मलाई लेख्ने मान्छेहरु औधी मन पर्छन् । मैले पनि लेख्न सकुँ भन्ने सधैं लाग्छ । तर मेरा लेखाइहरु मेरो दिमागमै मात्र घर बनाउँछन् र बाहिर निस्किन मान्दैनन् ! यस्तो हुनुमा दुइटा कारण छन् । मुख्य कारण, म अल्छी छु । अर्को चाहिँ मैले थुपारेका डायरीका चाङहरुमा राम्रै कुरा मात्र भर्ने चाहना !
यही दुई कारणले मेरा डायरीहरु धेरै एक्लिन्छन् । उनीहरु रिसाएर आक्रमण गरे भने मलाई थिच्न सक्ने गरि मनमा कुरा थुप्रिएका छन् । तर डायरीहरु रिसाउँदैनन ! दुख, सुख,आक्रोश,प्रेम जे प्रकट गर्नुस् या नगर्नुस् चुपचाप सुनिरहन्छन् । प्रश्न उठाउँदैनन् । बरू सम्झना राखिरहन्छन्। त्यसैले त डायरीलाई साथी भनिएको होला ?
आज लकडाउनको एघारौं दिनमा म मेरो ‘साथी’लाई मेरो कोठाको चार पर्खाल बाहिर लैजादै छु। मलाई मान्छेहरु र लेखहरुभन्दा पनि अति प्रिय लाग्ने प्रकृतिसंग भेट गराउन । प्रकृतिसंगको मेरो पहिलो भेट होइन । तर field note मा लेखिएका केही प्रजातिका नाम र केरमेट बाहेक मेरो डायरीको लागि भने यो पहिलो भेट हो ।
आज म उठ्दा पर क्षितिजमा आकाश रङ्ग फेर्दै थियो । गुलाफी,रातो अनि सुनौलो भएर । बिस्तारै घाम उदायो अनि देखिन थाले उत्तर तिर अन्नपूर्ण हिम श्रृङ्खलाहरु । सुन्दर सेता हिमाल हेर्दै गर्दा घर पछाडिको नाङ्गो सिमल को बोटमा एक हुल बस्तुबकुल्लाहरु आएर बस्न थाले । सिमल पनि अब ढकमक्क भयो । अलि पर नुघेका बाँसहरुमा सुसेलिन थाले जुरेली र चिबेहरु ! गाडीहरुको आवाज गुन्जिने यो शहरमा अहिले चराहरुको चिर्बिर स्पष्ट सुनिन थालेको छ दिनमा पनि ।
घाम अब डाँडाबाट आकाशमाथि पुगिसकेको छ । न्यानो लाग्दैछ चैते घाम पनि ! अब बारी मा फुर्फुर गर्दैछन् रंगीचंगी पुतलीहरु । नजिक गए केही तस्वीर लिने आशामा । अनि देख्न पाँए परबाट आँखाले नभ्याएको सुन्दर धनिया र सोंपका फुल बुट्टाहरू । तिनै फुलहरुमा चर्दै गरेका माहुरी र कमिलाहरु । त्यस्तै निस्फिक्रि उडानमा छन् घामकिरीहरु ।
साँझ पर्यो , अब पश्चिमतिरको आकाशको रङ्ग फेर्ने पालो । बिस्तारै जून, तारा देखिन थाले । अहिले त शहर छिट्टै अस्ताउने भएकाले होला यी ताराहरु पनि आइपुगे झै लाग्दछ ।सानो हुँदादेखि नै हेर्ने गरेका यी जूनतारा light pollution ले नहराउन् !
शब्दमा आज यति मात्र उतारेपनि lockdown सुरु भएदेखि र फुर्सद भएसम्म अरुबेलाका मेरा दैनिकी यस्तै यस्तै हुन्छन् । तपाईंहरु पनि फोनको स्क्रिनबाट बाहिर निस्केर यसो नियाल्नुहोस न है ! तपाइको वरिपरि, unedited , विना filter का सुन्दर raw दृश्यहरुले तपाईंहरुलाई पर्खिरहेका छ्न् ।
No responses yet