‘लौ है गनि सर, म हिडेँ।’ अर्जुन दाइले बोलाएपछि झसङ्ग भए। यसो आँखा खोले बिहान ८ बजिसकेछ। ‘पुलिसले नसमात्ने कागत बोक्नु भको छ नि?’
‘अँ छु।’ अर्जुन दाइले हातको मास्क लगाउँदै बोल्नु भो। मैले ढोका लगाए। कोल्टो फेरेर निदाउने प्रयास गरेँ । तर सकिँन। २४ घन्टामा १५ घन्टा सुतेसी लागोस् पनि कसरी?
ग्रीसको राजधानी एन्थिनाको एक्सारकिया पार्कको अल्लि माथि तिनतले घरको पहिलो फ्लोरको दायाँतिर सानु कोठाको झ्यालबाट बाहिर टाउको निकाल्दै सुप्प सुप्प दाइले दिनुभएको कफि पिउँदै छु।
अनि मोबाइल निकालेर सरसर्ती समाचार हेरे। नेपालमा फेरि आज नयाँ देखियो रे! पेप्सिकोलामा मनमा डर लाग्यो ।परिवारलाई सम्झेँ। काठमाडौमा बाबालाई कल गरेँ । २ चोटि गर्दा पनि उठाउनु भएन। अनि ममीको नम्बरमा गाउँमा गरे। निक्कै लामो घन्टी पछि बल्ल उठाउनु भयो।
‘को बोल्नु भको?’
‘म तपाईको साथी’ ममीलाई जिस्काए
‘ए तँ पो हो?’ ममीले स्वर चिन्नु भो। त्यो भन्दा बढी जिस्काउनै पाइन। म कहिले काँही यसै मजाक गर्छु ममीसंग। मेरो ममीलाई नम्बर पढनु आउँदैन। नाम पनि अल्लि अस्ति परार पाली काठमाडौ ६/७ महिना बस्नु हुँदा बैनिले सिकाइछे र २ मिनेट लगाएर लेख्नु हुन्छ नानिमाया गुरुङ। तर मनको साह्रै सफा । मिठो मसिनो पकाउदा गाउँको सबैले खान पाउँछन्।
‘त्यहाँ घरबाट बाहिर ननिस्की है जेठा तँ त फत्तर फत्तर हिन्छ्स्।’ ममीले यसो भन्दा भन्दै स्वर मलिनाे बनाउनु भयो। मैले सम्झिसकेको थिए अब यो भन्दा बढी बोले ममी रुनु हुन्छ ।
त्यति नै बेला बाबाको फोन आयो । भाइ बैनी सबै संगै बसेर भिडियो कल गर्नु भको रैछ ‘तलाई कस्तो छ?’
‘अँ , ठिक्कै छ मलाई । अनि तपाईलाई?’
‘खै फेरि आज नि पेप्सिकोलामा नयाँ भेटियो रे ! घर नै सिल गर्यो भन्छन् । पहिलानै गाउँ जानु पर्ने रैछ। तँलाई झन् यता भन्दा बढी समस्या होला। के खाइराछ पैसा छ कि छैन?’
यसो भन्दै गर्दा बाउलाई पिलिक्क हेरे । सेतो फुलेको दाह्री मलिन अनि निराश अनुहार। सायद पहिलो चोटि देखे बाउलाई यस्तो अनुहारमा। लाहुरे हुँदा दुस्मनसंग कहिले नझुक्ने बाउ आज रोगसंग झुक्नु भो सायद। अब मेरो बाउ बुढा हुनु भो जस्तो लाग्यो। ५/६ मिनेटको कुराकानी पछि फोन राखे ।
उफ् कहिले हट्छ होला यो रोग, अनि यो लकडाउन! हातको मोबाइलबाट खेम थापालाई कल गरे । मैले ‘हलो’ भन्नै नपाइ बोल्नु भो ‘आज फाइन हान्दिगोनी, ५०० युरो । कामले निस्केको भने पनि मानेन। पेपर देखा भन्छ बाहिर । कतै ननिस्किनु है बिना पेपर यार! झन् झन् फैलिदै गाको छ रोग। यतै मरियो भने त लास पनि नेपाल पुग्दैन होला है गनि सर?’ म झल्याँस भए । हुन त मलाई मर्न देखि त डर चिन्ता लाग्दैन। तर पनि यो परदेशको ठाउँमा परिवारको मुखै नदेखी मरिन्छ कि भन्नी चिन्ताले बढी सताउने रैछ।
‘अनि गनि सर, यो मान्छे मार्ने बन्दुक बनाउनु भन्दा नि मान्छे बचाउने औषधि बनाउनु ठूलो कुरा रैछ है?’ खेम थापाको यो दरिलो प्रश्नको उत्तर म आफैसंग मात्रै हैन डाक्टरसंग पनि थिएन। फेरि कुना पट्टि फर्केर सुत्न कोसिस गरे। मरिजाला निँद लागेन । अनि नेताहरुले अनुभवमा किन १४ /१५ बर्ष जेल बसेको लेखेको होला भनेको आज बल्ल बुझे । साँच्चै कहिले सकेला यो रोग अनि लकडाउन कति झिंझ्याट लाग्दो बिरक्त लाग्दो पिर लाग्दो दिनहरु फ्फ्फ्फ्फ्फ !
सुस्तरी चलेको हावाले २/४ वटा झर्नु बाँकी कपाललाई आकास पट्टी ठाडो बनाइदियो अनि बिस्तारै बोले झै लाग्यो ‘कपाल त झरेछ नि केटा?’ मोबाइलमा बजिरहेको छ प्रकाश सपुतको “गल्बन्दी च्यातियो तिम्ले तानेर।” केही क्षणको लागि मन खुसी बनायो यो मौसमले अनि दिमाग चिसो। गीत बजेसंगै कम्मर पनि मर्काए। त्यो पल आफूलाई खुबै हिरो सम्झिए। फेरि यो वास्तविकतालाई विगतको गाउँतिर लगेर दाँजिदिए। मनमा के नपुगे नपुगे झै भयो। हिरो त त्यति बेला पो थिए त! जब स्कुल जाने बेला ममीले ५ को नोट खल्तीमा हाल्दै ‘कसैको नजर नलागोस् मेरो पुड्के छोरालाई’ भन्दै तोरीको तेल लगाएर अगाडिको कपाल गैरिखेतमा काटेर राखेको धान जस्तै सिलिक्क बनाएर चिउठो छुटाउँदै पैतालाको टीका लगाइ दिँदा। महाकसम!बाच्छाको पाडो उफ्रिए झै बुर्लुक्क उफ्रिदै एक हातले प्लास्टिकको झोला च्याप्दै दौडिँदा। ‘सलमान खान पनि मेरो सुन्दरता देखेर पछि हट्छ जस्तो लाग्थ्यो, बिल गेट्स पनि मेरो छेउमा केही हैन जस्तो लाग्थ्यो । त्यो मिस्टर नेपाल मोडलहरु केही हैन झै भान हुन्थ्यो।‘
तर आज ममी भन्दा एकदम टाढा छु। एकदम टाढा। गोजीमा १३० युरो छ। नेपाली १४ हजार भन्दा बढी। तर पनि त्यो ममीले दिनु भएको ५ रुपैयाँको दाँजोमा केही हैन।
सबै सुविधा छ यो ठाउँमा। चिसो, तातो, अल्लि जाडो भयो कि हिटर। तर पनि घरमा दाउरामा आगो बालेको जस्तो मज्जा नै आउँदैन। यो गगनचुम्बी महल अनि रँगिन दुनियाँ भन्दा मेरै बाँदर लड्ने भिरपाखा नै कत्ति राम्राे!
…सायद दिलमा राष्ट्रियता बढेर हो। या आफ्नाे ठाँउको माया लागेर हो। साँच्चिकै अब जिन्दगीमा केही गर्नु छ। बाजेले ढुङ्गाको छानो हालेर बनाएको माटोको घरमा पपकर्नको सट्टा भुटेको मकै टोक्दै पूरा जिन्दगी बिताउनु छ ।
सहरमा जस्तो १ लाखौंको स्कुटरमा हुइँकिनी रहर अब मरिसक्यो। अब गाउँकै त्यही दूध बोक्ने ट्रकको पछाडि पल्लो गाउँको काकासगै टाँस्सिएर गाउँको विकास गर्नु छ। काले सार्कि दाईलाई पिउनको जागिर लगाईदिनु छ।
भताभुङ्ग भएको अदमाराको स्कुल बनाएर सबै केटाकेटीलाई सिकाउनु छ।
… बाबुहरु तिमीहरु कतारमा भाडो माझ्ने कान्छा बनेर हैन?
दुबैको होटेलमा ढोका कुर्ने बहादुर बनेर हैन ?
आफ्नै देशमा केही गर्नु छ।।।