जुन प्रतिष्ठा सेताे काेट लगाउनेले पाइरहेका हुन्छन् त्याे प्रतिष्ठा सबैले पाउन सक्दैनन्। किनकि सेताे काेट भित्र लुकेको उत्तरदायित्व अरुले निभाउन पनि त सक्दैनन् । त्यसैले म पनि सेताे काेट भित्र लुकेको उत्तरदायित्व निभाउन र सेताे काेटलाई दिने प्रतिष्ठा पाउनका लागि आतुर थिएँ । सायद म सानैमा धेरै पटक बिरामी भएर पनि हाेला, मलाई याे सेताेकाेट प्रति यति धेरै आकर्षण बढेको। याे सेताे काेट पहिरन र समाजसेवामा हाेमिनकै लागि म एस.ई.ई सकिएपछि नर्सिङ पढ्न सुरु गरेँ ।
पढ्न थालेकाे थाहै नपाइकन कति छिटो एक वर्ष बितेछ । second year काे first terminal exam सकिएपछि हामी अस्पतालमा practical काे लागि गयाैँ । practical मा दैनिक रुपमा नयाँ कुराहरु सिक्ने क्रम जारी नै थियाे । त्यतिकैमा चीनकाे वुहान सहरमा covid 19 नामक सङ्क्रामक राेग देखियाे भन्ने सुनियो । त्याे सुनेकाे करिब २ महिना नबित्दै नेपालमा पनि काेराेना सङ्क्रमित देखिन थाले। त्यसले गर्दा हाम्रो practical स्थगित भयाे र हामी सबैजना लकडाउन अघि नै मातृभूमि फर्कियाैं। लाग्छ कुनै युद्ध नै जितेर आएजस्ताे ।
अहिले त लकडाउन भएको पनि तीन महिना हुन लागिसक्याे। मैले आजकाल लकडाउनकाे समय र म स्वयंलाई एउटा पिँजडामा कैद गरिएको सुगासँग तुलना गरेकी छुँ। जसरी एउटा सुगालाई उसकाे स्वतन्त्रतामाथि खेलवाड गरेर एउटा पिँजडामा कैद गरिन्छ, त्यसरी नै आज लकडाउनले मलाई घरभित्रै बस्न बाध्य बनाएको छ। तर मैले लकडाउनलाई बाध्यताकाे रुपमा नलिइ यसलाई एउटा अवसरकाे रुपमा लिएर पहिले पूरा गर्न नसकेका अधुरा कामहरू कलेजकाे project work, hospital काे case study काे report हरु बनाउने र अन्य थुप्रै कामहरु लकडाउनमा गरेकी छुँ । ती सबै कामहरू पनि छिट्टै सकियो तर लकडाउन सकिएन ।
काेराेना सङ्क्रमित थपिएसँगै लकडाउन पनि थपिदै छ । त्यसैले मैले यी दिनहरुमा कहिले आमालाई घरकाे काममा सघाउने त कहिले बगैचामा फूल गाेडमेल गरेर सजाउने गर्छु। करेसाबारीमा तरकारी लगाउने देखि बारीतिरकाे काममा पनि आमालाई सहयोग गर्न थालेकाे छु ।
लकडाउन धेरै थपिदै जाने देखिएपछि हाम्रो कलेजले पनि अनलाइन कक्षा सुरु गर्याे। त्यसपछि त म सधैं अनलाइन कक्षासँगै अन्य कामहरूमा व्यस्त रहन थालेकी छुँ । सुरुमा त अनलाइन कक्षा कस्तो हुन्छ हाेला ? भनेर जिज्ञासा पनि लाग्यो । जिज्ञासाहरु पनि इन्टरनेटबाट अनलाइन कक्षा सुरु गरेपछि मेटियाे । दुई तीन दिन त अनलाइन कक्षा पनि राम्रैसँग चलिरहेको थियाे। तर बिडम्बना त्यसपछिका दिनहरूमा कहिले माैसमले साथ नदिने, कहिले इन्टरनेटले त कहिले बत्तीले साथ नदिने समस्याहरु पनि देखिन थालेका छन् । त्यसैले अनलाइन कक्षामा पढाउनुभएका कुराहरु साथीहरूसँग साेधेरै आफैले बुझ्दै पढ्ने काेसिस गर्ने गरेकी छुँ । त्यसले गर्दा आजकाल मेराे स्वअध्ययन गर्ने बानीकाे विकास भएकाे छ।
कहिलेकाहीँ फुर्सदकाे समयमा ‘हेर्ने कथा’ मा रहेका थुप्रै लकडाउन डायरीहरु पनि पढ्ने गरेकी छुँ । ती डायरीहरु पढ्नाले र अन्य साहित्यिक पुस्तकहरु पढ्नाले पनि मलाई साहित्य लेखनमा रुचि बढेकाे छ । त्यसैले मैले दिनमा एउटा केही न केही भएपनि साहित्यिक रचना लेख्ने गरेकी छुँ । आजकाल त मलाई अरुले लेखेकाे डायरी पढ्नुमा भन्दा आफैले डायरी र लेखहरु लेख्नुकाे मज्जाकाे अनुभव गर्न थालेकी छु।
बर्षाैदेखि मेरैलागि भनेर दःख गर्नुहुने मेराे आमाबुबासँग पनि समय बिताउने र उहाँहरुकाे काममा सहयोग गर्ने समय मिलेकाे छ आज । त्यसबाट म आफूले नजानेका कामहरू पनि सिक्ने माैका पाइरहेकी छुँ । आजकाल त म धेरै कामहरु पनि गर्न सक्ने भएकी छुँ । साथसाथै मैले आफूलाई स्वस्थ राख्न दैनिक रुपमा व्यायाम, याेगा, मेडिटेसनहरु पनि गर्ने गरेकी छुँ । त्यसले गर्दा मेराे राेगसँग लड्न सक्ने क्षमता पनि वृद्धि भएको अनुभव गरेकी छुँ ।
दैनिक कलेज जाने, घर आउने अनि एकछिन पढ्ने अनि फेरि पनि भाेलिपल्ट त्यस्तै दैनिकीसँगै बितेको थियाे मेराे लकडाउन अघिका दिनहरू र म भन्ने गर्थें ‘मलाई साहित्यिक रचना गर्ने त मन छ तर मसँग समय नै छैन।’ तर अहिले त मसँग समय नै समय छ त्यसैले अहिले नै लेख्न सुरु गरिहाल्नुपर्छ भन्नेमा पुगेकी छुँ । स्कुलमा १० कक्षामा पढ्दा म्यामले भन्ने गर्नुहुन्थ्यो “यत्तिकै केही पनि आउँदैन। आउनकाे लागि त कलमलाई कापीमा चाेप्नुपर्छ अनि मात्रै आउँछ ” आज मलाई म्यामकाे याे कुरा पनि सत्य लागेकाे छ ।
आज म लकडाउनमा छु तर पनि दुखी छैन। अझ म त म भित्र भएका प्रतिभाहरुलाई चिन्न पाएकाेमा एकदमै खुसी छुँ । त्यसको लागि लकडाउन पनि मेरो एउटा धन्यवादकाे शब्द बनेको छ । म घरभित्रै बसेर भएपनि हरतरह नै The lady with lamp भनेर चिनिने फ्लाेरेन्स नाइटिङ्गेल बन्ने प्रयत्न गरिरहेकि छुँ र भविष्यमा पनि गरिरहने नै छुँ । अनि जति पनि याे लकडाउनमा आफ्नै ज्यानको बाजी राखेर खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, र सञ्चारकर्मी महानुभावहरुमा मेराे सम्मान छ र उहाँहरुलाई हामीले पनि याे लकडाउन अत्यावश्यक काम बाहेक अन्य समय भित्रै बसेर सहयाेग गरौं है त ।
कामना श्रेष्ठ
No responses yet