आजभोलि मान्छेहरू चुरोटको धुवाँ उडाएर सडकमा धुँलोबाट बच्न मास्क लगाएको देख्न पाइँदैन। बरू कोरोनाबाट बच्न मास्क लगाएको देख्न पाइन्छ। भट्टीमा टन्न रक्सी खाएर लड्बडाउँदै सडकको नालीमा सुतेको पनि देख्न पाइँदैन। न भेटिइन्छन् अँगालो हालेर सडकमा हिँड्ने प्रेमील जोडिहरू। आफ्नो जीवनको गति भन्दा तिव्र गतिमा हुइकँने मोटरहरूले आराम गरेका छन्। सहरमा उज्यालो हुन नपाउँदै मध्यरात सम्म गुड्ने गाडीहरूको चर्को आवाज पनि मेरो कोठासम्म आउँदैन आजभोलि।
वातावरण शान्त भएको अबस्थामा पनि मन बेचैन हुन्छ । सम्झिन्छु सधैँ साथीहरू भेट्ने चियापसल,दैनिक कलेजको आवतजावत।बिहानको अलार्म सबै सबै बन्द छन् आजभोलि।
धन्न मोबाइल छ फेसबुक छ र समय कटेको पत्तो हुँदैन।फेसबुकमा साथीहरूले “लकडाउनले कुलत छुट्ने भयो भन्ने पिर गर्छन्।” मेरो मनले भन्छ उनीहरूको लागि लकडाउन हुनु भनेको राम्रो कुरा हो। लकडाउनले सुध्रिने अवसर दिएको छ।
मैले फेसबुक चलाउन थालेपछि फिल्म हेर्न छोडेको रहेँछु। यो लकडाउनमा केही फिल्महरू पनि हेरेँ। केही पुस्तकहरु पढेँ र केही पढ्दै पनि छु। बिशेषत आजभोलि पुस्तक पढ्नु, फिल्म् हेर्नु,फेसबुक चलाउनु, कहिलेकाहीँ लुडो खेल्नु दिनचर्या भएको छ। साथीहरू भेट्न नपाए पनि समाजिक सञ्जालको सामीप्यताले साथीहरूको न्यास्रो मेटाएको छ। आफ्ना दु:ख सु:ख साथीहरूलाई सुनाउन उनीहरूका दु:ख सु:ख र अहिलेको अवस्था बुझ्न सामाजिक सञ्जालले धेरै मद्दत गरेको छ।
म काठमाण्डौको एउटा सानो कोठामा थुनिएको छु। आफ्नै सुरक्षाको लागि।सल्यान जान सकिएन।यो बेला घर जान पाएको भए लाग्छ बा’आमालाई उहाँहरूको दैनिकीमा राहत पुग्ने थियो।बेलाबेलाफोन गर्छु। बेलाबेला आमा बाबाले फोन गर्नुहुन्छ। म यहाँको अवस्था बताउँछु। उहाँहरूले घरको। हामी दुरीले टाढा भएपनि मनले सँगै भएको आभाष गर्छौं।
केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा नवलपरासी सुनौलका दुर्गा क्षेत्रीसँग जोडिन पुगेँ।उनीसँग कुरा गरेपछि केही दिन मन बेचैन भयो। विगत पाँच बर्ष देखि मेरूदण्ड पक्षघातको सिकार भएका उनी उठ्न र बस्न सक्दैनन्। कोल्टे फेर्ने पनि परिवारको सहारा चाहिन्छ । उनीले भनेँ “लकडाउनको कारणले हस्पिटल नगएको अठार दिन भैसक्यो। हात गोडा चल्न छोडें। एउटा हात चल्छ, तैपनि थर्थर काम्छ।” केही कुरा टाइपिङ् गरेका उनले टाइपिङ्ग गर्न गाह्रो भएकै कारणले फोनमा वार्ता गर्न चाहेँ। उनी भन्छन् “राहतको लागि नाम टिपाउनु भनेका थिएँ टिपाइन। म भन्दा कोही असहायलाई दिनु भनिदिएँ।”साहित्यमा रूची राख्ने दुर्गा रोगकै कारण दिसा पिसाव आएको थाहा पाउँदैनन्। उनी भन्छन् “स्थानीय सरकारलाई मेरो रोगको बारेमा सबै थाहा छ। मलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराइदिए राहत हुन्थ्यो।”
अहिलेको यो प्रविधिको युगमा हामीले दैनिक पढ्न र देख्न सक्छौं।वाइफाइको पैसा सकिए हामीलाई सम्पर्क गर्नुहोस्।च्यानलकाे रिचार्ज सकिए तपाईंको नम्बर टिपाउनुहोस, हामी सेवा दिन तत्पर छौँ। तपाईंको मोबाइल ब्यालेन्स सकिए अनलाइनबाट सेवा लिन सक्नुहुन्छ। कतै सुनिन्छ, घरमा खाद्यान्न सकिए हामी होम डेलिभरी गर्छौ। यी यावत कुराहरू सजिलैसँग घरमा आइपुग्छन् खुसीको कुरा हो। यसरी नै बिरामीले पनि आफ्नो समस्या बताएर औषधी र डाक्टर घरमै पुग्ने व्यवस्था भए दुर्गा क्षेत्री जस्ता सम्पूर्ण प्रतिनिधि पात्रको स्वास्थ्य समस्या केही हल हुने थियो होला यो लकडाउनमा।
मलाई यसरी नै सामाजिक सञ्जालले जोडेको छ।खुसी लाग्छ परिचित मान्छेसँग भलाकुसारी र अपरिचित मान्छेसँग परिचित बन्ने अबसर पनि लकडाउनले दिएको छ। आशा छ छिट्टै हामी पुरानै दैनिकीमा फर्किने छौ। यसरी सोच्दै नसोचेको घरभित्रै थुनिनु पर्ने दिनबाट मुक्त हुनेछौँ।
No responses yet