लकडाउनमा बसेर डिजिटल डिभाईसहरुमा चर्चित व्यक्ति, साहित्यकारहरुको लकडाउन डायरी पढिरहँदा मलाई पनि यो बसाईको डायरी लेख्न मन लाग्यो तर मैले कहिल्यै डायरी लेखेको छैन।
हुन त यो डायरीमा मैले पनि हाल म बाँचिरहेको समय नै लेख्ने हो।
अहिले म बाँचेको समय र अरुले बाँचेको समयमा त्यति ठूलो फरक छैन। उही त हो कोरोना संक्रमण,लकडाउन उही दिनचर्या। लक डाउनको २/४ दिनसम्म त ठिकै थियो । त्यसपछि भने एकदमै उकुसमुकुस भएकाे छ । कतै कुदिहालाै, सधैं तरकारी किन्न जाने पसले काकासँग भेटेर दुईचार बात गरीहालाैं, त्यही चोकमा चट्पटे र पानीपुरी बेच्नेसँग जिस्केर बसौं, २/४ जना साथीहरुको ग्याङ बनाएर बिन्दास तरिकाले जोक्स सुन्दै र सुनाउँदै उन्मुक्त हाँसो हाँस्दै टि.युको जंगलहरुको फन्को मारीहालाैं ( प्रत्येक दिन हामी बेलुकीपख त्यसरी घुम्थ्याैं)। यो सब एकदम मिस गरीरहेछु।
जब नेपालमा पनि कोरोना संक्रमित बिरामी भेटिएकाे खबर आउन थालेयता दिमाग झस्किन थालेको थियो । लकडाउनमन बसिरहँदा अनेक विचारहरु मनमा आइरहने रहेछ । हरेक दिन संक्रमित बिरामीहरु बढ्दै जाँदा मन झन् झन् अमिलिन थाल्ने रहेछ । यसबेला घर सम्झे, परिवार सम्झे। दुःख पर्दा सबै आफन्तहरुको सम्झना आउँदो रहेछ । सायद सबैलाई यस्तै हुन्छ ।
हाम्रो परिवार धेरैजसो सबै काठमाडौंतिर भएकाले भेटघाट भइरहन्थ्यो । तर मेरा जीवित दुई भगवान गाउँमै हुनुहुन्छ । फोनमा नियमित कुरा हुन्छ । हाम्रो अत्ति चिन्ता गरिरहनुहुन्छ । बुवा आमा भन्नुहुन्छ, ‘के गरी बस्छाै, अलि जोगिएर बस, खानेकुरा पनि सकियो होला आदि।’ तर फोनमा कुरा गर्दा सुनेको स्वरले प्रत्यक्ष भेट्ने तिर्खा नमेटिँदो रहेछ। गाउँघर आमाबुबा सम्झेर फेरि एकचोटी नोस्टाल्जिक भए । तर जतिसुकै नोस्टाल्जिक र उकुसमुकुस भए पनि विश्वभरी नै डढेलो जसरी कोरोना सल्किरहेको बेला लकडाउनलाई पूर्णरुपमा पालना गरेर आफू जहाँ छु त्यही नै सुरक्षित बस्नुको विकल्पै छैन। सधैं मनमा नयाँ कुराहरु आउँदा ल्यापटप खोलेर लेखिहाल्थेँ अचेल निक्कै भयो ल्यापटप पनि नखोलेकाे । जहिँको तहीँ छ।
दिमागलाई कुनै पनि कुरामा केन्द्रित गर्न सकिरहेको छैन । पढ्न फिटिक्कै मन लाग्दैन। कोर्सको पुस्तक त झन् हेर्नै मन नलाग्ने। पढ्न मन नलाग्दा नलाग्दै मन विचलित हुँदाहुँदै पनि पछिल्लो समय मनलाई केन्द्रित पार्ने कोसिस गर्दै छु। किनकी यो अफ्ठ्यारो अवस्थाको सामना गर्ने म मात्र एक्लो होइन । विश्व नै यसमा परेको छ भनेर मन बुझाउन थालेको छु।
यो लकडाउनको असहज बसाइलाई सहज बनाउनको लागि दाजै मनिष बेला बेला सारङ्गी रेट्नु हुन्छ, सारङ्गी बजाउन सिक्ने उहाँको ठूलो रहर । अनि म बाँसुरी बजाएर दिनलाई सहज बनाउने प्रयास गर्छु । सारङ्गी बाँसुरी र गीतको तालमेल नमिल्दा हामी मज्जाले हाँस्छाै । यसरी दिनहरु थोरै सहज हुन थाले पछि भने बरु कोर्स बाहिरका केही पुस्तकहरु थोरै थोरै पढेँ । मेरो मन पर्ने लेखक मध्यका एक नयनराज पाण्डेको “यार” दोहोर्याएर पढेँ । मेरो प्रिय कविहरु स्वप्निल स्मृति, उपेन्द्र सुब्बा, नवराज पराजुलीका कविताहरु युट्युबमा खोजेर सुन्न थाले । यसरी दिनचर्यालाई सहज बनाउँदा बनाउँदै पनि कोरोना सम्बन्धि घरिघरि आइरहने समाचारले मन झस्काइरहन्छ । यो फेक अनलाईन समाचारतिर आँखा नलगाउ भन्दा पनि पुगी हाल्ने !
यो लकडाउनले एउटै घरमा बस्ने वल्लो कोठा र पल्लो कोठाको ढोकापनि “लक” गरिदिएको छ । मान्छेमान्छेको भरोसा बन्न छाडेको छ। मलाई लाग्थ्यो, मर्नु त एकदिन छँदै छ भने मर्नुदेखि डर किन? चाहे त्यो क्यान्सर भएर हाेस् वा त्यो भन्दा नि भयङ्कर! जस्तो सुकै अवस्थालाई पनि स्वीकार्न सक्छु जस्तो लाग्थ्यो। तर होइन रहेछ । मलाई मेरो आफ्नै जिन्दगीको पहिलोचोटि माया लागेर आयो । मर्न देखि डर लागेर आयाे । हामी मान्छेहरु सहज मृत्यु नै मर्न चाहने रहेछाैं भन्ने भान भयो। दिनहुँ मान्छे मरिरहेको सुन्दा म पनि कामना गर्दछु कि जिन्दगी जस्तो सुकै बाँचे पनि मर्न चाहिँ सहजै पाउँ ।
No responses yet