा हामीसँगै बस्ने छिमेकी दिदीको परिवार पनि छ । मलाई लाग्छ, हामी जस्तै अप्ठेरोमा परेर घर फर्किन नसकेका धैरै मानिस होलान् ।मेरो भने डेरा र अफिस नजिकै भएकाले त्यही साँझ अफिसबाट ल्यापटप र केही अफिसियल कागजपत्र ल्याएर घरमै बसेर काम गरिरहेकी छु । छिटफुट खुल्ने पसलबाट सामान र तरकारी किनेर खादै बाँचिएको छ । 

हरेक दिन बुबा–ममीसँग कुरा हुन्छ । जतिपटक कुरा हुन्छ त्यति पटक गुनासो गर्नु हुन्छ। त्योभन्दा पनि बढी हामी कसरी बसेका छौं, के खान्छौं भनेर चिन्ता गर्नुहुन्छ । लकडाउनका बिचमा पनि विभिन्न उपाय अपनाएर गाउँ पुगेका छिमेकीका बारेमा सुनाउनुहुन्छ । सहरमा लकडाउनको प्रभाव भए पनि गाउँ–घरमा नियमित हुने काम भइरहेको छ। आज मात्र केही दिन अघि काटेर सुकाएको गँहु झारेर थन्क्याउने काम सकियाे रे मन फिक्का हुँदोरहेछ ! दिउँसभरि गहुँ केलाउदा ममीको ढाड दुख्यो भन्दै हुनुहुन्थ्यो। आफू जान पाएको भए बुबा–ममीलाई काममा त सघाउन पाउँथे । सम्झेर मन फिक्का फिक्का भयाे । घरप्रतिको माया जति नै भएता पनि अब जहाँ छौं, त्यही वसेर हामीले असल नागरिक हुनुको कर्तव्य पूरा गर्न पर्छ। अहिलेको अवस्थामा त झनै हुँदैहुँदैन। किनकी, यो सबै हाम्रै लागि त हो । फेरि प्रकृतिको नियम नै हो, सधै एउटै अवस्थामा दुनीयाँ रहिरहन्न। जसरी ऋतुहरु बदलिन्छन् समय पनि बदलिन्छ । 

लकडाउनका कारण घरमै बसिरहनु पर्ने बाध्यतासँगै मान्छेले विभिन्न खालको समस्या पनि झेल्नु परिरहेको छ । त्यस्तै पिडा सहेर घरमा बस्न बाध्य मध्य म पनि एक हो । छिमेकीको घरमा रातको १:०० बजेसम्म हल्लाखल्ला, स्पीकर जोडेर टोल थर्किने गरी फिल्म र गीत बजाउँदा, म राम्रोसँग सुत्नै सकेको छैन । आफूले गर्दा अरुलाई डिस्टर्ब पुग्नु हुँदैन भन्ने सेन्स मानिसमा किन नभएको होला ! त्याे सम्झेर दिक्क लागेर आउँछ ।यस्ताे गर्नेलाई कसरी कसले तह लगाउने होला ?

जे भए पनि लकडाउन भर घरमै बस्नुको विकल्प छैन । रातभरि राम्रोसँग सुत्न नपाएता पनि विहान उठेर सधैझै घरको सरसफाई गर्नै पर्यो । मोवाईल खोलेर देश दुनियाँका ताजा समाचार नहेरि पानी पिउन मन लाग्दैन। फुर्सदको समयमा किताब पढ्ने, लेख्ने र चाहेको परिकार बनाएर खाँदा दिन त बितिहाल्छ। मलाई कुकिङमा पनि सोख भएकाले फुर्सदको यो समयमा मन लागेका परिकार बनाएर खाने गरेकी छु । घरमा वुवा–ममीले बनाएको जस्तो स्वादिष्ट त बनाउन सकिन। तैपनि २५ गते सेलरोटी बनाए । मैले आफैले सेल बनाएर खाएको बुबा–ममीलाई सुनाउँदा कम्ति खुशी हुनु भएन। मैले बनाएको सेल बुबा–ममीलाई पनि खुवाउन पाएको भए………………….। सेल मिठाे थियाे तर मन चाहिँ फिक्का फिक्का थियाे ।

शम्झना श्रेष्ठ

बुढाले पकाएको मिठ्ठो !

चैत १० ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरस पुष्टी भएको समाचार सार्वजनिक भयो ।  खाजाका लागि कोठा पुग्दा साङ्केनले पनि सचेत गराइन् । अलि आत्तियो मन । अर्को दिनदेखि घरैबाट काम गर्ने निधो गरेँ । 

बेलुकी सरकारले आकस्मिक एक हप्ते ‘लकडाउन’ को घोषणा गर्यो । अन्योल र त्रासद वातावरण बन्यो । ‘लकडाउन’ को अर्थसम्म थाहा नपाएका जनताहरु एकैचोटी लकडाउन भोग्न बाध्य भए । तुम्मा (ठूलीआमा)कोमा गएकी छोरी आयुस्ना उतै अड्किइन् ।

अर्को बिहान अति आवश्यकीय सामग्रीहरु खरिद गर्न निस्किएँ । केही खाद्यान्न अगाडि नै जोहो गरिसकेका थियौं । ताल्छिखेल पिपलबोटमा स्वप्निल दाइसँग भेट भयो । त्रासदीका बिच चियाको चुस्की लियौं । त्यसयता अति आवश्यक काममा मात्र निस्कने गरेको छु । नजिकै निस्किए हात धुने र अलि टाढा जानु परे सेनिटाइजर प्रयोग गर्ने गरेको छु ।

गिटार बजाएर, पुस्तक पढेर, गीतकविता लेखेर, भ्लग बनाएर र घरबाटै अफिसको केही काम गर्दै लकडाउनको सदुपयोग गर्ने योजना बनाएँ । दिनहरु त्यसरी नै बितिरहेका छन् । पुस्तकमा झलक सुबेदीको ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’, स्वप्निल स्मृतिको ‘रङ्गै रङ्गको भीर’ र पाब्लो नेरुदाको ‘ट्वेन्टी लभ पोइम्स्’ हेरिरहेको छु । गिटारमा अलग अभियानका गीतहरुको साथमा अन्य केही गीतहरु बजाइरहेको छु । केही ‘पेन्डिङ भ्लग’हरु पनि सम्पादन गरी अपलोड गरेँ । गीतकविताहरु चाहिँ सोच्दैछु । बिचबिचमा अफिसको काम पनि गरिरहेकै छु । 

सरसफाइ र पकाइमा पनि साङ्केनलाई सघाइरहेको छु । हुन त अरु बेला पनि किचनमा भेटिन्छु म। तर यो पटक भने केही नयाँ परिकार पनि पकाउने प्रयास गरेँ । साङ्केनले पनि हौस्याइहाल्छिन् – ‘बुढाले पकाएको मिठ्ठो !’

ताल्छिखेलबाट सातदोबाटो सरेको महिना दिन मात्रै हुँदैछ । हरेक दिउँसो अगाडिको खाली जग्गामा घाम ताप्न निस्कनु यो घरमा बस्ने सबैको ‘लकडाउन दैनिकी’ हो । सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यता बिच पनि फुर्सदीले घुलमिल गराएको छ । ७२ सालको महाभूकम्पमा पनि परिस्थिति यस्तै थियो । सङ्कटले मान्छेमान्छे बिचको दुरी पनि घटाउँदो रहेछ। 

सुरुसुरुमा घरबन्दी भएर बस्न सकस नै पर्यो । बाहिरको वातावरण त्रासमय थियो । अहिले त एक किसिमले अभ्यस्त भइसकियो ।परिस्थिति झन् कठिन बन्दैछ । रोग लाग्नेहरुलाई रोगले र बाँकीलाई भोकले लैजाने सम्भावना बढ्दो छ । सरकारको पहलकदमी र जनताको सजगता चित्तबुझ्दो छैन । घरबन्दी कहिलेसम्म बन्नु पर्ने हो, अनिश्चित छ । विश्वव्यापी फैलिएको महामारीले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रुपमा कस्तो असर पुग्ने हो, अकल्पनीय छ ।

२५ चैत । हेर्ने कथाको फेसबुक पेज र वेबसाइट चाहार्दै थिएँ । पछिल्लो समय वेबपेजमा ‘लकडाउन डायरी’ हरु प्रकाशित गरिदै आएको रहेछ। ठिक त्यही बेला म्यासेन्जरमा इनुमाको मेसेज आयो – ‘दाइ लकडाउन डायरी लेख्नुपर्यो ।’

नाकिम

उस्तै, उस्तै केही फरक

आमाको ‘ए कति अबेरसम्म सुतेको हँ’ भन्ने आवाजसंगै, हतपत्त एकछिनमा उठिहाले भनेर कोठाबाट आँखा मिच्दै बाहिर निस्किन्छु । सबेरै  एक हुल भँगेराहरुले भर्खरै पालुवा पलाएर हरिया भएका, बतिला लागेका बोटमा खै के के कुरा गरे। योजना बनाए कि के गरे।पछि को कहाँ गए पत्तो भएन। तर उनीहरुले मलाई जगाएर, हर्षित बनाएर गए।  प्रकृति कति गतिशिल। एक महिना अगाडि अस्थिपञ्जर जस्तै लाग्ने आरुको रुख अहिले हेरुँ हेरुँ जस्तो भइ फेरिइछ । साधारण योग, ध्यान र भजन संगीत बिहानका अध्यात्मिक साथी बनेका छन् ।आफ्नै गाउँ अहिले उज्यालो भएको छ। साथीभाइ विदेश र सहरबाट घर फर्किएका छन्। आ-आफ्नै घर परिवार र खेतबारीमा ब्यस्त देखिन्छन्, कहिले त यो परिवेशले चाडवाड भित्रिएको महसुस गराउँछ । 

सानो आयतनको यस कोठामा बिचारका आयतन निकै ठुला र फराकिला भएका छन् । To do list हरु त्यसै बेरोजगार जसरी यथास्थितिमा छन् । मस्तिष्कको क्यानभासमा कहिले वरपरको दृश्यसगैं हराउने मन त कहिले सोचाइका भेलहरुसंग । लकडाउनमा सामाजिक सञ्जालसंगको घनिष्टता बढेको छ। चाँदी जस्तै टल्किएका हिमाल,बाहिर धुलो धुवा नभएकाे स्वछ र सफा फोटोहरु सामाजिक सञ्जालमा देख्दा मानवीय क्रियाकलापहरुले प्रकृतिलाई ‘अलि बढी नै गरेको हो कि’ भन्ने महसुस हुन्छ । के प्रकृतिलाई यसको पूर्व अवस्थामै ल्याउन सकिएला! 

लाग्छ लकडाउनले सिजर्नशील, निकट र उर्जावान बनाएको छ। केही साथीहरुका आफू भित्र रहेका प्रतिभा लेख, रचनाले गति पाएका छन्, वर्षाै देखि छुटिएकाे मित्रताका सम्बन्धलाई ताजा बनाइदिएको छ । लहरै र्याकमा सजिएका पुस्तकहरुले पालो पाएका छन्। घरमा वेवारिसे रहेका सामानहरुले आफ्नो स्थान पाएका छन्। अन्नबालीका फाँटहरु चैत लागेसंगै सुनौला भएकै छन्। बाँझो बारी उर्बर हुँदैछ। बगैचाका फूलहरुले पानी पाएर मुस्कुराइरहेका छन्। अहिले घर चौतारी भएको छ अनि हामी त्यहाँ सुस्ताउने साथी । दिन र रात उही (२४ घण्टा), परिवार उही, साथीभाइ उही, फरक त परिवेश अनुसारको अनुभव ,भोगाइ, जिउने शैली र  सिक्ने पाठहरु। दिनहुँको भागदौडमा बित्ने दिनहरु, अहिले सुस्त, शान्त र सुन्दर भएका छन् । 

मानविय गतिविधि जतिनै विकसित र उन्नत भएता पनि उसको प्रकृतिसंग केही जोर नचल्दो रहेछ । यो सानो जिवाणुको  समाधान पनि आखिर सानै त रैछ ।सामान्य सरसफाईले कोभिड १९ विरुद्द लड्न सकिने रहेछ भने अहिलेलाई यसको उपचार पनि एक्लोपन र दुरी नै रहेछ ।

राजु रिजाल

कपिलवस्तु

के हो लकडाउन?

“आज देखि लकडाउन गर्ने रे सरकारले” हामी खाना खाइरहेको बेला मेरो दाइले भन्नुभयो। कोरोना भाइरसको बारेमा त अलिअलि रेडियो, टिभिमा सुने हेरेकै थियौ।तर लकडाउन शव्द भने मैले पहिलो चोटी सुनेको थिए। मनमा कौतूहलता भैरह्यो। लकडाउन भन्या के रैछ? देशमा लकडाउन गर्यो भने के हुन्छ ? यसबारे मलाई कुनै आइडिया थिएन।

खाना खाइसकेर म झट्ट कर्णफुस्फुस (मोबाइल) भएतिर गए अनि dictionary खोलेर लकडाउन टाईप गरे। तर त्यहाँ पनि केही देखाएन । dictionary मा केही नदेखाएसी मैले मुहारपुस्तिका (facebook ) खोले।  मुहार पुस्तिकाकोको भित्ता लकडाउन, क्वारेन्टाइन, आइसोलेसन शब्दले भरिएको थियो। तर त्यसकाे नेपाली अर्थ थाहा पाउन भने सकिन।

गाउँघरको गन्ने मान्ने दाइ दिदीलाइ पनि सोधे। तर उहाँहरुले पनि थाहा नभएको बताउनुभयो। लकडाउन अटेरी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको कुराकानी सुनेकी थिए तर लकडाउन भन्या चाहिँ के रैछ थाहा पाउन सकेको थिएन । लकडाउन को १ दिन बित्यो २ दिन बित्यो तर कौतूहलता शान्त भएन। गाउँघरमा काम गर्दा गर्दै पनि म बेला बेलामा कसैले लकडाउनबारे पोस्ट गरेको छ कि भनेर मुहारपुस्तिकाको भित्ता हेरिरहन्थे।

त्यतिबेलै कर्णफुस्फुसमा देखे, एक मित्रले भित्तामा लकडाउन,क्वारेन्टाइन जस्ता शब्दहरुको परिभाषा भएको सूचना पोस्ट गर्नुभएको रहेछ । त्यो देखेर एकदमै खुसी पनि भए। छिटो छिटो पढ्न थाले जसमा लेखिएको थियाे – “लकडाउन भनेको कुनै क्षेत्र विशेष निर्धारण गरि मानव आवत जावत र यातायात बन्द गर्नु हो।” याे अर्थ मैले नछुटाइ दोहोराइ दोहोराइ पढे।

अझै पनि म जस्तै कति मानिसहरुलाई अहिलेको लकडाउन, क्वारेन्टाइन, आइसोलेसन आदि चल्ती शब्दहरुको अर्थ थाहा नहोला जस्तै लागेर लेखेको हुँ। आज लकडाउन १५ दिन सकेर १६ दिनमा लागिसकेछ । विश्वभर छारिएर बस्नु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु, जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुहोला ।मेरो यो सानो अपिल तपाइहरु सामु हेर्ने कथा बाट । 

सुनिता गाहा

पाल्पा

तिनको के दोष !

हरेक दिन मोबाईल फोनको अलार्मले ब्युँझाउने मेरा परेलीहरु अचेल घर नजिकैको मन्दिरमा घन्किरहने भजनहरुले खुल्छन्। खुसी छु यस अर्थ कि अलार्मको आवश्यकता छैन आजभोलि मलाई। मैले धेरै पटक धोका खाएको छु । ए.एममा बझ्नु पर्ने अलार्म पि.एममा सेट भएर । ४ पटक त एम.एस्सीको क्लास नै छुट्याे। बिहानै झुल्कने घाममा आशा देख्दै हुन्छु म र बाँच्ने आशा बढ्दै जान्छ। तर फेरि कोभिड १९ को समाचार हेर्छु, सुन्छु, नौ नाडी गलेर आउँछ, फतक्क हुन्छु आज भोलि। कोरोना संकटले भारी मन हलुका महसुस गराउन कहिले भान्सा,खेतबारी, कुँडार, त कहिले ल्यापटप, मोबाईल, यस्तै अनि फेरि यस्तै यस्तैमा भुल्छु। 

सदा सन्नाटा छाउने घर गाउँमा आजभोलि चहलपहल बढेको छ। बर्षभरि छोरा/छोरी बिना घर चलाइरहेका बाबाआमाको अनुहार चम्केको प्रस्टै देख्न सकिन्छ। चाउरी परेका अनुहारका लामा लामा धर्साहरु बिदेसीएका आफ्ना सन्तती देख्न र भेट्न कति आतुर छन्। 

पूर्णिमा आसपासको समयको कारणले गर्दा होला राति पनि कति रमाइलो लाग्छ मलाई। हरेक दिन चन्द्रमा नियाल्न म आँगन निस्कन्छु।नाङ्लो जस्तै गोलो चन्द्रमा एकाएक लुक्न जान्छ बादलको घुम्टो ओडेर, अनि म पनि विश्राम गर्छु। हिजो त्यस्तै भयो घाम उदायो, अस्तायो। सँगै चन्द्रमा क्षितिजमाथि टुप्लुक्क देखियो। तर मनमा भने सदाझैँ उल्लास नै आएन। किन ? किनकी जुन क्षितिजमाथि त्यति राम्रो चन्द्रमा चम्कदैथ्यो ठीक त्यसकै तल डाँडाहरु दन्कदैथ्यो। सधैँ बादलुको घुम्टोमा पस्ने चन्द्रमा आज धुँवाको मुस्लोमा छेकिएथ्यो। तल त्रिशुली बगिरहेथ्याे एकनास। ला! डडेलोले बनै खाने बेला पो आयो त ! कोराेना बाहेक पनि मनमा ढ्याङ्रो ठोक्ने कारण थपिएको छ आज भोलि ।

ती निर्दोष जनावर वासस्थानको लागि कता कता भौतारिदै छन् होला। साँच्चै मेराे जस्तै परिवार उनका पनि त होलान् । मेरै झै बाबाआमा उनका पनि होलान्! कति तड्पिदा हुन् आफ्नो बालबच्चाको सुरक्षा कवच बन्न नसक्दा! कति रुँदा हुन् ती आत्माहरु! कति लाचार महसुस गर्दा हुन् ! मैले सोधपत्र तयार गर्ने क्रममा अनुभव गरेथेँ। कति नाजुक अनि कमजोर छन् जनावरहरु। ती जनावरहरुको पनि त भावनाहरु होलान् हामी मान्छेको जस्तै ! भन्ने कुरा कति होलान्!  व्यक्त गर्न नजान्नुमा त उनीहरुको के दोष! 

कृतना भण्डारी

बिदुर, ७ तुप्चे, नुवाकोट

एउटा सत्य कथा

उसै गरि दिन बित्छ। घाम क्षितिजमा अस्ताउँछ अनि फेरि विहानको मिर्मिरेमा घामसंगै केही आशाहरु पनि उदाउँछन्। अनि फेरि पनि शुन्यतामा दिन बित्छ । म कहाँ २७ जना कामदार थिए। सबैजना खानेपानी र भवन निर्माणका लागि खटिएका। रोजगारीका लागि टाढाबाट आएका मध्ये १६ जना घर गए। बाँकी ११ जनाको अनुहार हेर्छु, मलिन छ। के गर्नु! काम गरेर छोरा छोरी पाल्नु छ। म त्यो कुरा बुझ्छु। काम नगरे कसरी छाक टर्छ?

अनि फेरि कसैले सोध्छ -‘दाइ लक डाउन सकिएन?’ म नाजवाफ हुन्छु। ‘दाइ मर्नु पाए नि बरू परिवारसंगै सबै मर्न हुन्थ्यो।’ म स्तब्ध हुन्छु । हुन पनि रुकुम पश्चिम अनि सिन्धुपाल्चोकदेखि घर परिवार पाल्नको खातिर त यति टाढा खोटाङ जिल्लासम्म आइपुगेका छन् उनीहरू। अनि भन्छन् -‘दाइ ब्यालेन्स लगाइ दिनु न घरमा फोन गर्नुछ।’ म तत्काल जवाफ दिन्छु – ‘ल ल को कस्को नम्बरमा ब्यालेन्स पठाउने। कापीमा नम्वर दिनु। सबैलाई पठाइ दिन्छु।’ मलिन अनुहारमा हल्का खुसी देख्छु। सोच्छु, कति मज्जा छ है सानो सानो कुरामा खुसी हुन जान्दछन् उनीहरू!  

मैले भने सरि कापीमा पालैपालो नम्बर टिपाउँछन् । ब्यालेन्स भएसी सवैले घरमा कुरा गर्छन्। घरमा बाबा आमाले सुनाए हुन्- ‘पल्लो घरको काइला र तलको जेठालाई त ठेकदारले घर सम्म आउने टिकट मिलाइ दिएछ काठमाण्डौबाट तिमीहरुलाई पठाउदैन ?’ उनीहरू मेराे छेउ आइपुग्छन् र भन्छन्- ‘दाइ , दाइ जिल्ला प्रमुखबाट पास लिएर घर जान पाइन्छ रे! हामीलाई नि ब्यवस्था गरि दिनु न। घरमा बच्चा बच्ची बिराम भयो भने पनि अस्पताल लाने मान्छेसम्म छैनन्। बाबा आमा बुढा बुढी हुनुहुन्छ।’ उनीहरूको दुखमा म पनि दुखी हुन्छु।

बा, मिलि पो हाल्छ कि! म प्रयास गर्छु। सुरूमा त नगरपालिकाको उपमेयरसंग बुझे – ‘हेलो नमस्कार उप ज्यु। मेरोमा काम गर्ने भाइहरुलाई सिन्धुपाल्चोक र रुकुम पठाउनु पर्ने।त्यति सहयोग जसरी पनि गर्दिनु पर्याे।’ उताबाट जवाफ आउँछ । ‘हुन्छ, म प्रयास गर्छु। एक छिन पर्खनुहास्’ फोन कट्छ।

हामी प्रतिक्षा गर्छाैं ।

‘ल भोलि अफिस टाइममा आउनु ।’ फोनले खुसीको खबर ल्याउँछ।

यो खवरले खुसी भएका सबैले घर घरै फोन गर्छन् र फर्कने लागेकाे खबर सुनाउँछन्। 

तर म भोलिपल्ट जिल्ला पुग्नु अगावै पास रोक्न माथिबाट निर्देशन गरिएको अर्को खबर आएछ। म बाटैबाट उनीहरुलाई फोन गर्छु – ‘भाइ अब जान नमिल्ने भो रे पास नदिने भो, अब जान नपाउने भयौ।’ 

उतबाट के कसो केही प्रश्न आउँदैन- ‘ए हस् हुन्छ दाइ’ फोन कट्छ । 

यसरी नै कि काम गर्न प कि घर जान पाउने अन्याेलमा समय बित्दैछ हाम्राे , हरेक विहान खुसीको खवर आउने आशामा!

प्रकाश नाछिरिङ राई

खोटाङ

बाँचिएछ भने टुडिखेल मै गएर नाचौला!

परदेशमा छु। म पनि पूर्ण रूपमा लकडाउनको पालना गर्दै एउटा सानो फ्ल्याटमा ज्यानलाई साँघुर्याउन नसके पनि मनलाई साँघुर्याएर अनुशासित भएरै बसेको छु । ता कि आफू पनि बाँचु र अरूलाई पनि बचाउन सकुँ । घरभित्र बस्दैमा बाँचिन्छ भने किन बाहिर जाने हैन र ?

लाग्छ पूरै संसार आगो बिना नै जलिरहेको छ । सम्बन्धित क्षेत्र (जस्तैः विज्ञान, चिकित्सा) मा आबद्द विज्ञहरूले आफ्नो पूरै शक्ति र समय लगाएर यो बलिरहेको आगो निभाउने प्रयास गरिरहेका छन् । विडम्वना यो आगो सजिलै निभ्ने सम्भावना देखिदैन । 

कुनै देशका चिकित्सकहरू अरूलाई बचाउदा बचाउदै आफै संक्रमित भएर मरेका छन त कुनै देशमा संक्रमित भए पछि अरूमा संक्रमण ‘हुन दिन्न’ भन्दै आत्महत्या गरेका छन् । यस्ता खबर सुन्दा साह्रै दुःख लाग्दो रहेछ । 

थाहा छैन कस्को जीवनयात्रा कतिबेला कहाँनेर पुगेर टुङ्गिन्छ । धनी, गरिव, सानो, ठूलो, कालो, गोरो, दुब्लो, मोटो देखि लिएर राज्यको उच्च पदमा रहेर राज्य चलाइरहेका कसै-कस्सैलाई छाडेको छैन यो virusले ।

देशमा होस वा परदेशमा जहाँ रहे पनि आखिर नेपाली त नेपाली नै हुन नि हैन र ? त्यसैले होला कोही नेपालीमा coronavirus positive देखियो रे भनेको सुन्दा पनि मन गर्हौ हुन्छ । मृत्युको खबरले त झन निराश बनाउँदो रहेछ। यही त होला नि है नेपाली र नेपाल प्रतिको प्रेम ? जुन प्रेम स्वदेशमा रहँदाको भन्दा बिदेशमा अझ बढी हुँदोरहेछ ।

विहानी घामको किरणसँगै उठ्यो, विहानीको नित्यकर्म गर्यो अनि कफिको चुस्किसँगै आफन्तहरूसँगको कुराकानी मै बित्छ दैनिकी । एकले अर्कोलाई अनावश्यक काममा बाहिर नजाउ है, स्वास्थ्यको ख्याल राख भनेर नै टुङ्गिन्छ हरेक संवाद। भविष्यको कुरा पछि गरौंला भन्दै ! यही हो आजभोलिको दैनिकी ।

यस्तो बेलामा परिवारका सम्पूर्ण सदस्य अनि आफन्तहरूसँग एउटै छानोमुनी नभए पनि आफ्नै देशमा भएको भए कति खुशी हुन्थ्यो होला मन । विडम्वना,सोचे जस्तो कहाँ हुन्छ र! म यता छु, कोही कतार, कोही हङकङ, कोही दुबई त कोही जापान र कोही नेपालमै । सम्झदा दुःख लाग्छ । के गर्नु परिस्थिति जस्तो छ त्यस्तै स्विकार्नु पर्दोरहेछ ।

परिवार, आफन्त, समाज अनि देशदेखि टाढा छु । निदाउँदा देखिने सपना त बारम्बार दोहोरिरहे कै थिए। तर यहाँ त व्युझँदा देखिने सपना पनि दोहोरिरहेका छन् । सधै एउटै, “जसरी हुन्छ आफू बाँच्नु पर्छ र परिवारलाई पनि बचाउनु पर्छ ।” लाग्छ , मलाई मात्र नभएर सबैलाई यस्तै भइरहेको छ अचेल । अहिलेको परिस्थितिसँग लड्नको निम्ति आत्मविश्वास चाहिन्छ, आत्मबल चाहिन्छ । यसले रोगसँग लड्ने “रोग प्रतिरोधात्मक क्षमता” बढाउन सहयोग गर्दछ । त्यसैले म त आफू खुशी हुने वातावरण सृजना गरिरहन्छु ।

म परदेशमा भए पनि नेपाल मै रहनुभएका मेरो घरपरिवार, आफन्त, समाज, साथीसंगी, गुरूहरू त्यसैगरी सम्पूर्ण नेपालीजन र परदेशमा रहनुभएका नेपालीहरूमा मनभरिको सम्झना ब्यक्त गर्न चाहन्छु । यो प्रतिकुल समयमा कत्ति पनि नआत्तिकन आफ्नो अनि परिवारको स्वास्थ्यको ख्याल राख्दै सकारात्मक सोचका साथ आफ्नो दैनिकि बिताउनु होला भन्दै “STAY AT HOME, STAY SAFE & SAVE LIVES” पनि भन्न चाहन्छु । 

अन्तमा, “बाँचिएछ भने टुडिखेलमै गएर नाचौला, अहिलेलाई घरभित्रै बसौं र भित्रै नाचौं”

एल पी थापा

गल्कोट-११, बाग्लुङ

हाल, बेलायत

स्वस्थ,व्यस्त मस्त !

हरेक दिन फरक नयाँ जोस र जाँगरको साथ मेरो दैनिकी सुरु हुन्छ। म एउटा ठूलो परिवारमा बसिरहेको छु। यहाँ जीवनमुखी र उत्पादनमुखी शिक्षा घोकाएर हैन गराएर सिकाइन्छ। म खोटाङ जिल्ला रुपाकोट मझुवागढीको शुभद्रा मदन फाउन्डेसनबाट यो डायरी लेखिरहेको छु। डायरी लेख्नु यहाँ हाम्राे दैनिकीभित्रै पर्छ।

जीवन सिकाइ रहेछ। सिक्ने र सिकाउने काम कहिले नटुङ्गिने रहेछ।हामी यहाँ हरेक दिनलाई नयाँ बनाउने प्रयास गरिरहेका छौँ। यहाँ दैलेखकी ६ वर्षकी यमुना शाही देखि ७२ वर्षका फाउन्डर मदन राई सम्मको दिनहरु प्राय एकैनासकाे छ। 

यो वर्ष अन्तिम हुन लागेकाले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थीहरुलाई विदामा घर पठाउने कुरा थियो। तर अफसोच विद्यार्थीहरु घर जान पाएनन्। कारण, उही कोरोना भाइरस। वर्षमा एक पटक घर जान पाउँदा विद्यार्थीहरुमा जुन उत्साह देखिन्थ्यो, घर जान नपाउने भनेपछि त्याे अनुहारमा उदासी छाएको थियाे। 

लकडाउनसंगै हाम्रो विद्यालयको मूल गेट पनि बन्द भयाे।जसले गर्दा भिजिटरहरु आउन बन्द भयो। हाम्रो ठूलो परिवार भएकाले सुरुमा त मनमा निकै त्रास थियाे। नयाँ भाइरस न त तत्काल उपचार हुने, न औषधी नै पाइने, न त रोग जाँच्ने उपकरण नै थियो। मात्र सतर्कता अपनाउनु थियाे। तातो पानी पिउने, साबुनपानीले हात धुने, अरुसंग हात नमिलाउने, यति बुझेपछि समस्याको समाधान निस्कियो।हामी सबै मेन्टर(ठूला विद्यार्थी)हरुले इन्टरनेट र सामाजिक सञ्जालको माध्यमबाट याे कुरा बुझेर सानाहरुलाई बुझाउन ढिलाइ गरेनौ। कुरा बुझेपछि उनीहरुको अनुहारमा त्राससंगैकाे जिज्ञासा सहजै पढ्न सकिन्थ्यो। हामीले विद्यार्थीहरुलाई सशंकित होइन सचेत बन्न सिकायौँ। 

यो विश्वव्यापी महामारीसंग लड्न एकजुट भएर यो ठूलो परिवार सहकार्यमा लागेका छाैं।यो परिवारमा दैनिक १ घण्टा स्वस्थ रहन ‘स्वास्थ्य कक्षा’ चलाइरहेका छौँ ।अहिले यहाँ बगैंचा वरिपरि फूलहरु फुलेका छन्। बारीमा तरकारी उत्पादन भइरहेको छ। ठूलो परिवारको भान्सामा खाना पाकिरहेको छ, कार्यालयबाट पाउने सेवा पाइएकै छ। चारखुटे जनावर र दुई खुट्टे पंक्षीले घासदाना पानी पाइ रहेका छन्। हामीले यस घडीलाई शक्तिमा बदल्यौ एक एक दुई होइन एक एक एघार भएर काम गर्याैँ ।

म पनि हिजोआज विद्यार्थीसंगै सिक्दै सिकाउन बनस्पति विज्ञान शाखामा व्यस्त छु । हाम्रो फार्म अलि तलपट्टी पर्छ। झर्दा वरपर हेर्छु -धमाधम मेलापातमा काम भइरहेकै छ। म मेरो सहरको साथीलाई फोन गरेर सोध्छु उसको हालखबर । ऊ भन्छ – ‘बेहाल छ, बेडरुम किचन र बाथरुम गर्याे, बस्यो, साथमा छ फेसबुक।’ अझ ऊ सबै मनको बह पोख्न थाल्छ-’कोठामा बस्दा बस्दा ऐठन होला जस्तो भइसक्यो।’ हुन पनि हो यो भन्दा अरु उपाय के नै पो हुन सक्थ्यो। उसको कुरा सुनेर म निशब्द हुन्छु। कोरोनाले यही त फरक बनायो । सहरलाई गाउँ र गाउँलाई सहर । हिजोसम्म सहरमा काम खोजी गर्नेको ताँती थियो। सबैलाई हतारमात्र हुन्थ्यो । आज त्यही सहर सुनसान छ ।गाउँमा कसैलाई फुर्सद छैन, सबैलाई हतार छ, कामको चटारो छ। एकपल्ट कल्पना गरौँ त, गाउँमा सधैँ यही व्यस्तता रहे गाउँ कति सुन्दर हुन्थ्यो! कति बाँझो जमिन उर्वर हुन्थ्यो! अनि ती बृद्ध बुवाआमाहरुले नातिनातिनाहरुको सहारा पाउँथे होला। बालबालिकाहरुले संस्कार सिक्थे होला।

यो महामारीले समस्याहरु मात्र हैन नयाँ नयाँ विकल्पहरु पनि ल्याइरहेको छ। त्रासमात्र हैन शिक्षा पनि दिइरहेको छ। यी यस्तै कुराहरु मनमा खेलाउँदा खेलाउँदै फार्मको सिकाइ सकेर तरकारी बाेकी भान्छा छिर्छाैं। खानापछि आरामको समयमा इन्टरनेट चलाउँछु। सबै तिर कोरोनाकै समाचार छ। सञ्जाल, यट्युव,फोन गर्याे, वेवसाइट सबै तिर कोरोनाले अस्तव्यस्त बनाइरहेको पाउँछु। यति जना संक्रमित, यति जना मर्याे, यी यस्तै कुराहरु सुन्दा मन डराउँछ। तर पनि याे बेला सयंमले अगाडि बढ्न सिक्दैछु। 

बेलुका ५:४५ मा विद्यार्थीहरुको स्वास्थ्य जाँच हुन्छ । याे बेला विद्यार्थीहरु थप उत्साहित देखिन्छन्। कारण उनीहरु सहरको कोठामा बन्द छैनन्। उनीहरु त यहाँ खुल्ला आकासमुनि फूलै फूलको बगैंचामा रमाइरहेका छन्।  

अन्तत: हामी सबै स्वस्थ छौँ। व्यस्त छौ, मस्त छौँ। त्यसैले खुसी छौ। जो जहाँ छौँ, सुरक्षित रहौँ । 

जयान्ती राई

खोटाङ 

शुभद्रा मदन फाउन्डेसन 

जिन्दगी चल्दो रहेछ

चारैतिर हरियाली । जति हेरेपनि धित नमर्ने पाखा पखेराहरुले अहिले गाउँलाई सजिएको होला । त्यसैमाथि कोइलीले को-हो, हो-को, कूहू,कूहू गर्दै प्रकृतिलाई गर्ने प्रश्नले झनै मग्न हुनुपर्छ । प्रकृतिले यो समयमा आफैलाई सजाएको हुन्छ । मलाई असाध्यै मन पर्ने समय बसन्त ऋतु। अरु समयमा त एकछिन घरमा बस्न नसक्ने म, झन् यो बेला के बस्न सक्थें र! पुरा समय वनतिर बित्थ्यो मेरो।

अहिले समय फेरिएको छ। मेरो जिम्मेवारी थपिएको छ। गाउँभन्दा टाढा छु। अझै भनौं मेरो देशको भूगोलबाटै टाढा, भारतको एक कोठाभित्र छु अहिले र नियालिरहेको छु, आफ्नै विगत। सम्झिदा मात्रै पनि मनमा आनन्द मिल्छ। विगत बिथोल्न बेला बेलामा टिभी हेर्छु । मोबाईल खोल्छु । अर्कै दुनियाँमा पुर्याइ दिन्छ मलाई । जो सम्झिदा मात्रै पनि कस्तो दिक्दारी लागेर आउँछ । बुझ्दा बुझि नसक्नुको छ, सम्झिदा नसम्झिसक्नुको छ । 

आज भारतमा लकडाउन १५ औं दिनमा छ । काम गर्ने होटल बन्द छ । खल्तीमा एक पैसा छैन् । दिनभरि कोठामै बसेको छु । यताउता जाने अवस्था छैन । काम त अर्कै कुरा । हामी जस्तो काम गरेर खानेलाई अहिले जिउन नै मुस्किल छ । यता कयौँ नेपाली अलपत्र छन् । तर सबै चुपचाप चुपचाप बस्न बाध्य छौँ । खाडीमा पसीना बगाउने, बिहान बेलुका हातमुख चुठ्नकै लागि परदेशिनेको आवाज कसैले नसुन्ने! गुनासोहरु धेरै छन् । भन्नु पर्ने,सुनाउनै पर्ने कथा व्यथा धेरै छन् । सुन्ने कोही छैनन् । दु:ख पिडाहरु मनमै छन् । फुकाउदा मन हलुङ्गो हुदो हो त्यो वातावरण पनि छैन अहिले । 

टिभी खोलेर सामाचार हेर्छु। यी मान्छेहरूका गतिविधि अचम्मका लागि रहेछन् । भारतमा कतिपयले यसलाई मजाकको रूपमा लिइरहेका छन् ।पछिल्ला ३/४ दिनमा नै यसको संख्या ५०००+ भैसक्यो। यो निरन्तर बढ्दो छ। सरकारले यस्तो कडाइका साथ लक डाउन गरेको छ। तैपनि अटेर गर्नेहरू धेरै छन्। मान्छेका चरित्र पनि बुझि नसक्नुका छन् । जीवनसंग खेल्ने काम कत्तिको उपयुक्त होला र! खेलि रहेछन् मृत्युसंग अनि पिताम्बरसंग । मृत्युभन्दा पर कता, कहाँ जानु छ र ? के मान्छेमा मानवियता सकिएको हो त ? नत्र यस्तो लापरवाही किन ? यस्ता अटेर गर्नेहरूको दिमागमा छिट्टै घाम लागोस् । 

फेरि मान्छेलाई कति प्रचार चाहिने के ! सामाजिक सञ्जालहरु हेरि सक्नु छैन । सेवा गर्नु धर्म हो ।तर चाउचाउ, बिस्कुट, दालमोठ दिएर सामाजिक सञ्जालमा फोटोहरु अपलोड गर्नेको अहिले कमी छैन । सस्तो लोकप्रियताका लागि यतिसम्म गिर्नु आफैमा लज्जास्पद हो। 

दु:ख पर्दा पिर पर्दा आफ्ना मान्छे सम्झिनु, घर सम्झिनु नौलो होइन । अहिले म जस्तै खाडीमा अलपत्र परेका कैयौँ नेपालीहरुले आफ्नो देश सम्झिरहेछन् । हामीले सम्झिनु भनेको सम्झिनु मात्रै रहेछ । कसैले हाम्रो उद्दार गर्नेवाला छैन । २/३ दिन घाम पानी नभनि हिँडेर बाेर्डरमा पुग्नेलाई त समाल्न नसक्नेले झन कामको खोजीमा भारतको कुना काप्चामा पुगेकाहरुको के नै होला र ! विपतमा पर्दा आफ्नो नै आफ्नो नभैदिदा कस्तो महसुस हुन्छ होला । सोच्दा पनि विरक्त लागेर आउँछ । झन महाकाली नदीमा पौडेर जाने अनि देशभित्र छिर्न नपाउदा भोकले झुन्डिएको समाचारहरु पढ्दाको क्षणले झन मन दुख्छ । 

यसो सम्झदा, जिन्दगी त बालापनमै गजबको थियो । चिन्ता,भय र जिम्मेवारीहिन । अहिले म खाली सपनाहरु देख्ने गर्छु त्यस्तै बालापनको । सपनाको संसारै राम्रो ! अनुभूति नै मिठ्ठाे! 

घरमा सबै भन्दा ठूलो चिन्ता आमालाई हुन्छ। बेला बेलामा फोन गरि रहनुहुन्छ । कोठा बाहिर निस्कनु, सफा भैराख्नु र आफ्नो ख्याल गर्नु भनि सम्झाइ राख्नुहुन्छ । म पनि सम्झाइ रहन्छु ‘केही हुदैन आमा’ भनेर।‘गाडी खुल्ने बित्तिकै घर आइजा’ भन्नु हुन्छ । यताबाट दिए उता खाने मेरो परिवार मैले कमाउन छाेडे भने के होला! यही सोच्दै बितिरहेछन् दिनहरु रातहरु। म मेरो वास्तविक जीवनभन्दा परको जीवनको कल्पना गरिरहेको छु। समय चलिरहेकै छ आफ्नै गतिमा। जीवन पनि यसै चल्दो रहेछ!

गणेश बिश्वकर्मा ‘गणु’

डोटी,बांझ

हाल भारत

आज भारतमा लकडाउन १५ औं दिनमा छ। काम गर्ने होटल बन्द छ । खल्तीमा एक पैसा छैन।यताबाट दिए उता खाने मेरो परिवार मैले कमाउन छाेडे भने के होला! 

मलेसियाको बन्द कोठाबाट मनको आक्राेश

प्रिय नेपाल आमा,

परदेशी छोराको तर्फबाट शिर निहुराएर ढोग छ !

कहाँ बाट सुरु गरौं मेरा मनका यी भावनाहरु। म र म जस्ता हजारौं नेपाली आज बन्द कोठामा सिमित रहेको २५ औं दिन भयो । एक दिन र आजको दिन मात्रै हैन हरपल आफ्नो माटोलाई सम्झेर मातृभूमिलाई सम्झेर रुनु सिवाय पददेशीको के नै हुन्छ र ?  अझै धेरै दिन हुने छ यो बन्द। कोठामा समय कटाउन उकुसमुकुस छ। याे समयलाई कसरी पार लगाउने? 

कोरोना भाइरसले गर्दा बिश्व त्रसित हुँदा हामी वीर नेपाली भनेर मात्रै त्रसित नहुने कुरा भएन क्यारे ! आज विश्व नै कामिरहेको छ। त्यही वीर नेपालीको मुटु त घरि घरि घरपरिवारको चिन्ताले धड्किदै रोकिन खोज्छ। बाहिरका रंगिन संसार पनि आज सुनसान छ ।

यहाँ मात्रै हैन, बिश्वभरका नेपालीहरुको काम ठप्प छ। काम गर्ने पाखुरा बजारुन्जेलसम्म मात्र हो, नत्र यहाँ कसैले के छ कसो छ भनेर पनि सोध्दैनन् ! म आफै आफ्नो माटोलाई सम्झेर यो पत्र लेख्दैछु र सोध्दैछु- सन्चै छौ नेपाल आमा ! हाम्रा नेपालीहरुलाई बचाई देउ है। तर मलाई मेरी घरकी आमाले दिनमा तीन पटक फोन गरेर सोध्नु हुन्छ ‘बाबु कस्तो छ !’ म हाँसेर भन्छु ‘आमा ठिक छु’! तर म खुला जेलको बन्द कोठामा छु, मलाई दुख छ भनेर भन्दिन मेरी आमालाई।

म मलेसियाको खाडीमा छु। यस्तै खाडीमा म जस्तै लाखौं  श्रमिक छ्न । जो अहिले यो कोराेनाको उच्च जोखिममा छन्। त्यसमाथि पनि अधिकांश अवैधानिक छन्। सेक्युरिटी गार्डमा काम छन् । उनीहरू झनै जोखिममा छन्। मलाई  यिनै साथीहरुको धेरै चिन्ता लाग्छ। मेरो देश प्रतिको माया र नेताको चरित्र देखेर म आफ्नो फेसबुकमा आक्रोश पनि पोख्छु। तर कसले सुन्छ हामी प्रवासीले बन्द कोठाबाट लेखेको फोस्रा कुरा! हामी खाडीमा हुने नेपालीले पठाएको रेमिट्यान्सले देश चल्यो। देशको अर्थतन्त्रमा टेवा पुग्यो त आज त्यही खाडीमा बिचल्लीमा परेका र उच्च जोखिममा परेर हार गुहार माग्दै गर्दा कसैले सुनेन हाम्रा कुरा ! 

चिनका विद्यार्थीलाई तुरुन्त आफ्नो देश सुरक्षित ल्याइयो । तर खोइ त हामी श्रमिकहरुलाई नेपाल फर्काएको! यही विभेद भएन र? नेपाली नागरिकता बोकर श्रम गरेर खाने नेपाली चाँहि नेपाली नै हैनन् र ? यो प्रश्न म कसलाई गरौं ? फेरि भारतबाट आफ्नै बाेर्डरमा आएर हारगुहार मागेका नेपालीलाई सम्झिएँ । त्यही ढोकामै आएर ढोका ढक्ढक्याउनेलाई त केही गर्न सकेन भने हामी सात समुन्द्र पारी छौँ, हाम्रो कसलाई के वास्ता! यस्तै सम्झेर चित्त बुझाएँ ।

हाम्रो त भाग्य नै यस्तै रहेछ ।मनलाई  कठोर बनाइ दिनभरि सुत्छु। फेरि रातभरि सुत्नु नै छ।अनि कोल्टे फेर्दै गर्दा घरबाट मेरी आमाको फोन आयो – ‘बाबु के खायौं।’ मैले ‘खाए आमा चिन्ता नगर्नुस’ भने।आमा ‘सुक्क’ गर्नु भयो।शायद आमाले मेरो ‘भोको पेट’ थाहा पाउनुभयाे।एकैछिनलाई मेराे देशका नेताहरूले हामीलाई गरेको व्यवहार चटक्कै बिर्सिदिन्छु र आमालाई सम्झाउँछु- ‘आमा चिन्ता लिनु पर्दैन हामीलाई केहि भइहाल्यो भने सरकार छँदैछ नि’ ।आमाले भन्नुभयाे ‘बाबु भाेकै नबस है ।’ अरु कसैले नसोधे पनि, वास्ता नगरेपनि , बारबार सोधिरहने, वास्ता गरिरहने मेरी आमा हुनुहुन्छ।

मेरी आमा र नेपाल आमाको पिडामा सयौं  आमा परिवार र सन्तान को बिछोडमा आँसु झार्दै छ्न । सरकार  बिपत्तिमा परेका सबैको उद्दार गर ! नागरिक सबै समान हुन।सम्बन्धित देशको दूतावासलाई ध्यानाकर्षण गर । हामी बाँचे परदेशीको पैसाले देश बाँच्छ । मर्नु परे हामीलाई आफ्नै माटोमा मर्न मन छ। प्यारी नेपाल आमा नेपालका नेता र नेपाल सरकारलाई हामीलाई हाम्रै माटोमा मर्ने वातावरण मिलाइदिने बुद्धि देउ है । यस्तै सम्झिदा सम्झिदैँ दिन र रात कटाउँदैछु। रात र दिन उस्तै लाग्छ यहाँ । अन्तमा खाडीमा बसेर धेरै बोल्यो नभन्नु है नेपाल आमा म बाध्यताले यो सब लेख्दै छु । 

उही परदेशी छोरो, 

रमेश बस्नेत 

दोलखा

हाल मलेसिया

स्पेनबाट आफन्तको सम्झना

घडीको चालसँगै अघि बढेका देशहरु अहिले ब्याट्री  सकिएका घडी जस्तै भएका छन् । बाहिर सिमसिम पानी परेकै कारण होला मौसम चिसो थियो । विहानी पखको चिसोले बिउँझिएकी म हतपत उठेर आफू छेउ भएको फोन हेर्न पुग्छु। मैले गएको १ महिना यता फोनमा हेर्ने भनेकै कोरोना update हो । तर आज update हेर्न नपाउँदै मोबाइलमा message आइसकेको थियाे – ‘दिदी १ लाख ४० हजार पनि कटिसकेछ। हामी त आत्तिसकेका छाैं ।’ बहिनीको मेसेज थियाे। करिब २५ दिन देखि यो विरानो ठाँउको एउटा बन्द कोठामा थुनिदाँ नआएको घरको याद आज बहिनीको ३ हरफको मेसेजले झलझली आखाँ वरीपरी नचाइदियो । अनि अनयासै आशु खस्याे । खै! कसरी मन दह्रो बनाऊ। खै! कसरी फेरि सुनौलो विहानीको आशा गरौँ! किनकी म यस्तो ठाँउमा बसेकी थिए जहाँ दिन दुई गुणा र रात चौ गुणाको दरले कोरोना संक्रमित बढ्दै थिए र अझ २१ दिन यही कोठामा बिताउनु छ । तैपनि मन दह्रो बनाएर झिनो आशाको त्यान्द्राेलाई चुडिंन दिइन मैले ।

बुवाको फोन आँउछ – छोरी नआत्तिउ, केही लेख, किताब पढ, movie  हेर केही हुन्न । पहिला पनि यस्ता महामारी आउँथे अरे ! हजुरवुवाले भन्नुभएको । तर त्यो बेला internet थिएन। अहिले internet ले गर्दा मात्र सबै थाहा भएको हो ……. यस्तै यस्तै सहानुभुतिका शब्दले मनमा भएको डर अलिकति भएपनि कम हुन्थ्यो। तर बुवालाई फोनमा भन्न र मलाई यहाँ यी सबै कुराहरू सहज रुपमा लिन एकदमै गाह्रो हुन्थ्यो । किनकि थुनिएर नै चलेका छन् यी पछिल्ला दिनहरु । हप्तामा एकदिन सामान किनमेल गर्न बाहिर जाँदा डरले सताइरहन्छ । कोठामा फर्कदा यस्ताे लाग्छ, कतै मै संक्रमणको शिकार बनेर आए कि ! देशहरु जति नै विकसित भए पनि आज यो सुक्ष्म जीवाणुको अगाडी निष्कृय हुनुपरेको छ ।

आफ्ना जिन्दगी भर दुःख गरेर अब बसेर खाउँ, परिवारसंग रमाउँ भन्ने उमेरका बुढाबुढीको निधन भयो अरे भन्दा मननै कट्टक्क भएर आउँछ । अझ पार्थिव शरीरलाई परिवारले हेर्न पनि नपाउने ! ! ओहो !! 

यी सबै कुरा देख्दा र यो महामारीको भयानक रुपले गर्दा त बरु देशमै मिठो नमिठो खाएर भएर पनि ममी कै काखमा बस्न पाएको भए जस्तो लाग्छ। बहिनीसंग बिताएका वाल्यकाल आँखा भरि छ।ममी हजुरको हातको खानाको स्वाद जिब्राेमै छ।वुवा हजुरको प्रेरणा र हौसलाले म अझै बलियो भएको छु। आशा गरौँ यो खराब समयको भुमरीबाट संसारले छिट्टै छुट्कारा पाउने छ । त्यसपछि ममी म पक्कै फर्केर घर आउनेछु । 

ऋचा पन्थ सिम्खडा

Pais Vasco, Spain

आफैलाई बिर्सिँदा !

प्यारो डायरी,

आज मैले तिमीलाई चारबर्ष पछि भेट्टाए।

खै के भेट्टाए भनौ ,बेला बेलामा तिम्रो याद नआएको त  हैन, तर खोज्ने प्रयास कहिल्यै गरिन।

मसंग फुर्सद पनि कहाँ थियो र! जिन्दगीको लामो यात्रामा दौडिरहेकी थिए ।

कोरोनाले महामारीको रुप लिए संगै कलेज बिदा भयो ।म पनि दराज भित्र थन्क्याएर राखेको पुरानो डायरीलाई झोलामा राखी गाउँ फर्किए। ओहो! गाउँमा त झन् रौनक पो छाएको रहेछ ।दशैमा समेत नआएका मान्छेहरु आफ्नै परिवारसंग सुरक्षित हुने आशमा गाउँ फर्केका रहेछन् । 

वसन्त ऋतुको  आगमन संगै बोटबिरुवामा नयाँ पालुवा पलाउदै गरेको दृश्यले गाउँपाखालाई नै रमणीय बनाइदिएको रहेछ।धेरै बर्ष भइसकेको थियो आँप ,लिच्ची ,अनार,आरुका बोटमा फूल  फुलेको देख्न नपाएको । यसपालि फूल फुलेको पनि देखे।अझ पाकेको किम्बु आफ्नै हातले टिपेर जिब्रै कालो हुनेगरि खाए पनि।

बाल्यकालमा साथीहरूसंग  खेलेकाे ठाँउ पनि घुमे।ठाँउ उहीँ थियो तर पहिलाको जस्तो रौनक भेटिन। घर अगाडिको चाैरले टुलुटुलु हेरिरहेको छ जस्तो लाग्याे। पिढिँमा टोलाएर एक्लै सोच्दै छु – ‘खै कता गए ती संगै गट्टा खेल्ने साथी ।सायद म जस्तै ठुलो भए होलान्। अनि अतीतका कुराहरू कल्पिदै होलान्।’

दुइचार दिन त सजिलैसंग बित्याे। तर  पछि पछि साह्रै मुस्किल पर्न थाल्यो।अनि पो बल्ल तिमीलाई सम्झिए। बिस्तारै पल्टाउन थाले मेरा यी हातले लेखेका डायरीका पानालाई। याे डायरीमा मैले स्कुले जीवनमा  बिताएका तिता मिठा पलहरुलाई लेखेकी थिए ।जति जति पानाहरु पल्टाउदै गए त्यती यादहरु पनि ताजा हुँदै गए। ओहो ! कति धेरै खुसी हुँदि रहेछु स- साना कुरामा पनि। आफू खुसी हुँदाको कुरालाई  उत्साह साथ लेख्दी रहेछु अनि दुखी हुँदा लेख्दा मेरा अक्षरहरु लतपतिँदा रहेछन ।

पाना पल्टाउदै जाँदा देखे जानि नजानि कोरेका रचनाहरु । झल्याँस्स बिउँझे। ओहो! मलाई कथा कविता लेख्न साह्रै रहर पो लाग्थ्यो है! आफू ‘को हो’ भनेर बिर्सिसकेको पो रहेछु। आफैलाई बिर्सेको सम्झना गर्दा अनाैठाे लाग्दाे रहेछ ।

साथीहरुका सुन्दर अक्षरले मेरा डायरीका पाना पानामा बुटा भरिदिएका थिए । जति टाढा गए पनि नबिर्सने , साथ कहिलै नछोड्ने भनेर  साथीले लेखेका कुरा त केबल पानामै सिमित भए।साँच्चै मान्छे यति साह्रै किन स्वार्थी भएका होलान् है।जब आफूलाई कसैको अभाव हुन्छ तब मात्र सम्झन्छौँ। मैले पनि त्यही गरे। 

व्यस्त जीवनबाट फुर्सद पाएपछि मात्र तिमीलाई सम्झिए।सायद लकडाउन नभइदिएको मैले तिमीलाई पल्टाएर समेत हेर्ने थिइन। मैले आफू को हो भनेर चिन्ने मौका पाउने थिइँन । जे गर्दा खुसी मिल्छ जीवनमा त्यही गर्नु पर्दो रहेछ भन्ने कुरा बुझेँ।

अब म खालि रहेका पानाहरु  फेरि भर्दै जाने छु।अनि मेरा भबिस्यका योजनाहरुलाई बिस्तारै कोर्दै जाने छु।

बाँकी कुरा अर्को भेटमा!

उहीँ तिम्रो,

शान्ति शर्मा

Social Distancing र ऊ

आज बिहानै उपस्थित भयो । सधैँ रातमा देखिने आज बिहानै टाङ्खटिङ्ख खोला पार गरेर बस्ति नजिकै आइपुग्दा मान्छेहरुको कोलाहलले प्यारो निन्द्राबाट ब्युझाँयो मलाई ।

Covid19 को त्रासबाट बँच्न घरको न्यानो निन्द्रा काफी भएको बेला फेरि उसको त्रास थपियो । “ए! हात्ती आएछ हात्ती !” आमाले दुध भर्दै कराउनुभयो । म हतार हतार उठेर घर अगाडीको खोलाको वारिपट्टि बसेँ, कहिले ऊ त्यो बडेमानको कान हल्लाउदै खोलाको तिरै तिर हिड्छ र मनभरी हेर्न पाइएला भनेर सोच्दै। एक मनले त आफ्नै घर छेउ हुदै जंगल पसेपनि त हुने नि भनेर पनि संझे । त्यो लोभलाग्दो जंगली हात्तीको आफ्नै कपिराइटको फोटो हुँदाको सान सम्झेर मनपनि फुरुङ्ग भयो एकछिन। सोच्दा सोच्दै ऊ खोलाको तीरैतीर गयो । बुद्धिमानी जनावर भनिन्छ नि त उसलाई, Social Distancing प्रष्ट बुझेको जस्तो लाग्याे मलाई,उसको त्यो मेरो घर तिर नलागी खोलाको तीरैतीर जाने निर्णय देखेर ।

एक्लै आएछ यो पटक Social Distancing राम्रैसगँ बुझेको छ जे होस्! अब प्रत्येक बेलुका निस्कन्छ । अनि गाउँमा मानिसहरुले आफू बिच दुरी राख्दै खेदाउनु पर्छ उसलाई। ‘नेपाल सरकारले लकडाउन घोषणा गर्या छ, घरमै बस्’ भन्न मन थियो उसलाई पनि । अनि फेरि यो नागरिकतै नभएको जन्तुलाई कुन देशको भन्नु। छ न त छ नि त्यसको पनि घर! तर हामीले दिनै पिच्छे आगो लगाएको लगाई छौँ। के खाएर बसोस् त्यो आफ्नो घरभित्र?

दिनभरी मकै गोड्यो रातभरी हात्तीले खाइदेला कि भनेर कुर्यो! अबको हामि गाउँलेको दुई चार दिन र दुईचार रातको काम पक्का भयो, प्राय सबैको मनले यही सोचेको हुनुपर्छ आज । न Covid19 ले न कुनै लकडाउनले न त कसैको Social Distancing ले असर गर्न सक्यो यो मान्छे र हात्ती बिचको सम्बन्धलाई। आफै बन बिज्ञानको बिद्यार्थी अनि मानव हात्ती द्धन्दको भोगाइसँगै हुर्केर होला एकछिन सोच्न बाध्य बनायो मलाई ।कस्तो गाह्राे कुरा!  २०६२ सालदेखि २०७६ सम्ममा ११ वटा हात्ती र ३७ जना मानिसको ज्यान गइसकेको रैछ झापामा मात्रै । हात्तीको बासस्थान मासिने क्रम पनि जारी छ अनि हामीबिचको यो लुकाछिपी र द्धन्दले डरलाग्दो रुप लिइरहेको छ । तर पनि सरकारको चासो चैँ नगन्य मात्रै । 

Covid19 लाई त Social Distancing ले काम गर्ला, अब प्रत्येक दिन नजिकिएको यो मानव हात्ती द्धन्दलाई कसरी सुल्झाउने होला? कुनै न कुनै दिन यसको उपचार उपाय पक्कै निस्केला। तर यो त फेरि एक मान्छेबाट अर्को मान्छेमा, एक एयरपोर्टको बाटो हुँदै अर्को देशमा नसर्ने खालको रोग। प्रकृतिसंग लागेको रोगको उपचार त के होला र खै !! 

बिजु पोड्याल

झापा

मेराे डायरीको पानाबाट

लेख्न त म डायरी लेखिरहने मान्छे हुँ । तर प्रकाशित नै गर्ने गरि डायरी कसरी लेख्ने होला ? म एकछिन घोत्लिएँ । फेरी सोचेँ “आ ! जे होला । पहिला लेख्नु त पर्यो नी!” पहिला लेखिसकौँला अनि पठाउने की नपठाउने भनेर टुङ्गो गरुँला भनेर लेख्न थालेँ ।

मिती २०७६ /१२ /२३ गते,

डियर डायरी,
आज ३५ दिनपछि पुनः म डायरी समातेर बसेको छु । डायरीलाई आफ्नो सुख दुःखका कुराहरु पोख्न थालेको पनि एक दशक बितिसकेछ । मेरो सबैभन्दा पुरानो डायरीको पहिलो पानामा मैले २०६५, २, १२ गतेको मिती लेखेको रहेछु । त्यसयता आजसम्म, कहिले सुखमा त कहिले दुःखमा र कहिले खुसीमा डायरी लेख्ने कामले निरन्तरता पाइरहेको छ । जस्तो कि, शहरबाट कसैले कोसेली पठाइदिएको कुरा, पाहुनाका कुरा, कँही कतैबाट नयाँ खबरका कुरा अनि गाउँकै मेलापर्वका रमाइलाहरुले मेरो डायरीका पानाहरु ओगट्थे ।

शहर पसेपछि भने मैले डायरीमा लेख्ने कुराहरु फेरीएका छन् । मेरा डायरीहरु अचेल गाउँको सम्झनै सम्झनाहरु अनि शहरले लाद्ने कहरहरुले भरिन्छन् ।


साँच्चै गाउँघर कम्ता रमाइलो थियो त ! त्यो बालपन, त्यो स्वतन्त्रता, आमाबाबुको ममता, त्यो अपनत्व । सम्झँदा पनि मन आनन्दले भरिने । हामी केटाकेटी हुँदा आफ्नै बारीको काँक्रोका चिचिलाहरु आमाबाट लुकेर टिपि काँक्रोको टुप्पो र फेद थोरै थोरै ताछेर “तीते तीते जा, मीठे मीठे आइजा’ भन्दै एकछिन दलेर फालेपछि खान्थ्यौँ । आमाले थाहा पाउनु भएपछि “ठूलो भएर खाएको भए सबैलाई पुग्थ्यो नी” भनेर हामीलाई सम्झाउनु हुन्थ्यो। स्कूल जाँदा फ्रकको गोजीभरी चामल, चिनी र सिलाम पनि आमाकै आँखा छलेर लान्थ्यौँ । आमाले देख्नुभए “पेटमा चुर्ना पार्छ“ भनेर लान दिनु हुन्नथ्यो । दौँतरीहरू भेटेर खेल्न थालेपछि घर नै बिर्सने । त्यो कचकचे चकचके उमेरका उपद्रोहरु कतिकति । शोक न सुर्ता, भोक न भकारी !


अलि हुर्कदै जाँदा, असार साउनमा झरी बादलसँगै गरेको रोपाईँ । मंसिर पुसमा जुनेली रातमा गरिने दाँई र धानको भारीहरु । हिउँदमा खुला खेतबारी, वनजंगलमा गरिने गोठालो अनि चैत बैशाखमा रुखका पातहरु उडाउँदै चल्ने हावा अनि त्यसबाट निस्कने त्यो एक प्रकारको मधुर संगीत । आहा ! कति रमाइलो गाउँघर । त्यतिबेला भोग्दा बाध्यता लाग्ने कामहरु अहिले रहर भैसकेछन्। धान नरोपेको, भारी नबोकेको, गोठालो नगएको बर्षौँ भईसकेछ ।


मान्छेको मन अजिबको हुने ! जे छैन त्यसैको झल्को आइरहने । सधैँ घरमा बसेरै सजिलै दिन बिताउने म । अचेल भने के के न बित्ला जस्तो, कहाँ त पुग्नुपर्ने जस्तो, के के न भ्याउनु पर्नेथ्यो जस्तो मनमा हतारो मात्रै भइरहने । घरमा भएका बाहेक अन्य खानेकुराहरुको मात्र याद आइरहने । अरुबेला त्यति याद नहुने आफन्तहरुलाई समेत भेट्न जान पाए त जस्तो लाग्ने ! खुल्ला आकाश र पहाड देख्दा कतै घुम्न निस्कि हालौँ कि जस्तो लाग्ने। तर जे जस्तो लागेपनि अन्त्यमा मनलाई पनि ज्यान नै प्यारो हुन्छ क्यार ! त्यसैले घर बाहिर भने ज्यान निस्कन सकेको छैन ।


दिन बिताउने बहानामा युट्युव र अनालाईनका समाचारहरु पनि कत्ति हेर्नु? खाली त्यही कोरोना भाइरसलाई लिएर विभिन्न ट्रोल बनाएको, आलु खाइ पेडाको धाक भनेझैँ राहत वितरण भन्दा धेरै प्रचार गरेको, कुन्नि क कसले हो भ्रष्टाचार र कालो बजारी गरेको, झुटो समाचार र शीर्षक बेचेर पैसा र पपुलारिटी कमाउने दाउ छोपेको मात्रै हेर्नु पढ्नुपर्ने । अनि कतै बिक्रि गर्न नपाएको भन्दै विरोधस्वरुप दूध नष्ट गरेको, कतै भने खान नपाइ भोक भोकै रोएको समचार पनि पढ्नु नै छ ।


अहिलेसम्म विश्वमा के के कारणले आर्थिक मन्दी आयो र कसरी विश्वको अर्थतन्त्र ध्वस्त भयो ? भनेर पढ्दै मात्र आएको हामीले अब प्रत्यक्ष देख्ने र भोग्ने दुर्दशाको नजिक उभिएका छौँ हामी । चीन, इटाली, स्पेन र अमेरिकाजस्ता विकसित र सम्पन्न देशहरुमासमेत कोरोना भाइरस नियन्त्रण गर्न कठिन भईरहेको देख्दा पनि हामीमध्ये कतिजना सावधानीसमेत नअपनाई बसीरहेकाछौँ । यसको मूल्य हजारौँले ज्यान गुमाएर तिर्न नपरोस भन्ने प्रर्थना छ र त्यस्ता दर्दनाक अवस्था मेरो देशले पनि भोग्नुपरेको थियो भनेर कुनै डायरीमा लेख्न नपरोस भन्ने कामना छ। सके र जाने जति सावधानी अपनाउँदा अपनाउँदै पनि डायरी लेख्न आफू नै बाँचिएन भने त, कुरै खतम !


आजभोली दैनिकी अलि फेरिएको छ। सुत्ने उठ्ने, खाने बस्नेको समय बदलिएको छ। दालभात, तरकारी र भए अचार पनि खानु पर्ने मुखमा अचेल कहिलेकाहीँ अचारसँग मात्र पनि भात रुचेको छ। यतिबेला कोर्सका किताबहरु पढ्ने जाँगर त्यति चलेको छैन मलाई चाहिँ। तर पनि कहिले (दया र म) संगै युट्युव हेर्छौ, कहिले आ–आफ्नो मोबाईलमा आफ्नै रोजाइको फिल्म हेर्छौं । दुई जनाको खाना दुवैले मिलेर पकायो खायो, सरसफाई गर्यो, गमला स्याहार्यो, कहिले गमलाका फूलहरु हेर्याे । अनि कहिले ऐनामा आफैलाई हेर्यो, कहिले चाहिँ फेसबुक, टिकटक र ईन्स्टाग्राममा अरुलाई हेर्यो ।

गाऊँमा रहनुहुने आमाबुबा र आफन्तहरुसँग घण्टौँघण्टा फोनमा कुराकानी गर्यो । कोरोना भाइरसका बारेमा र सावधानीका बारेमा जाने जति कुरा सेयर गर्यो । उहाँहरुले कामको हतार सुनाउनु हुँदा र “यहाँ त बिरामी हुने पनि फुर्सद छैन” भन्नु हुँदा आफू पनि त्यहाँ हुन पाए…….भन्ने सोच्यो । युट्युवमा आउने विभिन्न किताबको अडियो सुन्यो, यस्तैमा बित्दैछ दिनहरु । जस्तो कि, अहिले हामी मदनकृष्ण श्रेष्ठको “महको म” सुन्दैछौँ ।

बस यसैगरी चलिरहेको छ आजसम्म ।



जमुना राई

संखुवासभा
हाल, ललितपुर

अफ्रिका र माया

लकडाउनको पन्ध्रौं दिन । अफ्रिकाको दक्षिणी भूगोलको जाम्बिया भन्ने देशमा हामी १५ जना नेपाली काम गर्दैछौं । देश लिखिर लिखिर चल्दै छ । एयर्पोर्ट बन्द छ । चर्च, स्कुल र युनिभर्सिटीहरु बन्दा बन्दीमै छन । होटल रेस्टुँरा क्यासिनोहरु बन्द छन् । सपिङ मलहरुमा पुलिसको निगरानी छ । कडा नियममा अत्यवश्यक वस्तुको मात्र बिक्री वितरण भएको छ। मानिसहरु खानेकुराको अलि बढी नै जोहो गरिरहेका छन् । बजारमा अचेल एकअर्कालाइ शंङ्काले हेर्छन् ।  सायद कोरोनाले सबैलाई झस्काएको हुनुपर्छ। चिम्सा आँखा हुने गोरा मान्छेहरु त निसाना मै हुन्छन् । ‘कोरोना कोरोना’ भन्दै तर्किदै हिँडछन् मान्छेहरु ।

मान्छेले मान्छेलाई यसरी व्यवहार गरेको पहिलो पटक देख्दै छु । यसरी नै यो रोगले गाँज्दै जाने हो भने पक्कै फेरि अर्को बिद्रोह नहोला भन्न सक्दिन। त्यो बिद्रोह वर्ण, जाती र क्षेत्रीय हुन सक्छ । अर्थतन्त्रको क्षतिलाई मुल्यांकन गर्दै देश पूर्ण लकडाउन भने भएको छैन। आजको दिनसम्म ३९ जना बिरामी पहिचान गरेर यहाँको सरकारले उपचार गरिरहेको छ ।

बिदेश हिँडेको पनि लगभग दुइ वर्ष भएछ । ‘एम ए’ गरिसकेपछी केही समय नेपालमै काम गर्ने प्रयास नगरेको हैन। दुर्गम सरकारी स्कुलको उत्पादन न हो , एम ए गरेपनि अङ्ग्रेजी दुस्मन जत्तिकै थियो । समाज परिवारहरुको मूल्यांकन क्वालिटी भन्दा पनि क्वान्टिटीमा रहेकाले मैले जसरी भएपनि ‘एम ए’ पास गर्नु पर्ने महसुस गरेँ । अनि आफ्नो सहजको बिषय छानेँ राजनिती शास्त्र र ‘एम ए’ गरे । ‘एम ए’ त गरे, तर बजारमा कसरी बिक्थ्यो र त्यो बिषय ? जागिर खानलाई नि कोसिस नगरेको हैन । कयौं ठाउँमा पावरले फालिँए । कयौं ठाउँमा आफै फालिँए । कुनै पार्टीको झोला पो बोकौँ की भनेर सोचेँ पनि ।  त्यो सजिलो थिएन। पार्टी भित्रका जालसाजी  पटक्कै पहिले देखि मन नपर्ने। राजनिती भित्रका छोप्दा छोप्दै गरेका घिनलाग्दा सेटिङहरुले वाक्क दिक्क बनाउँथ्यो।आदर्शले भोको पेट भरिन्न झै लाग्यो। राजनितिक हिसाब नि मेरो डायरीमा बिग्रियो ।

 पासपोर्ट बनाएँ । बिदेश हानिएँ ।

एकदिन शहरबाट गाउँ गएको बेला गाउँमा एउटा कार्यक्रम रहेछ । शहरबाट गएको पढेलेखेको केटो। क्वालिटी नभएनि क्वान्टिटीको एम ए  त्यसमा अझ राजनिती पढेको । कार्यक्रममा बक्ताको भूमिका पाइयो । कसैले त्यस बिषयमा बोल्दै गरेको भिडियो खिचेर म घर आइनपुग्दै बुवालाई देखाइसकेको रहेछ । म घर फर्किए । खाना खाएपछि साँझ अँगेनु छेउ बसेर एक छिन गफिने गाउँ घरको चलन हुन्छ । “कान्छा सबै कुरा गर्नु राजनितीमा नलाग्नु है ।” बाले भन्नुभयाे। बा को यो कुराले कताकति  घोच्यो। गम्भीर बनायो।सोचेँ बाको इच्छा होला छोराले जागिर खाओस्।पैसा कमाओस् र आफूलाइ थिचिरहेको रिनको घुम्टो हटाओस्। बाले राजनितीलाई कठिन साधनासंग तुलना गर्नुभएको थियो। राजनिती समाजसेवामात्र हो त्यो व्यापार हैन भन्ने बुझ्नु भएको थियो। राजनितीकर्मीले दुखले जीवन बिताउँछ भन्ने बाको बुझाइ थियो ।

यी र यस्तै यावत् समस्याहरु बुझेर मैले डिग्रीलाई दराजमा थन्क्याएर परदेसिएँ। दिनहरु बित्दै गए। मैले घरको आर्थिक बक्र रेखालाई सरल रेखातिर डोहोर्याउदै थिएँ। परदेशको परिश्रमले माथि उकास्दै थियो । जनवरीको शुरुको  दिन हुनुपर्छ । चाइनामा एकाएक महामारिले मान्छेहरु मर्दै गरेका समाचारहरु आउन थाले। हजारौमा मृत्यु हुन थाले। लाखौँ बिरामी। शुरुका दिनहरुमा बजारमा देखिने चाइनिजतिर इंङित गर्दै ‘उ कोरोना’ भन्दै हामीले नै मजाक गर्यौँ। तर हामीलाई के थाहा सारा संसारलाई त्यस्ले हायल कायल पार्छ भन्ने कुरा। बजारमा यस्तो पनि सुनिन थाल्यो ‘कोरोना भनेको चाइनिज र चाइनिज भनेको कोरोना ।’ हामी मान्छे कति निर्विवेकी रहेछौँ । जस्को देश माहामारीमा जुधिरहेको छ हामी उसैका नागरिक माथी  मजाक गरिरहेका छौँ । त्यो दिन हामी माथि पनि माहामारी आइपुग्छ भन्ने सायद कसैले सोचेको थिएन होला ?

जिन्दगी  यस्तो होला भन्ने कदापी सोचेको थिइन। जब शहरहरु एक पछि अर्को लकडाउन हुँदै गए । जब देशहरु एक पछि अर्को लकडाउन हुँदै गए दिन दिनै मन आत्तिन थाल्यो ।  विश्व लाई एउटै गाउँ जसरी जोड्ने हवाईजहाजहरुले उडानहरु स्थगित गरे । तब महसुस भयो हामी सात समुद्र पारी छौँ । हाम्रो भूगोल सपनाको देश जस्तो भएको कुरा । कल्पना गरेँ यदि हवाईजाहाज नहुँदो हो त मेरो हालत के हुँदो हो? आमालाई फोन गरेँ । गाउँमै भएपनि हरेक दिनको समाचारले उहाँलाई नि आतेस खेलाइरहेको रहेछ । आमा आत्तिनुभएको थियाे।आफू बसिरहेको देशको घटनाहरु लुकाएर सकारात्मक कुराहरु मात्र सुनाएँ। आमा अझ बिश्वस्त हुनु भएन।  घर फर्किन अनुरोध गरिरहनुभएको थियो । मैले पैसाको पछि लागेर बिदेशिएको कुरा आमालाई कहिल्यै मन परेको थिएन। कहिल्यै पनि धेरै पैसा चहिन्छ भनेर आमाले भन्नुभएको छैन । सकेसम्म नेपालमै बस्न पटक पटक आमाले अनुरोध नै गर्नु भएको थियो । तर मैले यो कुरालाई सधैं इन्कार नै गरेँ।

 आमालाई कोरोनाले ज्यादै भएभित पारेको रहेछ । उहाँलाई गाउँतिर कसैले सुनाइदिएछ रक्सी खाने मान्छेलाई कोरोनाले छुँदैन भनेर। आमाले मलाई सोध्नु भयो “छोरा तिमीले मलाई रक्सी खादिन भन्थेउ । यतातिर त रक्सी खानेलाई कोरोनाले छुँदैन भन्ने हल्ला गर्छन् । तिमी पनि अलि अलि रक्सी खान सुरु पो गर्ने हो कि ?”  म हासेँ ।रक्सी चुरोट खान्छ कि भनेर सधैँ सम्झाइ बुझाइ गर्ने आमालाई यो कुन हल्लाले आज यस्तो बनायो। शायद आमाको ‘माया’ यही हो ।

अब जीवनमा पारिवारिक मिलन र खुसी नै सबैभन्दा ठूलो धन रहेछ भन्ने बुझिसकेँ ।

आमा अब म बिदेश छोड्छु ! सुख दु:ख त्यतै गरौँला । आशा गरौँ, यो संसार छिट्टै खुल्नेछ, म उड्ने हवाईजहाज छिट्टै चल्नेछ र म छिट्टै घर फर्कने छु आमा…………

धेरै धेरै माया

देबेन्द्र पौड्याल

जाम्बिया, अफ्रिका