लेख्न त म डायरी लेखिरहने मान्छे हुँ । तर प्रकाशित नै गर्ने गरि डायरी कसरी लेख्ने होला ? म एकछिन घोत्लिएँ । फेरी सोचेँ “आ ! जे होला । पहिला लेख्नु त पर्यो नी!” पहिला लेखिसकौँला अनि पठाउने की नपठाउने भनेर टुङ्गो गरुँला भनेर लेख्न थालेँ ।
मिती २०७६ /१२ /२३ गते,
डियर डायरी,
आज ३५ दिनपछि पुनः म डायरी समातेर बसेको छु । डायरीलाई आफ्नो सुख दुःखका कुराहरु पोख्न थालेको पनि एक दशक बितिसकेछ । मेरो सबैभन्दा पुरानो डायरीको पहिलो पानामा मैले २०६५, २, १२ गतेको मिती लेखेको रहेछु । त्यसयता आजसम्म, कहिले सुखमा त कहिले दुःखमा र कहिले खुसीमा डायरी लेख्ने कामले निरन्तरता पाइरहेको छ । जस्तो कि, शहरबाट कसैले कोसेली पठाइदिएको कुरा, पाहुनाका कुरा, कँही कतैबाट नयाँ खबरका कुरा अनि गाउँकै मेलापर्वका रमाइलाहरुले मेरो डायरीका पानाहरु ओगट्थे ।
शहर पसेपछि भने मैले डायरीमा लेख्ने कुराहरु फेरीएका छन् । मेरा डायरीहरु अचेल गाउँको सम्झनै सम्झनाहरु अनि शहरले लाद्ने कहरहरुले भरिन्छन् ।
साँच्चै गाउँघर कम्ता रमाइलो थियो त ! त्यो बालपन, त्यो स्वतन्त्रता, आमाबाबुको ममता, त्यो अपनत्व । सम्झँदा पनि मन आनन्दले भरिने । हामी केटाकेटी हुँदा आफ्नै बारीको काँक्रोका चिचिलाहरु आमाबाट लुकेर टिपि काँक्रोको टुप्पो र फेद थोरै थोरै ताछेर “तीते तीते जा, मीठे मीठे आइजा’ भन्दै एकछिन दलेर फालेपछि खान्थ्यौँ । आमाले थाहा पाउनु भएपछि “ठूलो भएर खाएको भए सबैलाई पुग्थ्यो नी” भनेर हामीलाई सम्झाउनु हुन्थ्यो। स्कूल जाँदा फ्रकको गोजीभरी चामल, चिनी र सिलाम पनि आमाकै आँखा छलेर लान्थ्यौँ । आमाले देख्नुभए “पेटमा चुर्ना पार्छ“ भनेर लान दिनु हुन्नथ्यो । दौँतरीहरू भेटेर खेल्न थालेपछि घर नै बिर्सने । त्यो कचकचे चकचके उमेरका उपद्रोहरु कतिकति । शोक न सुर्ता, भोक न भकारी !
अलि हुर्कदै जाँदा, असार साउनमा झरी बादलसँगै गरेको रोपाईँ । मंसिर पुसमा जुनेली रातमा गरिने दाँई र धानको भारीहरु । हिउँदमा खुला खेतबारी, वनजंगलमा गरिने गोठालो अनि चैत बैशाखमा रुखका पातहरु उडाउँदै चल्ने हावा अनि त्यसबाट निस्कने त्यो एक प्रकारको मधुर संगीत । आहा ! कति रमाइलो गाउँघर । त्यतिबेला भोग्दा बाध्यता लाग्ने कामहरु अहिले रहर भैसकेछन्। धान नरोपेको, भारी नबोकेको, गोठालो नगएको बर्षौँ भईसकेछ ।
मान्छेको मन अजिबको हुने ! जे छैन त्यसैको झल्को आइरहने । सधैँ घरमा बसेरै सजिलै दिन बिताउने म । अचेल भने के के न बित्ला जस्तो, कहाँ त पुग्नुपर्ने जस्तो, के के न भ्याउनु पर्नेथ्यो जस्तो मनमा हतारो मात्रै भइरहने । घरमा भएका बाहेक अन्य खानेकुराहरुको मात्र याद आइरहने । अरुबेला त्यति याद नहुने आफन्तहरुलाई समेत भेट्न जान पाए त जस्तो लाग्ने ! खुल्ला आकाश र पहाड देख्दा कतै घुम्न निस्कि हालौँ कि जस्तो लाग्ने। तर जे जस्तो लागेपनि अन्त्यमा मनलाई पनि ज्यान नै प्यारो हुन्छ क्यार ! त्यसैले घर बाहिर भने ज्यान निस्कन सकेको छैन ।
दिन बिताउने बहानामा युट्युव र अनालाईनका समाचारहरु पनि कत्ति हेर्नु? खाली त्यही कोरोना भाइरसलाई लिएर विभिन्न ट्रोल बनाएको, आलु खाइ पेडाको धाक भनेझैँ राहत वितरण भन्दा धेरै प्रचार गरेको, कुन्नि क कसले हो भ्रष्टाचार र कालो बजारी गरेको, झुटो समाचार र शीर्षक बेचेर पैसा र पपुलारिटी कमाउने दाउ छोपेको मात्रै हेर्नु पढ्नुपर्ने । अनि कतै बिक्रि गर्न नपाएको भन्दै विरोधस्वरुप दूध नष्ट गरेको, कतै भने खान नपाइ भोक भोकै रोएको समचार पनि पढ्नु नै छ ।
अहिलेसम्म विश्वमा के के कारणले आर्थिक मन्दी आयो र कसरी विश्वको अर्थतन्त्र ध्वस्त भयो ? भनेर पढ्दै मात्र आएको हामीले अब प्रत्यक्ष देख्ने र भोग्ने दुर्दशाको नजिक उभिएका छौँ हामी । चीन, इटाली, स्पेन र अमेरिकाजस्ता विकसित र सम्पन्न देशहरुमासमेत कोरोना भाइरस नियन्त्रण गर्न कठिन भईरहेको देख्दा पनि हामीमध्ये कतिजना सावधानीसमेत नअपनाई बसीरहेकाछौँ । यसको मूल्य हजारौँले ज्यान गुमाएर तिर्न नपरोस भन्ने प्रर्थना छ र त्यस्ता दर्दनाक अवस्था मेरो देशले पनि भोग्नुपरेको थियो भनेर कुनै डायरीमा लेख्न नपरोस भन्ने कामना छ। सके र जाने जति सावधानी अपनाउँदा अपनाउँदै पनि डायरी लेख्न आफू नै बाँचिएन भने त, कुरै खतम !
आजभोली दैनिकी अलि फेरिएको छ। सुत्ने उठ्ने, खाने बस्नेको समय बदलिएको छ। दालभात, तरकारी र भए अचार पनि खानु पर्ने मुखमा अचेल कहिलेकाहीँ अचारसँग मात्र पनि भात रुचेको छ। यतिबेला कोर्सका किताबहरु पढ्ने जाँगर त्यति चलेको छैन मलाई चाहिँ। तर पनि कहिले (दया र म) संगै युट्युव हेर्छौ, कहिले आ–आफ्नो मोबाईलमा आफ्नै रोजाइको फिल्म हेर्छौं । दुई जनाको खाना दुवैले मिलेर पकायो खायो, सरसफाई गर्यो, गमला स्याहार्यो, कहिले गमलाका फूलहरु हेर्याे । अनि कहिले ऐनामा आफैलाई हेर्यो, कहिले चाहिँ फेसबुक, टिकटक र ईन्स्टाग्राममा अरुलाई हेर्यो ।
गाऊँमा रहनुहुने आमाबुबा र आफन्तहरुसँग घण्टौँघण्टा फोनमा कुराकानी गर्यो । कोरोना भाइरसका बारेमा र सावधानीका बारेमा जाने जति कुरा सेयर गर्यो । उहाँहरुले कामको हतार सुनाउनु हुँदा र “यहाँ त बिरामी हुने पनि फुर्सद छैन” भन्नु हुँदा आफू पनि त्यहाँ हुन पाए…….भन्ने सोच्यो । युट्युवमा आउने विभिन्न किताबको अडियो सुन्यो, यस्तैमा बित्दैछ दिनहरु । जस्तो कि, अहिले हामी मदनकृष्ण श्रेष्ठको “महको म” सुन्दैछौँ ।
बस यसैगरी चलिरहेको छ आजसम्म ।