आज लकडाउनको पन्ध्रौं दिन पुगिसकेको छ र सरकारले अझ लकडाउन बढाउने निर्णय गरेको छ।कलेज बिदा भएको एक महिना भइसक्याे ।मेरा केही साथी र छिमेकीहरु पनि गाउँ गइसकेका छन। तर हामी भने यही(पोखरा) शहरमा नै छौ। बुबाआमा पनि लकडाउनको कारणले यही घरमै हुनुहुन्छ। दिनभर आमाबुबा अनि अंकल आन्टीहरु मिलेर घरकै काम गर्छाैं। अनि हामी सानो छँदाको कुराहरु सम्झन्छाैं। सानाे बेलाकाे कुरा गर्दा एकदम मज्जा हुने रहेछ। बेलाबेलामा उहाँहरू रेडियो नत्र मोबाईलमा समाचार सुन्ने अनि हेर्ने गर्नुहुन्छ। सबै जना भेला भएकाले यही पनि रमाइलो भइरहेको छ ।हाँस्ने हसाँउने चलिरहन्छ । परिवारसंगै हुँदा दुखमा पनि खुसी हुन सकिँदोरहेछ जस्ताे लाग्दैछ ।
हुन त सबै जना घरमै बसिरहनु भएको छ । म भने संचारकर्मी भएको कारण लकडाउनको समयमा पनि बाध्यताको कारण आफ्नो काममा जान्छु। म रेडियोमा काम गर्छु। लकडाउनको पहिलो दिन म बाईक लिएर रेडियो जान भनि निस्केको थिए। चोकमा पुग्दा केही प्रहरी र सशस्त्र प्रहरीका दाजुहरू लकडाउन कडाइमा गर्न लगि परिरहनु भएको थियो। एकजना प्रहरी दाजुले मलाई पनि रोक्नुभयो र ‘कहाँ जान लगेको’ भनी सोध्नु भयो।’उहाँलाई रेडियो जान लागेको दाजु’ भनी पास देखाएर म हिंडे।यस्ताे चेकिङमा परिराखिन्छ ।
घरदेखि कार्यालयसम्म पुग्दा पोखरा जस्ताे त्यति धेरै व्यस्त हुने सहरमा अचम्मको सन्नाटा थियाे। कति कति बेला त रोकिएर सुनसान बाटोका तस्बिरहरु खिचेर फेसबुकमा पनि अपलोड गरे।गाउँ पुगेका केही साथीहरुले पनि बेलाबेलामा भिडियोकल मार्फत गाउँको खबर बताउँछन्।धेरै उतै फर्केकाले गाउँमा खुसीयाली छ रे अहिले!
वरपर हेर्दा मलाई एकातर्फ कोरोनाको त्रास त छ।तर संगसंगै लकडाउनले गर्दा परिवार र आफन्तजनमा एकता र खुसियाली पनि छाएको जस्ताे लाग्दैछ। काम गर्दा गर्दै फुर्सदको समयमा “हेर्ने कथा”का कत्ति भागहरू पनि हेर्न भ्याइसके ।
No responses yet