सधैँ जसो आज बिहान सबेरै उठी हस्पिटल जान निस्किए तर आज मलाई मेरो वरिपरिको वातावरण निक्कै नौलो अनि रोमाञ्चक लागिरहेको थियो ।
एकातिर विश्व कोरोना अर्थात COVID -19 को माहामारीमा जुझिरहेको थियो भने अर्को तर्फ बढ्दो जनसंख्या, वैज्ञानिक आविष्कार र ठूला-ठूला कलकारखाना बाट निस्केको प्रदूषित हावाले गर्दा कुरूप बनेको वातावरणले कोल्टो फेर्दैथियो । आफ्नो शैशवकाल देखिनै प्रकृतिको एकान्त काखमा रम्दै आएकी मैले पढाइका क्रममा काठमडाैँ भित्रिए पछि यहाँको भागदौड र प्रदुषणका कारण प्रकृतिको अस्तित्व नै बिर्सन पुगेकी थिएँ।
बर्षाै पछि आज पुनः प्रकृतिसँगको प्रेम जागरूक भएको छ। महामारीको त्रासका कारण देशमा गरिएको लकडाउनको बेला हस्पिटल जाने क्रममा सदियौ देखि बिग्रदै आएको प्रकृतिको त्यो सुन्दरता सुदृढ भइ पुनः दुलहीसरि बन्दै गएको देख्दा हृदय नै प्रफुल्लित भयो। सधैँ अलार्मको आवाजले उठ्ने म आज भोलि चराचुरुङ्गीको चिरबिरसँगै उठ्ने गरेकी छु। धुवा-धुलोको कारण धुमिल भएको परिवेश र प्रदुषणकै कारण उजाड बनेको बिरुवा अनि फूलहरु पनि पुनः हराभरा बन्न पुगेका छन्। जसका कारण वातावरण श्रृङ्गारिन पुगेको छ।
अहिलेको यो मनमोहक दृश्य साँच्चै नै अतुलनीय छ । जसरी हराभरा वनमा गाईवस्तु चराउन जँदा गोठालाले आफ्नो सम्पूर्ण पिर व्यथा बिर्सेर थकाइ मार्छन त्यसरी नै प्रकृतिको यो अनुपम दृश्य देख्दा सांसारिक व्यथा बिर्सि मेरो मन मस्तिष्क शान्त बन्न पुगेको छ ।
आफ्नो मनका सम्पूर्ण कुरा अक्षरको ढाँचामा उतार्न नसके नि प्रकृतिको यो शान्त, हराभरा दृश्य आफ्नो मनमा राखेकी छु। के तपाईंले पनि यस्को सुन्दरतालाई आफ्नो हृदयमा समावेश गर्नु भयो त?
No responses yet