जन्मेको ४ वर्ष देखि स्कुल पढ्न सुरु गरेकी म कृषि बिषयमा स्नातक सकेर अहिले स्नाकोतर गर्दै छु । एस.एल सी पछि पढाइको सिलसिलामा घर बाहिर बसेँ। घरमा लामो समयसम्म बस्न कि त दशैं तिहार नै कुर्नु पर्थ्यो कि त कलेज बन्द नै हुनु पर्थ्यो। त्यसैले घरमा बस्ने यति लामो अवसर जुरेको यो पहिलो पल्ट नै भन्नुपर्छ। नत्र त म घरका लागि पाहुना सरह नै थिए।
घरमा कृषि पेशा नै मुख्य भएकाले होला म पनि सानै देखि खेतबारीको माटो अनि कृषिको बाटोसँग परिचित नै थिए | आफूलाई रुची लागेको विषयमा स्नातक पढ्न पाउँदा निकै खुसी थिए। तर जुन आशा लिएर पढेकी थिए त्यो अनुरुपको ज्ञान चाहिँ हासिल गरेको जस्तो लागेको थिएन। विषय कृषि भए पनि पढ्ने बेलामा धान यति दिनमा पाक्छ, मकै यति दुरीमा लगाउने, गहुँमा यति दिनको फरकमा सिंचाई गर्नु पर्छ, यस्तो देखिएको किराको नाम यो हो, यसलाई रोकथाम गर्न यस्तो बिधि अपनाउने, तरकारीहरुलाई यस्तो तरिकाले लगाउदा धेरै फल्छ, यस्तो माटोमा यो खेती गर्ने, एक हेक्टर जमिनमा यति मल हाल्ने आदि जस्ता कुरा विश्वबिद्यालयका बोर्डमा र किताबको नोटमा रातभरि रट्टा मारेर भए पनि परीक्षासम्म राम्रै लेखेर पास गरियो। तर यी कुरा खेतबारीमा राम्रोसँग सिक्ने अवसर जुरेकाे थिएन। जब स्नातक पास गरे त्यसपछि जति उत्साह थियो त्यतिनै निरासा पनि थियो। यसको कारण जति सैद्दान्तिक ज्ञान पढियो घोकियो, त्यो कुरा व्यबहारमा सिकाइएको थिएन। त्यसैले घर वरिपरिका किसानले खेती सम्बन्धि सामान्य समस्या सोध्दा टाउको निहुराउनु पर्ने अवस्था धेरै पटक नआएको होइन। मलाई लाग्छ यो अवस्था मैले मात्रै नभएर म जस्तै कृषि पढ्नेहरु सबैले भाेगे हाेला।
तर यसपाली लकडाउनले गर्दा खेतबारीमा पढ्ने अवसर गज्जबले मिलेको छ। व्यवहारमा कृषि विज्ञ मेरी आमासँगै खेतमा पढ्न पाउँदा बन्द विश्व बिद्यालयमा पढेको भन्दा धेरै कुरा सिक्ने अवसर पाएकी छु। जसले गर्दा खेतबारी नै मेरा लागि खुल्ला विश्वबिद्यालय बनेको छ। बिशेषगरि बिहान र बेलुकाको समयम खेतबारीमा जानु मेरो दिनचर्या भएकाे छ। खेतबारीमा यतिबेला काक्रा, फर्सी, बोडी, करेला, भिंडी, सिमि जस्ता तरकारी, अन्न बालीमा मकै,फलफूलमा आँप, मेवा,लिच्ची, अम्बा आदि छन्। यी सम्बन्धि जति कुरा मैले पढेँ ती कुरा व्यवहारिक रुपमा पढ्दा अझै रमाइलो र फलदायी भएको छ। शहरमा बसेर कृषि पढेका तर कृषि गर्न नजान्ने कृषि विज्ञ तथा विद्यार्थीहरुलाई यो लकडाउनले खेतबारीसँग साक्षात्कार गर्ने राम्रो अवसर दिएको छ।
देशमा जताततै लकडाउन छ। यही स्थिति अब लामो समयसम्म कायम रहिरह्यो भने आर्थिक संकटका साथसाथै खाद्यान्न संकट निम्तिन सक्छ। विप्रेषणबाट पालिएको देश अब त्यसको आशा पनि कमै हाेला। यो समयमा सामजिक दुरी कायम गरी कृषि गर्न सकिएन भने भाेलि देश भोकमरीको दल दलमा फस्न पनि सक्छ। तसर्थ यसको एकमात्र विकल्पका रुपमा हामी कृषि प्राबिधिक, कृषि बिज्ञ तथा कृषक सबैले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न कम्मर कसाैँ।
मिना महतारा
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्नातकोतर तह, त्रिभुवन विश्वबिद्यालय