समयको ब्यालेन्स

चैत १० गते बिहान अफिस गएँ । कोरोना भाइरसको डरले करिब ४/५ दिनदेखि सार्वजनिक यातायात चढ्न छोडेको थिएँ । छोराको क्याम्पस छुट्टी भएकाले म स्कुटीमै अफिस गएँ । अफिसमा उति चहलपहल थिएन । आवश्यक सेवामा नपरेको कार्यालय हुनाले ग्राहकको उपस्थिति थिएन । कर्मचारीहरू आफ्नो कोठामा खुम्चिएर रहेका थिए । न कामको चाप थियो, न काम गर्ने मुड । मैले केही पुराना डकुमेन्ट अध्यावधिक गर्न खोजें । मनमा अनेक कुरा खेलाउनुभन्दा काममा लाग्नु राम्रो भनेर म व्यस्त हुन खोज्दै थिएँ । यत्तिकैमा विदेशबाट नेपाल आइपुगेकी एक किशोरीमा कोरोना संक्रमणको पुष्टि भएको खबर आयो । मन चिसो भयो । नेपालमा पनि कोरोना आउँछ भन्ने थाहा त थियो र त्यो महसुस भइसकेको थिएन । थाहा हुनु र महसुस हुनुमा यही त फरक छ !

अपराह्न मौसम बदली भयो । चैतको महिना भए पनि बदली र झार्रझुर्र पानीले मौसम चिसै थियो । त्यो दिनको बदलीले त मनै अँध्यारो बनायो । मलाई अफिस बस्नै मन लागेन । सिनियर सरलाई जानकारी गराएर म झोला प्याक गर्न थालें । घरमा बस्दा चाहिन्छ भनेर अरू बेला अफिसमा छोड्ने गरेको ल्यापटप र केही पढ्ने सामग्री बोकें र पाँच बज्नु केही बेर अघि नै घर लागें । कोरोना संकटमा घर बाहिर हिड्न मन नलागेकोले पर्सिपल्टबाट बिदा लिउँ जस्तो पनि लागेको थियो । तर भोलिपल्टबाटै लकडाउन सुरू भइहाल्यो । 

लकडाउनको अवधि फेरि थपियाे । मैले सोचें, यो लक डाउनको डायरी लेखेको भए पनि त हुन्थ्यो नि । तर डायरी पनि के लेख्‍नु । सधैं उही त छ । लकडाउनपछि मेरो उठाइ ढिलो भएको छ । बिहान उठ्नका लागि राति एउटा प्रेरणा लिएर सुत्नुपर्छ । त्यही प्रेरणाले त बिहान आँखा मिच्दै उठाउँछ । यो नै सक्रिय मात्र नभई सामान्य जीवनको पहिचान हो । तर कोरोनाको कारण मनमा कुनै तिख्खर प्रेरणा जन्मेको, हुर्केको छैन । उत्साहहीन यो समयमा अहिले रात लामो भएको छ, दिन लामो भएको छ । उही पुरानो २४ घण्टाले अहिले विराट स्वरूप धारण गरेको छ । कोरोनाको कारण अहिले शायद समयको ब्यालेन्स कम तर कारोबार र खर्च बढी भइरहेको छ । समयको फजुल खर्च । बरू पढेर, टेलिभिजन र फिल्म हेरेर समय काट्न सक्ने भएकोले मलाई यो समयको फजुलखर्ची गर्न केही गाह्रो छैन । हिँडडुल र गफगाफ गर्न बानी परेकाकाे लागि त यो बन्दी जीवनभन्दा कम छैन होला । फेरि, त्रसित बन्दी हुनुजस्तो कष्ट अरु के होला ?

बिहानी पत्रिकाबाट सुरू हुन्छ । कोरोनाको डरले पत्रिकालाई पनि एकछिन घाममा सुक्न दिन्छु, अनि मात्र ल्याउँछु । कोरोनाको समाचार पढ्छु । मृत्युको बजारमा त्यसको एकछत्र राज भएको जस्तो देखिन्छ । नेपालको तयारी पढ्छु । कहिले आश लाग्छ, कहिले लाग्दैन । कोरोनाका बिरामीका लागि अस्पतालमा आइ.सी.यु. र आइसोलेसन बार्ड थपिएका छन् । थप भेन्टिलेटरको व्यवस्था भएको छ । चीनबाट स्वास्थ्य उपकरण लिएर हवाइजहाज काठमाडौं आइसकेको छ । यी कामले आशा जगाएका छन् । फेरि अर्कोतिर, बिरामीका लागि कतिपय अस्पतालका ढोका बन्द भएका छन् । डाक्टरले सामान्यतया जोखिमयुक्त बिरामी मान्ने गरेका रूघाखोकीका बिरामीले उपचार पाउन सकस भएको छ । अरु बिरामीले पनि उपचार पाउन नसकेकाे खबर सुनिन्छ । यस कुराको समाधान हुन्जेल कतिले अन्तिम सास फेरिसकेका हुनेछन् । यो निराशाजनक छ । तर म अहिले कसैलाई दोष दिन पनि चाहन्न । 

यो फुर्सदमा किताब पढ्न खोज्छु तर सकेको छैन । अहिले मलाई जुन ज्ञान चाहिएको छ त्यो कुनै लेखक चिन्तक र दार्शनिकको कृतिमा छैन । कमसेकम मसँग भएको किताबमा त छैन । अनि किन पढिरहनु त्यो ? कहिले किताब बदलेर पनि हेर्छु । १/२ पेज पढ्यो, कि दिक्क लाग्छ, कि निद्रा । दुवै लागेन भने पनि मलाई त्यो काम नै निरर्थक लाग्छ । कोरोनाको छायाँमा सबै अक्षर र शब्दहरू शक्तिहीन महसुस हुन्छ । भयले सुकेको जिब्रोमा के स्वाद रहोस् ?

किताब फ्याँकेको हातले टेलिभिजनको रिमोट पक्डन्छ । नेपाल र भारतका विभिन्न च्यानल हेर्छु । आफूलाई पछ्याउँदै आएको मोटरलाई ड्राइभरले लुकिङ ग्लासबाट हेरे झै म टेलिभिजनको काँचमा कोरोनाको गति हेर्छु । मृत्युले छोडेको अश्वमेघ यज्ञको त्यस घोडालाई अहिलेसम्म कुनै वैज्ञानिकले पक्डन सकेका छैनन् । कतिले मृत्युवरण गरिसके, कति मृत्युशैयामा छन्, कति त्राहित्राही भएर घरभित्र लुकिरहेका छन्, कति कोलाहल गरेर आफ्नो थातथलो फर्कैदै छन्, कैयौ मानिस लकडाउनबाट सिर्जित आर्थिक/सामाजिक परिस्थितिका कारण बेसहारा बनी सडकमा आइपुगेका छन् । त्यस महासमरमा विजय भएर जीवनलाभ गर्नेहरू पनि प्रशस्त छन् तर तिनको सफलताले मेरो नसामा उत्साह सञ्चार गर्न सकेका छैनन् । म फेरि आजित भएर च्यानल फेर्छु । न सत्यको भुइँ, न आदर्शको आकाश, कतैतिर पनि गति र दृष्टि नभएका सिरियल मलाई मन पर्दैनन् । पाकिस्तानी सिरियलले मेरो मनमा बनाएको ठाउँ आज पनि तिनकै लागि सुरक्षित छ । तर ती सिरियल कहाँ छन् मलाई थाहा छैन । बरू मलाई फिल्ममा रुचि छ । एकपछि अर्को गरेर ‘बाला’, ‘ड्रिम गर्ल’, ‘आन्धाधुन’, ‘हिन्दी मिडियम’ र ‘रजनीगन्धा’ नामका पाँच फिल्म हेरें । महाभारत पनि श्रृंखला-४ सम्म पुगेको छ । कोरोनाका त्रासका कारण यी मनोरञ्जनका साधनको पनि स्वतन्त्र अस्तित्व सकिएको छ ।यी बस् कोरानाजनित मानसिक पीडा घटाउने अफिम जस्ता घटिया उपाय मात्र भएका छन् ।

नशा हो र केही अर्थमा विषको नशा हो भन्ने थाहा हुँदाहुदै पनि सामाजिक सञ्जालको दुर्व्यसन यो लकडाउनमा बढेको छ । चाहिने/नचाहिने सूचना यही छन्, आफन्तसँग सस्तो (यस्तो वेला पनि सस्तो चाहिएको छ!) र सजिलो सम्पर्क यहींबाट हुन्छ अनि आफ्नो भडास यहीं निर्वाध पोख्‍न पाइन्छ । हरेक पल हातमा मोबाइल हुन्छ र हरेक दश मिनटमा त्यो हेर्न मनलाग्छ । यो रोक्न पनि सकिन्थ्यो होला । यो वेला न अरूसँग कठोर हुन मन लागेको छ, न आफैंसँग । अहिले पौडने हिम्मत घट्दै गएपछि तैरिने रणनीति बनएको छु । खोलाको धारले जहाँ पुर्‍याउँछ, त्यही गन्तव्य । तैरिन पनि नसके त कुरै अर्को भयो । यही दुर्व्यसन अहिले साँचो दैनिकी भएको छ । सामाजिक सञ्जालमा उपलब्ध केही सामग्रीले त रुन्चे हाँसो नै सही, हँसाएका छन् । साँझ म, पत्नी र दुई छोरा मिलेर एकछिन तास खेल्छौं । मैले दिनभरि गरेका काममा अहिलेका लागि अलि गतिलो काम यही हो । र, यो दैनिकीमा हामी निकै अभ्यस्त हुनुपर्ने देखिन्छ । मनले अनेक सोच्छ । यो उसको कमजोरी होइन, विशेषता हो । लकडाउनबाट सिर्जित फुर्सदिलो दैनिकीमा मन बाहेक अरू अवयवको खासै काम पनि छैन ।

मनमा भएको त्रासले समय समयमा तातो पानी खान उठाउँछ, साबुनपानीले हात धुन पठाउँछ । घरमा बसेर रोगबाट बच्न प्रेरणा दिन्छ । फेरि सम्झन्छु मर्कल, चार्ल्स र बोरिस जोनसन ! यिनले हात धोएनन् होला कि, भीडबाट बचेनन् होला कि ? तातो पानी खाएर, हात धोएर अनि घरमै बसेर रोगबाट बचिने होला त ? मन निराश हुनपुग्छ । तर पनि हिम्मतसाथ अघि बढ्नुको विकल्प छैन । जानेका र अह्राएका सबै उपायको अवलम्बन गर्नुमै हाम्रो कल्याण छ । आगे उपरवालाको मर्जी !!!

फुर्सदमा फेरि भेटौंला !!!
२०७६ साल चैत १७ गते ।

केदारप्रसाद आचार्य

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply