नमस्ते, म दुर्गा वाम्बुले राई । हाल दोहा कतारबाट । म यहाँ सेक्युरिटी गार्डको काम गर्छु ।
म अहिले काम गर्ने ठाँउभित्रै बसिरहेको छु । यहाँ म अरु नेपाली, बङ्गलादेशी ,भारतीय,पाकिस्तानी र युगान्डाका साथीहरुसँगै बसेकाे छु । हामी यसरी कार्यालयमै बसेको आज १६ दिन भयो । आजबाट फेरि १४ दिन लकडाउनको समय बढाइएको छ भन्छन् ।
पहिलो पल्ट लकडाउन हुने दिनमा हामी करिब ६ बजेतिर काम गर्ने ठाँउमा पुगेका थियाै ।त्यहाँ जताततै प्रहरीकै गाडीहरू देखिएका थिए । होइन के भएछ भनेर एकछिन त अचम्ममा परे । तर कुरा बुझ्दै जाँदा त कोभिड १९ को कारण बन्द गरिएको रैछ ।
त्यसपछि हामीले प्रहरीलाई सोध्याै – ‘हाम्रा साथीहरुले रातभरि काम गरेका छन् । हामी उनीहरुलाई पालो दिन आएका हाै हजुर । भित्र जान मिल्छ?’
‘जान मिल्दैन’ प्रहरीले भन्नु भयो ।
हामी क्याम्प फर्कियाैं । केही समयपछि क्याम्पबोस आउनु भयो र फेरि काममा जानुपर्छ भन्नुभयो । हामी फेरि गयौं । यतिबेला भने प्रहरी जवानले हामीलाई भित्र जान दिनुभयो । राति काम गरेका साथीहरू क्याम्प फर्किन पाउनु भयो । अब छिर्न त छिरियो भरे जान दिने हो कि हैन भन्ने चिन्ता थियाे ।
नभन्दै बेलुका प्रहरीहरूले हामीलाई क्याम्प फर्किन दिनु भएन । र अहिलेसम्म पनि हामी यही भित्रै छौ । अहिले काम छैन । खानपानको व्यवस्था कम्पनीले नै गरिदिएको छ । सुरु सुरुमा त कस्तो कस्तो लागिरहेको थियोे । तर अहिले बाहिरको अवस्था सोच्दा हामी अरु भन्दा सुरक्षित ठाँउमा बसिरहेका छौं भन्ने अनुभव भएको छ ।
के गर्नु , यस्तै रहेछ जिन्दगी ! कहिले उकाली कहिले ओराली । देश परदेश जहाँ भए पनि हामी सबै आ-आफ्नो स्वास्थ्यको ख्याल राखाैं है । भिड भाडमा नजानुस् ल ।