एकाबिहानै हजुरआमाको नियमित खाने औषधि सकिएका कारण औषधि पसल जाने आदेश आयो । सरकारको लकडाउनको पालना गर्नु पर्ने पनि छ । सरकारले सर्वसाधरणका लागि भनेर बिहान ७ बजे देखि ९ बजे सम्म पसल खोल्ने निर्णय गरेको कुरा छिमेकबाट आए पछि करिब ७:४० तिर औषधि किन्न बजार लागे । करिब ४० मिनेटको हिडेर बजार पुगे । बजारमा मास्क लगाएर हातमा एउटा लट्ठी लिएका प्रहरी र दुई चार जना मान्छे बाहेक अरु कोही देखिदैन्थ्यो ।
“कता हिडेको भाइ” एक जना प्रहरीले सोधे ।
“औषधि चाहिएको थियो, त्यही लिन” मैले जवाफ दिए ।
ल ल सावधानी अपनाउनुस् है भन्दै प्रहरी अगाडि बढे ।
“हुन्छ सर” भन्दै म पनि पसल तिर लागेँ ।
औषधी पसलका साहुजी पनि मास्क लगाएरै बसेका थिए । म औषधी किन्दै थिए । छेउकै तरकारी पसलमा एक जना व्यक्ति आए । साहुलाई केही तरकारी जोख्न लगाउँदै थिए । उनले मास्क लगाएका थिएनन् । “किन मास्क नलगाएको ?” प्रहरीको प्रश्न उनी माथि तेर्सियो । “मास्क छ भने घरबाट बाहिर निस्कने नत्र घरमै बस्ने’ भने पछि बल्ल उनले “माक्स गोजामा छ ” भन्दै निकालेर लगाए ।
“मास्क गोजामा राख्नलाई हो” भन्दै प्रहरी रिसाउँदै थिए ।
म औषधि किनेर हाँस्दै फर्किए ।
अलि पर आए पछि फेरि अर्को घटना देखियो । दुई जना मजाले गफ लगाउँदै थिए । दुबै जना मास्क नलगाएर गफ गरिरहेको प्रहरीले देखि हाले ।
“के बिना मास्क लगाएर मुख जोडेको” प्रहरीले के भनेका थिए ।
“के भनिस् रे बोल्ने तमिज छैन” भन्दै जङ्गीए ।
बेला बेलामा उनी आफूलाई पार्टीको ठूलै मान्छे भनेर चिनाएको मैले कयौ पटक देखेको छु । पार्टीको भातृसंगठनको राम्रो पोष्टमा पनि छन् ।
“चिनेको छस् मलाई म को हुँ ? बोल्ने बेलामा अलि मुख सम्हालेर बोल्नु” उनले उल्टै प्रहरीलाई उपदेश दिए ।
प्रहरी केही बोल्न सकेनन् । उनीहरु फेरि गफमै ब्यस्त भए । प्रहरी अगाडि बढे । मेरो मनमा अनेक कुराहरु खेल्न थाल्यो । आखिरमा ती प्रहरीको केही गल्ती त थिएन । यस्तो आपतकालिन अवस्थामा तिनलाई पनि त घर जान मन लाग्छ होला । उनका पनि त परिवार होलान् ! आखिर तिनीहरु हाम्रै लागि त त्यसरी खटिएका छन् नि ! प्रहरीले ती बरिष्ठलाई जे भनेका थिए उनीहरुकै सुरक्षाका लागि त थियो ! फेरि पनि हामी किन त्यस्तो खराब ब्यवहार देखाउँछौ !!
– हेमराज शर्मा, दाङ
No responses yet