बिहानै उठ्छु । घरको छतमा रहेको गुलाफसंगै गमलामा अरु फूलहरु पनि ढकमक्क फुलेका छन् । घरसंगै जोडिएको अर्घाखाँची सन्धिखर्क शान्ति बगैचा भित्रका आँपका फूलहरुको बास्ना हावाको झोक्कासंगै म छेउ आइपुग्छ । अनि माथि छतबाट घर पछाडिको अम्बाको बोट नियाल्छु । त्यो पनि गज्जबसंग पलाउँदै छ । नयाँ पालुवा लाग्दैछ । घर अगाडि हेर्छु छतबाट नराम्रा देखिने झारहरु पनि आज सुन्दर फूल झै फुलेका छन् । यता, उता, अगाडि पछाडि अनि छिमेकका छत र करेसाबारी, डाँडाकाँडामा जताततै सुन्दर फूल जताततै हरियाली मात्रै देख्छु ।
मेरो चोकमा घरमा जहिले मोटरको आवाज र गाइँगुइँ मात्र सुनिने । आजभोलि दिनमा १० बटा मात्र गाडी गुडेका छन् । अरु बेला सयाै अझ हजारसम्मै पुग्थ्याे होला । यस्ताे लाग्दैछ म कतै टाढाको गाउँमा आनन्दित छु । र विरामी पृथ्वी तङ्ग्रिदै छ । आहा ! कति रमाइलो ।
यत्तिकैमा बहिनीको आवाज आयो “दाइ नयाँ भेटियो नि?”
म झस्याङ्ग भए के कसाे भेटियो भन्ने कुरै भएन । कोरोनाको अर्को केस भेटियो भन्ने मैले बुझिहाले ।
अनि फोनको लक खोल्दै हेर्छु त आज शनिबार पो रहेछ । म आएको पनि १४ दिन भइसकेछ । दुईहप्ता देखि घरमै छु । काठमाडौ छँदा कहिले किर्तिपुरको डेराबाट बागबजार त कतिबेला बानेश्वर । कहिले कता कता ! बिहानै निस्किएको म ८-९ बजे सम्मै डुल्ने । साथीभाइ भेट्ने, बहस गर्ने मेरो दैनिकी अचेल फेरिएको छ ।
यो समय कसरी सदुपयोग गर्ने भनेर कहिले भान्सा त कहिले करेसामा काम गरिराख्छु । केही कितावहरु पनि पढ्दैछु । बिहान बेलुका कि योग गर्छु कि नाच्न गाउन सिक्दैछु । घर भित्रै खुसी खोज्दैछु ।
आज विश्व भरिका मजस्तै व्यक्तिहरु लकडाउनमा छन् । यतिबेला काठमाडौका मेरा साथी र बिदेशमा रहेका मित्र, हामी सबैलाई यो रोगले जोडेको छ । हाम्रा चिन्ता एकै छन् ।अब यो लकडाउनपछि निस्कदा प्राकृतिक स्रोत र साधनको उचित प्रयोगको ठूलो अभिभारा म मा छ जस्तो लागेको छ ।
डाक्टर, नर्स, सुरक्षाकर्मी,सन्चारकर्मी जस्तै म पनि जिम्मेवार सिपाही हुँ । घर भित्रै बसेर कोरोनाबाट बच्न मेरो देश, सरकारलाई सहयोग गर्ने ममा पनि जिम्मेवारी छ। र यो महामारी सकिएपछि अहिले लकडाउनमा प्रकृति तङ्ग्रिए जस्तै हाम्रो सोचलाई पनि तङ्ग्र्याउन जरूरी छ !